२३ भदौ २०७० | 8 September 2013

संसार पुग्छ नेपाललाई थाहा छैन

Share:
  
- रमेश कुमार
नेपालका कुना–कन्दराका खानीबाट बहुमूल्य रत्नपत्थर संसारका जुहारात बजारमा पुगिरहेको छ । तर यसबारे न सरकारलाई चासो छ, न त आम नागरिक जानकार छन् ।

ललितपुरका एक जना व्यापारीले रसुवाबाट ल्याइएको १९ ग्रामको रुवी दुई महीनाअघि रु.१२ लाखमा किने । त्यसलाई रु.१ करोडमा बेच्ने योजनामा रहेका उनी भन्छन्, “बार्गेनिङको आधारमा मूल्य तय हुने भए पनि थोरै नाफा लिएर बेचिंदैन ।” सरकारको जानकारीमा नरहेको यो कारोबार कति ठूलो छ भन्ने देखाउन यो उदाहरण काफी छ ।

रत्नपत्थरको खोजीमा दुई दशक लगाएर त्यस सम्बन्धी दुई वटा पुस्तक समेत प्रकाशित गरेका हरिभक्त उपाध्यायका अनुसार, रुवी (माणिक), सफायर (नीलम), टुर्मालिन (शोभामणि), ज्यास्पर (एशव), कोरोण्डम (कुरुन्द), टोपाज (पुष्पराज), इमेराल्ड (पन्ना), क्वार्ज (स्फटिक), गार्नेट (कुरिन), ओपल (रत्नोपल), ज्याडेट (हरितमणि), मूनस्टोन (चन्द्रमणि), काइनाइड (क्यनिट), एक्युमरिन (हरित नीलमणि) जस्ता बहुमूल्य पत्थरको नेपालमा ठूलो भण्डार छ । तर, तिनको ठूलो आकारको कारोबार भित्रभित्रै भए पनि सरकारले राजस्व पाउन नसकेको उनको भनाइ छ ।

भारत, चीन, यूरोपदेखि अमेरिकासम्म नेपाली रत्नपत्थरहरूको ठूलो कारोबार देखिनु (हे. अमेरिकाको क्यालिफोर्नियामा बेच्न राखिएको नेपाली रुवी) र सरकारले त्यो कारोबारबाट वर्षको रु.३ लाख पनि राजस्व नउठाउनुले उपाध्यायको भनाइ पुष्टि हुन्छ (हे. बक्स) । यी महँगा पत्थरको उत्खनन र कारोबारको अनुमति दिने, अनुगमन गर्ने र नियन्त्रण गर्ने जिम्मेवारी पाएको खानी तथा भूगर्भ विभाग कमजोर र अक्षम हुँदा गैरकानूनी रूपमा यसको कारोबार भइरहेको हो ।

अक्षम विभाग

नेपालमा पाइने यी बहुमूल्य पत्थरको कारोबार कत्रो छ भन्ने खानी तथा भूगर्भ विभागलाई समेत जानकारी छैन । विभागका वरिष्ठ इन्जिनियर कृष्णदेव झा रत्नपत्थरको अवैध उत्खनन भइरहेको सुने पनि विभाग बलियो नभएकाले नियमन गर्न नसकेको स्वीकार्छन् । आफ्नै अनुमतिमा दैलेख, अछाम, कालीकोट र जाजरकोटमा काइनाइट, संखुवासभा र धादिङमा क्वार्ज र जाजरकोटमा टुर्मालिनका लागि भइरहेको खानी उत्खननको कुनै विवरण विभागसँग नहुनुले पनि देखाउँछ, उसको अक्षमता । दुर्गम ठाउँमा रहेको खानीको अनुगमन गर्न विभागबाट कोही पुग्न नसक्ने भएकाले उत्खननकर्ताले दिएको विवरणलाई पत्याउनुपर्ने बाध्यतामा रहेको झाको भनाइ छ । नेपालको भनेर विदेशमा कारोबार भइरहेको रुवीको उत्खनन गर्ने अनुमति विभागले कसैलाई नदिनुले यो क्षेत्रको अनियमितता अरू प्रष्ट हुन्छ । धादिङ र रसुवामा रुवी, जाजरकोट र अछाममा काइनाइट, टुर्मालिन, एक्युमरिन तथा संखुवासभा, धादिङमा क्वार्जका खानी विभागको अनुमति विना संचालन भइरहेको कारोबारमा लागेकाहरू बताउँछन् । केही ग्रामको लाखौं रुपैयाँ पर्ने रुवी, सफायर जस्ता बहुमूल्य पत्थर चिन्ने जेमोलोजी पढेको जनशक्ति र गुणस्तर छुट्याउने ल्याब समेत विभागमा छैन ।

विभागको अक्षमताकै कारण उसले दिएको अनुमतिको आडमा बहुमूल्य पत्थरहरूको कारोबार ठूलो रूपमा हुने गरेको देखिन्छ । उत्खननको वैज्ञानिक प्रणाली नअपनाएका र वातावरणीय पक्षलाई पनि ध्यान नदिएका ती कम्पनीका क्रियाकलापबारे सरकारलाई कुनै जानकारी नरहेको बताउँदै विभागका पूर्व वरिष्ठ भूगर्भविद् कृष्णप्रसाद काफ्ले भन्छन्, “गणेश हिमाल क्षेत्रमा ब्लास्टिङ गर्दा बहुमूल्य रुवी छरपस्ट भएको गुनासो आए पनि विभागका अधिकारीहरू अहिलेसम्म त्यहाँ पुगेका छैनन् ।”

विभागबाट उत्खनन अनुमति लिएका कम्पनीहरूले अवैध उत्खननलाई वैध तुल्याउन सहयोग गरेको पनि पाइएको छ । खानी उत्खननको अनुमति लिनेहरू अवैध खानी खोतल्नेसँग थोरै मूल्यमा खरीद गर्छन् र आफैंले किनेको प्रमाण बनाएर भारत लगायतका मुलुकमा पुर्याएर करोडौं कुम्ल्याउँछन् । उत्खनन गरेका बहुमूल्य पत्थर कुन स्तरको हो भन्ने छुट्याउनुपर्ने विभागले उत्खननकर्ताले पठाएको मानिसको भनाइमा विश्वास गरेर बिक्री अनुमति दिनु यो क्षेत्रको अर्को समस्या हो । विभागबाट सजिलै अनुमति पाएपछि व्यापारीहरूले नाममात्रको राजस्व तिरेर क्वार्ज भारत, यूरोप र अमेरिका तथा टुर्मालिन र काइनाइट भारत र हङकङ पठाउने गरेका छन् ।

तस्वीरहरुः खानी तथा भूगर्भ विभाग
क्यालिफोर्निया पुर्याइएको नेपाली रुवी ।
तीन वर्षअघि सुर्खेतमा जफत गरिएको चार सय किलो अवैध टुर्मालिनलाई विभागबाट अनुमति पाएको ‘इशान स्टोन एण्ड नेचुरल हर्बल’ नामको कम्पनीले आफ्नो भएको बतायो । सो घटनाले अन्वेषणको अनुमति लिएका कम्पनीले अवैध रत्नपत्थर झ्किेर बिक्री गरिरहेको पुष्टि गर्छ । विभागका अधिकारीहरूले रत्नपत्थरको गुण, परिमाण र अवस्था जाँचेर सिलछाप सहितको निकासी अनुमतिपत्र दिनुपर्नेमा सुर्खेतको कुनै गोदाममा थन्किएको पत्थरलाई काठमाडौंबाटै निकासीको अनुमति दिन्छन् ।

विभागले दुई वर्षअघि सुर्खेतमा कर्मचारी खटाएर यस्तो अनुमति दिन थाले पनि फेरि ती कर्मचारीलाई काठमाडौं नै तानेको छ । जसलाई व्यवसायीहरू विभागका अधिकारीहरूको ‘निकासी अनुमतिमा अनियमितता गर्ने चाल’ मान्छन् । विभागबाट अहिलेसम्म एक्युमरिनका पाँच, काइनाइटका २०, टुर्मालिनका ४४, गार्नेटका २, क्वार्ज क्रिस्टलका १५, कोरोण्डमका १, क्वार्जाइटका १९ र रुवीको २ व्यक्ति र कम्पनीले खोजतलास गर्ने अनुमति लिएका छन् । उत्खनन गरेर बिक्री गर्ने अनुमति नभए पनि उनीहरूले बहुमूल्य रत्न उत्खनन गरेर बेच्ने गरेको पाइएको छ । जबकि, उनीहरूलाई खोजतलास गर्ने अनुमति मात्र दिइएको छ ।

संखुवासभामा भेटिएको क्वार्ज ।
रत्नपत्थरको कारोबारको आकर्षणकै कारण यसको खोजतलासको लाइसेन्स ओगट्न पनि हानथाप हुने गरेको छ । जाजरकोटका नयन शाही र गोपालप्रसाद पाण्डेले आफ्नो र परिवारका सदस्यको नाममा मात्रै खोजतलासको झण्डै डेढ दर्जन लाइसेन्स लिएको देखिन्छ । विभागले जाजरकोटको पैंक गाविसमा टुर्मालिनको खोजतलासका लागि अनुमति खोल्ने निर्णय ३० फागुन २०६९ मा गरेको भोलिपल्टै शाहीले लाइसेन्सका लागि निवेदन दिनुले विभागका अधिकारी र उनको मिलेमतो प्रष्ट पार्छ । त्यो निवेदन विवादास्पद हुने देखेपछि ४ चैत २०६९ मा प्रकाशित सार्वजनिक सूचना रद्द गरेको विभागले १ चैतमा अर्को सूचना जारी गरिसकेको भन्दै फर्जी सूचना सार्वजनिक गरेको थियो ।

दुई वर्षअघि व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत तथा साधन समितिका सदस्य शेरबहादुर कुँवर नेतृत्वको टोलीले पनि अछाम पुगेर त्यहाँ टुर्मालिन र काइनाइटको अवैध उत्खनन र कारोबार भइरहेको प्रतिवेदन दिएको थियो । त्यो प्रतिवेदनले खोजतलासको मात्र अनुमति लिएको ‘इशान स्टोन एण्ड नेचुरल हर्बल प्रालि’ ले उत्खनन पनि गरेको देखाएको छ । तर, खोजतलासका दुई वटा लाइसेन्स भएको सो कम्पनीमाथि अहिलेसम्म कारबाही गरिएको छैन । प्रहरी प्रवक्ता नवराज सिलवाल रत्नपत्थरको अवैध कारोबार गर्ने कोही विरुद्ध अहिलेसम्म मुद्दा चलेको अभिलेख नरहेको बताउँछन् । विभागले पनि अहिलेसम्म अवैध कारोबार गर्ने कुनै कम्पनीको अनुमतिपत्र खोसेको देखिंदैन ।

धादिङमा भेटिएको रुवी ।
अवैध उत्खनन रोकिंदा विभागका अधिकारीहरूको कमिशन गुम्ने हुनाले कोही कारबाहीमा नपरेको व्यवसायीहरूको भनाइ छ । प्रहरीले पनि कमिशन लिएर अवैध रूपमा रत्नपत्थरलाई भारत लैजान दिएको सुर्खेतका एक व्यवसायी बताउँछन् । राजनीतिक दलका स्थानीय नेता/कार्यकर्ताको साँठगाँठमा यो अवैध धन्दा चलिरहेको बताउँदै ती व्यवसायी भन्छन्, “प्रहरीले पक्राउ गर्यो भने पनि नेता/कार्यकर्ताले छुटाइहाल्छन् ।”

कौडीको कर

मूल्यवान पत्थरको अन्तर्राष्ट्रिय कारोबार काठमाडौंका सीमित व्यक्तिको हातमा छ । जगदीश चुडाल, हरि तिमिल्सिना, गंगा तामाङ, महेन्द्र लामा यो क्षेत्रका नाम चलेका कारोबारी हुन् । विदेशका ठूला कारोबारीसँग सम्बन्ध रहेका उनीहरू अष्ट्रेलिया, यूरोप, अमेरिका लगायत विश्वका सबै ठूला प्रदर्शनीमा गएर रत्नपत्थर बिक्री गर्छन् । तिनैमध्येका हरि तिमिल्सिना भन्छन्, “सम्बन्धका आधारमा यसको व्यापार हुने भएकाले जसले, जहाँ र जसरी भेटे पनि हामीलाई नै बेच्नुपर्ने अवस्था छ ।”

नेपालमा पाइने बहुमूल्य पत्थरमा मूल्यका हिसाबले रुवी एकनम्बरमा आउँछ भने सफायरको मूल्य पनि रुवीकै हाराहारीमा छ । टुर्मालिन, काइनाइट र क्वार्जलाई केही सस्तो मानिन्छ । व्यापारी तिमिल्सिनाका अनुसार, धादिङको लापामा भेटिएको तीन क्यारेटको (एक ग्रामभन्दा पनि कम) रुवी न्हुच्छेनारायण मानन्धरले करीब २० वर्षअघि रु.१५ लाखमा किनेर निकै बढीमा बेचेका थिए । खानी विभागको उपसचिवबाट अवकाश भएपछि परम्परागत गहना व्यवसाय गरिरहेका सर्वज्ञमान ताम्राकार पनि रुवी, सफायर जस्ता पत्थर लाखौं रुपैयाँमा बिक्री हुनु स्वाभाविक भएको बताउँछन् । रत्नपत्थरका विज्ञ उपाध्याय भन्छन्, “नेपालमा यसको कारोबार अनुमान गरेभन्दा धेरै ठूलो छ ।’ संखुवासभामा उत्खनन भएको क्वार्ज हेलिकप्टरबाट काठमाडौं ल्याइने गरेको खबरले पनि उनको भनाइलाई पुष्टि गर्छ ।

कम मूल्यका टुर्मालिन र काइनाइट भने भारतमा बिक्री हुने गरेको छ । टुर्मालिन र काइनाइट बढी उत्खनन हुने गरेको जाजरकोटका गर्खाकोट, टाले गाउँ, अर्छानी, मजकोटबाट खच्चरमा बोकाएर सल्यानको सल्लीबजार झरिन्छ र नेपालगञ्जहुँदै भारतको जयपुर पुर्याइन्छ । तर, जयपुरका व्यवसायीले निर्धारण गरेको मूल्यमा ती पत्थर बिक्री गर्नुपर्ने बाध्यता रहेको व्यवसायी गोपाल पाण्डेको भनाइ छ । खानी विभागका पूर्व उपसचिव ताम्राकार पनि सरकारले यो क्षेत्रलाई नियमित गर्न नसकेकाले नेपालका बहुमूल्य पत्थर रोडा/ढुङ्गा बराबर बिक्री हुने गरेको बताउँछन् ।

चार महीनाअघि बजार मूल्यभन्दा ३० प्रतिशत बढीमा १४ क्विन्टल टुर्मालिन हङकङ पुर्याएर बेचेका व्यवसायी पाण्डे त्यो थाहा पाएका भारतीय व्यापारीले नेपाली उत्पादन नै नकिन्ने धम्की दिएको र त्यो मान्न बाध्य भएको बताउँछन् । अहिले जयपुरका व्यापारी सलाम र गन्जाले सल्यानमै प्रतिनिधि पठाएर टुर्मालिन किन्न थालेका छन् । भारतीय व्यवसायीको यो गतिविधि मन नपराउने केही नेपाली व्यवसायीले नेपालमै रत्नपत्थरको कटिङ र प्रशोधन उद्योग चलाउने तयारी गरे पनि पत्थर नपाएपछि सेलाएको छ । विज्ञ उपाध्यायको भनाइमा भारतीय व्यापारीको दबाबका कारण नेपाली व्यवसायीले पत्थर किन्न खोज्दा पनि पाउने अवस्था छैन ।

सस्तोमा किनेको काइनाइट र टुर्मालिन भारतीय व्यापारीले हङकङको बाटो हुँदै चीन पु¥याउने गरेका छन् । औद्योगिकस्तरको काइनाइट एक किलोको रु.५ सयदेखि रु.१२०० सम्ममा बिक्री हुन्छ भने उच्चस्तरको जेम्स काइनाइट एक किलोको रु.१ लाखदेखि रु.३ लाखसम्ममा बिक्री हुन्छ । सस्तो मूल्यमा बिक्री भएका तिनै रत्नपत्थर विदेशमा प्रशोधन भएर धेरै गुणा मूल्यवान बनेर नेपाल फर्किन्छन् । विज्ञहरूका अनुसार ठमेल लगायतका पसलमा पाइने बहुमूल्य गहना काइनाइट, टुर्मालिन, क्वार्ज, गार्नेट नेपालबाट विदेश लगेर प्रशोधनपछि ल्याइएका हुन् । ठमेलको सञ्चयकोष भवनस्थित एक पसलमा बिक्रीका लागि राखिएको टुर्मालिनको मूल्य प्रति क्यारेटको रु.४ हजार पर्छ भने काइनाइट रु.१२०० र क्वार्ज रु.१०० पर्छ । नेपालको एक्युमरिन प्रशोधनपछि प्रति क्यारेट रु.२ हजार मूल्य बनाइएको त्यही पसलमा देखिन्छ । राजधानीका २०० भन्दा बढी यस्ता पसलबाट करोडौं रुपैयाँको बहुमूल्य पत्थरको कारोबार हुने गरेको बताउँदै व्यवसायीहरू भन्छन्, “करोडौं राजस्व उठ्ने र अर्बौं कमाइहुने बहुमूल्य पत्थर कौडीको मोलमा विदेश गइरहेको छ ।”

उत्खननकर्ताहरूले खानी तथा भूगर्भ विभागलाई दिएको जानकारी अनुसार, गत वर्ष जेम्सस्तरको काइनाइट १ हजार ८७५ किलो, क्वार्ज १ हजार ५८६ किलो र टुर्मालिन ८३ किलो उत्खनन भएको थियो । औद्योगिकस्तरको काइनाइट १७.४६, क्वार्ज ४.८० र टुर्मालिन २६.५७ टन उत्पादन भएको पनि उनीहरूको भनाइ छ । गत आ.व.मा सरकारले काइनाइट, टुर्मालिन र क्वार्ज उत्खननबाट रु.२ लाख ९५ हजार रोयल्टी र कम्पनीहरूको नवीकरण सहितको राजस्व रु.६ लाख १३ हजार पाएको थियो ।

वि.सं. २०५६ मा बनेर २०६० मा संशोधन भएको खानी तथा खनिज पदार्थ नियमावलीले क्वार्ज जेम्सस्तरको प्रतिकिलो रु.२० र औद्योगिक स्तरको प्रति टन रु.२०, टुर्मालिन जेम्सस्तरको प्रतिकिलो रु.३००० र औद्योगिकस्तरको प्रति टनको रु.३००, गार्नेट र काइनाइट जेम्सस्तरको प्रतिकिलो रु.३ र औद्योगिकस्तरको प्रति टन रु.५० रोयल्टी निर्धारण गरेको छ । विभागका अधिकारी नै प्रतिकिलोको लाखौं रुपैयाँ पर्ने रत्नपत्थरको रोयल्टी रु.३ राखिनु आश्चर्यजनक भएको बताउँछन् । तर, जेम्सस्तरको टुर्मालिनको रोयल्टी प्रति केजी रु.३००० राखिएपछि उत्खननकर्ताले न्यून उत्खनन देखाएर राजस्व छल्न प्रयत्न गर्नु अर्को समस्या देखिएको छ । विभागको अभिलेख अनुसार, गत वर्ष जेम्सस्तरको टुर्मालिन ८३ किलो मात्र उत्खनन भएको देखाइएको छ । आर्थिक वर्ष २०६८/६९ मा जेम्सस्तरको टुर्मालिन ३५ किलो उत्खनन भएको र त्योभन्दा अघि उत्खनन नै नभएको फर्जी विवरण पनि विभागको अभिलेखमा छ । जबकि, विभागले अनुमति दिएका आधा दर्जनभन्दा बढी कम्पनीले वर्षौंदेखि टुर्मालिन उत्खनन गरिरहेका छन् । हजारौं किलो टुर्मालिन उत्खनन गर्दा जेम्सस्तरको टुर्मालिन एक किलो पनि नभेटिएको विवरण पेश गर्नु अर्को ढाँट भएको विभागका एक अधिकारी बताउँछन् ।

कहाँ छ रत्नपत्थर ?

ऋषिराम कट्टेल
खानी तथा भूगर्भ विभागमा बरामद गरी राखिएको अवैध टुर्मालिन ।
विभागले अहिलेसम्म तल्लो हिमाली भेगमा मात्र अध्ययन गरेकाले त्यो क्षेत्रमा मात्र रत्नपत्थरका खानी भेटिएका छन् । रत्थपत्थर बढी पाइने माथिल्लो हिमाली क्षेत्र तथा पूर्व र पश्चिमी पहाडमा खनिज सम्भावनाको भौगर्भिक अध्ययन नभएको बताउँदै भूगर्भ विभागका वरिष्ठ इन्जिनियर झा भन्छन्, “सम्भाव्य क्षेत्रको ६० प्रतिशत क्षेत्रमा अध्ययन नै हुन सकेको छैन ।”

डा. टोनी हेगनले सन् १९६० को दशकमा अध्ययन गरेर नेपालमा रत्नपत्थर पाइने प्रशस्त सम्भावना रहेको रिपोर्ट दिएका थिए । त्यसपछि सन् १९८० को दशकमा अमेरिकी प्रोफेसरहरू क्रिस्टोफर स्मिथ, एलेन बासेट लगायतको अध्ययनले धादिङको रुयाल, लापा, छुमार जस्ता ठाउँमा रुवी र सफायरको खानी रहेको पत्ता लगाएको थियो । खानी विभागका पूर्व वरिष्ठ भूगर्भविद् काफ्ले अहिलेसम्मको अध्ययन सामान्य नमूनाका आधारमा मात्र गरिएकाले वैज्ञानिक अध्ययन भए नेपालमा प्रशस्त रत्नपत्थर भेटिने सम्भावना रहेको बताउँछन् ।

अहिलेसम्मका अध्ययनहरूले रसुवा र धादिङ लगायतका उच्च हिमाली क्षेत्रमा रुवी र सफायर, संखुवासभा, ताप्लेजुङ, धादिङ, रसुवा, गोरखामा क्वार्ज, मध्यपश्चिमका जिल्लामा टुर्मालिन, एक्युमरिन र काइनाइट पाउने सम्भावना देखिएको छ । १५ वर्षदेखि रत्नपत्थरको अध्ययन गरिरहेका दामोदर भट्ट भन्छन्, “नेपालमा सबै प्रकारका बहुमूल्य पत्थर भेटिने सम्भावना छ ।” विज्ञ उपाध्याय गणेश हिमाल क्षेत्रमा रुवीको डाँडा नै फेला पारेको बताउँछन् ।


उत्खनन प्रक्रिया पारदर्शी छैन

कृष्णप्रसाद काफ्ले

पूर्व वरिष्ठ भूगर्भविद्

खानी तथा भूगर्भ विभाग

नेपालका रत्नपत्थरका खानीहरूको उत्खनन प्रक्रिया कस्तो छ ?

खानी उत्खननको नियमन र अनुगमन गर्ने खानी विभाग निष्क्रिय जस्तै छ । सरकारी उदासीनताले खानीको व्यवस्थित र वैज्ञानिक उत्खनन हुनसकेको छैन । त्यही भएर उत्खननको प्रक्रिया अपारदर्शी भएको हो । चोरी र अनियमितता हुनुको कारण पनि त्यही हो ।

रत्नपत्थरहरूको भूमिगत कारोबार ठूलो छ, भनिन्छ नि ?

ठूलो कारोबार भइरहेको साँचो हो । तर, अनुगमन नगरेकोले राज्यले यसबाट फाइदा लिन सकेको छैन । यसको फाइदा सीमित व्यक्तिले उठाएका छन् ।

यसो हुनुमा विभागको कमजोरी होइन र ?

सुस्त विभागलाई सक्रिय र चनाखो बनाउनु सरकारको जिम्मेवारी हो । विभागमा कुन रत्नपत्थर हो भनेर चिन्ने जनशक्ति र जाँच्ने उपकरण छैन । यो रिसर्च संस्था भएकाले यसलाई बलियो बनाउनुपर्छ । खानीहरूको उचित नियमन र निरीक्षण नगर्ने हो भने देशले महत्वपूर्ण स्रोतबाट फाइदा लिन सक्दैन ।

comments powered by Disqus

रमझम