१३-१९ साउन २०७५ | 29 Jul - 4 Aug 2018

आफ्नै कारण असजिलो

Share:
  

हिमाल (६–१२ साउन) आवरण ‘असहज मोडमा ओली’ रिपोर्टले सरकारका काम–कारबाही लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर पुग्दैछन् भन्ने देखिन्छ । सत्ता यात्राको यो असहज मोड अरूले नभई प्रधानमन्त्री ओली आफैंले सिर्जना गरेका हुन् । जनताको अभिमतसँगै संसदबाट सरकारलाई प्राप्त भारी बहुमत र त्यसबाट प्राप्त शक्ति पक्कै पनि विरोधका स्वरहरू दबाउन, नागरिक स्वतन्त्रता खोस्न र मानवअधिकारलाई लोप्पा खुवाउन होइन ।

अझ् डरलाग्दो कुरा त प्रधानमन्त्री आफैं समाजका बौद्धिक, नागरिक अभियन्ता र मिडियाकर्मीका असहमतिका स्वर विरुद्ध पार्टीका नेता–कार्यकर्तालाई प्रतिवादमा उत्रन आह्वान गरिरहेका छन् । यही उक्साहटको परिणाम मन्त्रीदेखि तल्लो तहका कार्यकर्ताका हर्कतमा देखिन थालेका छन् । नेपाली समाजमा स्थापित भइसकेका डा गोविन्द केसीका माग विरुद्ध सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा अभिव्यक्त छुद्र अभिव्यक्ति त्यसकै परिणाम थिए ।

अस्थिरता, संक्रमणकाल वा विपक्षीको विरोध जस्ता कुनै पनि वहाना बनाउन नमिल्ने अहिलेको अवस्थामा आम जनताकोे दैनिक जीवन सहज बनाउने, उनीहरूमा पलाएको आशालाई कायम राख्दै आफूमा निहित शक्तिको उदार अभ्यास मार्फत मुलुकलाई साँच्चिकै समृद्धिको यात्रामा अघि नबढाउने हो भने प्रधानमन्त्री ओली र वर्तमान सरकारलाई अर्को मौका उपलब्ध हुने छैन । फेरि पनि परिवर्तन सम्भव छ भनेर देखाउन सक्ने अवसर वर्तमान सरकारसँगै छ । ढिलै भए पनि ओली सरकारको आँखा खुल्छ कि !

विश्व बुढाथोकी, अनलाइनबाट

साँच्चै उपयोगी

हिमाल (६–१२ साउन) रिपोर्ट ‘पुरातात्विक संरचनाः राणाकालीन सभाहल अझै उपयोगी’ राम्रो लाग्यो । यस्तै पुराताŒिवक संरचना हाल काठमाडौं महानगरपालिकाको कार्यालय रहेको बागदरबार भत्काएर नयाँ निर्माण गर्न पुरातŒव विभागले समेत सहमति दिइसकेको छ । जबकि वास्तुविद्हरू यो दरबारको सबलीकरण गर्दा बलियो हुने, सम्पदा जोगिने र लागत पनि कम लाग्ने बताइरहेका छन् । विज्ञ र जनताको आवाज नगरपालिकाले सुन्छ कि सुन्दैन परिणाम आउन बाँकी नै छ । यस्ता पुराताŒिवक संरचनाको संरक्षण र सदुपयोगमा कुनै पक्षबाट पनि बेवास्ता हुनुहुँदैन । उपयोगी संरचनालाई हेला गरेर नयाँ संरचना बनाउँदै बजेट सक्नुमा ज्ञानको कमी र कमिशनको खेलबाहेक अरू केही हुनैसक्दैन ।

राजधानीमा मात्र होइन, राजधानी बाहिर रहेका यस्ता संरचनाहरूलाई संरक्षण र प्रयोगमा ल्याउने काम हुनुपर्छ । थाहा नभएका सभाहल सम्बन्धी जानकारी उपयोगी लाग्यो, हिमाल लाई धन्यवाद ।

घनश्याम पौडेल, अनलाइनबाट

व्यवहारमा लागू होस्

हिमाल (६–१२ साउन) ‘अब वैदेशिक रोजगारमा लूटको राज रहँदैैन’ भन्ने श्रम मन्त्रीको अन्तर्वार्ताले थोरै भए पनि आस जगायो । तर के व्यवहारमा मन्त्रीले भनेजस्तै भएको छ त ? बोली र व्यवहार फरक भयो भने जनताले लोप्पा खुवाउलान् नि मन्त्रीज्यू ! मन्त्रीले बोलेको कुरा व्यवहारमा लागू होस्, यही कामना ।

सहदेव मिश्र, अनलाइनबाट

रोयो हिमाल

हिमाल (६–१२ साउन) उकालो लाग्दामा ‘बाफिएर रोयो हिमाल’ अति मार्मिक र यथार्थ लाग्यो । हो हाम्रा गला अवरुद्ध भएका छन् । अन्योलको यो भुमरी कहिलेसम्म ? जवाफ कसले दिने ? परिस्थिति आशाजनक देखिएन । हाम्रा मूल्यमान्यतामा कस्तो गिरावट ! बाटो अलमलियो कि ! कसरी पहिल्याउने ?

सुरेशप्रकाश आचार्य, अनलाइनबाट

डुबायो फ्री भिसा, फ्री टिकटले

हिमाल (२४–३० असार) खोज रिपोर्ट ‘राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब’ ले बायोमेट्रिक अनि जीएसजीको पर्दाफास गरिदिएको छ । वास्तवमा बायोमेट्रिक जिएसजी लगायतका प्रणाली नेपाल भिœयाउनै मलेशिया लगायतका खाडी मुलुकका लागि फ्री भिसा, फ्री टिकटको अवधारणा ल्याइएको हो । २०७२ सालभन्दा अगाडि म्यानपावर कम्पनीले ल्याउने हरेक डिमान्डमा भिसा वा टिकट कुन फ्री हो भन्ने तोकिएर आउँथ्यो । त्यसै अनुसार वैदेशिक रोजगार विभागले के कति रकम लिने भन्ने निर्णय गथ्र्यो । तर २०७२ सालतिर बायोमेट्रिक प्रणाली ल्याउन र बाङ्लादेशका कामदारलाई मलेशिया खुला गर्न नेपालमा फ्री भिसा, फ्री टिकटको अवधारणा ल्याइयो ।

सबैलाई ज्ञात होला मलेशियामा मल्टिनेशनल कम्पनी बाहेक कुनै पनि कम्पनीले निःशुल्क टिकट दिंदैन । जसले गर्दा त्यहाँका अन्य राम्रा कम्पनीले डिमान्डमा फ्री भिसा, फ्री टिकट लेखाउने कुरा भएन । नेपालका लागि आउने हरेक डिमान्डमा भिसा र टिकट फ्री लेखाउनै पर्ने भएपछि त्यसको फाइदा बाङ्लादेशी कामदारले उठाए ।

यता म्यानपावर कम्पनीले कामदारबाट रु.१० हजारभन्दा माथि उठाउन नपाउने नियम पनि लगाइयो । कामदार विदेश जाँदा वैदेशिक रोजगार विभागले कामदारको कल्याणकारी कोषलाई रु.१५०० अनि बीमा बापत रु.४५०० लिन्छ । त्यसमाथि ‘क’ वर्गको पत्रिकामा विज्ञापन दिनुपर्ने नियमले गर्दा कम्तीमा रु.९ हजार खर्च हुन्छ । अब कामदारबाट लिइने १० हजारले के के गर्ने ?

फेरि फ्री भिसा, फ्री टिकटले गर्दा म्यानपावरले राम्रा राम्रा कम्पनीको डिमान्ड ल्याउन सकेनन् त्यसैले धेरै नेपाली भिजिट भिसामा दुबई, कतार र भारतकै म्यानपावरहरूमा धाइरहेका छन् । मलाई आशा छ, हिमाल ले नेपालकै अहित हुने खालको निर्णय फ्री भिसा, फ्री टिकट लगाउने मुख्य नाइकेको पहिचान आम नेपाली जनतासामु ल्याउनेछ ।

नरेन्द्रबाबु राना मगर, अनलाइनबाट

comments powered by Disqus

रमझम