१३-१९ साउन २०७५ | 29 Jul - 4 Aug 2018

हिमाल उक्लिए लामखुट्टे

Share:
  
- अच्युतराज भण्डारी, मुगुबाट
उच्च हिमाली जिल्ला मुगुमा औलोका संक्रमित अन्य जिल्लामा भन्दा बढी देखिएपछि मुलुकलाई औलोमुत्त घोषणा गर्ने सरकारी योजनामा चुनौती थपिएको छ।

औलोको उच्च जोखिममा रहेको मुगुको रिगागाउँ ।
केही दशक अघिसम्म तराईमा औलो लाग्ने डरले पहाड र हिमालका बासिन्दा गर्मी महीनामा तराई झ्र्न डराउँथे । काम भएर बस्नै पर्ने पनि गर्मी लागेपछि पहाडतिर उक्लन्थे । हिमाल र पहाडमा लामुखुट्टे भेटिन्नथ्यो, औलोको डर पनि थिएन ।

पछिल्लो समय हिमाली क्षेत्रमा लामखुट्टे उक्लिएसँगै औलो पनि पुगेको छ । मुगुको खत्याड गाउँपालिका ८ र १० वडाका गाउँहरूमा मात्रै एक वर्षमा १४४ जना औलोका बिरामी देखिएका छन् । यही असार महीनामा मात्रै यहाँ ५४ जनामा औलोको संक्रमण पाइयो । योसँगै हिमाली जिल्ला मुगु अन्य जिल्लाको तुलनामा औलोको उच्च जोखिममा रहेको सेभ द चिल्ड्रेनका एन्टोमोलोजिस्ट रोहित शाह बताउँछन् ।

“बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, वाक्वाकी हुने जस्ता लक्षण देखिएपछि रगत जाँच गर्दा औलोको संक्रमण भएको पाइयो”, प्रभावित क्षेत्रमा खटिएकी सुकाढिक स्वास्थ्य चौकीकी अनमी लीला बुढा बताउँछिन् । “एक हप्तादेखि कामज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने समस्याले थला परेकी थिएँ, घरमै आएका डाक्टरले जाँच्दा मलेरिया (औलो) हो भनेका छन्” खत्याड ८ रिगाकी १४ वर्षीया सोबिना उपाध्या भन्छिन्, “औषधि खाइरहेकी छु ।”

झूल वितरण

गर्मीयाममा मात्र होइन, असोज र कात्तिक महीनामा पनि औलोको संक्रमण पाइएको छ । गत वर्ष असोजमा रिगामा मात्रै २९ जना र कात्तिकमा ५१ जनामा औलोको संक्रमण पाइएको थियो । औलोका कारण कसैको ज्यान गएको भने अहिलेसम्म थाहा भएको छैन ।

खत्याड गाउँपालिका वडा नम्बर ८ र १० रिगागाउँका बिरामी बालबालिकाको रगत परीक्षण गरिंदै ।
औलोको संक्रमण बढ्दै जान थालेपछि गएको कात्तिक महीनामा स्वास्थ्य सेवा विभाग, रोग तथा महामारी नियन्त्रण महाशाखा काठमाडौंबाट आएको तीन जनाको टोलीले रिगा गाउँमा औषधि वितरण र प्रत्येक घरमा कीटनाशक औषधि छरेपछि औलोको संक्रमण निकै कम भएको थियो । तर केही महीनामै समस्या बल्झ्यिो । केन्द्रबाट आएको टोलीले जाँच गर्दा औलो सार्ने खालको लामखुट्टे गाउँमै फेला परेकोले कुनै पनि बेला यसको महामारी फैलन सक्ने जिल्ला स्वास्थ्य कार्यालय, मुगुका औलो रोग ‘फोकल पर्सन’ बलि बुढा बताउँछन् ।

उच्च हिमाली जिल्ला मुगुको विकट गाउँमा औलोको प्रकोप बढेपछि स्वास्थ्य विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सेभ द चिल्डे«न, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मी सहित १५ जनाको विशेषज्ञ टोली गएको असार अन्तिम साता रिगा, आम, सुकाढिक र ठाम्लेक गाउँ पुगेको थियो । १० दिनसम्म गाउँमै रहेको टोलीले बिरामीको जाँच, रगत परीक्षण गर्नुका साथै रोगबाट बच्ने उपाय समेत सिकाएको थियो ।

टोलीले ८ र १० वडाका औलो प्रभावित गाउँ रिगा, आम, सुकाढिक, ठाम्लेक र ह्याङ्लुमा दुई हजार कीटनाशक झुल निःशुल्क वितरण गरेको छ ।

बालबालिका प्रभावित

मुगु सदरमुकाम गमगढीदेखि पैदल दुई दिनको दूरीमा रहेको रिगामा औलोबाट १५ वर्ष मुनिका बालबालिका बढी प्रभावित भएका छन् । यस क्षेत्रमा खटिएको विशेषज्ञ टोलीका अनुसार एक वर्षमा भेटिएका १४४ जना संक्रमितमध्ये ८५ जना १५ वर्ष मुनिका छन् ।

स्वास्थ्य चौकी सुकाढिककी अनमी लीला बुढाका अनुसार धेरैजसो बालबालिकामा संक्रमण दोहोरिएको पाइएको छ । उनका अनुसार दुर्गम र विपन्न यो गाउँका बालबालिका पूरै जीउ ढाक्ने कपडा नलगाउने, हिमाली जिल्ला भएकाले झ्ुल प्रयोग नगर्ने, तीतो औषधि खान बालबालिकाले नमानेर बीचमै छोड्ने गर्दा पनि औलोको संक्रमण दोहोरिएको हुन सक्छ ।

देशमा औलो उन्मूलनको तयारी भइरहेका बेला खत्याडको ८ नम्बर वडामा मात्र गएको वर्ष ८४ र यस वर्षको असारसम्म ५४ जनामा औलो रोग देखापरेको छ । “यो ठूलो चुनौती थपिएको छ, हाम्रा लागि औलो नयाँ रोग हो” वडाध्यक्ष रामबहादुर रावत भन्छन् । स्थिति कस्तो छ भने अधिकांश स्थानीयलाई औलोबारे थाहा छैन । खत्याडमा औलोलाई पाला, बेले वा चाउथे ज्वरो भनिन्छ । गएको वर्ष भदौमा पालाज्वरोले सात दिनसम्म थला परपेछि जचाउँदा औलो लागेको थाहा भएको खत्याड–१० रिगाका नवराज जैसी बताउँछन् ।

कीटनाशक झुल लिन पालो पर्खेका खत्याडका स्थानीय ।
नेपालमा ७० जातका पोथी लामखुट्टेले औलो सार्छन् । तीमध्ये मुगुको रिगामा तीन जातका लामखुट्टे– एनोफिलिज एनुलारिज, एनोफिलिज म्याकुलेटस र एनोफिलिज क्यूमालेटस पाइएकोे स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल अधिकृत उत्तमराज प्याकुरेल बताउँछन् । उनी भन्छन्, “३२ असारसम्मको तथ्यांक हेर्दा मुगु नेपालको सबैभन्दा बढी औली रोगी भएको जिल्ला हुन पुगेको छ ।”

सरकारले सन् २०२२ सम्म नेपालमा औलो रोगका बिरामीको संख्या शून्यमा झर्ने र सन् २०२६ मा नेपालमा औलो उन्मूलन भएको घोषणा गर्ने तयारी गरे पनि मुगुमा देखिएको औलोले चुनौती थपिदिएको प्याकुरेलको भनाइ छ ।

झुलको प्रयोग नगर्ने, घर वरपर सफाइ नगर्ने, १४ दिन खानुपर्ने औषधिको पूरै मात्रा नखाने जस्ता कारणले पनि औलोको संक्रमण बढेको एन्टोमोलोजिस्ट शाहको भनाइ छ ।

कसरी भित्रियो औलो

तराई वा भारतमा लामो समय बसेर आएकाहरूबाट शुरूमा औलो भित्रिएको हुनसक्ने विशेषज्ञ टोलीको अनुमान छ । यद्यपि औलो रोगको संक्रमण गराउने लामखुट्टे नै मुगुमा पाइन थालेपछि त्यो मात्रै अब औलोको कारण रहेन ।

६ वर्ष पहिले खत्याडकै दुई जनामा औलोको संक्रमण पहिलो पटक पाइएको थियो । उनीहरूको सही उपचार नहुँदा र रोग नियन्त्रणका लागि सावधानी नअपनाउँदा २०७४ साउनमा पुनः खत्याडमा औलो देखिएको एन्टोमोलोजिस्ट शाह बताउँछन् । उनका अनुसार, एक पटक औलोबाट संक्रमित बिरामीको राम्रोसँग उपचार नहुँदा केही वर्षपछि पुनः दोहोरिन सक्छ र अर्को व्यक्तिमा सर्ने सम्भावना पनि हुन्छ । औलोका परजीवी मानिसको शरीरमा सुषुप्तावस्थामा लामो समय रहन सक्ने र केही वर्षपछि फेरि सक्रिय हुने उनी बताउँछन् ।

comments powered by Disqus

रमझम