१३-१९ साउन २०७५ | 29 Jul - 4 Aug 2018

मोफसलमा पनि विस्तार

Share:
  
- दीपक ज्ञवाली, बुटवल
व्यापार मुनाफामा मुग्ध नेपाली सेनाले राजधानीकेन्द्रित व्यापार–व्यवसायलाई जिल्लातिर विस्तार गर्न थालेको छ।

तस्वीरहरूः दीपक ज्ञवाली
बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स ।
नेपाली सेनाले गएको ६ असारमा एउटा बोलपत्र आह्वान गर्‍यो, जसमा बुटवलको अमरपथस्थित नवनिर्मित व्यापारिक भवन भाडामा दिन लागिएको उल्लेख थियो । बोलपत्रमा चारतले आधुनिक व्यापारिक भवन भाडामा लिन इच्छुक व्यवसायीले जंगीअड्डा, काठमाडौंस्थित सेनाको कल्याणकारी योजना निर्देशनालय र बुटवलस्थित २२ नम्बर बाहिनी अड्डाबाट फारम खरीद गर्न सक्ने उल्लेख छ ।

नाफामूलक आर्थिक र व्यापारिक गतिविधिमा सक्रियता बढाउँदै गएको सेनाले आफ्नो आयको दायरा बढाउन काठमाडौं बाहिर समेत व्यवसाय विस्तार गरेको उदाहरण हो, यो । रोचक के भने बुटवलमा व्यापारिक भवन निर्माण गर्न सेनाले राणाकालीन इतिहास बोकेको टक्सार भत्काएको छ । उहिले टक (मुद्रा, सिक्का) काटिने मेशीन सहितको संरचना भएको टक्सारमा चारतले बिल्डिङ ठड्याएको सेना अहिले अधिकतम भाडा तिर्ने व्यापारी छनोटमा व्यस्त छ । त्यसनिम्ति सेनाले ४ साउनसम्मको म्याद राखेर ६ असारमा बोलपत्र आह्वान गरेको थियो । प्रदेश–५ को अस्थायी राजधानी बुटवलको प्रमुख व्यापारिक क्षेत्र अमरपथमा सैनिक कल्याणकारी कोषको रु.७ करोड लगानीमा निर्मित नयाँ भवनको नाम पनि सेनाले ‘टक्सार कम्प्लेक्स’ नै राखेको छ । स्थानीयले पत्तै नपाई निर्माण सम्पन्न भएको उक्त भवन १६ हजार ८७८ वर्गफिट क्षेत्रफलमा बनेको छ ।

सेनाका निमित्त प्रवक्ता कर्णेल विजय थापाले व्यस्त बजार क्षेत्रमा सेनाले नै रेखदेख गर्दै आएको उक्त जग्गा अतिक्रमणमा पर्दै गएपछि अत्याधुनिक भवन बनाएको बताए । भवन निर्माण गरेर भाडामा दिंदा कल्याणकारी कोषमा आय वृद्धिसँगै जमीनको संरक्षण पनि हुने उनी बताउँछन् । सेनाको बुटवलस्थित मध्यपश्चिम पृतना कार्यालयका प्रमुख सेनानी झ्मानसिंह थापाले सो भवन सैनिक कल्याणकारी योजना निर्देशनालयले बनाएकाले त्यसबारेमा विस्तृत जानकारी आफूलाई नभएको बताए ।

राणाकालीन सिक्का बनाउने मेशीन ।
प्रदेश–५ का सभासद एवम् बुटवल उपमहानरपालिकाका पूर्व प्रमुख भोजप्रसाद श्रेष्ठ भने आफू प्रमुख हुँदादेखि नै इतिहास सम्झउने टक्सारलाई तारबार गरेर संरक्षण गर्न थालेको बताउँछन् ।

स्रोतका अनुसार, सेनाले आयमूलक परियोजना अन्तर्गत बुटवलमा विद्यालय र क्षेत्रीयस्तरको अस्पताल समेत सञ्चालन गर्ने तयारी गरिरहेको छ । व्यापार–व्यवसाय विस्तार गरिरहेको नेपाली सेनाले बुटवलको रामनगरस्थित २२ नम्बर वाहिनी परिसरमा ‘रिपुमर्दिनी पेट्रोल स्टेशन’ चलाएको एक वर्ष भयो ।

प्रहरीमा पनि उस्तै

काठमाडौं, सुनौली, पोखरा र नेपालगञ्ज जाने सडक छुट्टिने बुटवलको चौराहामा रहेको दुईतले, तर फराकिलो भवनको नाम हो– प्रहरी कम्प्लेक्स । १९ धुर जग्गामा बनेको यो कम्प्लेक्सको तल्लो तलामा वरिपरि २४ वटा सटर छन् । तीमध्ये २२ वटा भाडामा लागेका छन् भने दुई वटा मर्मत गर्नुपर्ने भएकाले खाली राखिएको छ । २०५१ माघमा बनेको यो कम्प्लेक्सबाट नेपाल प्रहरीलाई मासिक रु.३ लाख ८५ हजार आम्दानी भइरहेको छ ।

नेपाल प्रहरीको कल्याण महाशाखाका सदस्य सचिव रहेका एसएसपी प्रकाशजंग कार्कीका अनुसार यो कम्प्लेक्सको रेखदेख पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवलले गर्छ । यसको आय प्रहरी कल्याणमै खर्च हुने उनले बताए । लागतबारे चाहिं प्रहरी अधिकृतहरूलाई हेक्का छैन । भवनको संरचना कमजोर भएकोले पुनर्निर्माण आवश्यक भएको तालिम केन्द्र, बुटवलका एसएसपी उत्तम सुवेदी बताउँछन् । “यत्रो भवनमा पिलर नै रहेनछन्” उनी भन्छन्, “जोखिमपूर्ण भएकाले पुनर्निर्माणको प्रस्ताव केन्द्रमा पठाएका छौं ।”

बुटवलको चौराहामा प्रहरी कम्प्लेक्स ।

चितवन, नेपालगञ्ज, कावासोती लगायतका स्थानमा पनि प्रहरीका शपिङ कम्प्लेक्स, पेट्रोल पम्प, विद्यालय लगायतका व्यापारिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । तिनको आम्दानी प्रहरी र प्रहरी परिवारको कल्याणमा प्रयोग भइरहेको प्रहरी कल्याण महाशाखाका सदस्य सचिव एसएसपी कार्की बताउँछन् ।

उद्योग वाणिज्य संघ, बुटवलका अध्यक्ष खेम हमाल सेना, प्रहरी जस्ता निकाय यसरी व्यापार–व्यवसायमा रत्तिन थाल्नुलाई राम्रो लक्षण मान्दैनन् । देशका महत्वपूर्ण निकायहरू आ–आफ्ना जिम्मेवारीमा केन्द्रित हुनुपर्ने उनी बताउँछन् । “त्यसक्रममा स्रोतसाधनको कमी भए सरकारसँग माग्नुपर्छ, सरकारले दिनुपर्छ” उनी भन्छन्, “भोलि सेना–प्रहरीलाई व्यापार र व्यापारीलाई फौजी काम गराउने सोच हो भने बेग्लै कुरा !”

comments powered by Disqus

रमझम