१३-१९ साउन २०७५ | 29 Jul - 4 Aug 2018

अनिश्चित मलेशिया

Share:
  
- रामु सापकोटा
मलेशिया जाने कामदारबाट अनधिकृत रूपमा रकम असुल भइरहेको भन्दै श्रम मन्त्रालयले नेपाली कामदारलाई श्रम स्वीकृति दिन रोकेको असर मलेशियाको श्रम बजारमा पर्न थालेको छ।

बिक्रम राई
मलेशियाको मानव संसाधन मन्त्रालय अन्तर्गतको नीति योजना महाशाखाका पदाधिकारीहरूले यही ८ साउनमा कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलसँग नेपाली कामदारको भिसा प्रक्रियाबारे छलफल गरे । त्यसक्रममा आफूले नेपाली कामदारबाट अतिरिक्त रकम असुल्ने प्रणाली हटाउन र त्यसरी रकम लिने कम्पनीहरू खारेज गर्न आग्रह गरेको खरेल बताउँछन् । उनले टेलिफोनमा बताए अनुसार, छलफलमा नीति योजना महाशाखा प्रमुख वशाह बिन बचिकले विदेशी कामदार व्यवस्थापनका समस्या समाधानका लागि ‘फरेन वर्कस् सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूएमएस) हटाउन लागेको जानकारी गराएका थिए ।

विदेशी कामदारको व्यक्तिगत विवरण राख्ने अनलाइन प्रणाली हो– एफडब्लूएमएस । मलेशिया सरकारले यो प्रणालीको काम निजी कम्पनी बेस्टिनेट एसडीएन बीएचडीलाई दिएको छ । नेपालका कम्पनीहरूले बेस्टिनेट मार्फत कामदारबाट अतिरिक्त रकम असुलेर ‘ठगी गरेको’ भन्दै श्रम मन्त्रालयले त्यो प्रणालीबाट मलेशिया जान रोक लगाएको छ । मन्त्रालयले मलेशिया सरकारलाई पनि यो प्रणाली हटाउन आग्रह गरेपछि मलेशियाको मानव संसाधन मन्त्रालयले त्यसबारे अन्तरमन्त्रालय र अन्तरनिकाय छलफल गरिरहेको छ । एफडब्लूएमएस प्रणाली हट्दा मलेशिया जाने नेपाली कामदारले विभिन्न कम्पनी मार्फत अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता हट्नेछ ।

निकास खोज्न पहल

कार्यवाहक राजदूत खरेल नेपालस्थित दूतावास मार्फत ‘भिसा प्रोसेसिङ’ गरेर कामदार ल्याउने व्यवस्था मिलाए नेपाल सरकार बाटो खोल्न तयार रहेको जानकारी दिएको बताउँछन् । उनका अनुसार, यसअघि मानव स‌ंसाधन मन्त्री एम. कुलासेगरनले नेपाली कामदारले भिसा पाउनुअघि तिर्नु परेको अतिरिक्त रकमको विषय चाँडै टुङ्ग्याउने बताएका थिए ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले २१ असार २०७५ मा आफ्ना मलेशियन समकक्षी सैफउद्दिन अब्दुल्लाह र कार्यवाहक राजदूत अहमद फाडिल स्माइलसँग नेपाली कामदारबाट अतिरिक्त रकम असुल्ने क्रम रोक्न अनुरोध गरेका थिए । मलेशियाका नवनियुक्त विदेशमन्त्री सैफउद्दिनले ज्ञवालीसँग सरकारका विभिन्न निकायसँग छलफल गरेर नेपाली कामदारबाट अतिरिक्त रकम असुल्ने विषय टुङ्ग्याउने प्रतिबद्धता जनाएका छन् ।

श्रम बजारमा प्रभाव

मलेशियाको अध्यागमन विभागको तथ्यांकले १६ असार २०७४ सम्ममा ४ लाख ५ हजार ८९८ नेपाली कार्यरत रहेको देखाउँछ । तर मलेशियाको आन्तरिक मामिला मन्त्रालयको आँकडा अनुसार, १६ असार २०७५ सम्म त्यहाँ ३ लाख ७८ हजार ५७७ नेपाली कामदार छन् (हे.इन्फो) । यसरी मलेशिया जाने नेपालीको संख्या घट्दै गएको अवस्थामा श्रम मन्त्रालयले रोक लगाएपछि त्यहाँको श्रम बजारमा कामदार अभाव हुन थालेको छ । मलेशियाका रोजगारदाता कम्पनीले नेपाली कामदार लैजाने बाटो खुलाउन मलेशियास्थित नेपाली दूतावासलाई दबाब दिन थालेका छन् । तर, कार्यवाहक राजदूत खरेल मलेशिया सरकारले नेपाली कामदारबाट अतिरिक्त रकम उठाउने प्रणाली नहटाएसम्म त्यो सम्भव नहुने बताउँछन् । उनका अनुसार, कामदार अभाव भएपछि रोजगारदाता कम्पनीहरूले नेपाली कामदारलाई छुट्टी नदिई भिसा थपेर काममा लगाइरहेका छन् । नेपाल फर्किन चाहे पनि कम्पनीले नदिएको भन्दै दूतावासमा निवेदन पर्न थालेको कार्यवाहक राजदूत खरेलले बताए ।

वैदेशिक रोजगार क्षेत्रका जानकार डा. गणेश गुरुङ मलेशियामा कामदार अभाव भए रोजगारदाताले अन्य मुलुकको कोटा बढाउने र नेपाली कामदारले अवसर गुमाउने बताउँछन् । सरकारले मलेशिया जाने बाटो बन्द गरेपछि कामको खोजीमा भारत जाने नेपालीको संख्या बढेको उनको भनाइ छ ।

सबभन्दा बढी नेपाली रोजगारीमा जाने मुलुक हो, मलेशिया । सन् २००८/०९ देखि २०१६/१७ सम्म वैदेशिक रोजगारीमा जाने कुल नेपाली युवामध्ये मलेशिया जानेको संख्या २९.८८ प्रतिशत थियो । २०१६/१७ मा श्रम स्वीकृति लिएर मलेशिया गएका नेपालीको संख्या ९५ हजार २४४ थियो । कुल रेमिटेन्स (विप्रेषण) आप्रवाहमध्ये मलेशियाको हिस्सा भने वार्षिक २.७ प्रतिशत मात्र छ, तलब कम भएकोले । सरकारले मलेशिया जान रोक लागेपछि रेमिटेन्स पनि स्वतः घट्ने डा. गुरुङको अनुमान छ । उनी भन्छन्, “केही समयपछि त्यसको असर पनि देखिनेछ ।”

रोजाइमा नेपाली कामदार

मलेशियाको आन्तरिक मामिला मन्त्रालयका अनुसार १६ असार २०७५ सम्म त्यहाँको श्रम बजारमा रहेका कुल १७ लाख ४७ हजार १५४ विदेशी कामदारमध्ये नेपालीको संख्या ३ लाख ७८ हजार ५७७ छ । त्यहाँ सबभन्दा बढी इण्डोनेशियाका ६ लाख ८८ हजार ६४१ जना र त्यसपछि नेपाली कामदार छन् । तेस्रोमा बाङ्लादेशका २ लाख ९१ हजार ५९ छन् ।

मलेशियामा सबभन्दा बढी रुचाइनेमा पर्छन्, नेपाली कामदार । डा. गुरुङको बुझइमा, मिहिनेती, इमानदार र सस्तो पनि भएकाले नेपाली कामदार रोजगारदाताको रोजाइमा पर्छन् । सुरक्षा गार्डमा मलेशियाले धेरै नेपाली लैजाने गरेको छ । आन्तरिक मामिला मन्त्रालयको तथ्यांक अनुसार, १६ असार २०७५ सम्म त्यहाँ कार्यरत नेपाली सुरक्षा गार्डको संख्या सबभन्दा बढी ७९ हजार ३२ छ । अन्य मुलुकका कामदार बिहे गरेर बस्ने र गैर–कानूनी काममा संलग्न हुने भएकाले मलेशियाका लागि नेपाली कामदार बढी सुरक्षित मानिन्छन् । आफ्नो राष्ट्रिय सुरक्षामा खतरा नदेखेकाले पनि नेपाली कामदार मलेशियाका रोजगारदाताको रोजाइमा पर्ने गरेका हुन् ।

अव्यवस्थित रोजगारी

रोजगारदाताको रोजाइमा परे पनि दुई देशबीच श्रम सम्झैता नहुँदा मलेशियामा कार्यरत नेपालीले कम तलब लगायतका समस्या भोग्नु परेको छ । मलेशियामा नेपाली कामदारको औसत कमाइ मासिक रु.२० हजारदेखि रु.३० हजारसम्म मात्र छ । श्रम मन्त्रालयले नेपाली कामदारबाट अतिरिक्त रकम लिने व्यवस्था हटेपछि मात्र श्रम सम्झैताको प्रक्रिया थाल्ने बताएको छ । नेपाल ट्रेड युनियन महासंघ, मलेशियाका संयोजक गणेश खतिवडा नेपाली कामदारले कम तलब र असुरक्षित रूपमा काम गर्नुपरेको बताउँछन् । “कतिपय कम्पनीले कामदारलाई तलबै दिंदैनन्” उनी भन्छन्, “त्यस्ता कम्पनीमा परेकाहरू ‘डिप्रेसन’ मा जान्छन् र अन्ततः आत्महत्या गरेको घटना पनि भएका छन् ।”

मलेशियामा दुर्घटनामा पर्ने पनि सबभन्दा बढी नेपाली छन् । २०६४/६५ देखि २०७१/७२ सम्म मलेशियामा ३७३ जना नेपाली कामदार दुर्घटनामा परेर अशक्त भए । सो अवधिमा वैदेशिक रोजगारीमा मृत्यु हुने कुल नेपालीको संख्या ५ हजार ८९२ रहेकोमा सबभन्दा धेरै मलेशियामा २ हजार १५४ कामदारको मृत्यु भयो । उजुरी गर्ने पनि अन्य देशको तुलनामा मलेशिया गएकाहरू नै बढी छन् । आव २०६८/६९ देखि २०७१/७२ सम्म श्रम मन्त्रालयमा म्यानपावर व्यवसायी विरुद्ध उजुरी दिनेमा मलेशिया गएकाहरूको संख्या ३५.२४ प्रतिशत थियो ।

comments powered by Disqus

रमझम