२०-२६ साउन २०७५ | 5-11 August 2018

विकृत राजनीतिको पर्दाफास

Share:
  

हिमाल (१३ – १९ साउन) आवरण ‘शुद्धीकरणको छटपटी’ ले विकृत राजनीतिको पर्दाफास गरिदिएको छ । हिजो त्रिशंकु संसद भएका बेला राजनीतिलाई जसरी विकृत बनाइएको थियो, आज दुईतिहाइ बहुमतनजिक रहेको एउटै पार्टी सरकारमा रहँदा पनि त्यस्तै अवस्था रहिरहनु आम अपेक्षा विपरीतको कुरा हो । घूस नखाई काम नगर्ने कर्मचारीतन्त्र, आकासिएको महँगी, चुलिंदो बेरोजगारी जस्ता समस्या अहिलेको बलियो सरकारबाट समाधान होलान् भन्ने जनताको आशामा तुषारापात हुन लागेको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन, अधिकार तथा जिम्मेवारी निर्धारण हुनसकेको छैन । सरकारका कामकारबाही जनअपेक्षा विपरीतका हुन थालेका छन् । बहुमतको सरकारका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका सार्वजनिक अभिव्यक्ति र क्रियाकलाप पनि जनउत्तरदायी देखिंदैनन् । यो चालाले समृद्धि कसरी सम्भव होला ?

आभा आचार्य, अनलाइनबाट

सम्पदाको संरक्षण होस्

हिमाल (१३ – १९ साउन) देशदृष्टि ‘टक्सार घरको बेवास्ता’ ले हामी नेपाली पुरातात्विक सम्पदाको संरक्षणमा कत्ति पनि चिन्तित छैनौं भन्ने उजागर गरिदिएको छ । आफ्ना धरोहरलाई नचिन्ने राज्य–व्यवस्थादेखि वाक्क लाग्छ । पुराताŒिवक महŒवका मठ–मन्दिर, पाटीपौवा तथा सार्वजनिक संरचनाको जीर्णोद्धार तथा पुनर्निर्माणमा तीनै तहका सरकार सक्रिय हुनै पर्छ ।

कला, सभ्यता र संस्कृतिको इतिहास बोल्ने संरचना समाजको पनि सम्पत्ति भएकाले नेपाली वास्तु सभ्यता बचाइराख्न नेपालभित्र रहेका सबै पुराताŒिवक ऐतिहासिक टक्सार भवनहरूको सुरक्षा र मर्मतसम्भार गरिनैपर्छ । सम्पदा संरक्षण गर्नेको जय होस् !

परमेश्वर शाक्य

निगरानी आवश्यक

हिमाल (१३ – १९ साउन) विशेष रिपोर्ट ‘कृषि उत्पादनः कहाँ चुहियो लगानी’ ले कृषिप्रधान देशको हविगत देखाइदिएको छ । सरकार र दाताको ठूलो अनुदानसँगै ब्यांक तथा वित्तीय संस्थाको लगानीले पनि कृषि उत्पादकत्व बढाउन नसक्नुको कारण त्यसको दुरुपयोग नै हो । दुरुपयोग हुने प्वालहरूमा निगरानी अपरिहार्य छ । कृषि क्षेत्रको व्यावसायिक विकास नहुँदासम्म मुलुकको अर्थतन्त्रमा विकास हुन सक्दैन ।

पदम राउत, अनलाइनबाट

पीर पर्दा टुलुटुलु नहेर

हिमाल (१३ – १९ साउन) रिपोर्ट ‘पशु स्वास्थ्यः पशुपक्षी मरिरहँदा छैन औषधि’ ले सरकारको नालायकीपन उदाङ्गो पारिदिएको छ । पशुपालक कृषकका लागि सरकारले सुविधा दिनुपर्नेमा उल्टो असुविधा थपिदिएको छ । सरकारी निकायकै अकर्मण्यताका कारण बजारमा औषधि अभाव हुनु लाजमर्दो कुरा हो । व्यावसायिक पशुपालन गरिरहेका किसानको करोडौं लगानी जोखिममा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको छ । किसानको पीरमर्काको निवारणमा सरकारले ध्यान देओस् ।

शंकर वाग्ले, अनलाइनबाट

खुशी लाग्यो

हिमाल (१३ – १९ साउन) रिपोर्ट ‘गर्भिणी चार ढोई’ बाट हात्तीको संख्या बढ्ने खबर थाहा पाउँदा खुशी लाग्यो । बरु जंगली हात्तीको आक्रमणबाट गर्भिणी हात्तीलाई सुरक्षित बनाउनतिर विशेष सतर्कता अपनाउनुपर्छ । पर्यटन प्रवद्र्धनका लागि पनि हात्तीको प्रजनन् महŒवपूर्ण हुने कुरा भुल्नुहुँदैन ।

गिरिराज पौडेल, अनलाइनबाट

स्तब्ध पार्‍यो

हिमाल (१३ – १९ साउन) रिपोर्ट ‘ब्ल्याक स्पटः सातदोबाटो–ग्वार्को’ को एक किलोमिटर क्षेत्रमा एक वर्षमा भएका दुर्घटनाको संख्याले स्तब्ध बनायो । कुनै पनि संरचना वा सडक निर्माण गर्दा आम मानिसको हितलाई प्राथमिकतामा नराखिनुको कारण यस्तो हुन पुगेको हो । दुर्घटनाका कारकलाई पहिचान गरेर त्यसको समाधानमा लागिहाल्नुपर्छ । चालकलाई पनि रिपोर्टले केही सतर्क त बनाएकै हुनुपर्छ ।

देवीचरण धमला, अनलाइनबाट

सेनाले व्यापार गर्नुहुँदैन

हिमाल (१३ – १९ साउन) रिपोर्ट ‘सेनाको व्यापारः मोफसलमा पनि विस्तार’ ले सेनाको व्यापार मोहलाई स्पष्ट पारिदिएको छ । राजधानीमै ऐतिहासिक सम्पदा भत्काएर व्यापारिक भवन बनाउने, व्यापार व्यवसायमा लाग्ने कार्यको सर्वत्र विरोध भइरहेकै बेला मोफसलमा पनि सेनाको व्यापार विस्तारले थप चिन्तित तुल्यायो । यसरी सेनाको छवि माथि नै औंला ठडिन थाल्दा पनि सरोकारवालाको ध्यान किन नगएको होला ? सेनाले व्यापार गर्नै हुँदैन भन्नेमा सबै समयमै स्पष्ट हुनुपर्छ । सेनाको व्यापार मोह रोकिनै पर्छ ।

मिलन श्रेष्ठ, अनलाइनबाट

आशा जगायो

हिमाल (१३ – १९ साउन) रिपोर्ट ‘नौबुँदे सहमतिः सुधारको संकेत’ ले झ्निो भए पनि आशा जगायो । अब भने चिकित्सा शिक्षा सुधारमा केही हुन्छ कि ! तर सहमति गरेर पनि कार्यान्वयन नगरिएका पहिलेको अवस्था हेर्दा ढुक्क हुन भने सकिंदैन । सुधारका नयाँ संकेत भने पक्कै देखिएका छन् । चिकित्सा शिक्षामा मात्र होइन, अन्यत्र रहेका बेथितिमा पनि सुधार हुनुपर्दछ । पछिल्लो पटक २७औं दिनसम्म अनशनै बसेर भए पनि सरकारलाई चिकित्सा शिक्षाको सुधारका लागि बाध्य पार्ने डा. गोविन्द केसीलाई धन्यवाद ।

गोपाल शाह, अनलाइनबाट

comments powered by Disqus

रमझम