‘खूद हाजिर्भै सलाम गर्नाको इच्छा छ’

Share:
  
- भैरव रिसाल
एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको कार्यकारी प्रमुखले सात समुद्र पारिको राजालाई ‘सलाम गर्नाको इच्छा छ’ भन्नुले एउटा स्वतन्त्र राष्ट्रको गरिमामा आँच पुर्‍याउँदैन ?

चन्द्रशमशेर
“एकपल्ट षूद (खूद) हाजिर्भै किङ यम्परको सलाम गर्नाको इच्छा राखेको छु ।”

श्री ३ महाराज चन्द्रशमशेरलाई बेलायत गई क्षयरोगको निदान गराउने मनसाय रहेछ । चन्द्रशमशेर यसअघि नै कलकत्ता गई भायसराय लर्ड मिण्टोलाई भेटी आफू धेरै वर्षदेखि क्षयरोगबाट पीडित भएकाले औषधोपचारकै निमित्त युरोप जान चाहेको दर्शाइसकेका रहेछन् ।

चन्द्रशमशेर बित्पातै चतुर ठान्थे आफूलाई । ब्रिटिश रेजिडेन्ट म्यानर्स स्मिथसँग उनले भूमिका बाँधेछन्, “आउने साल अफगानिस्तानका अमिर इङ्गल्याण्ड जाने भएको छ !” रेजिडेन्टले जवाफ दिएछन्, “यस विषयमा मलाई थाहा छैन । के महाराजले पनि इङ्गल्याण्ड जाने विचार गर्नुभएको छ ?”

‘त्यस्तै विचार छ’ भन्ने चन्द्रशमशेरको जवाफपछि रेजिडेन्टले “तपाईंको इङ्गल्याण्ड भ्रमणको खास उद्देश्य के हो ?” भनी सोधेछन्, यसमा चन्द्रशमशेरले माथिको जवाफ दिएका हुन् ।

सन् १९०७ मे ८ मा भएको यस प्रसंगको एक सातापछि सरदार मरिचमान सिंह चन्द्रशमशेरको बेलायत, युरोप यात्राको पत्र लिई स्मिथकहाँ गएछन् । स्मिथले ‘श्री ३ वीरशमशेर बेलायत जान्छु भनेर किन नगएको’ भनी बुझन खोजेछन् । सरदारले ‘भोटसँगको सीमाबारे कुरा नमिली गडबड होला भन्ने भएछ र त्यस्तोमा आफू टाढाको सफरमा जानु मुनासिब नहुनाले सवारी नभएको’ भनेछन् । इच्छा लागेको भए पछि पनि जान सकिने कुरा भएछ । उहाँ पुगेपछि १९ तोपको सलामी कि २१ तोपको भन्नेमा पनि अडान हुने रहेछ । सबै कुरामा सल्लाह मिलेपछि अप्रिल ९ तारेख १९०८ मा चन्द्रशमशेरको टोली युरोप प्रस्थान गर्‍यो ।

जहाजभित्र भुजा खाँदैनथे

श्री ३ जङ्गबहादुरभन्दा ५९ वर्षपछि चन्द्रशमशेर बेलायत यात्रामा गएका थिए । जंगबहादुरको टोलीमा ४२ जना थिए भने चन्द्रशमशेरकोमा ४५ जना । जंगबहादुरको टोलीलाई महीनौंका लागि पुग्ने दाल, चामल, पीठो, घ्यू–तेल, मरमसलाका साथै पित्तलका ४० वटा ठूल्ठूला गाग्रीभरि खानेपानी, दूध दिने गाई र पीपलको गमला समेत जहाजमा राखिएको थियो भन्ने कुरा पुरुषोत्तमशमशेरको श्री ३ हरूको तथ्य वृत्तान्त भाग–१ मा किटान गरिएको छ । तर, सोही नामको ग्रन्थ भाग–२ मा चन्द्रशमशेरले बेलायत यात्रामा जाँदा कुन सामग्री कति लगे, दुहुनो गाई र पीपलको गमला लगे कि लगेनन् भन्ने उल्लेख छैन । जङ्गबहादुरको बेलायत यात्रामा जहाजले लङ्गर झरेका ठाउँमा जमीनमा ओर्ली पलेटी कसी भुजा खान्थे, तर भुजा कुन इन्धनमा पकाउँथे भन्ने उल्लेख छैन । जहाजभित्र भने चिउरा, रोटी, सातु, माछामासु, तरकारी इत्यादि खान्थे भन्ने लेखिएको छ । युरोपियनहरूले देख्लान् भनी बाक्लो पर्दाले छेकेर खाना खान्थे रे ! खानेपानी पाइने ठाउँमा पानीका गाग्री भर्थे रे ! झ्ण्डै चार महीनामा जहाज इङ्गल्याण्डको किनारा साउथह्याम्पटनमा पुगेर लङ्गर गिराएछ । र, त्यो टोली १९६५ वैशाख २८ मा ब्रिटेन पुगेछ ।

कामदार बढी

श्री ३ हरूको तथ्य वृत्तान्त पुस्तकमा जङ्गबहादुरसँग बेलायत यात्रामा जाने नेपाली टोलीका सबै सदस्यहरूको नाम उल्लेख छैन, तर चन्द्रशमशेरसँग जाने डफ्फाका सबै कामदारबारे उल्लेख छ । जसमा भाइ जुद्धशमशेर, भतिजा रुद्रशमशेर, चार छोरा लगायत सुब्बा गोविन्दप्रसाद ढुङ्गाना, डाक्टर रत्नदास वैद्य, पण्डित काशीनाथ आचार्य दीक्षित, प्रिन्सिपल वटुकृष्ण मैत्र, भान्छे बाहुनहरू हरिप्रसाद उपाध्याय, गौरीकान्त उपाध्याय, कमलाकान्त उपाध्याय, श्रीकान्त उपाध्याय लगायत र नोकरचाकरमा दीर्घमान, जोगमान, जीतमान, जयमान सिंह, धनकृष्ण, रत्नबहादुर, हरिशरण, कालु, हर्कनरसिंह, जनकलाल लगायत सबैको नाम उल्लेख छ । जङ्गबहादुरको टोलीको भने नाम छैन । भान्छे चार, नोकरचाकर १२ र १० जना अरू श्रमिकहरू मात्र भनिएको छ । यसले भान्से र नोकरचाकर मात्रै २६ जना देखाउँछ ।

लम्पसारवाद होइन र ?

राणाशासनमा नेपाल कति स्वायत्त, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाभिमानी थियो भन्ने प्रश्नमा सार्वजनिक बहस चलाउन यो विषय उठाएको हुँ । एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको कार्यकारी प्रमुखले सात समुद्र पारिको राजालाई ‘सलाम गर्नाको इच्छा राखेको छु’ भन्नुले एउटा स्वतन्त्र राष्ट्रको गरिमामा आँच पुर्‍याउँदैन ? नेपाल राष्ट्रको प्रचलित राजनीतिक विधि र कानूनबमोजिम अधिकारसम्पन्न पदमा आसीन व्यक्तिले प्रयोग गरेको उपरोक्त वाक्यले नेपाल स्वतन्त्र राष्ट्र हो भन्ने संकेतसम्म गर्छ त ? यो आजकल भनिने लम्पसारवाद भएन र ?

अहिले पनि आफूलाई बौद्धिक ठान्ने कतिपय व्यक्तिले ‘राणाशासन हुकुमी भए पनि स्वतन्त्र र पूर्ण सार्वभौम थियो, राणा शासकले गर्नै नहुने कति काम गरे पनि मुलुकको शान, मान र आन जोगाएका थिए’ भन्ने दाबी गर्छन् । यसमा मेरो पूर्ण विमति हो । त्यतिबेला कुन स्वतन्त्र राष्ट्रको कार्यकारी प्रमुखले अर्को राष्ट्रको सम्राटको सामुन्ने उभिई सलाम गर्ने इच्छा राख्ला ? हो, अंग्रेजको उपनिवेश यति विशाल थियो, यो पृथ्वीमा उसको राज्यमा कहिल्यै घाम अस्ताउँदैन भनिन्थ्यो । चन्द्रशमशेरले सलाम गर्ने इच्छा राख्दा नेपालले बुटवल र सिन्धुलीको लडाइँमा त्यही अंग्रेज सरकारलाई परास्त गरेको सम्झ्नुपर्ने होइन र ?

comments powered by Disqus

रमझम