२०-२६ साउन २०७५ | 5-11 August 2018

‘जनवादी’ विद्यालयको बिजोग

Share:
  
द्वन्द्वकालमा ‘क’ बाट कमरेड, ‘ख’ बाट खतरा भनेर पढाइने विद्यालयमा अहिले अन्य सामुदायिक विद्यालयमा जस्तै पठनपाठन हुने गरेको छ, तर सरकारी नजरमा परेको छैन।

प्रविर ददेल
सशस्त्र युद्धका बेला तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सञ्चालन गरेको जनवादी विद्यालय सरकारी उपेक्षाका कारण समस्यामा परेको छ । रुकुम (पूर्व) मा माओवादी कार्यकर्ता, जनसेना र शहीद परिवारका छोराछोरीलाई पढाउन स्थापना गरिएको ‘वासु स्मृति जनवादी विद्यालय’ पछिल्ला वर्षहरूमा सरकारी मापदण्ड अनुसार सञ्चालन भइरहेको छ ।

२०६१ सालमा स्थापना भएको जनवादी विद्यालयले २०६८ सालमा सरकारी स्वीकृति पाउँदै ‘वासु क्षितिज नमूना निम्नमाध्यमिक विद्यालय’ को नामबाट सञ्चालन हुँदै आएको छ । तर, सरकारी पाठ्यक्रम अनुसार पठनपाठन भइरहेको विद्यालयले शिक्षक अभावका साथै जीर्ण भौतिक पूर्वाधारको समस्या खेपिरहेको छ ।

भूमेस्थान गाउँपालिकास्थित यस विद्यालयमा पर्याप्त शिक्षक छैनन् । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा १५२ जना विद्यार्थीका लागि तीन जना मात्र स्थायी शिक्षकको दरबन्दी छ । यो दरबन्दी पनि प्रावि तहकै भएको प्रधानाध्यापक विष्णु शर्मा बताउँछन् । “प्रावि तहको दरबन्दीबाटै निमावि तह चलाउँदै आएका छौं । हामीसँग विषयगत शिक्षक छैनन्”, प्रधानाध्यापक शर्मा भन्छन्, “शिक्षकको अभाव टार्न तीन जना राहत कोटा, एक जना निजी स्रोत र एक जना स्वयंसेवक शिक्षक राखेर कक्षा चलाइरहेका छौं ।” उनका अनुसार, अहिले भएका राहत कोटा र निजी स्रोतका शिक्षक नगन्ने हो भने विद्यालयमा थप ६ जना शिक्षक चाहिन्छ ।

प्रदेश निर्माणको क्रममा रुकुम जिल्ला पूर्व र पश्चिममा बाँडिए पनि शिक्षकहरूको दरबन्दी मिलान नहुँदा समस्या भइरहेको हो । विद्यालयमा भौतिक पूर्वाधारको अवस्था समेत दयनीय छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानदेव रोकायाले पर्याप्त शिक्षक दरबन्दी नहुँदा र भौतिक पूर्वाधार जीर्ण बन्दा पठनपाठनमा समस्या भइरहेको बताए । विद्यालयका जम्मा १० वटा कोठामध्ये ६ कोठा जीर्ण अवस्थामा छन् । उनले भने, “अर्कातिर विद्यालयमा खानेपानीको सुविधा छैन । शौचालय पनि अपुग छ ।” २०६१ देखि कक्षा ४ सम्म मात्र पढाइ हुने गरेको विद्यालय २०६८ सालमा प्रावि क्याङसीसँग गाभिएर निम्न माध्यमिक तहमा विस्तार हुँदै कक्षा ८ सम्म पठनपाठन हुन थालेको हो ।

भूमे गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका शिक्षा समितिका अध्यक्ष रामसुर बुढाले विद्यालयको समस्या समाधानका लागि गाउँपालिकाले पहल गर्ने बताउँछन् । उनका अनुसार, यो आर्थिक वर्षमा विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गरी कम्प्युटर शिक्षामा जोड दिने योजना छ ।

द्वन्द्वकालमा यस विद्यालयमा कखरादेखि नै युद्धसम्बन्धी शब्दावली जोडेर सिकाइन्थ्यो । ‘क’ बाट कमरेड, ‘ख’ बाट खतरा ‘ग’ गण, ‘छ’ बाट छापामार भनेर पढ्ने विद्यार्थीलाई ‘ए’ फर आर्मी, ‘बी’ फर ब्लास्ट, ‘सी’ फर कमब्याट जस्ता शब्दबाट पढाइन्थ्यो । तर, २०६८ सालमा सरकारी स्वीकृति पाएसँगै सरकारी पाठ्यक्रम अनुसार पठनपाठन भइरहेको छ । द्वन्द्वपीडित, शहीद, बेपत्ता, घाइते लगायतका छोराछोरीहरू अन्य बालबालिका जस्तै कपुरी क, खरायो ख भनेर रमाउँदै पढ्ने गरेका छन् ।

अहिले विद्यालयमा नियमित पढाइसँगै विद्यार्थीलाई शान्ति र मेलमिलाप सम्बन्धी ज्ञान पनि दिन थालिएको प्रधानाध्यापक शर्मा बताउँछन् । उनी भन्छन्, “बाल मस्तिष्कमा सकारात्मक प्रभाव परोस् भनेर शान्ति र मेलमिलाप सम्बन्धी ज्ञानलाई प्राथमिकता दिएका हौं ।”

प्रविर ददेल, पूर्व रुकुम

comments powered by Disqus

रमझम