केदारको पनिर पौरख

Share:
  
- मिलन बगाले
सानो लगानीमा दैनिक ३० किलोसम्म पनिर उत्पादन गरी नुवाकोटबाट काठमाडौं पुर्‍याउने केदारको पौरख उदाहरणीय छ।

नेपाली समाजले केही दशकयता युवा पलायनको समस्या झेलिरहेछ । विदेश बसाइका पीडाबाट आम युवा अनभिज्ञ छैनन् । कष्ट झेलेरै विदेशबाट अलिकति कमाएर कोही फक्र्यो भने अन्य युवामा पनि रहर जाग्छ । युवाले गाउँघरमै उद्यम गरेको भेटिए जिब्रो टोक्नुपर्ने अवस्था आइसकेको छ ।

देशको यस्तै परिस्थितिबीच पनि गाउँमै पौरख गर्ने युवाहरू नभएका होइनन् । धादिङको थाक्रे गाउँपालिकास्थित धार्केबाट केवलपुर हुँदै ६ घण्टाको पैदलयात्रा गरी नुवाकोटको बेलकोटगढी डाँडागाउँसम्म पुग्दा कृषि कर्ममा रमाएर राम्रै उन्नति गरेका युवाको कथा देख्न र सुन्न पाइयो । डाँडागाउँको सेरोफेरो मोटर पुगे पनि कच्ची सडक भएकाले बर्खामा तीन–चार महीना गाडी चल्दैन । थाक्रे र बेलकोटगढी छुट्याउने कोल्पु खोलामा पुल छैन ।

कृषि उपजलाई पृथ्वी राजमार्गसम्म पुर्‍याउन तीन–चार घण्टा हिंड्नुपर्छ । नजिकको बजार, उचित बजारभाउ, खेती–किसानीलाई सम्मान गर्ने चलन, उब्जाउ जमीनका कारण विदेश पलायन हुनबाट बचेका यहाँका केही युवा खेतीपातीमा लागेको देखिन्छ । धार्के बजारबाट ओरालो झ्र्नासाथ एउटा रूखमा तोप चराका गुँडैगुँड भेटिए । मान्छेले पनि यसैगरी घर बनाएका होलान् भन्ने अनुमान विपरीत भूकम्पले क्षति पुर्‍याएका ठाउँमा घरको जग बनाएर अलपत्र छोडिएको देखियो । अर्कोतिर, यस्ता ठाउँमा पनि आफ्नै उद्यमले राम्रा र बलिया घर बनेको पनि देखियो ।

पुनर्निर्माण गतिविधिभन्दा गाउँमा भेटिएका कृषि उद्यमीको कथाले यसपालि बढी तान्यो मलाई । तीमध्ये एक हुन् कृषि कर्ममा तनमनले लागेका नुवाकोटको बेलकोटगढी नगरपालिका–३, नयाँबस्तीका केदार मुडभरी (२७) ।

विगत पाँच वर्षदेखि गाउँमै बसेर दैनिक ३० किलोसम्म पनिर उत्पादन गरी धार्के हुँदै काठमाडौं पुर्‍याउने केदारको पौरख हेर्न लायकको छ । पनिर पौरख शुरू गर्नुअघि र गर्दैगर्दा पनि केदारले विदेशको मुख ताकेका थिए, जाने मेसो जुरेन । अहिले उनी जान नपाएकैमा खुशी छन् । घरनजिकै बाटोको छेउमा टीनले बनेको कटेरोमा उनी घरी दूध तताइरहेका त घरी भेनेगरले दूध फटाइरहेका हुन्छन् । दुई लिटर पानीमा मिसाएको ३० मिलिलिटर भेनेगर खन्याएपछि ४० लिटर तातो दूध फाट्न थाल्छ । भेगेनरले छुट्याउँछ, दूधको दूध पानीको पानी । फ्याट कम भएको र पानी मिसिएको दूध भने पनिर बनाउन काम लाग्दैन । मेशीनले जाँचेर फ्याट पत्ता लगाएपछि त्यही अनुसार किसानले दूधको पैसा पाउँछन् ।

तताउने र फटाउने काम गरेपछि सेतो रुमालमा पनिर छानिन्छ, रुमालमा पोको पारेको पनिरलाई ठूलो ढुंगाले थिचिन्छ । त्यसपछि चाहेको आकारमा पनिर बनाउँछन्, केदार । तयार पनिर हत्पत्ति बिग्रँदैन, तर धेरै समय राख्नका लागि उनी फ्रिज किन्ने योजनामा छन् । बनाएको पनिर लिएर भोलिपल्टै उनी २० किलोमिटर दूरीमा रहेको धार्केसम्म मोटरसाइकलमा पुग्छन् । त्यहाँदेखि काठमाडौं पुगेको पनिरलाई भाइहरूले प्रति केजी रु.५०० मा बेचिदिन्छन् । स्थानीय किसान र आफ्नै घरका गाई–भैंसीको गरी करीब २०० लिटर दूधबाट उनको पनिर उद्योग चलेको छ ।

डाँडागाउँमा जनहित बचत तथा ऋण सहकारीले पनि दूध डेरी चलाइरहेको छ । त्यसैले दूध पाउन सजिलो छैन । दूधको भाउ तल–माथि भयो भने पनि पनिर उद्योग चल्दैन । अर्कोतिर बजारसम्म पुग्ने बाटो सजिलो छैन । यी अप्ठेरा झेलेरै केदार पनिर पौरखमा रमाइरहेछन् । उनको घर–व्यवहार, मोटरसाइकल, विवाहदेखि घडेरीसम्म पनिर पौरख मिसिएको छ ।

पनिर उद्योग चलाउन धेरै पैसा र ठूल्ठूलो तालिम चाहिंदैन, तर मिहिनेत धेरै चाहिन्छ । म्याचिङ मेशीन, दूध तताउने ठूलो भाँडो, खन्याउने बाटा वा बाल्टिन, सेतो कपडा, दराज र फ्रिज भयो भने पनिर व्यवसाय चलाउन सकिन्छ । पनिर व्यवसायका लागि करीब रु.३ लाख लगानी भए र १० दिन काम सिके पुग्ने केदार बताउँछन् । नुवाकोट चाउथेमा पनिर व्यवसाय गर्ने सानोबुवा रामहरि बजगाईंसँग पनिर बनाउन सिकेका केदारलाई सरकारी निकायबाट पाइने ऋण वा अनुदान, कृषि प्रदर्शनी, अध्ययन भ्रमण आदि व्यवसाय प्रवद्र्धनका कार्यक्रमबारे जानकारी छैन । त्यतातिर वास्ता नगरी खुरुखुरु आफ्नो काम गरिरहेका छन्, उनी ।

धेरै युवा कामको खोजीमा विदेश गए पनि केदार जस्ता केही युवा परम्परागत खेतीभन्दा माथि उठेर ‘केही’ गरिरहेका छन् । उनीहरूलाई त्यही व्यवसायमा लामो समय टिकाउनका लागि थप प्रोत्साहन गर्न स्थानीय सरकारले कन्जुस्याइँ गर्नुहुन्न । आफ्नै पौरखमा रमाइरहेका उद्यमी युवाहरूको जय होस् !

comments powered by Disqus

रमझम