२०-२६ साउन २०७५ | 5-11 August 2018

कम लागतमा बलियो घर

Share:
  

तस्वीरहरुः मिलन बगाले
ढुङ्गा, काठ, जस्तपाता सहित नयाँ र पुरानो निर्माण सामग्री प्रयोग गरी हेलम्बुको मेलम्चीघ्याङमा बनाइएको घर ।
हाम्रा गाउँघरमा अझै पनि ढुंगा–माटोका घरहरू देख्न पाइन्छ । तर सडक नपुगेका दुर्गम गाउँमा पनि सिमेन्ट र छड प्रयोग गरिएका घर नभएका भने होइनन् । माटो र ढुंगाका परम्परागत शैलीका घरभन्दा विधि पुर्‍याएर सिमेन्ट तथा छडको प्रयोग गरिएका घर बलिया हुन्छन् । उसो त लागतका हिसाबले पनि सिमेन्ट, छडको प्रयोग महँगो हुन्छ ।

ग्रामीण क्षेत्रमा स्थानीय स्रोतसाधन प्रशस्त पाइन्छ । त्यसैले घर निर्माण गर्दा स्थानीय सामग्रीको प्रयोग गर्न सके ठूलो रकम बचत हुन्छ । परम्परागत तरिकालाई थोरै मात्र परिवर्तन गरे पनि भूकम्प प्रतिरोधात्मक बलियो घर निर्माण गर्न सकिने आर्किटेक्ट मिलन बगाले बताउँछन् ।

“ढुङ्गा, माटो, इँटा तथा थोरै सिमेन्ट र छडको प्रयोग विधि पुर्‍याएर गरियो भने भूकम्प प्रतिरोधी बलियो घर बनाउन सकिन्छ” बगाले भन्छन्, “स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर एक तले तीन कोठाको घर बनाउँदा ६ देखि ८ लाख रुपैयाँसम्म खर्च हुन्छ ।” यस्ता घरमा पाँच ठाउँमा ढलान पेटी बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै, स्थानीय सामग्रीको पुनः प्रयोग र उपलब्ध भएसम्म स्थानीय जनशक्ति खटाउँदा कम लगानीमै बलियो घर निर्माण हुने उनको सुझाव छ ।

इन्जिनियर सञ्जीव बस्नेतका अनुसार घर निर्माण गर्दा असल ठेकेदार, दक्ष कामदार हुने हो भने पनि खर्च बचत हुन्छ । उनी भन्छन्, “दक्ष कामदारबाट नियमित काम हुने हो भने तीन कोठाको एक तले घर बनाउँदा मात्रै ५ देखि ७ प्रतिशत लागत कम हुन्छ ।” कामदारको लापरबाहीले निर्माण सामग्री धेरै खेर जानेतर्फ पनि सचेत हुन उनी सल्लाह दिन्छन् ।

बस्नेतका अनुसार घर निर्माणको कुल खर्चको करीब ३५ प्रतिशत झ्यालढोका, भान्सा कोठा, ट्वाइलेट/बाथरुम र रंगरोगनमा खर्च हुन्छ । त्यसैले यी सामग्रीको छनोट गर्दा विचार पुर्‍याएर पनि लागत कम गर्न सकिन्छ ।

ढुङ्गा, काठ र जस्तपाता प्रयोग गरी हेलम्बुको धेनथाङमा बनाइएको घर ।

नपोखिने गरी रंग लगाउने, सिमेन्ट, बालुवा तथा गिट्टीको उचित तरिकाले भण्डारण गर्ने, सीधा र खेर नजाने काठ खरीद गर्ने तथा ठेकेदार र कामदारको कामलाई नियमित अनुगमन गर्दा लागत कम गर्न सकिने जानकारहरूको भनाइ छ ।

यी विषयमा ख्याल गरेर घर निर्माण गर्दा अट्याच बाथरुम सहितको तीन कोठाको एक तले कंक्रिटको घर १५ देखि २० लाखमा रुपैयाँमा तयार हुने इन्जिनियर बस्नेत बताउँछन् । अन्य आकारका घरभन्दा वर्गाकार बनाउँदा निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम हुन्छ ।

कतिपयले घर निर्माण गरिरहेको समयमा भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन् । यसले गर्दा पनि निर्माण महँगो पर्छ । त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोही बमोजिम निर्माण गर्दा लागत र समय बचत हुने इन्जिनियर बस्नेतको भनाइ छ ।

comments powered by Disqus

रमझम