शासक बुझाउने स्मारक

Share:
  
- ध्रुवसत्य परियार
शासकको लहडमै बनेका भए पनि पुराना भौतिक संरचना इतिहासका कला–संस्कृति र सभ्यता सम्झाउने सम्पदा हुन्।

पशुपतिनाथ मन्दिर क्षेत्र ।
‘दाङको तुलसीपुरमा रु.४० करोडको टावर बन्ने’ समाचार आएपछि केदार शर्माले गएको ५ असारमा ट्वीट गरे, “यी र यस्ता ‘सरकारप्रमुख’ हरूलाई चारैतिरबाट प्रश्न गरौं, नागरिकका वास्तविक समस्या बिर्सेर फुर्मासी खर्च गर्नबाट रोकौं । सबैले गरे रोकिन्छन् ।”

जवाफमा तीर्थ कोइरालाले लेखे, “धरहराको काम के थियो त्यो समयमा ? करोडौं लागतमा गणतन्त्र स्मारक किन बनाउने ? ठाउँठाउँमा बीपी, पुष्पलाल, मदन भण्डारी र गणेशमानका सालिकको के काम ? भन्ने जवाफ लगाउलान् नि फेरि !”

अनि शर्माले थपे, “अहिले हामीले ‘महान् स्मारक’ मान्ने गरेका संसारका सबैजसो भवनादिका पछाडि शोषण, अमानवीय श्रम र हत्या समेतका दुःखद कथा छन् भन्ने नबिर्सौं । उहिलेको धरहरा देखाएर ४० करोडे मलको औचित्य साबित गर्न खोजे भने ‘तिमी १८औं सदीका भीमसेन थापा हौ कि २१औं सदीका जननिर्वाचित प्रतिनिधि ?’ भनेर सोधौं न !”

यो प्रश्न राख्दा तुलसीपुर उप–महानगरपालिकाका मेयर घनश्याम पाण्डेले पर्यटन प्रवद्र्धन गर्ने हेतुले बहुउद्देश्यीय तुलसी टावर स्थापना गर्न चाहेको बताए । “पछि गएर यो दाङको गौरवशाली स्मारक बन्नेमा हामी विश्वस्त छौं” उनले हिमाल सँग भने, “विदेशमा विभिन्न टावर देखेकाले मैले नै यस्तो विचार गरेको हुँ ।”

दाङ ठूलो कृषि सम्भावना भएको जिल्ला हो, जहाँ सिंचाइका लागि गर्नुपर्ने धेरै काम छन् । दाङको खेतीयोग्य ६६ हजार हेक्टर जमीनमध्ये ३७ हजार हेक्टरमा मात्र, त्यो पनि अस्थायी प्रकृतिको सिंचाइ सुविधा छ भने ११ हजार हेक्टर जमीन आकाशे पानीमा निर्भर छ । सिंचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीबाट उपलब्ध यो आँकडा राख्दा तुलसी टावर नै आफ्नो पहिलो प्राथमिकता नभएको बताउँदै मेयर पाण्डेले भने, “आउँदो आर्थिक वर्षलाई व्यावसायिक कृषि र पशुपालन वर्षका रूपमा अघि बढाउने योजनामा पनि छौं ।”

‘तुलसी टावर’ को प्रसंगले स्मारकहरू कसरी बन्छन्, सम्पदा के हो, के होइन भन्ने जस्ता प्रश्नहरू उब्जाएका छन् ।

इतिहासका धरोहर

तस्वीरहरुः बिक्रम राई
वैशाख २०७२ को भूकम्पअघि काठमाडौं दरबार स्क्वायर
नेपालमा किरातकाल संकेत गर्ने पशुपतिनाथदेखि राणाकालसम्मका धरोहरहरू छन् । त्यसबीचमा शाह, थापा आदिद्वारा निर्मित इमारतहरू पनि त्यस युगका स्मारकका रूपमा छन् । काठमाडौं उपत्यकाभित्र लिच्छविकालदेखि नै हिन्दू र बौद्धमार्गीलाई जोड्ने अनगिन्ती स्मारक रहनुलाई धार्मिक सहिष्णुताको अनुपम उदाहरण मानिन्छ । यी धार्मिक धरोहरहरू निर्माण हुँदाताकाको सत्ता र समाजबारे अध्ययन–अनुसन्धान चाहिं कमै भएको छ । शासकहरूले अरूका इतिहासलाई नष्ट पारेका उदाहरण इतिहासमा प्रशस्त पाइन्छ । डा. गोविन्द टण्डनको पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन (भाग–१) अनुसार, बंगालका सुल्तान शमसुद्दीन इलियासको फौजले पशुपतिनाथको पुरानो शिवलिंग नष्ट गरिदिएको थियो । पशुपतिमा अहिले भएको शिवलिंग वि.सं. १४१७ मा स्थापना गरिएको पुस्तकमा उल्लेख छ ।

राजा रणबहादुर शाह त्यस्तै सनक र उपद्रोका कारण चर्चित छन् । इतिहासकार बाबुराम आचार्यको पुस्तक अब यस्तो कहिल्यै नहोस् अनुसार, २३ वर्षको उमेरमा गेरु बस्त्र पहिरेर बिरामी महारानी कान्तवतीका साथ देवपाटनमा बस्न थालेका रणबहादुर शाहले कान्तवतीको मृत्युपछि उपचारमा संलग्न वैद्य–पुजारीलाई दण्डित गर्नेदेखि पूजा–आराधना गरिएका देवदेवी र मन्दिरहरूमा समेत तोडफोड गरेका थिए । आचार्यले लेखेका छन्, “पशुपतिनाथलाई तोपले पड्काउन भनी यिनी उद्यत भएका थिए, सम्झई–बुझई यिनलाई यस कामबाट त रोकियो, तर तुलजा भवानीको मूर्तिलाई उखेलेर मसानघाटमा मिल्काउन लगाइदिए । भादगाउँको बेताललाई बञ्चराले फोराए र स्वयम्भूको हारती मातालाई मनुष्य विष्टाको धूप दिलाई उखेलेर नै फ्याँकिदिए । कुम्भेश्वरको शिवलिंगमा विष्टाको लेप लगाइयो । अन्य अनेकौं देवदेवीहरूको पनि यस्तै नै दुर्गति भयो ।”

हरेक सम्पदा–स्मारकमा हिजोका शासकका संरक्षण मात्र नभई तत्कालीन समाजको सभ्यता, आस्था, कला, श्रमजीवी नागरिकको परिश्रम प्रतिबिम्बित भएको हुन्छ । संस्कृतिविद् सत्यमोहन जोशी हरेक सम्पदामा तत्कालीन समाजले लामो समय लगाएर हासिल गरेको कला–संस्कृति देख्छन् । उनको बुझइमा, स्थानीय समाजले संरक्षण गर्न चाहेको कला सच्चा सम्पदा बन्न पुग्छ । उनी भन्छन्, “नेपाली धर्म–संस्कृति, कला, सभ्यता र सहिष्णुताको प्रतीकका रूपमा रहेका पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायण, काष्ठमण्डप, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार आदि भौतिक संरचना शासकहरूले चाहेर मात्र सम्पदा बनेका होइनन् ।”

अंशुवर्माको समय (वि.सं. ६६२–६७८) देखि नै नेपालको राष्ट्रदेवको रूपमा प्रतिष्ठित पशुपतिनाथ मन्दिरले किरातकालीन इतिहास पनि बोकेको डा. टण्डनको पुस्तक बताउँछ । किरातेश्वर महादेव र विरुपाक्ष (कलि) को मूर्ति लिच्छविकालमा प्रचलित मूर्ति कलाभन्दा भिन्न छ । टण्डनका अनुसार, तिनको निर्माण शैलीले किरातकालीन नेपालमा कला–कौशलको राम्रो विकास भएको र पशुपतिमा किरातकालीन कलाले संरक्षण पाउनुले लिच्छवि शासकको धार्मिक सहिष्णुता देखाउँछ ।

पाटन दरबार स्क्वायर

उत्पत्तिबारे अनेक किंवदन्ती रहेको र आज संसारभरका बौद्धमार्गीको आस्थाको केन्द्र बन्न पुगेको स्वयम्भू महाचैत्यमा लिच्छविकालमै बनेका प्रस्तरहरू पाइन्छन् । लिच्छविहरूसँगै काठमाडौं उपत्यका भित्रिएका कुषाणहरूले यो महाचैत्य निर्माण गरेको हुनसक्ने डा. साफल्य अमात्यको अनुमान छ । उनको पुस्तक विश्व सम्पदाः काठमाडौं उपत्यका का अनुसार, सन् १३५० मा सुल्तान शमसुद्दीनले स्वयम्भूमा लुटपाट गरी धेरै कलाकृति नाश गरेका थिए ।

यस्तै विश्व प्रसिद्ध नेपाली सम्पदामध्येको एक हो– हनुमानढोका दरबार क्षेत्र । १७२९ सालमा राजा प्रताप मल्लले यो दरबारको मुख्य प्रवेशद्वारमा हनुमानको मूर्ति स्थापना गरेपछि यसको नाम हनुमानढोका रह्यो । पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि हनुमानढोका दरबारसँग जोडेर नौतले दरबार बनाएसँगै यसलाई वसन्तपुर दरबार पनि भन्न थालियो ।

शासकको स्मारक लोभ

भारतका मुगल सम्राट शाहजहाँले सन् १६३१ मा दिवंगत भएकी आफ्नी प्रिया मुमताज महलको सम्झ्नामा बनाएको ताजमहलबारे अनेक कहावत छन् । एसएल नागोरीद्वारा लिखित मध्यकालीन भारतः ईस्वी १०००–१७६१ का अनुसार, आगरास्थित यो भवन बनाउँदा तीन करोड नगद र २२ वर्ष लागेको थियो । थुप्रै कवि–लेखकले ताजमहललाई ‘मृत्युको गालामा अमिट आँसु, पत्थरद्वारा प्रेमको अभिव्यक्ति, संगमरमरमा साकार स्वप्न, प्रेम तथा अनुरागको अद्वितीय स्मारक’ जस्ता शब्दावलीले प्रशंसा गरेका छन् । तर, भारतकै प्रसिद्ध कवि/गीतकार साहिर लुधियानवीले लेखे–

इक शहंशाह ने दौलत का सहारा ले कर,

हम गरीबों की मोहब्बत का उडाया है मजाक ।

लुधियानवीको यो सायरीले शासकले आफ्नो प्रेमलाई अमर बनाउन धनको सहारा लिन्छन् भन्दै व्यंग्य गरेको छ । प्राचीन मिश्र (इजिप्ट) को सभ्यतालाई अमर बनाउने पिरामिड निर्माणमा कलाभन्दा धार्मिक सोच प्रधान रहेको कतिपय इतिहासकारहरूको दाबी छ । पिरामिड इसापूर्व ३४००–२१६० को अवधिमा बनेको मानिन्छ ।

स्वयम्भूनाथ

तत्कालीन मिश्रमा प्रत्येक मानवको शरीरमा आत्मा हुने र शरीरको अन्त्यपछि पनि आत्मा नमर्ने विश्वास थियो । त्यसैले धनी मानिसको मृत्युपछि चिहानमा उसको शवसँगै धन, हतियार र अन्य सामग्री गाडिन्थ्यो । राजाको मृत्युपछि त पत्नी र दासीहरूलाई समेत गाडिन्थ्यो, ताकि परलोकमा उनीहरूले राजाको सेवा गर्न सकून् । यसरी राजाको चिहानमाथि बनाइने विशाल संरचनाहरू नै आजको पिरामिड हो । ग्रीक इतिहासकार हेरोडोटसका अनुसार, कायरो नजिकै गिजामा रहेका पिरामिडहरू बनाउन एक लाख २० हजार मानिसको परिश्रम र २० वर्ष लागेको थियो ।

शोकको पृष्ठभूमिमा बनेको ताजमहल र पिरामिड हजारौं श्रमिकको रगत, पसिना र प्राणबाट बनेको भनिन्छ । त्यसबेलाको मिश्र र मुगल साम्राज्य धनधान्यले भरिपूर्ण थिए । नेपालका मुख्तियार भीमसेन थापाले भने युद्धमा हारेर देश दुखेको बेला धरहरा बनाएका थिए । अंग्रेजसँग युद्धमा हारेर धेरैजसो भूगोल समेत गुमेको बेला देशको ढुकुटी पनि रित्तिएको थियो । त्यो दुःख बिर्सन उनले दुई वटा मिनार बनाए । तीमध्ये पहिलो १८९० सालको महाभूकम्पमा नष्ट भयो भने दोस्रोलाई १९९० सालको महाभूकम्पले बीचबाट भाँचिदियो । ११ तलाको त्यो मिनारलाई जुद्धशमशेरले १९९२ सालमा पुनर्निर्माण गर्दा ९ तलाको बनाए । कालान्तरमा धरहराको नामले प्रसिद्ध मुगल शैलीको झ्ल्को दिने त्यो मिनारलाई २०७२ वैशाखको महाभूकम्पले भूमिसात् पारिदियो ।

धरहर
संस्कृतिविद् सत्यमोहन जोशी नेपाली मौलिक शैलीको नभए पनि लामो इतिहास बोकेको धरहराको चाँडै पुनर्निर्माण भए राम्रै हुने बताउँछन् । धरहरालाई ‘काठमाडौं नियाल्ने पुरानो दलान’ मान्ने आर्किटेक्चर इन्जिनियर मिलन बगाले भने मनग्गे पैसा र फुर्सद भएको बेला यसलाई बनाए हुने बताउँछन् । उनका अनुसार, धरहराको इतिहास र वास्तुकला नै निम्छरो किसिमको छ । “धन र जाँगर दुवैको अभावमा हाम्रो पुनर्निर्माण अभियान नै सुस्ताएको बेला” उनी भन्छन्, “आडैमा काठपात, झयाल–ढोका, रेलिङ, इँटा, तस्वीर लगायत पुराना चीजवस्तु राखेर धरहराको ठुटालाई राम्ररी जोगाउँदै चिटिक्कको प्रदर्शनीस्थल बनाए पुग्छ ।”

शासकीय मनोविज्ञानको ऐना

राजनीतिशास्त्री कृष्ण खनाल कतिपय स्मारकका पछाडि तत्कालीन समाजको आस्था, चिन्तन र दर्शन लुकेको हुने बताउँछन् । त्यस्तै, आर्किटेक तथा सांस्कृतिक इतिहासविद् सुदर्शनराज तिवारी ‘स्मारक’ शब्दभित्र निर्माणकर्ताको सोच, प्रवृत्ति, मनोविज्ञान र स्वार्थ लुकेको हुने बताउँछन् । उनका अनुसार, स्मारक निर्माणकर्ताले त्यस मार्फत जगतलाई केही न केही स्मरण गराउन चाहेका हुन्छन् । “जस्तो, मल्ल राजाहरू भूपतिन्द्र र योगनरेन्द्र दुवै तान्त्रिक थिए” उनी भन्छन्, “त्यसैले तलेजु भवानीको अगाडि नमस्कार गरिरहेको आफ्नो सालिक राखेका छन्, पाटन र भक्तपुरमा ।” अधिकांश स्मारकमा निर्माणकर्ताको बडप्पन पनि झ्ल्कने प्रा. डा. तिवारी बताउँछन् । उनका अनुसार, युरोपेली शैलीको सिंहदरबारको पश्चिमी द्वारको आकार र उँचाइले शासकको बडप्पनको संकेत गर्छ । त्यसअगाडि उभिने वा त्यसबाट आउने–जाने मानिस सानो देखिन्छ, द्वारको उँचाइका कारण । निर्माताको जे जस्तो सोच–मनोविज्ञान रहेको भए पनि इतिहास सम्झउने सम्पदाहरूको संरक्षण गर्नुपर्ने प्रा. डा. तिवारीको भनाइ छ । “स्मारकहरूले ऐतिहासिक घटनाहरूको सम्झ्ना दिलाउँछ” उनी भन्छन्, “त्यसकारण, धरहराको पनि पुनर्निर्माण हुनुपर्छ ।”


भ्यूटावरको बिगबिगी

भ्यूटावर, दामन ।
२०७२ को भूकम्पले भत्काएका स्मारकहरूको पुनर्निर्माण हुन नसकिरहेको बेला देशभर डाँडा–डाँडामा भ्यूटावर बनाउने घोषणाको होड चलेको छ । यो रिपोर्ट तयार पारिरहँदा म्याग्दीको रघुगंगा गाउँपालिका–२ थामकोटमा भ्यूटावर बनाउन रु.१५ लाख बजेट छुट्याइएको समाचार आयो । भ्यूटावर निर्माणको सन्दर्भमा सबैतिर ‘पर्यटन स्थल बनाउन’ भन्ने गरिन्छ । भ्यूटावर निर्माणमा कतै सार्वजनिक निजी साझेदारी, कतै निजी त कतै सरकारी लगानी भइरहेको छ । सरकारी लगानीमा काठमाडौंको पुरानो बसपार्कमा ‘काठमाडौं भ्यूटावर’ र नारायणहिटी राजदरबार परिसरमा ‘गणतन्त्र स्मारक’ निर्माणाधीन छन् ।

राजनीतिशास्त्री खनाल पछिल्लो निर्वाचनयता आफू पुगेका सबै ठाउँमा यस्ता संरचना बनाउने चर्चा सुनेको बताउँछन् । त्यसमा मौलिक चिन्तन होइन, देखासिकी हावी भएको उनको विश्लेषण छ । पर्यटन विकासको लागि भ्यूटावर होइन, अन्य स्रोतहरूको विकास गर्न प्राध्यापक खनालको सुझाव छ । उनी भन्छन्, “पहाडी नेपालमा प्रकृतिले नै डाँडाकाँडाका रूपमा अग्लाअग्ला भ्यूटावर दिएको छ, त्यसमा लगानी गर्नुको अर्थ छैन ।”

सम्पदाको परिभाषा

२०७४ मंसीरमा संशोधित प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्यकलाको दृष्टिकोणले महत्व राख्ने १०० वर्ष नाघेका मन्दिर, स्मारक, घर, देवालय, शिवालय, मठ, गुम्बा, विहार, स्तूप आदि स्मारक हुन् । ऐनले त्यस्तो स्मारक रहेको ठाउँ, राष्ट्रिय–अन्तर्राष्ट्रिय दृष्टिकोणले विशिष्ट मूल्य राख्ने एक अर्कोसँग जोडिएको वा एकै इलाकामा बेग्लाबेग्लै रुपमा अवस्थित मानव बस्ती वा स्थल, प्राचीन मानव बस्तीको अवशेष, प्राचीन स्मारकहरूको भग्नावशेष, गुफा आदिलाई पनि स्मारक मानेको छ । यसभित्र पुराना मूर्ति, सिक्का, गरगहना, लुगाकपडा, चित्र आदि चिजबिज पनि पर्छन् ।

नेपालको प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाको वस्तुस्थिति (२०४९) पुस्तकका अनुसार, काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी प्राचीन स्मारक छन् । तीमध्ये करीब ८८८ वटा राष्ट्रिय महत्वका छन् । उपत्यका बाहिर ७२ जिल्लामा राष्ट्रिय महत्वका करीब ५६० स्मारक छन् । यो तथ्यांकमा हिमाली भेगका सबै गुम्बा समेटिएको छैन । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर २०६७/६८ सम्मको संकलन हेर्दा उपत्यकाबाहिर मठ–मन्दिर, पाटी–पौवा, दरबार, गुम्बा गरी २००० र उपत्यकाभित्र ३००० सम्पदा रहेको बताउँछन् ।

२०७२ को भूकम्पमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, गोरखा लगायतका १००० भन्दा बढी स्मारक क्षतिग्रस्त भए । तीमध्ये १३१ वटाको मात्र पुनर्निर्माण भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल बताउँछन् ।

comments powered by Disqus

रमझम