सम्पदाको जोखिम र दायित्वबोध

Share:
  
- भीष्म बाँस्कोटा
भूकम्पले क्षति पुर्‍याएका मूर्त सम्पदाको मौलिक स्वरुप र शैलीलाई ध्यानमा राखी पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ।

स्वयम्भूनाथ ।
अप्रिल १८, ‘इन्टरनेसनल मनुमेन्ट्स एण्ड साइट डे’ अर्थात् अन्तर्राष्ट्रिय सम्पदा दिवस । सम्पदाको संरक्षणमा काम गरिरहेका निकायको कामबारे जानकारी दिन दी इन्टरनेशनल काउन्सिल अन मनुमेन्ट्स एण्ड साइट्स (आइकोमस) ले सन् १९८२ देखि अप्रिल १८ लाई सम्पदा दिवस मनाउने घोषणा गरेको हो । यसपालि ‘हेरिटेज फर जेनेरेसन्स’ अर्थात् ‘भावी पुस्ताका लागि सम्पदा’ नारासाथ विश्वभर अन्तर्राष्ट्रिय सम्पदा दिवस मनाइयो ।

प्राकृतिक एवं मानवीय कारणबाट नेपाल लगायत विश्वभरिकै सांस्कृतिक सम्पदाहरू प्रभावित भएको समाचार हाम्रा लागि नौला होइनन् । द्वन्द्वका कारण सिरियाका सांस्कृतिक सम्पदा प्रभावित मात्र भएनन्, विश्व सम्पदामा सूचीकृत ६ वटै सम्पदा खतराको सूचीमा परे ।

अफगानिस्तानको बामियानमा रहेको बुद्धमूर्तिमाथि सन् २००८ मा क्षति पुर्‍याइयो भने सन् २०१२ र २०१३ मा मालीको अन्सर अल डाइन लडाकुले टिम्बुक्टुमा समाधिस्थल र हस्तलिपिहरू नष्ट गरे । सन् २०१४ देखि इराकको इस्लामिक स्टेट र लेभान्टले इराक, सिरिया र लिबियाका सांस्कृतिक सम्पदाको विनाश र चोरीका कार्य सञ्चालन गर्दै आएको छ ।

एशिया प्यासिफिक क्षेत्रका सम्पदाहरू मानवीय एवं प्राकृतिक प्रकोपको मारबाट गुज्रिरहेका छन् । भूटानका गुम्बाहरू आगजनी, श्रीलंकाका सम्पदाहरू सुनामी तथा अफगानिस्तानका सम्पदाहरू आतंककारीको निशानामा परेका छन् भने हामीकहाँ भूकम्पले क्षति पुर्‍यायो ।

हाम्रा सम्पदामाथिको क्षति

काठमाडौंको संरक्षित स्मारक क्षेत्र स्वयम्भूनाथ र चाँगुमा पहिरोको खतरा बढी देखिन्छ । विश्व सम्पदामा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर मन्दिरले अग्नि र चट्याङरूपी मारलाई खेप्नुपर्‍यो । त्यस्तै, आगजनीकै कारण ललितपुरको कुम्भेश्वरस्थित बगलामुखी मन्दिरको पुरानो स्वरुप खायो, पुरानै स्वरुपमा फर्काउन ठूलो मिहिनेत गर्नुपर्‍यो । ३० को दशकमा आगजनी हुँदा सोलुखुम्बु जिल्लास्थित तेङबोचे गुम्बाका बहुमूल्य सम्पदा नाश भए । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पनि २०३० को असारमा आगलागी भयो ।

अर्कोतिर, चोरी निकासी, आगजनी, बेवास्ता जस्ता कारणबाट हाम्रा सांस्कृतिक धरोहर लोपोन्मुख हुँदैछन् । सन् १९६० देखि ७० को दशकमा नेपालबाट धेरै संख्यामा बहुमूल्य कला–सम्पदाहरूको चोरी–निकासी भयो । नेपालबाट चोरिएका कलाका वस्तुलाई प्रमाणका आधारमा दाबी गरी ८० को दशकमा केही फिर्ता गरियो । अद्यापि कतिपय बहुमूल्य र दुर्लभ कलाकृतिहरू हराउने एवं फिर्ता गर्ने क्रम जारी नै छ ।

विश्वका अन्य देशमा जस्तै हामीकहाँ पनि मानवीय हमलाकै कारण सम्पदामा क्षति पुगेका छन् । पशुपति मन्दिरमा पनि वि.सं. १४०६ मा गयासुद्दीन तुगलकबाट आक्रमण भएको थियो । जयप्रकाश मल्लका पालामा भएको देवस्व मास्ने कार्यलार्ई पनि सम्पदा संरक्षणको इतिहासमा उत्साहहीन कालखण्डका रूपमा चित्रण गर्न सकिन्छ ।

भनिन्छ, द्वन्द्वले विनाश मात्र होइन, सिर्जनालाई पनि निम्त्याउँछ । तर, सम्पदाको सन्दर्भमा यो भनाइ बिल्कुल लागू हुन सक्दैन । हाम्रा प्रत्येक प्राचीन स्मारकहरूले आ–आफ्नै विशेषता, कला, संस्कृति र इतिहास बोकेका कारण महत्वपूर्ण छन् । द्वन्द्वको चपेटामा परेका केही सम्पदा अझ उठ्न सकेका छैनन् । अछामस्थित मंगलसेन दरबार, दर्नाकोट दरबार र पाल्पास्थित पाल्पा दरबार द्वन्द्वको मारमा परे । पाल्पा दरबारलाई संग्रहालयका रूपमा व्यवस्थापन गरी सर्वसाधारणका लागि खुला गरिसकिएको छ । द्वन्द्वकालमा क्षति भएका कतिपय सम्पदाको अझै मर्मत तथा पुनर्निर्माण हुनसकेको छैन ।

विपत्का विभिन्न आयाममध्ये भुईंचालोले पनि हाम्रा पुरातात्विक सम्पदालाई क्षति पुर्‍याएकै छ । १२औं शताब्दीको भुईंचालोदेखि पछिल्लो पटक २०७२ को भुईंचालोले हाम्रा थुप्रै सम्पदामा क्षति पुर्‍यायो । १९९० सालको महाभूकम्पबाट काठमाडौं उपत्यकाका करीब ४४४ सम्पदा भत्किएका थिए भने २०७२ को भूकम्पले काठमाडौंभित्र र बाहिरका गरी कुल १५९८ सम्पदामा क्षति पुर्‍यायो । पछिल्लो क्षतिमध्ये हालसम्म १०० भन्दा बढी सम्पदाको पुनर्निर्माण भइसकेको छ, ३१४ सम्पदाहरूको पुनर्निर्माण कार्य जारी छ ।

दायित्वबोध आवश्यक

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (यूनेस्को) ले विशेष सांस्कृतिक महत्व राख्ने कुनै पनि राष्ट्रका धरोहरलाई आफ्नो सूचीमा राख्ने गर्छ । सन् १९७२ मा विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणको विषयमा भएको महासन्धिलाई सन् १९७८ जून २० मा र अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धि– २००३ लाई २०१० जून १५ मा नेपालले पक्षराष्ट्रको हैसियतले अनुमोदन गरेको छ ।

मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरू एकअर्काका परिपूरक हुन् । मूर्तसँगै अमूर्त सम्पदाको जर्गेना गर्न सकिएन भने पुस्तौंदेखि चलिआएका परम्परा र संस्कारको क्रमभंगता हुन गई तिनको दार्शनिक, सामाजिक, सांस्कृतिक र धार्मिक मूल्य–मान्यता पनि समाजबाट लोप हुने सम्भावना रहन्छ ।

सम्पदा जहाँसुकैको होस्, त्यो विश्व समुदायकै सम्पत्ति हो । खास सम्पदाहरू आउने पिंढीका लागि जोगाइराख्न पनि पूरै विश्व समुदायको जिम्मेवारी रहन्छ ।

आज भूकम्पले क्षति पुर्‍याएका मूर्त सम्पदाको मौलिक स्वरुप र शैलीलाई ध्यानमा राखी भूकम्प प्रतिरोधात्मक उपाय अवलम्बन गर्दै पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ, सरोकारवाला निकायले मात्रै नभई हर नागरिकले यो दायित्वबोध गर्नुपर्छ ।

comments powered by Disqus

रमझम