२७ साउन - २ भदौ २०७५ | 12-18 August 2018

वाल फेशन

Share:
  

पहिले घरका भित्तामा रङरोगन गर्नु सामान्य काम मानिन्थ्यो । दशैं–तिहार, बिहे जस्ता विशेष अवसरमा निश्चित रङहरूले घरको बाहिरी भित्ता र कोठा रङ्गाइन्थ्यो । सजावटका लागि बजारमा अहिले जस्तो पहिले धेरै विकल्प पनि थिएनन् । अब भित्ता रङ्गाउनु पनि कला हुन पुगेको छ । अब रङरोगन ‘वाल फेशन’ बन्न पुगेको छ ।

हिजोआज एउटै कोठामा फरक फरक रङ, बुट्टा र इफेक्टस् प्रयोग हुन थालेको छ । उपभोक्ताको आवश्यकता र रुचि अनुसार पेन्ट्स निर्माता कम्पनीहरूले सयौं प्रकारका रङ उत्पादन गरिरहेका छन् । घरका भित्री भित्ताहरूलाई सुन्दर बनाउन कलर कम्बिनेशन र डिजाइनिङ पेन्टका लागि मानिसले खर्च गर्न थालेका छन् ।

नेपालका शहरी क्षेत्रमा गेरु, कमेरो र चुनालाई रसायन मिश्रित इमल्सन र डिस्टेम्परले विस्थापित गरेको धेरै भइसकेको छ । २०४६ सालपछिको खुलापनले आधुनिक घर निर्माण बढेसँगै विभिन्न प्रकारका रङ लगाउने चलन शुरू भयो । बजारमा किसिम–किसिमका डेकोरेटिभ पेन्ट्ससँगै, परामर्शदाता र रङ्गाइदिने मानिस उपलब्ध छन् ।

पेन्ट्सले घर–कोठालाई आकर्षक बनाउने मात्र होइन; घाम, ढुसी, पानी आदिबाट पनि सुरक्षित राख्छ । घामको ताप छेक्ने रसायनले घरलाई शीतल राख्न पनि सहयोग गर्छ । त्यसबाहेक रङले मानिसको जीवनमा प्रभाव पारिरहेको हुन्छ । मानिसको चिन्तन र दृष्टिकोणमा समेत रङको प्रभाव पर्ने भएकाले घर–कोठाको रङ छनोट गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

कुन कोठामा कस्तो रङ प्रयोग गर्ने भन्ने कोठा कुन काममा उपयोग हुन्छ, कति उज्यालो छ, पर्दा, कार्पेट र अन्य फर्निचरको रङ कस्तो छ आदिमा भर गर्छ । कोठा जे प्रयोजनको भए पनि त्यसमा उत्साह र खुशीको माहोल बढाउने हलुका रङ राम्रो मानिन्छ । गाढा रङ सधैं राम्रो नलाग्न सक्छ । साना कोठाहरूमा सेतो वा हल्का रङहरू प्रयोग गर्दा कोठा ठूलो भएको भान पर्छ । भान्सामा क्रिम, पहेंलो मिश्रित वा काठको जस्तो रङ लगाउनु उपयुक्त हुन्छ ।

गाढा रङ लगाउन मन भए कोठाको एउटा भित्तामा गाढा रङ र अन्य भित्तामा त्यस्तै वा विपरीत रङका हल्का शेड्स प्रयोग गर्न सकिन्छ । झ्याल धेरै भएका उज्याला कोठामा भने गाढा रङ लगाउन सकिन्छ । गाढा रङसँगै ‘स्पेशल इफेक्ट’ भए कोठा झन् आकर्षक देखिन्छ । गाढा र चम्किलो रङ विशेष गरी धेरै मानिस जम्मा हुने डाइनिङ्ग हल, मनोरञ्जनका क्षेत्र, होटल, थिएटर आदिका लागि राम्रो मानिन्छ ।

बेडरुम, लिभिङ रुम, अस्पताल जस्ता ठाउँहरूमा शान्त भाव जगाउने रङ राम्रो मानिन्छ । कोठाको एउटा भित्तामा चम्किलो र बाँकी भित्तामा शान्त रङ लगाउने चलन पनि छ । प्रत्येक कोठामा फरक फरक रङ लगाउनु अचेल फेशन भएको छ । विभिन्न बुट्टाले सजाइएका ‘डेकोरेटिभ वाल’ पनि उपभोक्ताका रोजाइमा छन् । बजारमा बालबालिकाका कोठा, बैठक कोठा, सुत्ने कोठाका लागि फरकफरक विकल्पहरू उपलब्ध छन् ।

रङ छनोट गर्न समस्या भइरहेको छ भने इन्टेरियर डिजाइनर्सको सहयोग लिन सकिन्छ । पेन्ट्स कम्पनी, विभिन्न वेबसाइटदेखि मोबाइल एप्सले समेत रङ छनोटमा सहयोग पुर्‍याउन सक्छन् ।

comments powered by Disqus

रमझम