२७ साउन - २ भदौ २०७५ | 12-18 August 2018

‘बीपीले दुई थप्पड हान्नु’भो’

Share:
  

२०३० सालमा नेपाली कांग्रेसको योजनामा भएको विमान अपहरणका नेतृत्वकर्ता हुन्, दुर्गाप्रसाद सुवेदी। प्रजातन्त्रका लागि कांग्रेसले शुरु गरेको सशस्त्र क्रान्तिमा सहभागी सुवेदीले पछि पार्टीभित्र आन्तरिक प्रजातन्त्र नभएको भन्दै पार्टी छाडे। सुवेदीको पुस्तक विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान २५ साउनदेखि बजारमा आएको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीका श्रीमान् सुवेदीसँग पुस्तक, विमान अपहरण साथै समसामयिक विषयमा गरिएको वार्ता:

मुकेश पोखरेल

पुस्तक लेख्ने सोच कसरी बन्यो ?

प्रजातन्त्रका निम्ति गरिएको उक्त विमान अपहरणबारे विस्तृत विवरण बाहिर आएन । बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा दुई लाइनमै उक्त घटनालाई टुंग्याइदिनुभएको छ । एउटा इतिहासबारे भोलिको पुस्ता अनभिज्ञ हुनेछ भन्ने लागेर पुस्तक लेख्ने निर्णय गरें । तर, लेख्ने जाँगर चलेको थिएन । श्रीमती सुशीलाले पनि ‘इतिहास हराउँछ, पुस्तक लेख्नुस्’ भनिरहिन् । शारीरिक रूपमा आफू कमजोर हुँदै गएको महसूस भएकाले पनि पुस्तक छिटो लेखिसक्नुपर्छ भन्ने लाग्यो र लेखें ।

पुस्तकमा के–कस्ता विषयवस्तु समेटिएका छन् ?

२०१७ सालपछिको राजनीतिक घटनाक्रम, कांग्रेसले गरेको सशस्त्र विद्रोह, त्योसँगै जोडिएको विमान अपहरण र भारतमा भूमिगत हुनुपर्दाका घटना उल्लेख छन् । विमान अपहरणका बेला आधा घन्टासम्म विमानभित्र गर्नुपरेको संघर्ष पनि पाठकसमक्ष पस्केको छु ।

मर्ने र मारिने कुरासँग डर लागेन ?

जब मानिसमा विद्रोहको भावना जाग्छ; तब डर, माया–प्रेम, परिवार आदि सोचिंदो रहेनछ । एक मात्र उद्देश्य थियो, प्रजातन्त्र पुनस्र्थापना । आकाशमा गरिने लडाइँ, ठूलो दुस्साहस थियो ।

कांग्रेसको सशस्त्र विद्रोहलाई आर्थिक स्रोत जुटाउन विमान अपहरणमा सहभागी भएर गलत गरें भन्ने निष्कर्षमा पुग्नुभएको हो ?

पार्टीभित्र रहेर विगतमा जस्ता घटना भए, त्यसको मूल्यांकन इतिहासले गर्छ । त्यतिबेला मेरो नेतृत्वमा जहाज अपहरण भयो, मैले सही ठानेरै त्यसो गरेको थिएँ । म अलि विद्रोही स्वभावको थिएँ, प्रजातन्त्रका लागि विद्रोह गरें ।

पछि गिरिजाप्रसादले आफ्नो आत्मवृत्तान्तमा ‘पैसाको अभाव भएको र यसबारे भारतीय अधिकारीसँग कुरा गरेको’ भनी उल्लेख गरे । भारतीयसँग गिरिजाप्रसादको सल्लाह भएर भारतकै इशारामा योजना बनेको थियो भने एकदमै गलत हो । त्यसमा मैले स्वाभाविक दुःख व्यक्त गरेको छु ।

पार्टी आर्थिक संकटमा परेका बेला विमान अपहरण गरी पैसाको व्यवस्था गर्ने योद्धाले पार्टी छाड्नुको कारण ?

कांग्रेसको नेतृत्वमा ओखलढुंगामा भएको सेनामाथिको आक्रमणमा मेरा थुप्रै साथीको मृत्यु भयो । तर, त्यस आक्रमणमा नेताका कुनै सन्तान सहभागी थिएनन् । यसबारे मैले बीपी कोइरालासँग कुरा गरें । त्यतिबेला उहाँहरूका छोराछोरी भारतमा पढ्दै थिए । मेरो कुराले बीपी भावविह्वल र उत्तेजित हुनुभयो, मसँग रिसाउनुभयो । तत्काल मेरो कुराको जवाफ पनि उहाँले दिनुभएन । स्वतन्त्र र विवेकसम्मत ढंगले आफ्ना कुरा राख्दा सुनुवाइ नहुने देखेपछि म कांग्रेसबाट अलग भएँ ।

ओखलढुंगाको प्रसंग उठाएपछि तपाईंलाई कारबाही भयो कि ?

मैले यो कुरा राखेपछि बीपीले मलाई दुई थप्पड हान्नु’भो । मलाई पार्टीमा मिलेर बस्न पनि भन्नुभएको थियो ।

त्यो सशस्त्र क्रान्ति असफल हुनुको कारण के थियो जस्तो लाग्छ ?

त्यतिबेलाको परिस्थिति क्रान्ति अनुकूल थिएन । परिस्थितिलाई सही ढंगले विश्लेषण गर्न नसक्दा असफल भएको हो । सशस्त्र क्रान्ति शुरु गरेपछि बीपीको चर्चा त भयो, उहाँको लोकप्रियता भने घट्यो । कांग्रेसले २००७ सालमा सशस्त्र विद्रोह गर्दा राणा विरुद्ध जनमत थियो । त्यसकारण क्रान्ति सफल भयो । तर, राजा महेन्द्रले २०१७ सालमा शासन हत्याएपछि सुवर्णशमशेरको नेतृत्वमा भएको सशस्त्र क्रान्ति असफल भएको थियो । यस्तोमा बीपीले फेरि सशस्त्र क्रान्ति शुरु गर्नु गलत थियो ।

तपाईंको नेतृत्वमा लुटिएको भारु ३० लाख केमा खर्च भयो ?

मैले त बीपी कोइरालालाई रकम जिम्मा लगाएको हुँ । पैसा कहाँ, कसरी खर्च भयो, त्यसको मलाई कुनै जानकारी भएन । मैले सोधखोज पनि गरिनँ ।

विमान अपहरणको योजना कसको थियो ?

२०२८ सालमा पहिलोपटक विराटनगरबाट पक्राउ गरी मलाई काठमाडौंको भद्रगोल जेलमा राखिएको थियो । जेलमा पढेको एउटा पुस्तकमा ‘जापानमा एउटा केटोले विमान अपहरण गरी १० करोड फिरौती लिएको’ उल्लेख थियो । तर, जहाज अपहरण गर्न सकिन्छ भनेर सोचेको थिइनँ । म काठमाडौंको जेलमा हुँदा गिरिजाप्रसादको योजनामा मोरङ र सुनसरीका विभिन्न ठाउँमा ब्यांक लुट्ने असफल प्रयास भएका रहेछन् । एक दिन राष्ट्र ब्यांकका कर्मचारी मदन अर्यालले ब्यांकको पैसा विराटनगरबाट काठमाडौं जाँदैछ भनी सुनाए । उनले भने ‘काठमाडौं लैजाने पैसा लुट्न सकिंदैन !’ यो कुरा मैले गिरिजाबाबुसँग गरें, उहाँले बीपीलाई भन्नुभयो । यसरी विमान अपहरणको योजना बन्यो ।

बीपीसँग तपाईंको सम्बन्ध कस्तो रह्यो ?

कांग्रेस छाडे पनि बीपीसँग मेरो भेट भइरहन्थ्यो । उहाँले मलाई ‘तिमीहरू मिलेर बस, गिरिजाप्रसाद चिन्तनमनन गर्ने मान्छे होइनन्, लड्न–भिड्न सक्छन्, गिरिजासँग मिल’ भनेर सल्लाह दिनुहुन्थ्यो ।

बीपीको सल्लाह किन मान्नुभएन ?

गिरिजाप्रसाद तर्क, छलफल नगर्ने एकदमै निरंकुश स्वभावको हुनुहुन्थ्यो । उहाँमा प्रजातान्त्रिक चिन्तन थिएन । त्यसकारण पार्टीभित्र पनि प्रजातन्त्र थिएन, अहिले पनि छैन । गिरिजाको एकाधिकार र निरंकुश शैली देखेर पार्टीभित्र बस्न मन लागेन, अलग भएँ ।

पहिलो संविधानसभामा सदस्यका लागि तत्कालीन माओवादीका तर्फबाट तपाईंको नाम प्रस्ताव हुँदा गिरिजाप्रसादले अस्वीकार गर्नुको कारण ?

कसैको विरोध सहनै नसक्ने मान्छे हो, उहाँ । आफ्नो विरोध गर्नेले पार्टी र देशमा स्थान पाउनुहुँदैन भन्ने तानशाही चिन्तन उहाँमा थियो । उहाँकै पालामा पार्टीबाट धेरै इमानदार नेता तथा कार्यकर्ता पाखा लागे । देशलाई द्वन्द्व र अस्थिरताको अवस्थामा र्‍याउन पनि उहाँको भूमिका थियो । गिरिजाप्रसाद आफूले भनेको जे पनि हुनुपर्ने र आफ्नो स्वार्थका लागि जस्तो सम्झौता पनि गर्ने मानिस हो भन्ने इतिहासले प्रमाणित गरिसक्यो ।

तपाईं भारतमा पक्राउ पर्नु र पार्टीबाट अलग हुनुबीच कुनै सम्बन्ध छ कि ?

विमान अपहरणकारीलाई पक्राउ गर्यौं भनेर अन्तर्राष्ट्रिय रूपमा देखाउनुपर्ने दबाब भारतमाथि थियो । किनभने, त्यतिबेला भारतमै विमान अवतरण गराउने, अनि भारतमै अपहरणकारी आश्रय लिएर बस्ने कुराले ऊ अप्ठेरोमा थियो, त्यसकारण हामीलाई पक्राउ गरिएको हो । विमान अपहरण सम्बन्धी मुद्दा २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा फिर्ता भयो ।

भारतमा हिरासतमा रहँदा तपाईंलाई विमान अपहरणमा बीपीको संलग्नता स्वीकार गर्न दबाब दिइएकै हो ?

सिक्किमलाई भारतमा गाभ्ने निर्णयमा असहमति जनाएकाले इन्दिरा गान्धीसँग बीपीको सम्बन्ध राम्रो थिएन । इन्दिराको चाहना सबै काम आफूहरूको सल्लाहमा हुनुपर्छ भन्ने थियो, त्यसो नहुँदा बीपीप्रति उनीहरूको धारणा नकारात्मक थियो । उनीहरू बीपीलाई नियन्त्रणमा राख्न चाहन्थे, त्यसैले मलाई हतियार बनाएर उहाँलाई मुछ्न धेरै प्रयास गरियो ।

पार्टीबाट अलग भइसकेको मान्छे, त्यति धेरै यातना दिइँदा पनि वास्तविकता किन खोल्नुभएन ?

मैले नाम लिएको भए पनि बीपीले स्वीकार गर्नुहुन्नथ्यो । त्यो मुद्दा मात्र बन्न सक्थ्यो । यद्यपि बीपीको नाम लिएको भए मलाई दण्ड–सजाय कम हुन्थ्यो होला, तर प्रजातन्त्रको मिसनमा ठूलो ‘ब्रेक’ लाग्न सक्थ्यो ।

प्रधान न्यायाधीशको श्रीमान्को रूपमा रहँदा कस्तो अनुभव गर्नुभयो ?

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र हुने खेल जान्ने मौका मिल्यो । कर्तव्य, ज्यान र भ्रष्टाचारका मुद्दाहरूमा जिताइदिनुपर्‍यो भनेर नेताहरूबाट अनगिन्ती अनुरोध आए ।

कर्जा लिएर नतिरेका व्यक्तिको पक्षमा निर्णय गरिदिनुपर्‍यो भनेर पनि मानिस आउँथे । भ्रष्टाचार सम्बन्धी मुद्दा मिलाउन जयप्रकाश गुप्ता मलाई भेट्न आएका थिए । सर्वोच्चमा आउने मुद्दामा करोडभन्दा तल ‘डिल’ नै नहुने । देवानी र फौजदारी मुद्दामा तीन–चार करोड रुपैयाँ घूस बोकेर घरघरमै पुग्छन् । स्वतन्त्र भएर र पैसा खर्च नगरी न्याय पाउने सम्भावना एकदमै कम छ ।

सुशीला प्रधान न्यायाधीश भएका बेला मसँग आउने यस्ता भनसुनमा ‘हुन्छ’ त भनें, सुशीलासँग कुनै कुरा गरिनँ । सुडान काण्डका आरोपीहरूले ‘कति खर्च गर्नुपर्छ’ भन्न आएका थिए । जयबहादुर चन्द ‘कति खर्च गर्नुपर्छ, म गर्छु’ भन्दै आएका थिए । यो विषयमा शेरबहादुर र प्रचण्ड पनि आउनुभयो ।

लोकमानसिंह कार्की पनि आए कि ?

उनले आफूले लागे र पुगेसम्मको प्रयास गरे । आफन्त मार्फत ‘कार्की कुलका मान्छे हुन् जिताइदिनुपर्‍यो’ भन्न लगाएका थिए । मसँग पनि नाता लगाएर उनका मान्छेले मलाई ढोग्न थाले, कहिल्यै ‘ज्वाइँसाप’ नभन्नेले पनि भन्न थाले ।

एक दिन उनका नातागोता आएर ‘दिदीलाई भेट्न आएको, लोकमानलाई केही गर्न भएन’ भने । १० करोड रुपैयाँ दिएर दिदीको गोडा धुन आएको, पैसा गाडीमै छ समेत भने । मैले ‘पैसा दिएर, गोडा धोएर सहीलाई गलत र गलतलाई सही भनी प्रमाणित गर्न मिल्दैन । न्यायाधीशको स्वतन्त्रता किनबेच गर्ने कुरा होइन, अहिले जानू’ भनेर सम्झाएँ । ढिपी गरेर जानै मानेनन्, सेनाको क्याप्टेनलाई नै भन्नुपर्‍यो ।

प्रस्तुतिः मुकेश पोखरेल

comments powered by Disqus

रमझम