३-९ भदौ २०७५ | 19- 25 August 2018

जनताले दण्डित गर्न नपरोस्

Share:
  

हिमाल (२७ साउन–२ भदौ) आवरण रिपोर्ट ‘दण्डहीनताको राज’ ले न्यायालय, संवैधानिक अंग लगायतमा वर्षौंदेखि पन्पिएको दण्डहीनतालाई सतहमा ल्याइदिएको छ । यी त हिजो पंचायत, बहुदलीय र सङ्क्रमणकाल हुँदै संघीयकालमा भएका दण्डहीनताका कुरा भए । चुरो कुरो त अहिले नयाँ संविधान कार्यान्वयनमा पुगिसकेको र स्थिर सरकार निर्माण भएका बेला पनि दण्डहीनताको राज चलिरहनु विडम्बनापूर्ण हो । देशमा मौलाएको दण्डहीनता, भ्रष्टाचारको जालो र यसमा नेताहरूको संलग्नता अहिलेको प्रमुख चुनौती हो । कानूनी राज स्थापना गर्ने हो भने हिजो तत्कालीन माओवादीबाट ‘जनयुद्ध’ का नाममा भएका घटनाहरूमा छानबिन गर्न अहिले सरकारमा रहेको दल नेकपा अग्रसर हुनुपर्छ, किनभने यही दलमा तत्कालीन माओवादी सम्मिलित छ । दण्डहीनतालाई प्रश्रय दिने काम अहिले सत्तामा रहेका दलहरूबाटै भइरहेको छ, यसको निर्मूल गर्ने अभिभारा पनि उनीहरूकै हो । दण्डहीनताको अन्त्य भएन भने जनताले नै दलहरूलाई दण्डित गर्नेछन् । जनताले दण्डित गर्नु नपरोस्, बेलैमा सरकारमा संलग्नहरूको आँखा खुलोस् ।

रमा अधिकारी, अनलाइनबाट

विवशता बुझ्नुपर्छ

हिमाल (२७ साउन–२ भदौ) रिपोर्ट ‘अफगान शरणार्थीः पहिचानको संकट’ ले हाम्रो चरित्र देखाएको छ । विवशताले आफ्नो थातथलो छाडेर हिंड्नुपर्नाको पीडा र जीवन निर्वाह गर्न गर्नुपर्ने संघर्षको बोझ्मा थिचिएकाहरूलाई शरणार्थीको पहिचान नदिनु उचित होइन । संख्या थोर होस् या धेर, उनीहरूले आफ्नो पहिचान पाउनै पर्छ । मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर हामीले उनीहरूको देशफिर्तीको वातावरण बनाउने या शरणार्थी करार गर्ने कुरामा कञ्जुस्याइँ गर्नुहुँदैन । थातथलो छोड्नुपर्ने बाध्यता र पराइ भूमिको बसाइलाई शब्दमा वर्णन गर्नै सकिंदैन । कूटनीतिक पहलबाट यसमा समाधान निस्कन्छ नै, खाँचो छ– केवल सरकारी चासो र सक्रियताको ।

ओमशरण रजौरे, अनलाइनबाट

अंकुश लगाउन ढिला नगरौं

हिमाल (२७ साउन–२ भदौ) रिपोर्ट प्रदेश नं. ७ ‘डोजरले निम्त्याएको विपत्ति’ अहिलेको समग्र देशको तस्वीर हो । विकासको नाउँमा गाउँगाउँमा जथाभावी डोजरले खन्दा पहिरो लगायत विपत्ति निम्तिएको छ । अहिलेका जनप्रतिनिधिलाई पनि काम देखाउन डोजर चलाउनै परेको छ । भौगोलिक अवस्थितिको अध्ययन र जनताको आवश्यकता अनुसार विकासका आयोजना अगाडि बढाइनुपर्छ । विकासको नाममा विनाश निम्त्याउनु उचित होइन । यस्तो कार्यमा अंकुश लगाउन ढिला गर्नुहुँदैन ।

राजु श्रेष्ठ, अनलाइनबाट

गरीबको पक्षमा कोही उभिएन

हिमाल (२७ साउन–२ भदौ) रिपोर्ट वैदेशिक रोजगार ‘खाडीमा पनि अवैध असुली’ ले हाम्रो विवशता बोलिदिएको छ । देशमा रोजगारी नपाएर विदेशमा कामको लागि जाँदा पनि हामीले सुख पाएनौं । हुन त जनताको सरकार भन्नेले नै जनतालाई निचोर्न र आफ्नो तलब–सुविधा बढाउन पाइन्छ भनेर विभिन्न कर लगाइरहेको अवस्थामा विदेशमा पनि नेपाली त्यस्तैमा पर्नु के नै नौलो भयो र ! ‘अवैध असुली नै भए पनि ठगिनु नपरे भाग्य’ भन्ने चिन्तामै नेपालीको दिन बित्ने भो । जसको सरकार आए पनि हामी जस्ता गरीबको पक्षमा बोलिदिने कोही भएन ।

नरबहादुर वाग्ले, अनलाइनबाट

राम्रा कुराको सिको गरौं

हिमाल (२७ साउन–२ भदौ) टिप्पणी छिमेकी अनुभव ‘नेपालमा मेट्रोः सम्भव सपना’ ले आशा जगायो । के गर्नु, हाम्रो कर्मचारीतन्त्र, नीतिनिर्माता र स्वयं सरकार नै छिमेकबाट सिक्न चाहँदैन ! छिमेकीको राम्रो कुराको सिको गर्दा राम्र्रै हुने हो । बाहिरको अनुभव र आन्तरिक सक्रियताबाटै समृद्धि भित्रिने हो । समृद्धिको कुरा गर्नेले सम्भव सपनाबाट सिक्दा झ्नै राम्रो हुनेछ ।

रेशु खत्री, अनलाइनबाट

विद्यार्थीमैत्री रिपोर्ट

हिमाल (२७ साउन–२ भदौ) रिपोर्ट स्नातक तह ‘पढाइसँगै अवसर’ ले हामी जस्ता विद्यार्थीलाई धेरै कुरा बुझन मद्दत पुर्‍याएको छ । रोजगारी नपाइने चिन्ताले ग्रस्त हामी जस्तालाई रिपोर्ट साँच्चै उपयोगी छ । कलेजका विशेषता औंल्याइदिएर कलेज छनोटमा पनि सजिलो बनाइदिएको छ । मानविकी र व्यवस्थापन संकायलाई हिजो हेयको दृष्टिले हेर्नेका लागि यो रिपोर्टले शिक्षा दिएको हुनुपर्छ । देश–विदेशमा अवसर सिर्जना गर्ने यस्तै विद्यार्थीमैत्री रिपोर्ट आइरहुन् यही कामना ।

रुद्र कार्की, अनलाइनबाट

स्वस्थताको औषधि

हिमाल (२७ साउन–२ भदौ) स्वास्थ्य सल्लाह ‘प्राकृतिक औषधि’ उपयोगी लाग्यो । हुन त हामीहरू घरआँगनमै पाइने यस्ता औषधिको प्रयोगमा कत्ति पनि सचेत छैनौं । धनी मात्र होइन, गरीबकै भातभान्सामा उपलब्ध हुनसक्ने प्राकृतिक औषधिको जानकारी दिनुहुने लेखकलाई धन्यवाद । म प्राकृतिक औषधिको उपयोगितामा आजैदेखि लाग्नेछु ।

निर्मला डाँगी, अनलाइनबाट

हक्की सुवेदी

हिमाल (२७ साउन–२ भदौ) अन्तर्वार्ता ‘बीपीले दुई थप्पड हान्नु’भो’ ले दुर्गाप्रसाद सुवेदीको हक्कीपन बुझन पाइयो । यस्तै हक्कीहरू देशलाई चाहिएको छ । नेपालको विडम्बना नै भन्नुपर्छ, केही राम्रो गर्छु भन्नेहरू कहाँ टिक्न सक्छन् र ! उनीहरूलाई त जसरी हुन्छ सिका लगाउने नै ध्याउन्न हुन्छ । ढिलै भए पनि उहाँको विद्रोही स्वभाव पुस्तक मार्फत बाहिर आएको छ, खुशी लाग्यो ।

निराजन बुढाथोकी, अनलाइनबाट

comments powered by Disqus

रमझम