महेन्द्रले नाम जुराए
आफ्ना साथी पशुपतिदेव पाण्डे लगायतसँग सल्लाह गरेर पाण्डेले महेन्द्रलाई भनेछन् “अर्को पत्रिका प्रकाशन गर्न सकिन्छ ।”
यसो भनेको केही दिनमै राजाले फेरि लक्ष्मणराजलाई बोलाएछन् र पत्रिकाको नाम ‘नयाँ समाज’ दैनिक राख्ने सल्लाह दिएछन् । राजाले सिसा–कलमले एउटा कागजको टुक्रामा ‘नयाँ समाज’ लेखेरै दिएका थिए रे ! ‘राजाले पत्रिका चलाउन केही खर्च पनि दिए’ लक्ष्मणजीले भनेको झ्ल्झ्ली सम्झ्न्छु म ।
तर त्यसअघि नै काठमाडौंबाट दैनिक ‘समाज’ (२०११ भदौ २४ देखि) प्रकाशन भइरहेको थियो, जसको शुरूको सम्पादक पशुपतिदेव पाण्डे थिए । पछि मणिराज उपाध्याय भए । ‘सही सन्देश’, ‘समय’, ‘नेपाल समाचार’, ‘दैनिक समाचार’, ‘हालखबर’, ‘गोरखापत्र’, ‘भूगोल पार्क’, ‘गोरेटो’, ‘कल्पना’ जस्ता नेपाली भाषामा दैनिक पत्रिकाहरू पनि प्रकाशित भइरहेकै थिए । त्यसैबेला राजाले अर्को नयाँ पत्रिका प्रकाशनको प्रस्ताव गरेका हुन् । त्यतिबेला अंग्रेजी, नेपाल (नेवारी), हिन्दी भाषामा पनि दैनिक पत्रिका निस्कन्थे, अपराह्नतिर । ती पत्रिका प्रायः चार पेज, १० बाई १५ आकारका हुन्थे । मूल्य पाँच पैसा थियो ।
त्यो बेलाका पत्रकार
पर्दाभित्र अनेकौं बन्दोबस्तपश्चात् २ असार, २०१४ बाट पशुपतिदेव पाण्डेको सम्पादन र प्रकाशनमा ‘नयाँ समाज’ दैनिक प्रकाशन हुन थाल्यो । त्यतिबेला म ‘हालखबर’ दैनिक पत्रिकामा रिपोर्टर थिएँ । ‘हालखबर’ २० कात्तिक, २०१३ देखि प्रकाशित भइरहेको थियो । ‘नयाँ समाज’ प्रकाशनपछि पत्रकारिता क्षेत्र अलि ठूलो भो । गोपालराज राजभण्डारी रिपोर्टर थिए । रिपोर्टिङमा साह्रै थोरै संख्यामा थियौं हामी । अब एक जना रिपोर्टर थपिएकाले अकस्मात् आँट बढ्यो । संख्याको महŒव र उत्कर्ष राजनीतिमा मात्र होइन, जीवनका हरेक मोडमा हुनेरहेछ । त्यतिखेर पत्रिका पनि थोरै साना आकारका । विज्ञापन प्रायः नहुने । त्यतिबेलाको पत्रकारले धेरै काम गर्नुपथ्र्यो । अहिले पत्रिका धेरै, पत्रकार धेरै, प्रविधि पनि धेरै, काम भने धेरै वा थोरै कति गर्नुपर्छ थाहा भएन । त्यतिखेर पत्रकारितामा कागज, कलम, हात र दिमाग लगाउनुपथ्र्यो । सिसाका अक्षर, हातैले कम्पोज÷डिकम्पोज गर्नुपर्ने । यातायातको साधन भनेको खुट्टा नै प्रमुख । खूब भए साइकल । साइकल हुने पत्रकार उच्च कोटिको मानिन्थ्यो । यो अवस्था धेरै समयसम्म कायमै रह्यो । यस्तो भौतिक अवस्थामा राजा महेन्द्रलाई भइरहेका पत्रिकाहरूबाट सन्तुष्टि भएनछ र नयाँ पत्रिका चलाउन मन गरेछन् । पत्रिका एउटा थपियो राम्रै भो ।
गणेशमानको ‘मुड्की’
पत्रपत्रिकाको गति थिएन, गोरखापत्र युगमा । गोरखापत्र ३३ वर्षसम्म अर्थात् १९९१ सालसम्म साप्ताहिक रूपमा प्रकाशित हुन्थ्यो । त्यसपछि अर्धसाप्ताहिक भयो । त्यसको १२ वर्षपछि अर्थात् ८ पुस २००३ देखि सातामा तीन दिन प्रकाशित हुन थाल्यो । प्रजातन्त्र शब्दमा मात्र भए पनि काम लाग्ने रहेछ । उपमाका रूपमा गोरखापत्रलाई लिन सकिन्छ । प्रजातन्त्रको घोषणासँगै गोरखापत्र दैनिक भो, ७ फागुन २००७ देखि । त्यस कालखण्डमा गैर–सरकारी क्षेत्रका पत्रिकाउपर सरकारको हमेसा वक्रदृष्टि हुने । सरकारलाई किञ्चित् मात्र हाने पनि मेजिष्ट्रेट अफिस क्रूद्ध भइहाल्ने, धरौटी मागिहाल्ने । रु.१५०० धरौटी राख्न पनि धौ–धौ । अनि, पत्रकारलाई पक्राउ गर्नु, थुनिदिनु त मामुली । सत्तालाई नपच्ने समाचार लेखेबापत मणिराज लगायत कैयौं पत्रकार जेल परे, थुनिए । १९ मंसीर २०१६ मा नेपाल–भारतबीच भएको गण्डक सम्झैताको सिलसिलामा तत्कालीन नहरमन्त्री गणेशमान सिंहले सम्पादक मणिराज उपाध्यायतर्फ फर्केर ‘यदि सरकारलाई गलत बाटो देखाइरहनुभएको छ भने तपाईंले पनि भोलि मेरा यिनै मुड्कीको सामना गर्नुपर्नेछ’ भनी मुड्की देखाएको कुरा सम्पादकीय कोलममा लेख्नुभएको छ, उपाध्यायले । यस्तो मुड्की, थाना, जेलको सामना गरेर पत्रकारिता गर्नुपर्ने समय थियो, त्यो । तैपनि राजा महेन्द्रले भइरहेका पत्रिकाले नपुगेर अर्को पत्रिका प्रकाशन गर्न नाम र दाम समेत दिएका रे ! के मनसाय थियो उनको, थाहा भएन । मैले सुनेको, महेन्द्रले ‘हालखबर’ दैनिकलाई पनि खर्च भर्ने गर्थे रे !