३-९ भदौ २०७५ | 19- 25 August 2018

दोहोरिने दुःख

Share:
  
- पिटर गिल र भोला पासवान
कोशी तटबन्ध भत्केको एक दशकपछि नेपालले पनि भारतले गरेको गल्ती दोहोर्‍याउँदैछ।

तस्वीरहरुः पिटर गिल
कुशाहा नजिक कोशी नदीमा बनाइएको तटबन्धमाथिको सडक ।तटबन्ध बाहिरको जमीन (बायाँ) भन्दा भित्रको सतह केही मिटर अग्लो छ । सिन्धुलीमा कोशीमाथि जथाभावी बनेका सडक र पहिरो (तल) ।
भारतीय सीमाभन्दा पाँच किलोमिटर वारि, कोशी नदीको पूर्वी किनारमा छ, सुनसरीको कुशाहा गाउँ । २ भदौ २०६५ को बिहान यो गाउँमा आसन्न विपत्तिको खबर फैलिंदा सहदेव यादव (४०) ले तटबन्ध भत्किंदै गरेको खबर पत्याएनन् । तटबन्धको अवस्था आफैं हेरेर आएका छिमेकीहरूका कुरा सुनेपछि भने उनी दौडेर घर पुगे अनि भएको रकम, जरूरी कागजपत्र र संभव भएजति सामान बोकेर परिवार सहित अग्लो स्थानतर्फ लागे । २४ घण्टामा एक किलोमिटर जति तटबन्ध भत्काएर दिउँसो करीब दुई बजे कुशाहातिर पसेको करीब डेढ मिटर अग्लो बाढीले बिहारमा पनि ठूलो वितण्डा मच्चायो ।

कुशाहामा मानवीय क्षति नभए पनि नेपालतर्फ अन्य गाउँबस्तीका गरी केही दर्जन मानिसको ज्यान गयो, हजारौं विस्थापित भए । बिहारमा करीब ४०० मानिसले ज्यान गुमाए, लाखौं प्रभावित भए । त्यसबेला नदीमा पानीको बहाव ४ हजार ३२० क्यूमेक थियो । यो तटबन्ध डिजाइन गर्दाको क्षमताको १५ प्रतिशत मात्रै हो । नेपाल र भारत सरकार यस्तो विपत्तिका लागि तयार अवस्थामा थिएनन् । त्यसको दुई दिनअघि मात्र बिहारको जलस्रोत विभाग अन्तर्गतको कोशी परियोजनाका मुख्य इञ्जिनियरले सीमाको दुवैतर्फ तटबन्ध राम्रो रहेको रिपोर्ट दिएका थिए । यसअघिका यस्ता घटनामा प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिइएको थिएन । सन् १९५४ को कोशी सम्झैतामा तटबन्ध भत्किएको अवस्थामा के गर्ने भन्नेबारे कुनै प्रावधान छैन । जबकि, तटबन्ध भत्किएर दुवै देशमा निम्तिएको विनाशले लामो इतिहास बनाइसकेको छ ।

कुशाहाका समसुल मिया (४७) को दुई बिघा खेत बगर बनेको छ । अरू गाउँले जस्तै उनले भारत सरकारबाट रु.४ लाख क्षतिपूर्ति पाएर आफ्नो ४० सदस्यीय परिवारमा बाँडे । कुशाहावासी र इञ्जिनियरहरूका अनुसार २०६५ को विपत्तिपछि कोशी परियोजनाले नेपालतर्फको पूर्वी तटबन्ध मर्मतसम्भार गरेको छ । परियोजनाले अति जोखिमपूर्ण मानिएका क्षेत्रमा निगरानीका लागि चौकीदार राख्नुका साथै आकस्मिक उपयोगका लागि बालुवा भरिएका हजारौं बोराको प्रबन्ध गरेको छ । र पनि, कोशीमा गेग्रान थिग्रिंदा हुने समस्या यथावत् नै छ ।

ब्यारेजको माथिल्लो भागमा करीब ३० करोड घनमिटर गेग्रान थिग्रिएको अध्ययनहरूले देखाएका छन् । यो भनेको महिन्द्रा मोटर्सको लोडकिंग टिप्परका लागि १० करोड ७० लाख भारी हो । यति गेग्रान थुपार्न दशौं वर्ग किलोमिटर जमीन आवश्यक पर्छ ।

कोशी परियोजनाका सब–इञ्जिनियर दीपेन्द्रकुमार राव गेग्रान कसरी निकाल्ने भन्ने निक्र्योल हुन नसकेको बताउँछन् । जिम्मेवार इञ्जिनियरहरूलाई भने यसबारे कुनै चिन्ता छैन । परियोजना प्रमुख इञ्जिनियर प्रकाश दासले फोनमा सहजै भने, “कोशी तटबन्ध शतप्रतिशत सुरक्षित छ ।”

पहिलेको बाढी, अहिलेको बाढी

बिहारलाई बाढीबाट जोगाउन भारत सरकारले सन् १९५० को दशकमा आफ्नो र नेपालको भूभागमा करीब १५० किलोमिटर (दुवै किनारामा गरी २८६.५ किमि) लामो र पाँच मिटर अग्लो तटबन्ध निर्माण गरेको थियो । कुशाहालाई कोशीबाट छुट्याउने त्यो तटबन्ध ५० मिटर चौडा माटोको जगमा उभ्याइएको थियो ।

बेलायतको उपनिवेश बन्नुअघि उत्तर भारतमा किसान र जमीनदारले केही निश्चित क्षेत्रलाई बाढीबाट जोगाउन नदी किनारमा ढुंगामाटोका तटबन्ध बनाउँथे । त्यस्ता तटबन्धहरू अस्थायी र बाढी पूरै नछेक्ने प्रकृतिका हुन्थे । मौसमी बाढीले खेतबारीमा ल्याउने पाँगो माटो र जैविक पदार्थले बालीनाली सप्रन्थ्यो । कहिलेकाहीं बाढी गाउँबस्तीमा पस्दा पनि समथर जमीनको सुस्त बहाव विना अवरोध ठूलो क्षेत्रमा फैलिन पाउँदा क्षति न्यून हुन्थ्यो । तटबन्धले पानीको बहावलाई त रोक्छ नै, बाढीको तीव्रता पनि बढाउँछ, कम गर्ने होइन ।

सन् १८०० को शताब्दीमा इष्ट इण्डिया कम्पनी सरकारले नवनिर्मित रेल मार्गको रक्षाका लागि पहिलोपटक बिहार, बाङ्लादेश र उडिसामा ठूल्ठूला तटबन्ध बनायो । तटबन्धहरूले बाढी रोकेर जमीनमा मलिलो पाँगो नआएपछि कृषि उत्पादनमा भारी कमी भएको गुनासो किसानहरूले गर्न थाले । बाढी आउँदा तटबन्धभन्दा माथिल्लो क्षेत्रमा डुबानको समस्या देखिन थाल्यो । अझ् ठूलो समस्या त तटबन्ध भत्किंदा हुन थाल्यो । ठूलो वर्षात् हुँदा तटबन्ध भत्काएर गाउँबस्ती पस्ने तीव्र गतिको बाढीले पहिलेको भन्दा धेरै क्षति गर्न थाल्यो ।

सदाबहार समस्या

कोशी लगायत गंगामा मिसिने हिमाली नदीहरूले ठूलो मात्रामा बालुवा र गेग्रान बोकेर ल्याउँछन् । कोशीको करीब ६० हजार वर्ग किलोमिटर बहाव क्षेत्र (क्याचमेन्ट) भू–क्षय भइरहने तिब्बत र नेपालको पहाडी–हिमाली भेगमा पर्छ । पछिल्ला अध्ययनहरूका अनुसार कोशीले एक वर्षमा ८ करोडदेखि १२ करोड घनमिटर (८ देखि १२ वर्षमा एक घन किलोमिटर) गेग्रान बोक्छ । हिमाल–पहाडबाट सोहोरिएर आएको गेग्रान तराईमा पुगेपछि पिंधमा थिग्रिन्छ । यसरी गेग्रानले पिंध माथि उठ्दै जाँदा नदी होचो स्थानतर्फ मोडिन थाल्छ । परिणाम, सन् १७५० को मध्यदेखि १९५० को मध्यसम्ममा कोशी १०० किलोमिटर भन्दा बढी पश्चिम सरेको छ ।

सौजन्यः चक्रवर्ती र अन्य, क्वाटर्नरी इन्टरनेशनल, २०१०
कोशीको परिवर्तनशील बाटोः विगत २५० वर्षमा कोशी नदी बगेको बाटो । नेपालको बराहक्षेत्रदेखि बिहारमा गंगा संगमसम्म ।

भारतमा तटबन्धहरू बन्न थालेपछि नदीहरू फैलिन त पाएनन् नै गेग्रान जम्मा हुने क्रम भने बढ्यो । त्यसरी जमीनको सतहभन्दा माथि उठेको नदीले तटबन्ध भत्काउँदाको परिणाम खतरानक हुन थाल्यो । बिहारका नागरिक अभियन्ता तथा इञ्जिनियर दिनेशकुमार मिश्रको शोध अनुसार यस्तो समस्या आउन थालेपछि अंग्रेजहरूले तटबन्ध निर्माणलाई निरुत्साहित गर्दै सन् १८५० को उत्तराद्र्धसम्म धेरै तटबन्धहरू भत्काए । तर, भारत स्वतन्त्र भएपछि तटबन्ध बनाउने लहर नै चल्यो ।

सन् १९५३ को भयानक बाढीपछि भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले कोशी नदीमा तटबन्ध निर्माण गर्ने कोशी परियोजनाको घोषणा गरे । सन् १९५४ मा परियोजनाको सम्पूर्ण लागत भारतले व्यहोर्ने गरी १९९ वर्षका लागि यो परियोजना भारतलाई दिने सम्झैता नेपालसँग भयो । त्यसको पाँच वर्षपछि राजा महेन्द्र र नेहरूले कोशी ब्यारेजको शिलान्यास गरे । त्यसरी बिहारको सदाबहार दशा हटाउन नेपालको इतिहासमा पहिलोपटक ठूलो नदीमा तटबन्ध निर्माण भयो ।

निर्माणमा ठूल्ठूला यन्त्र प्रयोग भयो । किनारामा पानीको गति कम गराएर तटबन्धको क्षयीकरण रोक्न इञ्जिनियरहरूले हरेक आधा किमिमा १०० देखि ३०० मिटर लामा स्परहरू डिजाइन गरे । शुरूमा भारतले यो परियोजनामा दशौं हजार स्वयम्सेवी परिचालन गर्‍यो । यत्रो नदीलाई सानो ठाउँबाट बगाउन सम्भव नभएपछि बिहारका ३०० भन्दा बढी र नेपालका दर्जनौं गाउँ विस्थापित भए । तटबन्धले करीब एकलाख हेक्टर जमीन ओगट्यो । तटबन्धको ‘अलाइनमेन्ट’ परिवर्तन गराएर आफ्नो गाउँलाई परियोजना क्षेत्रबाट बाहिर पार्न भारतीय गाउँका अगुवाहरू सरकारसँग लविङ्ग र आपसमा झ्गडा गर्न थाले । अहिले पनि बिहारको दुई लाखभन्दा बढी जनसंख्या तटबन्ध क्षेत्रमै छ ।

तटबन्धले दीर्घकालमा बाढी नियन्त्रण गर्न सकेन । बाहिरको पानीलाई नदीमा खसाल्न तटबन्ध छेडेर ‘ड्रेनेज पाइप’ हरू लगाइए पनि नदीको पिंध उठिसकेकाले काम लागेन । बिहारको दुई हजार वर्ग किलोमिटर जमीनलाई बाढीबाट जोगाउन तटबन्धको शुरू डिजाइन गरिए पनि सन् १९९० सम्म आइपुग्दा तीन हजार वर्ग किलोमिटर जमीन जलमग्न भइसकेको थियो । यसबीचमा राम्रोसँग मर्मतसम्भार नहुँदा १९६३, १९६८, १९७१, १९८०, १९८४, १९८७ र १९९१ मा तटबन्ध भत्किएर ठूलो विनाश भयो ।

बर्दियाको राजापुरमा कर्णाली नदीमा निर्मित तटबन्ध ।
भारतीय भूभागमा मात्र तटबन्ध बनाउँदा उत्तरबाट आउने नदी तटबन्धको बीचमा प्रवेश नगरी अर्कोतर्फ मोडिन सक्ने भएकोले भारतले नेपालमा पनि नदीको दुवैतर्फ करीब ६० किलोमिटर तटबन्ध बनाउने प्रस्ताव राख्यो । त्यसमा मनाउन भारतले कोशीले सीमा पार गर्नुभन्दा ठीक माथि पनि पानीको गति कम गर्न एउटा बाँध बनाउने लोभ देखायो । त्यसबाट नहर निकालेर नेपालको केही सय र भारतको दशौं हजार वर्ग किलोमिटर जमीनमा सिंचाइको व्यवस्था मिलाइयो ।

सन् १९५४ को सम्झैता अनुसार भारतले मर्मतसम्भार नगर्दा २०६५ भदौमा तटबन्ध भत्किएको थियो । पुनर्निर्माणमा ६ महीना लाग्यो, त्यतिञ्जेल तटीय क्षेत्रका लाखौं भारतीय र नेपाली नागरिक टहरामा बस्न बाध्य भए । तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले तटबन्ध भत्किनुमा बिहार सरकार, ठेकेदार र इञ्जिनियरको ‘नेक्सस’ जिम्मेवार रहेको आरोप लगाएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले त कोशी सम्झैतालाई ‘ऐतिहासिक भूल’ सम्म भने । नेपाली जनस्तरबाट पनि भारत र कोशी ब्यारेजलाई लिएर चर्को आलोचना भयो । नहोस् पनि किन, कोशी परियोजनाका पीडितहरूको क्षतिपूर्ति सम्बन्धी विवाद अझै पनि कायमै छ ।

तराई–मधेशभर उस्तै

२०६५ सालमा कोशीमा निम्तिएको समस्याका बीच नेपाल सरकारले विभिन्न नदीमा सयौं किलोमिटर तटबन्ध निर्माण गर्‍यो, जुन बर्खायाममा भत्किएर वितण्डा निम्तिइरहन्छ । दक्षिणी सप्तरीको सुन्दरी नदीमा बनाइएको तटबन्ध यसको एक उदाहरण हो । चुरेमा उत्पत्ति भई ठूलो मात्रामा गेग्रान बोकेर दक्षिण बग्ने नेपालका सयौं नदीमध्येको एक सुन्दरीमा बर्खामा मात्र पानी हुन्छ । सुन्दरी छेउको रघुनाथपुर गाउँका बासिन्दाका अनुसार सरकारले चार दशकअघि बनाएको तटबन्ध प्रत्येक वर्षात्मा भत्किरहन्छ । स्थानीय शारदा सरदारको खेतमा सुन्दरीले गेग्रान थुपारिदिएको छ । पोहोरको वर्षात्मा त उनको परिवारले सुरक्षित स्थान खोज्दै कैयौं दिन भौंतारिनुपरेको थियो । त्यसक्रममा बालबालिका ज्वरो र झडापखालाले सिकिस्त भएको उनले बताइन् । भत्किएको तटबन्धको २०० मिटर भाग सिरहाको नाइस कन्स्ट्रक्सनले मर्मत गरिरहेको छ । तीन मिटर चौडा र १.५ मिटर अग्लो यो तटबन्धको लागत प्रति मिटर रु.१५ हजार छ । जहाँ मर्मत गर्ने हो त्यहींको गेग्रान निकालिएको छ ।

स्थानीय सहदेव राम (६१) बाहिरबाट माटो ल्याएर बनाएसम्म तटबन्ध अडिलो नहुने बताउँछन् । अर्का स्थानीय आरके देव (७८) ले परामर्शदाता इञ्जिनियर विरुद्ध मुद्दा नै हालेका छन् । इञ्जिनियरले ठेकेदारसँग घूस खाँदा काम राम्रो हुन नसकेको उनको आरोप छ । त्यसबाहेक आर्थिक वर्षको अन्तिम दिनहरूमा बजेट सक्न मात्र सरकार तात्ने गरेकोमा स्थानीयहरू रुष्ट छन् ।

तटबन्धमा लगानी

सुनसरीको रघुनाथपुरस्थित सुन्दरी नदीमा निर्माणाधीन तटबन्ध ।
नेपालमा सन् १९५४ पछि तटबन्धहरू बनाउन थालिएको थियो । सन् १९८० को अन्त्यमा आएको बाढी र सन् १९९३ मा भीषण वर्षाबाट भएको विध्वंसले करीब दुई हजारको ज्यान गएपछि सरकारले तटबन्ध निर्माणमा विदेशी सहयोग समेत बढायो । सन् १९९१ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संस्थागत सहयोगबाट ‘हरित तटबन्ध’ हरू पनि निर्माण हुन थाले । नदी किनारमा भूक्षय हुन नदिन घाँस र रूख रोपियो भने माथिल्लो जलाधार क्षेत्रमा भूक्षय नियन्त्रणका प्रयासहरू भए । जाइकाले सन् १९९९ मा बुझएको प्रतिवेदनले नदीलाई अत्यधिक नियन्त्रण नगर्न सचेत समेत गराएको थियो । प्रतिवेदनमा धेरै गेग्रान बोकेर ल्याउने नदीमा लामा र ठूला तटबन्ध बनाउँदा भत्किएर झ्न् विपत्ति आउने र मर्मतसम्भारमा समेत ठूलो रकम र श्रम खर्च हुने उल्लेख छ ।

नेपाल सरकारले भने लामा र ठूला तटबन्ध निर्माण गरिरह्यो । अहिले करीब ९०० किलोमिटर तटबन्ध बनाइएको छ । २८ वटा ठूला नदीमा ‘जनताको तटबन्ध आयोजना’ अन्तर्गत काम भएका छन् । विभिन्न स्रोतबाट बजेट जुटाएर कर्णाली नदीमा १५ किलोमिटर लामो तटबन्ध हालै सम्पन्न गरिएको छ । कतिपय तटबन्धमाथि सडक समेत बनेका छन् । स्थानीयस्तरका विभिन्न निकायले समेत तटबन्ध बनाएकाले नेपालका नदी नियन्त्रणमा कुल खर्च कति भयो भन्ने यकिन गर्न सहज छैन । अधिकांश तटबन्ध निर्माण गरेको जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको बजेट वर्षेनि बढ्दो छ । आर्थिक वर्ष २०७४/७५ मा विभागको बजेट रु.९ अर्ब ७१ करोड थियो । त्यसअघिको एक दशकमा विभागले जम्मा रु.३४ अर्ब ५० करोड मात्र खर्च गरेको थियो । विभागले कुल बजेटको ८५ देखि ९० प्रतिशत नदी नियन्त्रणमै खर्च गर्ने गरेको छ ।

विभागले रु.१ करोड भन्दा माथिका आयोजनाहरू प्रतिस्पर्धा मार्फत निर्माण कम्पनीलाई ठेक्का दिन्छ । नेपालमा पूर्वाधार निर्माण क्षेत्र भ्रष्टाचारका कारण बदनाम छ । तटबन्ध निर्माणमा पनि भ्रष्टाचार र राजनीतिक संरक्षणले अवसर पाएको सहजै बुझन सकिन्छ । यद्यपि, तटबन्ध निर्माण कार्यले नेपालमा राम्रै समर्थन पाउने गरेको छ । सुन्दरी नदी किनारका बासिन्दा भने वर्षेनि तटबन्ध बन्ने र भत्किने प्रक्रियाबाट वाक्कदिक्क बनेका र विरोधमा उत्रन थालेका छन् । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागले तटबन्ध निर्माणका क्रममा जग्गाधनीहरूलाई क्षतिपूर्ति नदिने भएकाले विरोध हुने गरे पनि नदी किनारका बासिन्दालाई मजबूत तटबन्ध बनोस् भन्नेमै बढ्ता चासो हुन्छ ।

रघुनाथपुरमा बाँसको घेरामा बनाइएको तटबन्धमा स्थानीय ।
नदी समथरमा आइसकेपछि थिग्रिने गेग्रान र माटोले नदीको पिंध उठ्नु नै मुख्य समस्या हो । सुन्दरी नदीकै पिंध पनि किनारका खेतभन्दा कम्तीमा एक मिटर माथि उठिसकेको छ । कोही स्थानीय समस्या समाधानका लागि अग्लो तटबन्ध बनाउनुपर्ने भन्छन्, कोही नदीमा थेग्रिएको सबै गेग्रान हटाउन सुझव दिन्छन् । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय लहानका प्रमुख रहेका सिभिल इञ्जिनियर मनोहरकुमार शाह नदीको पिंधबाट गेग्रान हटाउन सम्भव नहुने र धेरै अग्लो तटबन्ध बनाउन महँगो पर्ने बताउँछन् । यो समस्या समाधानका लागि माथिल्लो तटीय क्षेत्रमा भू–क्षय नियन्त्रण उत्तम उपाय हुने उनको भनाइ छ ।

यो जिम्मेवारी वन मन्त्रालयको भूक्षय तथा जलाधार संरक्षण विभागले पाएको छ, जसको बजेट जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको तुलनामा निकै कम छ । गत वर्ष विभागको कुल बजेट रु.२ अर्ब थियो । विभागले खहरेहरूमा ‘चेकड्याम’ बनाउने, भिरालोमा वृक्षरोपण गर्ने जस्ता कामहरू गर्दै आएको छ । विभागका योजना अधिकृत डा. प्रेमप्रसाद पौडेल माथिल्लो तटीय क्षेत्रबाट नदीमा जाने गेग्रान नरोक्दासम्म तल्लो क्षेत्रमा तटबन्ध बनाउनुको कुनै अर्थ नरहने बताउँछन । “पहिरो प्राकृतिक प्रक्रिया हो” उनी भन्छन्, “यसलाई उचित व्यवस्थापनबाट घटाउँदै लगेर पछि रोक्न सकिन्छ ।”

पछिल्लो समय नेपालमा प्रति वर्ष औसतमा १५०० किमि सडक निर्माण भइरहेको छ । १७७६ किमि मध्यपहाडी लोकमार्ग पनि बन्दैछ । नगरपालिका र गाउँपालिकाले निकै अव्यवस्थित तरिकाले खन्ने सडकहरूका कारण पहिरो बढिरहेको छ । त्यस्तै, चुरे क्षेत्रका नदीहरूमा भइरहेको अत्यधिक दोहनबाट तल्लो तटीय क्षेत्रमा गेग्रान थुप्रिने र हिमाली तथा उच्च प्रहरी क्षेत्रमा भूक्षय हुने क्रम पनि बढेको छ । पछिल्ला अध्ययनहरूमा गंगाको मैदानमा जमीनको सतहभन्दा ५ हजार मिटर मुनिसम्म नदीको थिग्रान भेटिएको छ । यसबाट प्रमाणित हुन्छ, चुरे क्षेत्रको उत्खनन्, सडक निर्माण वा वन फँडानी हुनुभन्दा लाखौं वर्ष अघिबाट भूक्षय भइरहेको छ ।

कमजोर अवधारणा

केही विशेषज्ञ र अभियन्ता बाढी रोक्न कम जोखिमका प्राविधिक र संस्थागत सुधारका विकल्प अपनाउनुपर्ने बताउँछन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्राक्टिकल एक्सनका विपत् विज्ञ दीनानाथ भण्डारी सरकारले तटबन्ध बनाउने बाहेक बाढी रोकथामका अरू काम नगरेको बनाउँछन्, त्यो पनि विनाशपछि प्रतिक्रियात्मक कार्यको रूपमा । गएको वर्ष बाढीले नेपालमा १३४ जनाको मृत्यु र करीब रु.५८ अर्ब ४७ करोड बराबरको क्षति भयो ।

सरकारले सम्भावित विपत्तिको लागि तयारी गरेको र जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारेको भए यति धेरै मानिस, सम्पत्ति र अन्य वस्तु जोगिने भण्डारी बताउँछन् ।

जलस्रोतविद् अजय दीक्षित तटबन्धबाट सुरक्षाको भ्रम मात्र पैदा हुने बताउँछन् । उनका अनुसार तटबन्ध बनिसकेपछि सरकार र नागरिकहरूले बाढीका सम्भावित क्षेत्रमा घर र अन्य पूर्वाधार निर्माण गर्न थाल्छन् र तटबन्ध भत्किएपछि कोकोहोलो मच्चिन्छ । सुन्दरी नदी किनारका बासिन्दा अग्लो तटबन्धका पक्षमा किन देखिए त ? यो प्रश्नमा उनी ‘त्यस्तै सिकाइएको’ बताउँछन् । उनका अनुसार, नेपालका मिडिया, शिक्षा प्रणाली, सरकार सबैले बाढी–डुबान नियन्त्रणको एक मात्र उपाय तटबन्ध हो भनेर सिकाएका छन् । तटबन्ध केन्द्रित यो दृष्टिकोणमा चाँडै परिवर्तन आउने सम्भावना पनि देख्दैनन्, उनी । “तटबन्ध बनाउन सजिलो छ, काम भएको प्रत्यक्ष देखिन्छ” दीक्षित भन्छन्, “यसमा पैसा छ, राजनीतिकर्मी, कर्मचारी र बजारको एउटा वर्गको स्वार्थ पूरा गर्नलाई ।”

(पिटर गिल @pitaarji र भोला पासवान @paswanbhola पत्रकार हुन् ।)

comments powered by Disqus

रमझम