“काठमाडौंको एक निजी विद्यालयमा पढाउँछु, सामाजिक काममा पनि समय निकाल्छु । बाहिरबाट फर्कंदा श्रीमान्ले ‘कोसँग कहाँ जान्छेस् ?’ भन्ने गर्छन् । घरमा हुन्जेल इच्छा नहुँदा पनि यौन सम्पर्क राख्नैपर्छ । नमाने ‘अरूसँग गइस् र मान्दिनस्’ भनेर कुटपिट गर्छन् । स्कूलबाट अलि ढिला घर पुग्यो भने पनि ‘कहाँ, को कोसँग गएर आइस्’ भनेर कुटपिट गर्छन् । छाडेर कहाँ जाऊँ ? दुई बच्चाबच्ची छन् । तर, कहिलेसम्म श्रीमान्को यौन यातना सहनु ? श्रीमान्ले गर्ने यस खालको जबर्जस्ती करणी (वैवाहिक बलात्कार) हो र यसबारे कानून छ भन्ने मलाई थाहा छ । समाजले के भन्ला भन्ने चिन्ता र छोराछोरीको भविष्य हेरेर अन्याय सहेर बसेको पाँच वर्ष भयो ।”
“नुवाकोटमा १० कक्षा पढ्दै गर्दा १६ वर्षको उमेरमा मेरो पे्रम–विवाह भयो । वैवाहिक जीवनको करीब १८ वर्षपछि २०७३ मा श्रीमान्को यौन यातनाकै कारण सम्बन्धविच्छेद गरें । बिहे गरेको दुई–तीन महीनामै उनको व्यवहार सामान्य मान्छेको भन्दा फरक अनुभव गरें । जति बेला पनि यौन सम्पर्कका लागि तयार हुनुपर्ने । घरका अरू कसैको लाज र डरको मतलब नगर्ने, जहाँ पनि समाउने, विरोध जनाए कुटपिट गरिहाल्ने ।
श्रीमान्बाट हुने यातनाका यी दुई उदाहरण मात्र हुन् । हाम्रो समाजमा यस्तो यातना खेपेर बस्ने कैयौं महिला छन्, जो अदालतसम्म पुग्दैनन्, धेरैले यस्ता घटना अरूलाई भन्न पनि चाहँदैनन् । समाजले के भन्ला भन्ने चिन्ता र छोराछोरीको भविष्य हेरेर यातना सहन बाध्य भएको उनीहरूको भनाइ छ ।
बिहे गरेको दुई वर्ष मात्रै भएको बताउने नवलपरासीकी सीता (नाम परिवर्तन) श्रीमान्को यौनजन्य यातना सहेर बसेकी छन् । श्रीमान् विरुद्ध मुद्दा हाल्दा परिवार, समाजले के भन्ला भन्ने डर रहेको बताउने उनी भन्छिन्, “श्रीमान्को यातना विरुद्ध मुद्दा हाल्यो भने सम्बन्धविच्छेद गर्छु भनेर पनि तयार हुनुपर्ने रहेछ । मलाई अहिले नै त्यसो गर्न मन छैन ।”
आमा र बाबु दुवैले दोस्रो विवाह गरेपछि मामाघर बसेकी चितवनकी १४ वर्षीय एक किशोरीलाई उनीभन्दा दोब्बर उमेरको पुरुषसँग मामा–माइजूले जबर्जस्ती विवाह गरिदिए । उनी भन्छिन्, “बिहे गरेकै रातदेखि ब्लू फिल्म देखाएर त्यसै गर्न लगाउने, अस्वीकार गर्दा पिट्न थाल्यो । डेरामा पाहुना आएका बेला पनि रक्सी खाएर पाहुनाकै अगाडि जबर्जस्ती गथ्र्यो । एक वर्ष पनि बस्न नसकेर भागें ।” भर्खर १७ वर्ष पुगेकी उनी अहिले एक्लै आफ्नै कमाइमा बसेको बताउँछिन् ।
महिला हिंसा विरुद्ध काम गर्दै आएको कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) का अनुसार घरेलु हिंसा भएको बताउने पीडितमध्ये अधिकांशमा यौन–सम्बन्धको विषय जोडिएको पाइन्छ । संस्थाकी अध्यक्ष तथा अधिवक्ता अनिता थपलिया भन्छिन्, “श्रीमान्को जबर्जस्ती करणी सहनै नसकेपछि मात्रै महिलाहरू घरेलु हिंसा, मानाचामल, अंश र सम्बन्धविच्छेदका लागि मुद्दामामिला गरेको देखिन्छ ।”
कानून अझै कमजोर
वैवाहिक बलात्कारलाई दण्डनीय बनाउन अधिवक्ता मीरा ढुंगानाले २०५८ सालमा हालेको रिटमा १९ वैशाख २०५९ मा सर्वोच्च अदालतले सरकारका नाममा परमादेश दियो, त्यसको चार वर्षपछि कानून बन्यो । लैंगिक समानता कायम गर्न ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन–२०६३’ मा मुलुकी ऐनलाई संशोधन गरी श्रीमान्ले गर्ने जबर्जस्ती करणी (वैवाहिक बलात्कार) मा ३ देखि ६ महीनासम्म कैदको व्यवस्था गरियो । त्यसपछि ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन–२०७२’ ले दण्ड–सजाय बढाएर तीनदेखि पाँच वर्ष पुर्याएको छ । ऐनअनुसार वैवाहिक बलात्कारको उजुरीको प्रारम्भिक छानबिनबाट श्रीमतीलाई तत्काल वा मुद्दा किनारा नहुँदासम्म दुवै एकै ठाउँमा बसोबास गर्न नसक्ने अवस्था भए पतिलाई तत्काल अलग बस्ने आदेश अदालतले दिन सक्छ ।
यही १ भदौदेखि लागू भएको ‘मुलुकी अपराध संहिता ऐन–२०७४’ को दफा २१९ को उपदफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ । न्यूनतम कैद–सजाय नतोकी ‘पाँच वर्षसम्म’ भन्दा एक घन्टा मात्रै पनि कैद–सजाय गर्न पाइने भएकाले अझ् यो कमजोर बनेको र यस्तो कानूनमा तल्लो हद राख्न उपयुक्त हुने अधिकारकर्मीहरूको भनाइ छ ।
यौन यातना विरुद्ध अदालतमा
एकातिर हामीकहाँ स्कूल–कलेजको यौन शिक्षा प्रभावकारी हुनसकेको छैन, अर्कोतिर यौनबारे समाजमा खुला बहस पनि हुँदैन । यौनबारे संकुचित धारणाका कारण विवाहपछि श्रीमान्बाट हुने यौन यातनाका पीडितलाई समाजले सहयोग गरेको पाइँदैन । जबकि यो अपराध हो र यसमा कानून आएको पनि दशक नाघिसक्यो । कानून आएपछि पीडितहरू अदालत पुगेका केही उदाहरण छन् ।
दैलेखको चामुण्डा बिन्द्र्रासैनी नगरपालिका–४ चिमेगाउँका सूर्यबहादुर रावत (४०) लाई जिल्ला न्यायाधीश सनतचन्द्र लवटको २० असार २०७५ को इजलासले वैवाहिक बलात्कार र ज्यान मार्ने उद्योगमा ८ वर्ष कैदको फैसला गरेको छ । श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको, गुप्तांगमा प्लाष्टिकको पाइपले घोचेर घाउ बनाएको उजुरीपछि प्रहरीले सूर्यबहादुरलाई ९ चैतमा पक्राउ गरेको थियो ।
त्यस्तै, बिहे गरेको ९ वर्षपछि श्रीमान्ले जबर्जस्ती करणी गरेको भन्दै काभ्रे जिल्ला अदालतमा वैशाख २०७२ मा दायर भएको मुद्दामा तीन महीना मात्र कैद सजाय भएको थियो । श्रीमान्को तीन वटी श्रीमती भएको बताउने उनी अहिले पनि मानाचामल, अंश, घरेलु हिंसा लगायत मुद्दामा अदालत धाइरहेकी छिन् ।
जिल्ला अदालत डोल्पाले २०७४ मा वैवाहिक बलात्कारको एक मुद्दामा पीडकलाई तीन वर्ष कैद सजाय हुने फैसला गर्यो । पीडित महिलाका अनुसार पीडकले सधैं रक्सी खाने, कुटपिट गर्ने र जबर्जस्ती गर्ने गर्थे । १६ वर्षको उमेरमा बिहे भएको र अहिले २४ लागेको बताउने उनी भन्छिन्, “अंश मुद्दा हालिस् भने मार्दिन्छु भनेर धम्की दिएकाले जबर्जस्ती करणी र सम्बन्धविच्छेदको मुद्दा मात्र हालें ।” सम्बन्धविच्छेदपछि चार वर्षको छोरालाई आफैंसँग राखेको तर उसलाई पढाउन नसकेको उनी बताउँछिन् ।
श्रीमान्बाट पीडित महिला न्यायका लागि अदालत गए पनि अनेक अप्ठेरा खेप्नुपर्ने अवस्था छ । मुद्दा नटुंङ्गिदासम्म पतिलाई तत्काल अलग बस्ने आदेश अदालतले दिन सक्ने कानून भए पनि पुरुषप्रधान समाजका कारण मुद्दा प्रक्रियामा गएपछि महिलाले घर छोड्नैपर्ने अवस्था रहेको अधिवक्ता विष्णुमाया भुसाल बताउँछिन् ।
उनी भन्छिन्, “घरमै बसेर श्रीमान्को विरुद्ध मुद्दा लड्न सकिने अवस्था हाम्रो समाजमा छैन । त्यसैले पीडितलाई निश्चित समयसम्म सुरक्षित आवास गृहमा राखेर पीडा बिर्साउन परामर्श दिइनुपर्ने हुन्छ । त्यसपछि उनलाई तालिम, रोजगार, उद्यमका माध्यमबाट आत्मनिर्भर बनाउनुपर्छ । साना बालबच्चा भए उनीहरूको खानपान, शिक्षा–दीक्षा राज्यले व्यवस्था गरेर त्यसको असुल सरकारले नै पीडकबाट गर्नु उपयुक्त हुन्छ ।”
‘पीडा दिने पुरुषको उपचार हुन्छ’
बलात्कार नै नगरे पनि कतिपयको स्वभाव किशोरावस्थादेखि साथीहरूलाई दुःख दिने, त्यसबाट आफू खुशी हुने, आफ्नो व्यवहारप्रति आत्मग्लानि नहुने खालको हुन्छ । उसले आफूलाई बलियो, शक्तिशाली तथा हठी देखाउने गर्छ । साधारण व्यक्ति मात्रै होइन, पढे–लेखेका, बुझेका जस्ता देखिने पनि यस्ता स्वभावका हुन्छन् । केही हदसम्म असामाजिक स्वभावका हुने यस्तै व्यक्तिले श्रीमतीलाई ‘यौनको वस्तु’ का रूपमा बुझ्ने गर्छन् । झट्ट हेर्दा भलाद्मी देखिए पनि यिनीहरू परिवार तथा नजिकका साथीहरूलाई पीडा हुने क्रियाकलाप गर्छन् । खासगरी पारिवारिक बेमेल, गलत बानी–व्यवहार भएका अभिभावकबाट हुर्किएकाहरूमा यस्तो समस्या देखिन सक्छ । उनीहरु ‘मैले जे गरे पनि ठीक’ भन्ने सोचाइ राख्छन् । यस्तो समस्यालाई मेडिकल भाषामा ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ (बीपीडी) र ‘इमोसनल अनस्टेबल पर्सनालिटी डिसअर्डर’ (ईयुपीडी) पनि भनिन्छ । यस्ता व्यक्तिले लागूऔषधको प्रयोग वा मदिरा सेवन पनि गर्छन् । यसले झन् उसलाई ‘अग्रेसिभ’ बनाउँछ ।
हाम्रो देशको अहिलेकै स्वास्थ्य संरचना र प्रणालीमा यस्ता पुरुषलाई उपचार वा परामर्श दिन केही अप्ठेरा छन् । पहिलोः त्यस्तो स्वभावका व्यक्ति पहिचान गर्नै गाह्रो छ । श्रीमतीले मुद्दा हाले मात्रै थाहा हुने हो । दोस्रोः यो रोग वा मानसिक स्वास्थ्य समस्या हो भन्ने बुझाइ नै हाम्रो समाजमा छैन । सम्बन्धित व्यक्तिले आफूमा भएको कमजोरी बुझ्न सक्दैन । तेस्रोः व्यक्ति पहिचान भइहाले पनि उसलाई राख्ने प्रभावकारी सुधार केन्द्रहरू छैनन् । यस्ता व्यक्तिको मनोविज्ञान पढेर विभिन्न किसिमका उपचार पद्धति अपनाउनुपर्छ । विदेशमा यस्ता व्यक्तिको पहिचान गरेर ‘रि–करेक्सन होम’ मा राखेर उपचार तथा पुनस्र्थापना गरिन्छ । यस्ता व्यक्तिलाई आफ्नो व्यवहारले पीडितमा कस्तो असर परेको छ भन्ने महसूस गराउने खालको उपचार विधि ‘अभर्सन थेरापी’ बाट पनि सुधार्न सकिन्छ ।