हिमाली दृश्यावलोकनका निम्ति पनि उपयुक्त नाच्र्याङ लेकको माथिल्लो कुइनेटोबाट उत्तरपश्चिममा धौलागिरि, उत्तरमा नीलगिरि र उत्तरपूर्वमा अन्नपूर्ण प्रथम नजिकै उभिएको देखिन्छ । तर गाउँमा पर्यटक भने विरलै पुग्दा रहेछन् ।
अन्नपूर्ण गाउँपालिकामा पर्ने लेक गाउँको सामाजिक बनावट पनि गजबको छ । गाउँमा एक–दुई घर विश्वकर्मा र दर्जीबाहेक सबै पुन मगरको बसोबास छ । नाच्र्याङको बोलीवचन बुझ्न हम्मे पर्छ । हाउभाउ नदेखिने हुँदा फोनमा त झनै बुझिन्न । उनीहरू भात र तिहुनलाई जोडेर ‘भातिन खायौं’ भन्छन् । चुलोमा आगो राम्रै बल्ने÷बलेको छ भनेर सोध्न ‘चुला जाती छ ?’ भन्नुपर्ने रहेछ ।
सिस्नोका परिकार मनपराउनेहरू नाच्र्याङ पुगे भने गजबले तृप्त बनेर फर्कने छन् । त्यस्तै, नेपाली मदिराका पारखीहरू चुत्रो लगायतका विशुद्ध जंगली फलबाट तयार पारिएको रक्सीले झुम्म हुन पाउँछन् । अचार सौखिनहरूका लागि नाच्र्याङका घर–घरमा वनस्पतिका थरीथरी अचार उपलब्ध छन् । एक खालको अमिलो अचार, एक किसिमको वनस्पतिको बोक्रालाई त्यसैको पातमा पोको पारेर तोरीको तेलमा केही महीना डुबाएर तयार पारिंदो रहेछ । गएको महीना गाउँलेको वृत्तान्त टिपेर वन पस्दा हुमखोला नजिक (करीब २९०० मिटर) को भिरालोमा यो वनस्पति प्रशस्तै भेटियो । गाउँलेले जेठ–असारमा त्यसका पात र बोक्रा संकलन गर्दा रहेछन् ।
ताछेको बोक्रालाई तरकारी झंै टुक्र्याएर अचार तयार पार्ने दुइटा विधि रहेछन् । केही महीनापछिसम्म खाने भए तोरीको तेलमा डुबाएर राख्ने र ताजै खाने हो भने तरकारी जसरी पकाइँदो रहेछ । त्यसरी पकाउँदा कर्कलोको तरकारी जस्तो केहीबेरमै लतक्क हुन्छ । स्वाद, रूख टमाटरको भन्दा तिक्खर अमिलो । नाच्र्याङ लेकवासीले स्वादका कारण त्यसलाई जंगली टमाटर पनि भन्दा रहेछन् ।
म्याग्दीको ‘रियम’ प्रजाति भने उल्लिखित तीन प्रजाति भन्दा पृथक् छ । नाच्र्याङवासीको भनाइबाट म्याग्दीको हिमाली भेगमा प्रशस्तै ‘रियम’ पाइने बुझिन्छ । यसमा के कस्ता पौष्टिक तत्वहरू पाइन्छन्, परीक्षण आवश्यक छ । यसलाई विशेष प्रकारको अग्र्यानिक अचार भनेर प्रचार–प्रसार गर्न सक्दा मानिसको स्वास्थ्यसँगै पर्यटन प्रवद्र्धन पनि हुन्छ । पहिलो पहल म्याग्दीकै स्थानीय तह र पर्यटन व्यवसायीहरूले थाल्न सक्छन् । त्यसमा प्रदेश सरकार जोडियो भने ‘सुनमा सुगन्ध’ होला ।