२३ भदौ २०७० | 8 September 2013

मकैको उत्थान

Share:
  
- तुलसी गौतम
नेपालमा ‘खाए मकै, नखाए भोकै’ भन्ने भनाइ हराउँदै जाँदा यो खाद्यान्नको आयातमा अर्बौं नगद विदेशिन थालेको छ ।

नेपालमा मकै दोस्रो प्रमुख खाद्यान्न बाली हो । देशको कुल १५.५ लाख हेक्टर जमीनमा ५० लाख टन धान उत्पादन भइरहेको छ भने नौलाख हेक्टरमा करीब २२ लाख टन मकै । त्यसपछिका प्रमुख अन्नबाली क्रमशः गहुँ, कोदो, जौ र फापर हुन् । मकै भौगोलिक हिसाबले मध्यपहाडी क्षेत्रको प्रमुख बाली हो । सरकारी तथ्यांक अनुसार, मकै उत्पादनमा इलाम, खोटाङ र भोजपुर क्रमशः पहिलो, दोस्रो र तेस्रो जिल्ला रहेका छन् । हुम्ला र मनाङमा सबभन्दा कम मकै लगाइन्छ ।

यद्यपि, खाद्यान्नको रूपमा मकैको प्रयोग घटेर पशु आहारा बनाउने चलन बढेसँगै आयातमा अर्बौं रकम खर्चनु परेको छ । यो स्थितिप्रति सजग भएको सरकारले तराई–मधेशमा सञ्चालित मकै उत्पादन अभियान थप १६ जिल्लामा विस्तार गर्दै पहाडमा बृहत्तर कार्यक्रम चलाउने जमर्को गरेको छ । सरकारले मध्यपहाडी क्षेत्रको खाद्य सुरक्षामा टेवा दिन र दाना उद्योगहरूको आवश्यकता पूरा गर्न यो आर्थिक वर्षमा ४० जिल्लामा मकै उत्पादन कार्यक्रम चलाउने बजेटमै उल्लेख छ । अब उन्नत मकै प्रविधिलाई प्याकेजको रूपमा विस्तार गरेर उत्पादन र उत्पादकत्व बढाउने सरकारको योजना छ । यो कार्यक्रम किन पनि अत्यावश्यक भएको छ भने गत वर्ष बीउ मकै आयातमा मात्र रु.१६ करोड खर्चिनु पर्यो ।

मकैको मान राख्ने कार्यक्रम

मध्यपहाडी क्षेत्रको खाद्य सुरक्षामा मकैको महŒवपूर्ण योगदान छ । तर, चामल पाएसम्म मकै नखाने चलन बढ्दा खाद्य संस्थानले ती क्षेत्रमा अनुदानको चामल ओसारेको ओसा¥यै छ । यता, औद्योगिक आवश्यकता धान्न भारत (९० प्रतिशत), चीन र सिंगापुरदेखि अर्जेन्टिनासम्मका मकै महँगोमा आयात गर्नु परिरहेको छ । आर्थिक वर्ष २०६७/६८ मा रु.२ अर्ब २७ करोड र आव २०६९/७० मा रु.३ अर्ब ७० करोड भन्सार मूल्यको मकै आयात भएको तथ्यांक कृषि विकास मन्त्रालयसँग छ । यो साल ‘बर्डफ्लू’ महामारीले कुखुरा व्यवसाय धराशायी भएको प्रभाव मकै आयातमा हेर्न भने अर्को वर्षसम्म पर्खनुपर्छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट मकैका विभिन्न जात विकास भए पनि त्यसमा मध्यपहाडी किसानको पहुँच कम छ । एकातिर जिल्लाहरूमा संचालित बीउ उत्पादन कार्यक्रमले बीउलाई खाने मकै सरह बेच्नुपरेको छ भने अर्कोतिर किसानले वर्षेनि आफ्नै बारीको बीउ प्रयोग गरिरहेका छन् । उन्नत बीउ लगाउँदा धेरै फल्छ भन्ने जाने पनि किनेर बीउ प्रयोग नगर्नुले मकैप्रतिको हेपाहा सोच देखाउँछ । उद्यमीहरूलाई मकैबाट स्वादिला, पोषिला र आकर्षक उत्पादन हुन्छ भन्ने थाहा छैन, किसानलाई आँटो–पीठो बाहेक अरू परिकार बन्छ भन्ने भेउ छैन । यो अवस्थामा दाना उद्योगका लागि अर्बौंको मकै आयात गर्नुपरेको छ ।

नेपालमा उन्नत मकैले ८९ प्रतिशत ढाकेको तथ्यांक कृषि मन्त्रालयसँग छ, तर हरेक तीन वर्षमा बीउ नफेर्दा उब्जनी समस्याग्रस्त छ । यद्यपि, किसानमा केही जागरण आउन थालेको तथ्यांकले देखाउँछ । जस्तो, सन् २००७ मा करीब ६ प्रतिशत बीउ ३/३ वर्षमा प्रतिस्थापन भएकोमा २०१२ मा करीब दोब्बर (११.५ प्रतिशत) प्रतिस्थापन भयो । यस्तै, १९८५ मा एक हेक्टर (२० रोपनी) मा १४२१ किलो मकै उत्पादन भएकोमा २०१२ मा आइपुग्दा २५०० किलो भएको सरकारी तथ्यांकले देखाउँछ ।

किसानहरूले बीउ खरीद, ढुवानी, मकै प्रविधि तालीम, छोडाउने मशीन र त्रिपालमा पनि ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म अनुदान पाउने छन् । हेपिएको अन्नको उत्पादन बढाउन सरकारले ल्याएको किसानलाई हौस्याउने यो कार्यक्रमले राम्रो परिणाम देखाउने आशा गरिएको छ । यो नीतिको गतिलो कार्यान्वयनले मकैका परिकारमा सुधार गरेर खाद्य सुरक्षामा टेवा दिदै आयात प्रतिस्थापनको खाँचो पूरा गर्नेछ ।

comments powered by Disqus

रमझम