३-९ भदौ २०७५ | 19- 25 August 2018

‘सरप्राइज’ देखि गोलकिपरको दबदबासम्म

Share:
  
- ज्ञानेन्द्र आचार्य
युरोपका घरेलु फूटबल लिगहरूमा खेलाडी किनबेचका लागि खुल्ने प्रमुख अवसर ‘समर ट्रान्सफर विन्डो’ बन्द हुनै लाग्दा इङ्लिस र इटालियन क्लबहरु अग्रस्थानमा देखिएका छन्।

स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका क्रिष्टियानो रोनाल्डो ।
गएको सिजनको च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जित्दा समर्थकले खुशी साट्न नपाउँदै एउटा चर्चा पनि सुनिन थाल्यो, ‘क्रिष्टियानो रोनाल्डोले अब रियल छाड्दै छन् ।’ जितपछि रोनाल्डोले ‘रियल म्याड्रिडका लागि खेल्न पाउनु मेरा लागि सम्मानको कुरा थियो’ के भनेका थिए, मिडियाले उनको एउटा शब्द ‘थियो’ को मात्रै अर्थ निकाल्न थाले । नभन्दै, लिभरपुल विरुद्धको फाइनल खेल नै रियलको जर्सीमा रोनाल्डोको अन्तिम खेल बन्न पुग्यो ।

विश्वकप शुरु हुनुअघि फूटबलको ट्रान्सफर बजारमा अर्को बहस छेडिएको थियो, ‘वान बिलियन युरो बाईआउट क्लज’ भएका रोनाल्डोलाई किन्ने हिम्मत कुन क्लबले गर्ला ? उनलाई भिœयाएपछि दिनुपर्ने तलबको हिसाब गर्न बाँकी नै थियो । विश्वकप चलिरहेकै बेला रोनाल्डोलाई युभेन्ट्सले किन्न खोजेको थाहा भयो । रोनाल्डोले रियल म्याड्रिडका अधिकारीलाई आफ्नो मूल्य घटाउन भनेका रहेछन् । उनी १० करोड युरोमा युभेन्ट्स गए । युभेन्ट्समा रोनाल्डोले वार्षिक ३ करोड युरो पारिश्रमिक पाउने गरी चार वर्षका लागि सम्झौता गरेका छन् ।

ट्रान्सफर बजारमा रोनाल्डोको यो मूल्य निकै कम मानिएको छ । गत सिजनमा फ्रेन्च लिगको टीम पेरिस सेन्ट जर्मन (पीएसजी) ले बार्सिलोनाका ब्रजिलियन स्टार नेयमारलाई किन्न २२ करोड २० लाख युरो तिरेपछि खेलाडीको भाउ आकाशिएको छ । रोनाल्डो जस्ता सबैभन्दा ठूलो ‘ब्रान्ड भ्यालु’ भएका खेलाडीको सूचीमा पर्ने खेलाडी मात्रै १० करोड युरोमा उपलब्ध हुनु अस्वाभाविक हो । त्यसैले रोनाल्डो माथिको लगानीले क्लबलाई मात्रै नभएर इटालियन ‘सिरी–ए’ लाई फाइदा पुर्‍याउने अनुमान युभेन्ट्सले गरेको थियो । ‘सरप्राइज’ मानिएको रोनाल्डोको ट्रान्सफरले इटालियन लिगमा ‘सरप्राइज’ नतिजा ल्याउने/नल्याउने आकलन भने यो सिजनमै हुनेछ ।

करीब नौ महीना चल्ने युरोपका घरेलु लिगहरूमा खेलाडी किनबेचका लागि वर्षमा दुईपटक ट्रान्सफर विन्डोको व्यवस्था गरिएको हुन्छ । सिजन शुरु हुनुअघि (जूनदेखि अगष्ट) र मध्य सिजन (जनवरी महीनाभरि) मा क्लबले आफ्नो रणनीति अनुसारका खेलाडी किन्ने मौका पाउँछन् । युभेन्ट्सले अहिलेको प्रि–सिजन ट्रान्सफर विन्डोमा रोनाल्डो भिœयाउनुका पछाडि दुई रणनीति छन् । पहिलोः आउँदो च्याम्पियन्स लिगमा बलियो दाबेदार बन्ने । दोस्रोः रोनाल्डो ‘सिरी–ए’ मा खेलेपछि अन्य उत्कृष्ट खेलाडीलाई इटालियन क्लब रोज्न लालायित गर्छ, जसले सिरी–एको गुमेको साख फर्काउन मद्दत पनि पुग्छ । नभन्दै अहिले इटालियन क्लबसँग थुप्रै उत्कृष्ट खेलाडीको नाम जोडिन थालेको छ ।

उता स्पेनको घरेलु लिग ला लिगाले पछिल्लो दुई प्रि–सिजन ट्रान्सफर विन्डोमा ठूला खेलाडीहरू गुमाएको छ । गएको सिजनमा नेयमार बार्सिलोना छोडेर फ्रान्स गए, यसपटक रोनाल्डो इटाली लागे । बार्सिलोनाका कप्तान आन्द्रेस ईनिएस्टा पनि यसै सिजन ला लिगा छोडेर जापानमा खेल्न गएका छन् । यी तीन ठूला खेलाडीले ला लिगा छोडे पनि स्पेनी क्लबले भिœयाएको मध्ये सबैभन्दा ठूलो नाम आर्थुरो भिडाल हो, जो जर्मनीको बायर्न म्युनिखबाट बार्सिलोना आएका हुन् । बार्सिलोनाको खेल्ने शैलीमा उपयुक्त नहुने भएकाले भिडालको बार्सिलोना आगमन कतिपयका लागि अनौठो लागेको छ ।

बल आफ्नो पकडमा राखेर खेल्ने टीम बार्सिलोनाका लागि खेलाडीमा कुशलता र भिजन हुनु निकै जरुरी छ । भिडाल कुशलभन्दा पनि जुझारु खेलाडी हुन् । यद्यपि भिडाल बार्सिलोनाका लागि उपयुक्त होइनन् भन्ने होइन । गत सिजनमा पाउलिन्होले बार्सिलोनाका लागि राम्रै योगदान दिएका थिए । पाउलिन्होले छोडेपछि उनी जस्तै खेल्ने शैली भएका भिडालप्रति बार्सिलोनाले रुचि देखाएको हो । बार्सिलोनाले यसपटक अर्थर मेलो, क्लेमोन लेङलेट र माल्कोम जस्ता युवा खेलाडीमा बढी खर्च गरेको छ । यीमध्ये पनि माल्कोमको ट्रान्सफर बढी चर्चामा रह्यो । इटालीको क्लब रोमाले फ्रान्सेली क्लब बोर्डोसँग माल्कोमलाई किन्ने कुरा चलाएको थियो । दुवै क्लब उनको ट्रान्सफरका लागि राजी भए पनि कागजी प्रक्रिया नहुँदै बार्सिलोनाले रोमाले भन्दा बढी पैसा दिएर बोर्डोलाई मनायो । यही कारण रोमा बार्सिलोनासँग रुष्ट हुन पुग्यो ।

राम्रा खेलाडीलाई ठूलै रकम तिरेर भिœयाउने रियल म्याड्रिडको ‘ग्यालेक्टिकोस् पोलिसी’ निकै चर्चित छ । केही सिजनयता कुनै ठूला खेलाडी नकिनेको रियलले यसपटक भने इङ्गलिस क्लब चेल्सीका गोलकिपर थिबाउट कोर्टुवाँलाई भिœयायो । रोनाल्डोले छोडेपछि उनलाई प्रतिस्थापन गर्न रियलसँग चेल्सीका एडिन हजार्ड र पीएसजीका नेयमारको नाम पनि जोडिन थालेको छ । नेयमारलाई लामो अवधिको लगानीका रुपमा हेरेको पीएसजीले कुनै हालतमा उनलाई नबेच्ने अडान राख्दा यो सिजनमा हजार्ड पनि चेल्सीमै रहने पक्का भएको छ । किनभने, यसै सिजनबाट लागू हुने गरी लिगको पहिलो खेल शुरु हुनुअघि नै इङ्गल्यान्डको ट्रान्सफर विन्डो बन्द हुने नियम ल्याइएको छ ।

स्पेनमा केही वर्षयता रियल र बार्सिलोनालाई एटलेटिको म्याड्रिडले कडा चुनौती दिइरहेको छ । एटलेटिकोले यसपटक फ्रान्सबाट विश्वकप जितेका थोमस लेमारलाई किनेको छ । फ्रान्सकै ग्रिजम्यानले एटलेटिको नछाड्ने निर्णय गरेसँगै क्लबले उनलाई तेस्रो कप्तानमा पनि नियुक्त गरेको छ ।

ट्रान्सफर विन्डोमा समग्रमा सबैभन्दा बढी खर्च प्रिमियर लिगका क्लबले गर्छन् । एउटा ट्रान्सफर विन्डोमा मात्रै प्रिमियर लिगका क्लबको कुल कारोबार एक अर्ब डलरभन्दा बढी हुन्छ । प्रिमियर लिगका क्लब आर्थिक रुपमा निकै सबल छन्, तिनले खेलाडी किन्न ठूलै रकम खर्च गर्न सक्छन् । यीमध्ये पनि केही वर्षयता खर्च गर्नेमा म्यानचेस्टर सिटी अग्रपंक्तिमा छ । गत सिजन डिफेन्डर र गोलकिपर किन्नका लागि मात्रै म्यानचेस्टर सिटीले २० करोड पाउन्ड खर्च गरेको थियो । यस सिजन सिटीले लेस्टर सिटीबाट रियाद महारेजलाई किन्यो । महारेजका लागि सिटीले ६ करोड पाउन्ड खर्च गरेको छ ।

म्यानचेस्टर सिटीको प्रतिस्पर्धी क्लब म्यानचेस्टर युनाइटेडले अहिलेको ट्रान्सफर विन्डोमा कुनै ठूला खेलाडी भिœयाएको छैन । तर, युनाइटेडका पल पोग्बा बार्सिलोना जान चाहेको चर्चा छ । लिभरपुलले यसपटक मिडफिल्डलाई थप बलियो बनाउन फाबिन्हो, नेबी केइटा र जद्रान सकिरीलाई किनेको छ । नापोलीबाट जर्जिन्होलाई भिœयाएपछि चेल्सीको मिडफिल्ड पनि थप बलियो हुने अनुमान गरिएको छ ।

प्रिमियर लिगका ट्रान्सफरमध्ये यसपटक गोलकिपरहरू एलिसन र केपा चर्चामा छन् । किनभने, यी दुई हालसम्मकै सबैभन्दा महँगा गोलकिपरहरू हुन् । गत सिजनमा म्यानचेस्टर सिटीले गोलकिपर एडरसनका लागि ३ करोड ५० लाख पाउन्ड खर्च गर्दा निकै आलोचना भएको थियो । यसपटक गोलकिपरकै लागि एडरसनका लागि भन्दा दोब्बर खर्च भएको छ । लिभरपुलले रोमाबाट एलिसनलाई किन्न ६ करोड ७० लाख पाउन्ड खर्च गर्नुपर्‍यो । त्यसको केही हप्तामै चेल्सीले केपाका लागि ७ करोड १० लाख पाउन्ड खर्च गर्‍यो । जेहोस्, यो ट्रान्सफर विन्डोले गोलकिपरहरूको पनि भाउ बढाएको छ ।

comments powered by Disqus

रमझम