१०-१६ भदौ २०७५ | 26 Aug - 1 Sep 2018

नेपाल–भोट युद्घका मुख्य तीन कारण

Share:
  
- ज्ञानमणि नेपाल
जंगबहादुरले उल्लेख गरेका भोटका दुई दर्जनभन्दा बढी अर्घेल्याइँमा धेरैजसो बेपार सम्बन्धी भए पनि युद्घ नै गर्नुपर्ने कारण भने तीन वटा मात्र थिए।

जंगबहादुर राणा ।
जंगबहादुर राणाले भोटसँग नलडी नहुने कारणमा भोटले गरेका ३२ वटा अर्घेल्याइँ उल्लेख गरेर ल्हासास्थित चिनियाँ प्रतिनिधि अम्बालाई पत्र पठाएका थिए । तिनमा २० वटा पहिलेदेखि चल्दै आएका र १२ वटा उनी सत्तामा आएपछिका अर्घेल्याइँ थिए । यसमध्ये मुख्य तीन चाहिं केरुङस्थित नेवार महाजनका कारोबारी गुमास्ता मारुङका छोरा श्यामकृष्ण मारिएर उसको श्रीसम्पत्ति चोरिएको, खासा केरुङ सिमाना मिचिएको र तेस्रो, तेम्बा खम्पाको चियाको मोल एक ध्वजे (रु.१६२) भाकामा नदिएको निहुँमा खम्पाली र नेवार महाजनबीच घमासान कुटाकुट भएको थियो । यी तीनमध्ये एक–एक घटना नै युद्धका कारण बन्न सक्थे । यसपटक त जंगबहादुरले युद्ध गरेरै यी सबै कुराको समाधान गरे, भोट विजय उनको ठूलो उपलब्धि थियो ।

यस युद्धपछि भएको सन्धि अनुसार भोटले नेपाललाई वर्षेनि १० हजार रुपैयाँ बुुझउनुपर्ने भयो । सय वर्षसम्म यो निरन्तर रह्यो । नेपालका बत्तीस कोठी नेवार महाजनहरूको बेपारमा एकाधिकार पनि स्थापित भयो । पाँच दशकपछि पूर्व नाथुलातिरबाट भएको अंग्रेजको अभियानले नेवार महाजनको बेपार केही खुम्चिए पनि त्यति ठूलो असर परेको थिएन । २०१२ सालमा चीनसँग नेपालको सोझै सन्धि भएपछि पुरानो सन्धि स्वतः खारेज भयो ।

यहाँ चर्चा गरिन लागेको विषय नेपाल–भोटको बेपारमा भोटले गरेका अर्घेल्याइँका कथा नै मुख्य हुन, जसबाट जंगबहादुरले नगरी नहुने युद्ध निम्तियो । भोटका ३२ वटा अर्घेल्याइँ बाहेक दुईतर्फको सटही व्यापारमा अरू पनि कैफियत भइरहन्थे । जस्तैः नेपालबाट भारीका भारी चामल र च्यूरा लगेर उताबाट नूनका भारी ल्याउँदा नूनमा सरी बालुवा मिसाएर पठाइएको हुन्थ्यो । यता पनि के कम, चामल र च्यूरामा बियाँ, कनिका, भुस मिसाएर पठाइन्थ्यो । यस्तो समस्या दुवैतर्फ उस्तै देखियो । यसरी दुवैतर्फको दोष देखिंदा आपसमा समझ्दारी गरेर सुल्झइन्थ्यो ।

जंगबहादुरले उल्लेख गरेका भोटका ३२ वटा अर्घेल्याइँमा बेपार सम्बन्धी नै धेरै थिए । युद्धै गर्नुपर्ने अर्घेल्याइँ भने तीन मात्र थिए । साँध मिचिएको र नेपालका रैती श्यामकृष्ण मारिएको पहिलेकै घटना हो । तेम्बा खम्पाको एकध्वजे चाँदी नतिरेको निहुँमा नेवार र खम्पाहरूबीच भएको झ्गडामा मानिस मारिएको काण्ड चाहिं जंगबहादुरकै पालामा सं १९०८ तिरको हो । उपर्युक्त सबै कुरामा भोटका कास्यालका काजी चिनियाँ प्रतिनिधि अम्बे र नेपाल सरकारसँग बारबार लेखापढी भइरहेका थिए । कति कुरामा मिलापत्र भए पनि लागू हुँदैनथे ।

भोट बेपारमा कुनै नेवार महाजनले स्वास्नी लिएर जान पाउँदैनथे । भोटमा स्त्री जाति जान वा लैजान पाइँदैनथ्यो । त्यसैले नेवार बेपारी भोटेसँग मीत लाएर वा दाजुभाइको नाता जोडेर भोटेका स्वास्नी साझ बनाएर बस्थे । यिनका जन्मेका छोरा भए खच्चड वा खचडा नेपाली रैती हुन्थ्यो, छोरी भए भोटकै रैती भोटिनी हुन्थी । नेपाली रैतीले एक÷डेढ मोहर ग्यानपञ्जी रकम नेपाललाई तिर्नुपथ्र्यो ।

भोटमा कोठी खोली बस्ने बेपारी नेपाली खचडाहरूलाई त्यहाँका हाकिम र कारिन्दाहरू कसैले पनि बिजाइँ गर्न नपाऊन् भनी नेपाल सरकारबाट मल्ल शासनकालदेखि नै नाइके राख्ने चलन थियो । नेपालका कोठीका बेपारी, खेपुवा र खचडा जति छन्, ती सबैको न्याय–अन्याय हेर्ने, निसाफ गरी मुद्दा छिन्ने र दण्ड जिताउरी पानफूल बक्सौनी दशौद विशौद दैदस्तुर नेपाली नाइकेले लिएर नेपाल सरकारलाई बुझउनुपथ्र्यो । भोट सरकारलाई कुनै रकम दिनुपर्दैनथ्यो । भोटले लगाएको बेठी, बेगार, झर्लाङ पनि तिर्नु पर्दैनथ्यो । उनीहरू भोटमा बसे पनि नेपालकै कानून बमोजिम चलेर आनन्दसँग आफ्नो व्यवहार र बेपार चलाएका थिए ।

भोटका बासिन्दा भोटेहरू र कुती, केरुङ गएका नेवार महाजन, कश्मीरी मुसलमान बेपारीहरूका बत्तीसकोठी पूर्वकालदेखि नै ल्हासामा बेपार गरेर बस्दै आएका थिए । त्यस बाहेक यी बेपारीहरूले दिगर्चा ल्हचीझुङ, सिकार झुङ, टिगरी झुङ, केरुङ, कुती आदिमा जहाँ मन लाग्यो त्यहाँ कोठी खोलेर बसी बेपार गर्न पाउँथे र गरेका पनि थिए । खेपुवा ढाक्रेहरूले दैनिक च्यूरा, चामल लगेर नून साटी ल्याउँदा कुती र केरुङका ढेवा तथा झुम्पुनलाई एक फुरु जगात बुझउनुपथ्र्यो । कोठीका बेपारीहरूले अरू बिक्रीका मालसामान लैजाँदा सिमानामा बसेका झुम्पुनहरूले जाँचेपछि भारीपिच्छे एक काला मोहर लिएर पोताला दरबारमा दलाइ लामालाई बुझउनुपथ्र्यो ।

खेपुवा तथा कोठीका बेपारीले नेपालबाट चामल, च्यूरा घ्यू लिएर जाने र नून साटी ल्याउने क्रममा सीमामा तैनाथ झुम्पुनहरूले दस्तुर भनी दोब्बर–तेब्बर बढी रुपैयाँ लिने गर्दा चर्को विवाद भइरहन्थ्यो । यसै क्रममा एकपल्ट मनमुटाव बढ्दा नेवार बेपारीका कारोबारी केरुङका गुमास्ता मारुङका छोरा श्यामकृष्ण कुटपिटमा परे । हुलमूलमा आक्रमणमा परेका उनको मृत्यु भयो । उसका सामान चोरले लगेछ । मान्छे मार्ने यो अपराध ठूलै थियो । केरुङका ढेवाले नेपालतर्फ खबर गर्न डराएरै होला, आफ्ना टिगरीका तालोय अम्बालाई ल्हासामा खबर गरे । ल्हासाका बडा अम्बा छोटा अम्बा छिन्तारिन सुइतारिन्ले नेपाल सरकारमा बेलीबिस्तार लगाएर लेखिपठाएछन् । त्यसपछि मात्रै घटनाबारे नेपालका शासकले चाल पाए ।

जंगबहादुर सत्तामा आउनु भन्दा केही महीना अघिको कुरा थियो, यो । त्यसबेला मुख्तियार चौतरिया फत्तेजंग शाह थिए । उनले सं. १९०२ चैत्र शदी ३ मा केरुङका ढेवालाई चेताएर चिठी लेखेका थिए, “बढी दस्तुर रकम लिने केरुङका ढेवाका कारोबारी घिन्दु्र दोर्जे र नामग्यालले नेपाली नेवार बेपारीका कारोबारीका छोरा श्यामकृष्णलाई मार्ने चोर ज्यानमारालाई पक्री जकडबन्द गरी राख्नू । पछि हाम्रो काजी त्यहाँ आउँदा पुर्पक्ष गरौंला ।”

मारुङको छोरो मार्ने गोपुन्तेंजेन्, पासा र फिदु तीन जना रहेछन् । भोटे चोरले श्यामकृष्णको बाकस फोडी लगेको माल यति थियो– मुगाको माला १, तोला ४५ सुन मासा १२, सुन मासा १० को औंठीमा पिरोजा जडेको, नेपाली मोहर ३०, अर्को पोको राखेका पिरोजाका साना पोका ४५ वटा, पोकैपिच्छे पिरोजा दाना २० वटा, साना–ठूला मुगा दाना ५/६ वटा, कारोबारको छडी, नेपाली रुपैयाँ ५/६ सय, काला मोहर २०/३०, नेपाली पैसाले साटेका मोहर १२, सन्दुकमा कपडाले बेरेका अर्को पोकामा हेर्दा अन्दाजी २०० नेपाली मोहर थिए ।

झुम्पुनहरूले बेस्सरी पिट्दा चोरले यति बके पनि माल देखाएनन् । बगरमा ढुंगामुनि दबाएर राखेको छु भने पनि झुम्पुनले चोरलाई लिएर जाँदा भेटिएन । फेरि साफी पिटेर सास्ती दिंदा पनि चोरले मालसामान छ भनेर सकार्दो रहेछ, तर देखाउँदो रहेनछ । त्यसपछि झुम्पुनहरूले माल राख्ने धनीलाई चोरले मारिहाल्यो, बाबु मारुङले दोष मात्र लगाएको हुन सक्छ भन्ने ठहर गरे । अब भोट र नेपालका भारदार बसी राम्ररी तहकिकात गरेर यो विषय टुंग्याउनुपर्छ भनेर उनीहरू उठे ।

ल्हासाबाट भोटे भारदार आउँदा र नेपाली भारदार जाँदा केही समय लागिहाल्यो । भेला भई मुद्दाको तहकिकात गर्दासम्म जेलमा सास्ती दिएर राखिएको भोटे गोपुन्तेंन्जेन मरेछ । मतियार पासाङलाई अर्को जेलमा लगेर थुनियो । स्थानीय झुम्पुनका साथै चोरको घर र उसैका छरछिमेकी भोटेबाट रकम उठाई क्षतिपूर्ति दिएर मारुङको चित्त बुझइएछ । यसपछि त्यहाँका नेवार महाजनहरू पनि खुशी भए ।

comments powered by Disqus

रमझम