१०-१६ भदौ २०७५ | 26 Aug - 1 Sep 2018

आफैं रुग्ण

Share:
  
- कल्पना भट्टराई
आम मानिसको विश्वास र बजारमा माग भए पनि आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी उद्योगको उत्पादन प्रक्रिया आधुनिक छैन, उत्पादन पनि न्यून छ।

बिक्रम राई
सिंहदरबार वैद्यखानामा विरामी जाँच्दै कविराज।
२० वर्षसम्म एलोपेथिक उपचार गर्दा पनि ग्यास्ट्रिकको समस्या निको नभएपछि भक्तपुरका ओमकार श्रेष्ठ (५५) ले काठमाडौंको अनामनगरस्थित सिंहदरबार वैद्यखानाको औषधि प्रयोग गर्न थालेका छन् । फलोअपका लागि एक साताअघि वैद्यखानाको औषधि बिक्री केन्द्र आएका श्रेष्ठले त्यसको दुई साताअघि केन्द्रका कविराज आदित्य ठाकुरले आफूलाई थप उपचार गर्न शंखमूलस्थित ‘जानकी आयुर्वेद क्लिनिक’ मा बोलाएको गुनासो गरे । श्रेष्ठ भन्छन्, “वैद्यखानाको औषधि राम्रो हुन्छ भन्ने सुनेर आएको थिएँ, अझ् राम्रो औषधि छ भनेर आफ्नै क्लिनिकमा बोलाए ।”

अनामनगरस्थित ‘सत्यसाई आयुर्वेद’ का सञ्चालक राजन गौतम पनि आफ्नो पसलमा आउने प्रायः ग्राहकले वैद्यखानाकै उत्पादन खोज्ने बताउँछन् । “पाइल्स, दम, ग्यास्ट्रिक, अल्सर, युरिकएसिड, मधुमेह, सेतोपानी बग्ने, चाया–पोतो, यौनरोग लगायतका बिरामीले वैद्यखानाकै औषधि खोज्छन्”, उनी भन्छन् । वैद्यखानाले, बाजिकर, अविपत्तिकर चूर्ण, मिनियाँ लगायत धेरै माग हुने औषधि बजारमा नपठाएको उनको गुनासो छ । त्यस्तै, अनामनगरमै रहेको ध्रुवतारा आयुर्वेदका सञ्चालक विश्वराज घिमिरे पनि आफूकहाँ आउने अधिकांश बिरामीले वैद्यखानाको औषधिप्रति विश्वास गर्ने बताउँछन् ।

बजारमा माग बढिरहे पनि वैद्यखानाको औषधि उत्पादनमा भने कमी आएको छ । वैद्यखाना बिक्री केन्द्रकी कर्मचारी भगवती अधिकारी दैनिक औसत ५० बिरामी केन्द्रमा उपचारका लागि आउने बताउँछिन् । उनी भन्छिन्, “युरिकएसिड, दम, सुगर, प्रेसर, ग्यास्ट्रिक, कब्जियत, पायल्स, यौनरोग लगायतका बिरामी उपचारका लागि आउने गर्छन् ।” यीमध्ये एलोपेथिक उपचारबाट निको हुन नसकेका बिरामी धेरै हुने उनको भनाइ छ ।

घट्दो उत्पादन

वैद्यखानाबाट आर्थिक वर्ष २०६६/६७ देखि २०६९/७० सम्म १५० थरी आयुर्वेदिक औषधि उत्पादन हुन्थे । वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेलका अनुसार, अहिले ११० थरीका औषधि मात्र उत्पादन हुन्छन् । आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ को अवधिमा त ४० प्रकारका औषधि मात्रै उत्पादन भए । २०७३/७४ मा रु.५ करोड बिक्री लक्ष्य रहेकोमा रु.३ करोड ४३ लाख ३२ हजार बराबरको औषधि बिक्री गरिएको थियो । जसमध्ये आयुर्वेद विभागले मात्रै रु.१ करोड बराबरको ३४ प्रकारका औषधि खरीद गरेको थियो ।

समितिका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मी च्यवनप्राश, शिलाजित, अविपत्तिकर चूर्ण, लिभकेयर सिरप, एब्डोजाइम सिरप लगायत बढी माग हुने औषधि वैद्यखानाबाट नियमित उत्पादन हुँदै आएको बताउँछन् । वैद्यखानाले उत्पादन गर्ने कुल औषधिमध्ये १२ प्रकारका औषधिले मात्रै बजारमा १७ प्रतिशत हिस्सा ओगटेको उनको भनाइ छ ।

आधुनिक उपकरणको अभाव

लामो इतिहास बोकेको वैद्यखानामा औषधि उत्पादन गर्ने प्रायः उपकरण पनि पुराना छन् । हाल वैद्यखानाले पर्याप्त औषधि उत्पादन गरिरहेको छैन, उत्पादित औषधि पनि अन्तर्राष्ट्रिय मापदण्ड ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी)’ अनुसार छैनन् । जीएमपी प्रमाणपत्र प्राप्त गर्न औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपकरण र प्रक्रिया अनुसार उत्पादन गर्नुपर्ने हुन्छ ।

समितिका प्रबन्ध निर्देशक खरेल आधुनिक उपकरण नहुँदा र झ्ञ्झ्टिलो सरकारी प्रक्रियाका कारण वैद्यखानाले जीएमपी अनुसार पर्याप्त औषधि उत्पादन गर्न नसकेको दाबी गर्छन् । समितिले आफ्नो औषधिको विज्ञापन गर्न नपाउने र टेन्डरबाट लिइने कच्चा पदार्थ गुणस्तरीय नहुँदा पनि बजार विस्तारमा समस्या भएको खरेलको दाबी छ । उनका अनुसार चालू आवको अन्त्यसम्म जीएमपी अनुसार चार प्रकारका औषधि उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको छ । यो वर्ष जीएमपी मापदण्डको उपकरणका लागि रु.१ करोड ७० लाख विनियोजन गरिएको र सबै उत्पादनलाई जीएमपी मापदण्डमा लैजान रु.२५ करोड खर्च र पाँच वर्ष समय लाग्ने उनी बताउँछन् ।

अन्तर्राष्ट्रियस्तरको ल्याब र प्रमाणीकरणको व्यवस्था नहँुदा वैद्यखानाको उत्पादन बजारमा प्रतिस्पर्धी बन्न नसकेको उत्पादन अधिकृत डा. हरिदेव यादव बताउँछन् । ठूलो परिमाणमा औषधि उत्पादन गर्न सरकारले पर्याप्त बजेट दिनुपर्ने उनको भनाइ छ ।

राजनीतिक नियुक्तिको प्रभाव

सिंहदरबार वैद्यखाना विकास समितिमा जुन पार्टीका नेताले स्वास्थ्य मन्त्रालय पाए, उही पार्टी निकट व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउने प्रचलन छ । २०६६ मा संशोधित सिंहदरबार वैद्यखाना विकास समिति गठन आदेशमा समितिको अध्यक्ष र प्रबन्ध निर्देशक नेपाल सरकारले मनोनीत गरेका व्यक्ति हुने उल्लेख छ ।

प्रबन्ध निर्देशक भएर आउनेले आफू र पार्टी अनुकूलका कर्मचारी नियुक्त गर्ने गरेकाले वैद्यखानाको प्रगतिमा बाधा पुगेको छ । पदाधिकारीदेखि कर्मचारीसम्मको नियुक्तिमा राजनीति हावी भएकाले एक कर्मचारीले अर्को कर्मचारीलाई नटेर्ने र कच्चा पदार्थ खरीद गर्ने टेन्डर प्रक्रियालाई आफ्नो अनुकूल प्रभावित तुल्याउने अवस्था रहेको कर्मचारीहरू नै बताउँछन् ।

वैद्यखानाबाट बिरामीलाई निःशुल्क परामर्श दिइन्छ र औषधि बिक्री गरिन्छ । पछिल्लो १४ वर्षदेखि कविराज आदित्य ठाकुरले वैद्यखानामा आउने बिरामीलाई काउन्सिलिङ गरी औषधि सिफारिश गरिरहेका छन् ।

बिरामी जाँच्नका लागि डा. हरिदेव यादव, लालबाबु शाह, विनोद शाहलाई पनि खटाइएको छ, तर उनीहरू बिरामीको पहुँचमा छैनन् । प्रबन्ध निर्देशक खरेल रोगको प्रकृति गम्भीर भए मात्रै डाक्टरले बिरामी जाँच्ने बताउँछन् । ती डाक्टरहरू समितिका उत्पादनको गुणस्तर, प्रयोगशाला र प्रशासन लगायत शाखामा व्यस्त रहने भएकाले बिरामी जाँच्न नपाएको खरेलको तर्क छ । बिरामी जाँच्ने डाक्टरको लिस्टमा प्रबन्ध निर्देशक खरेलको नाम पनि छ ।


के हो वैद्यखाना ?

राजा प्रताप मल्ल (वि.सं. १६९८–१७३१) को पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रूपमा स्थापना भएको थियो– आजको सिंहदरबार वैद्यखाना । राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथली सारिएको यो वैद्यखानालाई पछि जुद्धशमशेरले सिंहदरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’ भनियो । जुद्धशमशेरको पालामा राजदरबार, प्रधानमन्त्री तथा उनीहरूका नातागोता वा आसेपासेले मात्रै वैद्यखानाको औषधि प्रयोग गर्थे । मुलुकमा प्रजातन्त्र आइसकेपछि २००९ सालदेखि भने वैद्यखानाको औषधि सर्वसाधारणले पनि प्रयोग गर्न पाए । २०५२ सालदेखि सरकारले यसलाई विकास समितिमा परिणत गरेको छ ।

वैद्यखानाको औषधि कारखाना सिंहदरबारस्थित विकास समितिको कार्यालय परिसरभित्रै छ । औषधि उत्पादनका लागि कच्चा पदार्थ टेन्डर प्रक्रियाबाट खरीद गरिन्छ । अहिले १९ ठाउँमा (स्टकिस्ट) थोक बिक्रेता र एक खुद्रा बिक्री काउन्टरबाट वैद्यखानाको उत्पादन बिक्री–वितरण हुँदै आएको छ । आयुर्वेद विभागले वैद्यखानाको औषधि किनेर नेपाल भरका ३११ स्थानीय तहमा सञ्चालित ३९१ वटा जिल्ला आयुर्वेद औषधालय र स्वास्थ्य केन्द्रहरूमा पठाउँछ ।

comments powered by Disqus

रमझम