१०-१६ भदौ २०७५ | 26 Aug - 1 Sep 2018

कोठामा नयाँ पन

Share:
  

मौसम परिवर्तनसँगै हाम्रो खानपान र भेषभुषामा परिवर्तन हुन्छ । त्यसैगरी घरको आन्तरिक सजावटमा पनि परिवर्तन गर्दा घर सुन्दर र आकर्षक देखिन्छ । गर्मी मौसममा घरको इन्टेरियर ‘फ्रेश र कुल’ बनाउन धेरैजसो हल्का रङको प्रयोग गरिन्छ ।

गर्मी मौसममा कोठाका भित्तामा चम्किलो र गाढा रङको सट्टा हल्का रङ लगाउँदा राम्रो देखिन्छ । नयाँपन रुचाउनेका लागि घरका सबै भित्तामा एउटै रङ लगाउनुको सट्टा प्रत्येक भित्तामा फरक–फरक रङ छनोट गर्नु राम्रो हुन सक्छ । तर, यसरी फरक–फरक रङ लगाउँदा एउटै रङका विभिन्न शेड्स प्रयोग गरे आकर्षक देखिन्छ । पेन्टको साटो वालपेपरले पनि कोठा सजाउन सकिन्छ । भित्तामा नयाँ रङ लगाउन झन्झट छ भने ‘ब्राइट शेड’ को पेन्टिङ भित्तामा झुण्ड्याउँदा पनि नयाँपन झल्किन्छ ।

तस्वीरः हिमाल आर्काइभ
गर्मीमा झ्यालमा दुई किसिमको पर्दा राख्नु उपयुक्त हुन्छ । एउटा निकै पातलो वा नेटको र अर्को मोटो । बिहान–बेलुका झ्यालमा पातलो पर्दा राख्ने र दिउँसो मोटो पर्दा लगाउँदा कोठा चिसो राख्न मद्दत पुग्छ । यस्तो पर्दा सिल्क वा अन्य कपडा भन्दा सूतीकै राम्रो हुन्छ ।

वर्षा र गर्मी मौसममा लिभिङ रुम सजाउन हल्का रङ र फूलको प्रिन्ट भएका पर्दा राख्न सकिन्छ । पर्दासँग सुहाउँदो फूलकै प्रिन्ट भएको कुशन र सिरानीको खोलले झन् आकर्षण थप्छ ।

घरमा भएका फर्निचरलाई ताजा र नयाँ देखाउन नयाँ रङ लगाउने प्रचलन पनि छ । फर्निचरमा नयाँ रङ नलगाउने हो भने साइड टेबल वा टेबलमा हल्का रङका टेबलपोश राख्दा पनि नयाँ जस्तो देखिन्छ ।

कोठाको बनोट अनुसार तन्ना विशेष गरी फ्लोरल वा लाइट कलर शेड ओछ्याउँदा पनि मौसमसँग म्याच गर्छ र कोठाको वातावरण रमाइलो बनाउँछ ।

अचेल घरमा ‘फ्लावर पट’ अनिवार्य जस्तै भइसकेको छ । आन्तरिक सजावटलाई ताजगी दिनका लागि फ्लावर पटमा ताजा फूल राख्नु उत्तम विकल्प हो । रुचि अनुसार घरको सौन्दर्यमा निखार ल्याउन कृत्रिम फूलको पनि उपयोग गर्न सकिन्छ । त्यसैगरी भित्तामा झुण्ड्याउने लहरे फूलले पनि घरको आकर्षण बढाउँछ ।

इन्डोर प्लान्टले घरको वातावरण रमाइलो बनाउँछन् । यस्ता प्लान्टले घरको हावा पनि स्वच्छ हुन्छ । इन्डोर प्लान्ट, कोठा सानो छ भने कुनै एक कुनामा र ठूलो छ भने टेबलमा समेत राख्न सकिन्छ । फन्र्स वा अर्किड इन्डोरका लागि उत्तम विकल्प हुन सक्छन् ।

घरलाई खुला र हावा खेल्ने बनाउन इन्टेरियरको अहम् भूमिका हुन्छ । यदि ड्रइङरुम सानो छ भने हल्का खालका फर्निचर उपयुक्त हुन्छ । सेन्टर टेबल धेरै ठूलो भयो भने पनि कोठा साँघुरो देखिन्छ । त्यस्तै, सोफाका खोल पनि हल्का रङको फ्लोरल प्रिन्टको उपयुक्त हुन्छ ।

कोठालाई नयाँ र ताजा देखाउन सबैभन्दा सजिलो उपाय कोठाका सामानको सेटिङ परिवर्तन गर्नु हो । फर्निचर, पलङ लगायतका सामानलाई बेलाबेलामा फरक–फरक तरिकाले राख्दा पनि नयाँपन देखिन्छ ।

comments powered by Disqus

रमझम