२३ भदौ २०७० | 8 September 2013

अँध्यारोबाट उज्यालोतिर

Share:
  
- देबकी विष्ट
वेश्यालयमा बेचिएकी सुनिता अहिले वेश्यालयमा बिक्री हुन नदिने, बेचिएकालाई उद्धार र पुनर्स्थापना गर्ने अभियानको नेतृत्वकर्ता बनेकी छिन् ।

देवकी बिष्ट
मुम्बईका कोठीमा बिताएका पाँच महीना सम्झ्ँदा अहिले पनि उनलाई राति निद्रा लाग्दैन, शरीर गल्छ र मन विरक्त हुन्छ । दोलखा कासीकाध गाविसमा १ साउन २०३४ मा जन्मिएकी सुनिता वन (दनुवार) ले वि.सं. २०५३ मा भारतको मुम्बईमा बिताएका ती दिन कथामा सुनिने र पढिने नर्कभन्दा कुनै हिसाबले कम त्रासदीपूर्ण थिएनन् । त्यही वर्ष भारतको महाराष्ट्र सरकारले १८ वर्षभन्दा कम उमेरकालाई वेश्यालयबाट उद्धार गर्ने निर्णय नगरेको भए उनले अरू कति समय नरकमै बिताउनुपर्दथ्यो भन्न सकिन्न ।

१४ वर्ष छँदा वेश्यालयमा पुर्याइएकी सुनिता अहिले नेपाली चेलीहरूलाई वेश्यालय पुग्नबाट रोक्ने र पुगेकाहरूको उद्धार एवं पुनस्र्थापना गर्ने अभियानको नेतृत्वकर्ता बनेकी छिन् । वेश्यालयबाट फर्केका उनी जस्ता मिलेर २०५७ मा स्थापना गरिएको शक्ति समूहले राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा प्रशंसा पाउँदै यो वर्ष एशियाको प्रतिष्ठित म्यागासेसे पुरस्कार (५० हजार डलर) समेत पाएको छ ।

पीडादायी विगत

कमजोर आर्थिक अवस्थाका गंगा र चन्द्रकलाका १० सन्तानमध्ये एक हुन्, सुनिता । रोग, कुपोषण जस्ता समस्याले ६ सन्तानको मृत्यु भएपछि बचेका चार जना छोराछोरीलाई लिएर सुनिताका बुबा—आमा भारतको जम्मु काश्मिरमा आलु खेती गर्न गए । त्यहाँ पुगेकी पाँच वर्षीया सुनिता १४ वर्ष पुग्दानपुग्दै गिटी कुट्ने मजदूरी गर्न थालिन् । त्यही वेला गिटी लिन आउने ट्रयाक्टर चालक र उनका साथीले बेहोश हुने औषधि मिसाइएको मिठाई खुवाएर मुम्बईको कोठीमा पु¥याएको उनी सम्झिन्छिन् ।

होश खुल्दा आफू वरिपरि भद्दा मेकअप गरेका युवतीहरूको चहलपहल देखेपछि वेश्यालयमा आइपुगेको थाहा पाएको सम्झ्ँदै सुनिता खाना, पानी केही नदिंदै शारीरिक र मानसिक यातना दिए पनि एक महीनासम्म प्रतिरोध गरेर जोगिएको बताउँछिन् । छुरी, खुकुरी देखाउँदा पनि त्यहाँ आउने ग्राहकसँग सुत्न नमानेपछि कोठी संचालकले भारु १ लाख लिएर अर्को कोठीमा बेचिदिएको सम्झ्ँदै सुनिता भन्छिन्, “त्यहाँ पनि ग्राहकसँग सुत्न नमानेपछि कोठी संचालिकाले त्यहीं काम गर्ने केटाहरूलाई सामूहिक बलात्कार गर्न लगाइन् ।”

कोठीका ग्राहकमा विदेशी, भारतीय सेना, प्रहरीका अधिकृत र व्यापारीहरू हुन्थे । पैसावाल ग्राहकले आफूसँगै लगेर एक घण्टा बिताएको भारु ३ सयदेखि ३—४ हजारसम्म दिने तर, कोठीमा आउने ग्राहकले भारु २० देखि ५० मात्र दिने गरेको उनी सम्झिन्छिन् । उनी बसेको कोठीमा ९ वर्षका बालिकादेखि ४५ वर्षका नेपाली र बंगाली युवती धेरै थिए ।

भारतको महाराष्ट्र सरकारले त्यो वेला उनी सहित ५०० जना युवतीलाई वेश्यालयबाट उद्धार गरेको थियो, जसमध्ये २०० जना नेपाली थिए । तीमध्ये १२८ जना विभिन्न गैरसरकारी संस्थाको सहयोगमा नेपाल आइपुगे, बाँकी फेरि वेश्यालयमै फर्किए वा कहाँ पुगे उनलाई सम्झ्ना छैन ।

नयाँ यात्रा

वेश्यालयबाट मुक्त भए पनि सुनिता सहितका १२८ जनालाई नेपाल फर्किन सजिलो भएन । एड्स जस्ता घातक सरुवा रोग लागेको हुनसक्ने तथा नेपाली नै हुन् भन्दा इज्जत जाने ठानेर तत्कालीन नेपाल सरकारले उनीहरूलाई नेपाली नै होइनन् भन्दै स्वीकार्न गाह्रो मानेको उनले अझै बिर्सिएकी छैनन् । बाबुआमा जम्मू–काश्मिरमै छन् वा फर्किए भन्ने टुंगो नभएको र अरू आफन्तले मुम्बईबाट फर्केको भनेर नस्वीकार्ने कारण नेपाल फर्केपछि पनि बस्ने, खाने र समाजमा घुलमिल हुने समस्या उनले भोग्नु पर्यो । त्यस्तो अप्ठ्यारो वेला मुम्बईबाट सँगै फर्किएका आफू सहित १२ जनालाई आश्रय दिने गैरसरकारी संस्था ओरेक नेपाललाई उनी बिर्सन सक्दिनन् ।

तर, ओरेकमा आश्रय लिएकामध्ये ७ जनालाई एचआईभी पोजेटिभ देखिएपछि भने उनीहरू बीचमा रुवावासी मच्चियो । त्यो वेला आफूलाई सम्हाल्ने, बाँच्ने र अघि बढ्ने क्रममै सुनिता सहित साथीहरूले शक्ति समूह गठन गरे । नागरिकता लगायत कागजपत्र नभएको त्यो वेला उनीहरूलाई ओरेक नेपालकी प्रमुख डा. रेणु राजभण्डारीको साथ रह्यो । २०५४ मा विवाह गरेकी सुनिता २०६६ मा एसएलसी उत्तीर्ण गरेर अहिले स्नातक प्रथम वर्षमा अध्ययन गर्दैछिन् ।

comments powered by Disqus

रमझम