१७-२३ भदौ २०७५ | 2-8 August 2018

शान्त घर

Share:
  

भनिन्छ, घर त्यो हो जहाँ आराम, भावनात्मक तृप्ति र सुरक्षित महसूस हुन्छ । यसैले घरको अर्थ विश्राम लिने ठाउँ मात्र नभई सुखद अनुभूति दिलाउने वातावरण हो । दिनभरको कामपछि घर आउँदा थकान मेटियोस् र शान्ति अनुभूति होस् भन्ने सबैको चाहना हुन्छ । त्यसका लागि पहिलो शर्त हो, घरको वातावरण शान्त हुनुपर्छ ।

अहिलेको व्यस्त र तनावपूर्ण जीवनशैलीमा मानसिक शान्ति र सुबिस्ताको खोजी सबैले गरिरहेकै हुन्छन् । यस्तोमा तनावपूर्ण दिनचर्यापछि घरमा पाइने शान्तिपूर्ण अनुभूतिले हामीलाई नयाँ दिनको लागि पुनर्ताजगी दिन्छ ।

घरको वातावरण शान्त र शानदार बनाउन विभिन्न कुराले भूमिका खेल्छन् । जसलाई झिना–मसिना सम्झेर हामीले महत्व दिइरहेका हुँदैनौं । अन्ततः तिनै विषयले घरको माहोल खलबल्याउने गर्छ । जरुरी नभएको भन्दै स–साना काम असरल्ल छोड्दा काम थुप्रिएर समस्या बनिदिन्छ । त्यसैले घरमा मैला लुगाको थुप्रो, यत्रतत्र छरिएका हप्ताभरिका पत्रिकालाई समयमै व्यवस्थित गर्नुपर्छ ।

खोजेको समयमा जरुरी कागजात वा अन्य सामान फेला नपर्दा पनि तनाव बढ्छ । त्यसैले प्रत्येक चिजबीज सही स्थानमा राख्दा कोठा सफा देखिनुका साथै खोजेको बेला सरसामान दुरुस्तै भेटिन्छ । मैलो पर्दा, भुइँमा झरेको सोफाको कुशन, डाइनिङ टेबलमा दाँत माझ्ने ब्रश आदि देख्दा ताजगी महसूस हुँदैन ।

मधुर सम्झना जोडिएका वस्तु र तस्वीर देख्दा सबैलाई खुशी लाग्छ । त्यसैले खराब समय वा अवस्था सम्झाउने खालका सबै चिज घरबाट टाढै राखेर राम्रा वस्तु र तस्वीर सजाउनुपर्छ । सुन्दर चित्र र तस्वीरले मन प्रफुल्लित बनाउनुका साथै ऊर्जावान र सिर्जनशील बनाउँछ ।

सामान संग्रह गरेर राख्ने बानीले पनि घरको वातावरण अस्तव्यस्त बनाइरहेको हुन्छ । हामीमध्ये कतिपयको तत्काल आवश्यक नपर्ने सामान पनि बटुल्ने र कुनै बेला काम लाग्न सक्छ भनेर कोठाको कुनै कुनामा थन्क्याउने बानी हुन्छ । वर्षौंदेखि प्रयोगमा नआएका त्यस्ता वस्तुले बित्थामा घर ओगटिरहेको हुनसक्छ । त्यसो गर्दा बेडरुम पनि स्टोर रुम जस्तै हुन्छ । बिग्रेका ग्याजेट्स, पुराना लुगा, बच्चाका किताब–कापी आदि थुप्रो लागेर बसिरहे पनि त्यतातिर हाम्रो ध्यान पुगिरहेको हुँदैन । यस्ता सामग्रीले घरमा ठाउँ ओगट्ने र तनाव मात्रै बढाउने भएकाले हटाउनु नै राम्रो हुन्छ ।

घरलाई आनन्दित बनाउन धेरै थोक जोरजाम गरिराख्नु पनि पर्दैन । घरको कुनै स्थान वा कुनोलाई मन बहलाउने ठाउँ बनाउन सकिन्छ । त्यो स्थान आरामदायी कुर्सी, बरण्डा वा कुनै कोठा हुन सक्छ । जहाँ एकान्तमा केही समय बिताउँदा मन चंगा होस् । यस्तो स्थानमा बसेर तपाईं किताब पढ्न वा संगीत सुन्न सक्नुहुन्छ ।

विभिन्न अनुसन्धानले हाम्रो मस्तिष्कमा रङको गहिरो असर हुन्छ भन्ने देखाएका छन् । कुनै रङ केही व्यक्तिका लागि शान्तिपूर्ण लाग्छन् भने अर्कोलाई बेग्लै रङले सुखानुभूति दिन सक्छ । हरियो र सेतो रङको विपरीत रातो रङले तनाव बढाउने अनुसन्धानबाट प्रमाणित भएको छ । त्यसैले आफूलाई शान्ति महसूस गराउने रङले घरका भित्ता रंग्याउनुपर्छ । दिनभरको थकानपछि मनको शान्ति र मीठो निद्राका लागि नीलो वा हरियो रङका शेडले बेडरुमका भित्ता सजाउनु उपयुक्त हुन्छ ।

घरको वातावरण कति मनोरम लाग्छ भन्नेमा कोठामा कति प्रकाश खेल्छ भन्ने कुराले पनि भूमिका खेल्छ । कोठा अँध्यारो भए मन पनि धुम्मिन्छ । यसैले प्राकृतिक उज्यालो छिर्ने कोठा छ भने बिहानको झुल्के घामले तपाईंलाई दिनभर स्फूर्ति दिन सक्छ ।

comments powered by Disqus

रमझम