१७-२३ भदौ २०७५ | 2-8 August 2018

बाल आकर्षण बढ्दो

Share:
  
- मुकेश पोखरेल, बुटवलमा
काठमाडौं उपत्यकाका केही ठाउँमा सीमित लन टेनिस खेलप्रति चारभञ्ज्याङ बाहिरका बच्चाहरूको आकर्षण बढ्दो छ।

बिक्रम राई
ललितपुरस्थित लिटिल एञ्जल्स स्कूलमा भएको ‘एलए इन्टरस्कूल लन टेनिस टुर्नामेन्ट’ का एक सहभागी ।
बुटवल पब्लिक स्कूलको कक्षा ३ मा अध्ययनरत ब्रिजेस अग्रवाल ‘एलए इन्टरस्कूल टन टेनिस टुर्नामेन्ट’ को ८ वर्षमुनिका खेलाडीहरूको स्पर्धामा सहभागी ३८ जनामध्ये प्रथम भए । अग्रवालले ६ देखि १३ भदौसम्म ललितपुरको हात्तीवनस्थित लिटिल एञ्जल्स स्कूलको खेलमैदानमा भएको उक्त टुर्नामेन्टको ११औं संस्करणमा प्रथम भएर उपत्यका बाहिरबाट टेनिसमा पहिलो पल्ट पदक हात पार्ने इतिहास बनाए । जुनियर टेनिस इनिसियटिभ लिटिल एञ्जल्स स्कूलको आयोजनामा भएको प्रतियोगितामा दोस्रो र दुईमध्येको एक तेस्रो उपाधि पनि बुटवलले नै हात पार्‍यो । न्यू होराइजन बुटवलका यमन राना द्वितीय तथा उक्त विद्यालयकै योगेश ज्ञवाली र रातो बंगला स्कूल ललितपुरका आदृत नेपाल तृतीय भए ।

काठमाडौं उपत्यकामा सीमित लन टेनिस प्रतियोगितामा उपत्यका बाहिर पनि आकर्षण बढ्दै गएको छ । बुटवलबाट विजेता बनेका सबै खेलाडीले लन टेनिस खेल्न थालेको डेढ वर्ष मात्रै भएको छ । काठमाडौंका महँगा विद्यालयमा खेलकुदको राम्रो वातावरणमा प्रशिक्षण लिएका खेलाडीहरूलाई पराजित गरेर बुटवलले टेनिसबाट काठमाडौंको ध्यान तानेको छ । प्रशिक्षक विकास खड्का भन्छन्, “एउटा मात्र भए पनि पदक जित्ने आशा थियो, खेलाडीको उत्कृष्ट प्रदर्शनले अपेक्षा भन्दा बढी सफलता पायौं ।” प्रतियोगितामा ८, ९, १०, १२ तथा १४ वर्ष मुनिका गरी २१६ जना सहभागी थिए ।

उपत्यका बाहिर टेनिस

‘लन टेनिस’ भन्ने बित्तिकै धनीमानीले खेल्ने खेल भन्ने आम बुझाइ छ । किनकि यो खेलका लागि प्रयोग हुने खेलमैदान विशेष खालको र खेल सामग्री महँगो हुन्छ । त्यही कारण विगतदेखि नै टेनिस सीमित मानिसले खेल्थे । काठमाडौं बाहिर त यो खेलको अवस्था अझै दयनीय थियो ।

पछिल्लो समय भने टेनिसको व्यावसायिक विकासका लागि स्थानीयस्तरमा प्रयास शुरू गरिएका छन् । बुटवलमा बालबालिकालाई टेनिस सिकाउन व्यावसायिक रूपमै अभियान थालिएको छ । बुटवल उपमहानगरपालिका–१३ स्थित फिफा टेक्निकल खेल मैदान परिसरमा निजी लगानीमा लन टेनिस कोर्ट निर्माण गरेर व्यावसायिक खेलाडी उत्पादनका लागि दुई वर्षयता प्रशिक्षण दिइँदै आएको छ । प्रशिक्षणमा अहिले ६ देखि १२ वर्षसम्मका २५ जना बालबालिका सहभागी छन् ।

बुटवल टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीका अनुसार, बच्चाहरूलाई टेनिसप्रति आकर्षण गराउन प्रशिक्षण अभियान शुरू गरिएको हो । यसबाट खेलप्रति व्यस्तता र लगाव बढेर उनीहरूलाई दुव्र्यसनबाट जोगाउने उद्देश्य राखिएको छ । प्रति प्रशिक्षार्थी मासिक रु.१ हजार लिएर प्रशिक्षकको व्यवस्था गरिए पनि खेलमैदान मर्मत र खेल सामग्रीका लागि वार्षिक खर्च हुने रु.४ लाख भने व्यक्तिगत रूपमा व्यवस्थापन गरिएको ज्ञवाली बताउँछन् ।

मुकेश पोखरेल
बुटवल देवीनगरस्थित लन टेनिस कोर्टमा अभ्यास गर्दै बालबालिका ।
क्लबको आयोजनामा रूपन्देहीमा गएको माघ र फागुनमा टेनिसका दुई वटा जिल्लास्तरीय प्रतियोगिता भइसकेका छन् । उक्त प्रतियोगितापछि विद्यालय तहमा पनि टेनिस प्रशिक्षण हुन थालेको छ । बुटवलस्थित न्यू होराइजन कलेजले आफ्ना विद्यार्थीका लागि यस वर्षदेखि प्रशिक्षण शुरू गरेको छ ।

बुटवल टेनिस क्लब स्थापनाको एक वर्ष पुगेको अवसरमा फागुन २०७४ मा प्रथम बुटवल ओपन लन टेनिस प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा महिला–पुरुष गरी ८६ जना प्रतियोगी भिडेका थिए, जसमा पूर्वमन्त्री कमल थापा पनि सहभागी थिए । यस वर्ष दोस्रो प्रतियोगिता आयोजना गर्ने तयारीमा लागेको क्लबका अध्यक्ष ज्ञवाली बताउँछन् ।

निजी लगानीमा कोर्ट

साविक बुटवल नगरपालिका–११ का अशोक गुरुङले आफ्नो सोखका लागि निजी जग्गामा टेनिस कोर्ट बनाएका थिए । जहाँ खेलाडी हुन्थे, नेपाल आर्मी र प्रहरीका उच्च अधिकारी । बुटवलका युवा गोपाल ज्ञवाली ती खेलका दर्शक बन्थे । दर्शकमा सीमित उनमा लगाव बढ्दै जाँदा अन्ततः टेनिस खेलाडी बने ।

गुरुङको निजी कोर्टमा करीब तीन वर्ष टेनिस खेलेका ज्ञवालीमा यसको नशा झन् बढ्दै गयो । “दर्शक भएर हेर्दाहेर्दै टेनिस खेलले आकर्षण गरेर खेलाडी बनें । त्यसपछि टेनिसको विकास गर्नुपर्छ भन्ने सोच आयो”, उनी भन्छन् । उनले दुई छोरालाई पनि टेनिस सिकाए । आफ्ना छोरासहित अरू बच्चालाई पनि टेनिस सिकाएर व्यावसायिक रूपमा टेनिस खेलाडी उत्पादन गर्नुपर्छ भन्ने सोचले उनी अघि बढे । अन्ततः एन्फा टेक्निकल सेन्टरसँगको सहकार्यमा बुटवल देवीनगरस्थित जग्गा लिएर लन टेनिस कोर्टको निर्माण गरेको उनी बताउँछन् । उनका अनुसार, ज्ञवालीसहित आठ जनाको सक्रियतामा रु.१२ लाखको लागतमा कोर्ट निर्माण गरिएको हो ।

ज्ञवालीले २०७३ मंसीरमा बुटवल टेनिस क्लब दर्ता गरेर बुटवलमा व्यावसायिक लन टेनिस प्रतियोगितालाई अघि बढाएका हुन् । उनको सक्रियतामा निर्माण गरिएको कोर्टमा बिहान क्लबका खेलाडी खेल्छन् भने साँझ बच्चाहरूको प्रशिक्षण हुन्छ । क्लब मार्फत काम गरिरहेका उनको चाहना छ, एकेडेमीको मान्यता लिएर अझ व्यवस्थित रूपमा अघि बढ्ने । “एकेडेमीको मान्यता पाउन सके प्रशिक्षण चलाउन सजिलो हुन्थ्यो”, ज्ञवाली भन्छन् ।

comments powered by Disqus

रमझम