२३ भदौ २०७० | 8 September 2013

डाक्टर नाम बदनाम

Share:
  
- तारा भट्टराई
सरकारी अनुदान कुम्ल्याउन असहाय महिलाहरूको पाठेघर निकालेर फाल्ने डाक्टरमाथि कारबाही हुनुपर्छ ।

बिलाश राई
केही दिनअघि नेपालका डाक्टरहरूप्रति वितृष्णा हुने किसिमको खबर छापियो– ‘अनुदान कुम्ल्याउन पाठेघर झिकिन्छ ।’ जसप्रति पूरै विश्वस्त भएर सहारामा गइन्छ अनि भगवान सरह मानिन्छ, तिनै डाक्टरहरू सरकारी अनुदान हात पार्नकै लागि यो हदसम्मको निकृष्टतामा ओर्लन सक्लान् ? शुरूमा त पत्याउनै मुश्किल भयो । तर, नपत्याउनु कसरी ? किनभने, पाँच विकास क्षेत्र समेट्ने गरी १५ जिल्लामा भइरहेको आङ खस्ने रोगको उपचारमा देखिएको बेथितिको अनुगमन गरेर स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रतिवेदनको आधारमा समाचार प्रकाशित भएको थियो ।

सुष्मा कोइराला मेमोरियल ट्रष्टले आयोजना गरेको शिविरमा एक गाइनाकोलोजिष्ट र एक मेडिकल अधिकृतको टीमले एकै दिनमा ३० जनासम्म बिरामीको शल्यक्रिया गरेर पाठेघर झ्किेको समाचारमा लेखिएको थियो । जबकि, एक डाक्टरले एक दिनमा ६ वटा भन्दा बढी शल्यक्रिया गर्नै नहुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । तर, नेपालको गाउँ–गाउँमा शिविर सञ्चालन गर्ने ठेक्का पाएका संस्थाहरूले न्यूनतम मापदण्ड समेत पूरा नगरी शल्यक्रिया गरेर पाठेघर झ्किेको अनि कतिपयको पाठेघरको सामान्य उपचार मात्र गरेर शल्यक्रिया गरेको भन्दै अनुदान कुम्ल्याएको समाचार बताउँछ । समाचार अनुसार, अनुदानको लोभले जाँगरिला बनेका डाक्टरहरूले आवश्यकता नै नभएका बिरामीलाई पनि शल्यक्रिया गरेछन् ।

नेपाली महिलामा आङ खस्ने समस्या बढी देखिएपछि सरकारले पाँच वर्षदेखि सरकारी र विभिन्न गैर–सरकारी स्वास्थ्य संस्था मार्फत शिविर सञ्चालन गरेर उपचार अभियान चलाएको छ । पाठेघरको शल्यक्रिया गर्ने संस्थाहरूलाई सरकारले एक बिरामी बराबर तराईमा रु.१२ हजार, पहाडमा रु.१५ हजार र हिमाली क्षेत्रमा रु.२० हजार अनुदान दिन्छ । हालसम्म ४२ हजार महिलाको उपचार गरिएको छ भने त्यस बापत सरकारले रु.१ अर्बभन्दा बढी अनुदान बाँडेको छ ।

राक्षसी मनोवृत्ति

गत वर्ष भारतका विभिन्न राज्यका गाउँहरूमा यस्तै घटना भएको समाचारहरू प्रकाशमा आएका थिए । त्यहाँका गरीब महिलाको पाठेघरको शल्यक्रियापछि दुखाइ नरोकिएको गुनासो बढेपछि राज्य सरकारसँगै मेडिकल काउन्सिल र अपराध अनुसन्धान विभागले समेत अनुसन्धान गरेका थिए । त्यसक्रममा तल्लो पेट दुखेर वा अरू समस्या लिएर आउने गरीब–निरक्षर महिलाहरूलाई डाक्टरहरूले ‘पाठेघरमा क्यान्सर भइसकेछ, तुरुन्तै नफालेमा मर्छौ’ भन्दै कसैको पाठेघर त कसैको फेलापिन ट्यूब नै झ्किेर फालिदिएको पाइएको थियो ।

बिहारका मुख्यमन्त्री नितिश कुमारको गृहजिल्लामै यस्ता धेरै अपराध भएको पाइएको थियो । त्यहाँ डाक्टरले तेस्रो बच्चा पाउन नचाहने एक जना २६ वर्षीया युवतीको पाठेघर झ्कििदिएका थिए । तर, अर्को बच्चा नपाउन सानो अपरेशन गर्दा पुग्ने कुरा पाठेघर फालेपछि थाहा पाएको ती युवतीले बताएकी थिइन् ।

भारत सरकारले सन् २००७ यता गरीबीको रेखामुनि रहेका ९ करोड जनताको स्वास्थ्योपचारका लागि प्रति परिवार भारु ३० हजारसम्म उपलब्ध गराउने नीति कार्यान्वयन गरिरहेको छ । त्यो रकम हात पार्न डाक्टरहरूले २०–४२ वर्ष उमेर समूहका हजारौं महिलाको पाठेघर निकालिदिएका छन् । त्यस्ता महिलाहरू साइड इफेक्टका कारण अनेक कष्ट सहन बाध्य छन् । भविष्यमा बच्चा पाउन नसक्ने भएका तीमध्ये कति महिलालाई श्रीमान्ले छोडेर अलपत्र पारेका छन् ।

भारतका हुन् कि नेपालका, पैसाका लागि यो हदको आचरण देखाउने डाक्टरहरूले कारबाहीको भागीदार हुनुपर्छ । उनीहरूले असहाय महिलाको जीवनमाथि खेलबाड गरेर पैसा कमाउने मनोवृत्ति देखाएका छन् । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अरू सरकारी निकायहरूले तत्काल चासो देखाउनुपर्छ । यस्तो आपराधिक मनोवृत्ति रोक्न सबभन्दा पहिला त मेडिकल काउन्सिल नै अगाडि सरोस् ।

comments powered by Disqus

रमझम