खम्पा–नेवार संघर्ष

Share:
  
- ज्ञानमणि नेपाल
चियाको मोल एक ध्वजे (रु.१६२) तोकिएको समयमा नतिर्दा खम्पाली बेपारीले एक नेवारलाई थला परुन्जेल पिटेपछि खम्पाली र नेवार महाजनबीच भिडन्त मात्र भएन, विवाद लामो समय चलिरह्यो।

१८ औं शताब्दीमा तिब्बतका लागि नेपालमा ढालिएको चाँदीको सिक्का ।
सातौं शताब्दीको मध्यसम्म भोट अविकसित नै थियो । स्रङ चन गम्पोका बाबुले भोटको एकीकरण शुरू गरेपछि भने त्यहाँ राजनीतिक, आर्थिक, सांस्कृतिक र धार्मिक विकास हुन थाल्यो । त्यसैबेला नेपालमा आन्तरिक कलहका कारण राजा शिवदेवका छोरा उदयदेव सपरिवार भागेर भोटमा शरण लिन पुगे । त्यसै क्रममा स्रङ चनसँग नेपालकी राजकुमारी भृकुटीको विवाह भयो । भृकुटीकै प्रेरणाले भोटमा बौद्ध धर्मको प्रचारप्रसार तीव्र भयो ।

त्यसबेलासम्म भोटमा आफ्नो लिपि समेत थिएन । स्रङ चन गम्पोले मानिस पठाएर नेपालमा प्रचलित लिच्छवि लिपि र बौद्ध विद्वान्हरूलाई भोट लगे । तिनले बौद्ध धर्मको प्रचार मात्र गरेनन्, लिच्छवि लिपिमा भोट भाषामा बौद्ध वाङ्मयको अनुवाद पनि धमाधम गर्न थाले । बौद्ध वाङ्मय मात्र होइन, कोश, व्याकरण, ज्योतिष आदि तन्त्र–ग्रन्थ पनि केही लिच्छवि लिपिमा सारिए, केही अनूदित गरिए । पछि यी ग्रन्थ राशि क्यङ्गुर त्यङ्गुरका रूपमा सङगृहित गरिएका छन् ।

अहिले भारतमा बौद्ध ग्रन्थको नामोनिसान बाँकी छैन । बौद्ध मूर्ति, विहार तथा पुस्तकालयहरू मुस्लिमको आक्रमणमा ध्वस्त भए । अहिले भारतीय विद्वान्हरूले अनुसन्धान संस्थाहरूबाट भोट, बर्मा, श्रीलंकाबाट बौद्ध वाङ्मयका ग्रन्थहरू प्रतिलिपि तथा अनुवाद गराएर ल्याइरहेका छन् ।

यो भोट–नेपालको पुरानो प्रसंग हो । त्यसपछि भोटसँग नेपालको सम्बन्ध प्रगाढ हुँदै गयो । राजनीतिक, आर्थिक आवतजावत पनि निरन्तर चलिरह्यो । स्रङ चन गम्पोको नेपालका साथै महाचीनसँग पनि वैवाहिक सम्बन्ध गाँसियो । त्यसपछि बहुमूल्य वस्तुहरू तीन वटै देशबीच आदानप्रदान हुन थाले । भोटबाट नेपाल आउने उपभोग्य वस्तुहरूमा ऊनका राडीपाखी, गलैंचा, नून, सुन, चाँदी आदि हुन्थे । नेपालबाट भाँडाकुँडा, मरमसला, खुर्सानी, चामल, च्यूरा आदि लगिन्थे ।

मल्लकालमा नेपालले चाँदीका टक ढाल्न थालेपछि भोटले पनि उतैबाट चाँदी ल्याएर आफ्नो मुद्रा ढालेर लैजान थाल्यो । यसबाट मल्ल राजाहरूलाई धेरै फाइदा हुन्थ्यो । पछिल्लो कालमा पृथ्वीनारायण शाहले नेपाल दुन (काठमाडौं उपत्यका) घेरेपछि भने मल्ल राज्यमा ठूलो आर्थिक संकट पर्‍यो । त्यसपछि थोरै चाँदी र धेरै तामा मिसाएका मुद्रा बनाएर पठाउँदा भोटमा खोटा टकको राश लाग्यो ।

पृथ्वीनारायणले उपत्यकाका तीन राज्य जितेपछि भोटमा शुद्ध चाँदीका मोहोर ढालेर पठाउन थाले । पहिले नेपालबाट खोटा टक पठाउने गरेको थाहा भएपछि भोट र नेपालबीच ठूलो टकराव भयो । दुई पक्षबीच ठूलो व्यापार थियो । बत्तीस कोठीका महाजनका मालसामान दैनिक सयौं भारी आउजाउ गर्नुका साथै कुती र केरुङको पूर्व–पश्चिमको सीमा व्यापार पनि दोहोरीलत्त चलिरहेको थियो । यस्तो सटही बेपारमा त्यति समस्या नदेखिए पनि नगद कारोबारमा भने विवाद परिरहन्थ्यो । भोटेहरू ‘शुद्ध चाँदीका टकसँगै काला मोहर पनि त्यहींबाट ढालिएकाले सराबरी चल्नुपर्छ’ भन्थे । तर, त्यो सम्भव नै थिएन । यो गलफत्ती धेरै समय चल्यो ।

भोटसँग कलहका कारण अरू पनि थपिंदै गए । वि.सं. १८४६ मा त भोटसँग नेपालको युद्ध नै भयो । भोटले चीनसँग गुहार माग्यो । चीनका बादशाहले एक सेनापतिको नेतृत्वमा सहायक दल पठाइदिए । सेनापतिले दुई पक्षलाई राखेर सहमति गराउँदा भोटको खोटा टकको आधा मूल्य निर्धारण गरियो । यतिका वर्षको बेपार घाटालाई विचार गरेर भोटले वर्षेनि ५० हजार तिर्नुपर्ने भयो । पहिलो वर्ष भोटले राजीखुशीले तिरे पनि दोस्रो वर्षदेखि तिरेन । फेरि कलह शुरू भयो ।

वि.सं. १८४९ मा युद्ध छेडिएपछि फेरि भोटले चीनको बादशाह गुहार्‍यो । यसपालि बडावजीर टुङथ्वाङ् ठूलै सैनिक दल लिएर आए । उनी दुई पक्षलाई मिलाउन होइन, लड्ने हिसाबले आएका थिए । युद्ध घमासान चल्यो । दुवैतर्फ जनधनको धेरै क्षति भयो । पछि चिनियाँ फौजलाई भौगोलिक दूरीका कारण युद्धका लागि रसदपानी पुर्‍याउन गाह्रो पर्‍यो । भोटबाट चीन पुग्न करीब ६ महीना लाग्ने भएकाले थप सैनिक ल्याउन पनि नसक्ने बुझ्ेपछि चिनियाँ सेनापतिले मिल्नेतर्फ ध्यान दिए । भोटको मुद्रा नेपालले ढाल्ने गरेकोमा अब चीनले ढालिदिने भयो । चिनियाँ टोलीका प्रतिनिधि केही समय भोटमै बसेर नेपाल–भोटबीच साँध–सिमाना मिलाउनुका साथै दस्तुर लेनदेनको कुरा पनि छिनोफानो गरेर गयो ।

त्यसपछि बेपार र अरू सानोतिनो कुरामा तलमाथि परे पनि भोटसँग जोरी खोजेर जाइलाग्ने स्थिति नेपालको थिएन । अंग्रेजसँग हार खाएपछि उल्टै चीनको सहयोग लिएर गुमेको भूभाग फिर्ता लिन भीमसेन थापा जुटे पनि सफल भएनन् । उनी सत्ताबाट फालिएपछि पनि दरबारमा कहिल्यै शान्ति भएन, सरकार अदलबदल चलिरह्यो । कोत पर्वपछि प्राइममिनिष्टर जंगबहादुर कुँवर राणा सर्वशक्तिमान् भएपछि उल्टै चीनलाई मद्दत दिन कस्सिए । उनले जनप्रिय हुन भोटसँगका अर्घेल्याइँ उधिन्न थाले ।

भोटले गरेका ३२ वटा अर्घेल्याइँमा पनि ठूला तीन वटा मध्ये केरुङस्थित नेवार महाजनका कारोबारी गुमास्ता मारुङका छोरा श्यामकृष्ण मारिएर धन चोरिएको प्रसंग हिमाल को १०–१६ भदौको अंकमा उल्लेख गरियो । यस लेखोटमा दोस्रो ठूलो अर्घेल्याइँ खम्पा–नेवार संघर्षबारे प्रस्तुत गरेको छु । ल्हासाको भनासो भन्ने ठाउँमा बस्ने च्याङ्ग्रेहोथुखेथुको बेपारी तेम्बा खम्पाको चियाको मोल एक ध्वजे (रु.१६२) तोकिएको भाकामा नदिएको निहुँ बल्झ्ंिदै जाँदा खम्पाली र नेवार महाजनबीच घमासान कुटाकुट भएको थियो । भोटमा नेपाली नेवार महाजनका बत्तीस कोठीका साथै चीनबाट केही विशेष वस्तु ल्याएर बेच्ने खम्पाहरू पनि थिए । बेपारी तेम्बा खम्पाले पुसिङ नेवारलाई एक ध्वजेको चिया बेचेछ । तत्काल पैसा नहुँदा पुसिङले पुनसिंह नेवारलाई जमानी राखेछ । लामो समय नतिरेपछि पुनसिंहले म जमानी बस्न सक्दिनँ भनेर आसामी पुसिङलाई तेम्बा खम्पाको जिम्मा लगाएछ । खम्पाले पुसिङलाई झ्ुण्ड्याएर कुट्दै थला पारेछ र नेल ठोकेर राखेछ ।

उक्त कुरो खम्पाको नाइकेकहाँ पुग्यो । नेवारले पनि चाल पाएछन् । नेवारहरू जम्मा भई ‘साहुले आसामीलाई ताकेता गर्न सक्छ, तर दण्डसजाय त सरकारले पो दिने हो, पुसिङ मर्‍यो भने तेम्बाले के पाउँछ’ भनेर भोटको कचहरी कास्यालमा गएर कराएछन् । कास्यालका चार काजीमध्ये एकले ‘यो तेम्बा हाम्रो रैती नभएकाले झ्गडा नचर्काऊ, छोटो–मीठो गरी मिलाइदेऊ’ भनी कास्यालकै अर्का काजी मिम्भुनलाई अह्राएछन् । मिम्भुनले लिन पठाउँदा तेम्बा आएनछ । नेवारहरूले पनि मिम्भुनलार्ई यो मुद्दा चाँडै छिनिदेऊ भनेर ताकेता गरे । तर, उनी उल्टै रिसाएर ‘खम्पाली अनि तिमी नेवारहरू पनि हाम्रा रैती होइनौ, जे गर्छौ गर’ भन्दै फन्किएर हिंडेछन् ।

सं. १९०८ सालतिर भएको लेनदेनको उक्त मुद्दा महीनौं लम्बियो । सं. १९१० वैशाखमा सबै नेवारहरू जम्मा भई सवाल–जवाफ गरौं भनेर त्यस खम्पाले चिनेको भादगाउँले बेपारी बाँडालाई कुरा बुझन लिन पठाएछन् । उनी खम्पा बस्ने ल्हासाको भनासो भन्ने ठाउँकै छिमेकी थिए । तर, खम्पालीहरू हूल नै उठेर बाँडालाई मारेछन् । उतिखेरै नेवारले ल्हासाका राजा लामा काजी मिम्भुनसँग यो खबर विस्तारमा बिन्ती गर्न मानिस पठाएछन् । कास्यालबाट जवाफ नआउँदै सबै चोकका खम्पालीहरू हूल उठेर आउँदा नेवारसँग घमासान लडाइँ भयो । खम्पालीले बन्दूक, ढुंगा तथा घरेलु हतियार बर्छा, च्याप्साले हाने भने नेवार पनि लाठासहित लडे । दुवैतिर केही मरेछन्, केही घाइते भएछन् । धेरै धनमाल लुटिएछ । अन्ततः नेवारहरूले लाठाले हान्दै ती खम्पालाई घेरेर तिनका ८ नाल बन्दूक, ६ वटा च्याप्सा, २ वटा बर्छा खोसेछन् ।

उक्त भिडन्तपछि नेपाली नेवार महाजनहरूलाई चिन्ताले छोप्यो । उनीहरूका नाइके सिद्धिनारायण सहित सबैले ‘हामी परदेशी बेपारीले यस्तो काटमार गर्नुपरेपछि कसरी बस्नु, कसरी जीविका चलाउनु’ भन्दै ल्हासा बस्ने चिनियाँ बडा अम्बालाई अर्जी गरे । उता र यताको लेखापढीमै धेरै समय बित्यो ।

उक्त घटनाबारे नेपालको जिकिर थियो– “यति सानो एक ध्वजेको लेनदेन थियो । शुरूमै दुई थरीको दर्खास्त कास्यालका काजीकहाँ परेको थियो । काजीले कचहरी गरी कसले पहिले हात छाडेको हो, धनमाल लुटेको हो उसैलाई अर्घेलो ठहर्‍याई झ्गडा छिनोफानो गरिदिएको भए सानो कुरामा यति ठूलो रडाको मच्चिने नै थिएन । ज्यान जाने र धनमाल लुटिने नै थिएन । खम्पा र नेवार हाम्रा रैती होइनन् भनेर कास्यालका काजीहरू पन्छिंदा उनैको हेलचेक्र्याइँले यस्तो पर्न गयो ।”

यद्यपि घटना भइसकेकाले अब सबै पक्षलाई राखी विस्तृत कुरा बुझेर पुर्पक्ष गरी न्याय–निसाफ गर्नुहुनेछ भनी नेपालले चिनियाँ बडा अम्बा, छोटा अम्बालाई न्याय–निसाफ गर्ने जिम्मा लगायो । यसरी यो मुद्दा धेरै समय लम्बियो ।

comments powered by Disqus

रमझम