बाढी केरलमा पाठ नेपाललाई

Share:
  
- मधुकर उपाध्या
‘समृद्घ नेपाल र सुखी नेपाली’ को आकांक्षामा बाढी–पहिरो ठूलो तगारोको रुपमा अगाडि आउन सक्छ। हाम्रो नीति, रणनीति र विकास अब त्यतैतिर सोझिनु जरूरी छ।

एएफपी
गत जुलाईदेखि निरन्तरको वर्षा र बाढीले जलमग्न दक्षिण भारतीय प्रदेश केरल ।
अरब सागरको उत्तरपूर्वी किनारमा अवस्थित दक्षिण भारतीय राज्य केरलमा यस वर्ष बाढीले ठूलो क्षति पुर्‍यायो । ९४ वर्ष यताको सबैभन्दा ठूलो यो बाढीबाट राज्यका १४ मध्ये १२ जिल्ला प्रभावित भए, ४८३ को ज्यान गयो, सयौं गाउँ डुवानमा परे । ५७ हजार हेक्टर (झ्ण्डै काठमाडौं उपत्यकाको क्षेत्रफल बराबर) मा गरिएको खेती नोक्सान भयो । २० हजारभन्दा बढी घर क्षतिग्रस्त भए । २१५ भन्दा बढी ठूला पहिरा गए, करीब १० हजार किमी सडक क्षतिग्रस्त भयो । राज्यको ८० प्रतिशत भागमा विद्युत् आपूर्ति बन्द भयो । राज्यको सबैभन्दा महत्वपूर्ण कोचिन विमानस्थल नै तीन सातासम्म ठप्प हुन पुग्यो । प्रारम्भिक अनुमान अनुसार बाढीले करीब रु.४ खर्ब बराबरको क्षति भयो ।

जम्माजम्मी २९ प्रतिशत जंगलले ढाकिएको केरल जलस्रोतमा धेरै धनी छ । २४४ किमी लम्बाइको पेरियार सहित यहाँ ४० भन्दा बढी नदी छन् । झ्ण्डै ४८ प्रतिशत पहाडी क्षेत्र भएको केरलका अधिकांश खोला ९०० देखि १८०० मिटर उँचाइका यी पहाडबाटै निस्कन्छन् । मैदानी इलाकाका लगुनहरू (समुद्रबाट जमीनको मैदानी भाग भित्र घुसेको पानी) केरलमा पानीका अन्य स्रोत हुन् ।

भारतीय उपमहाद्वीपमा दक्षिण–पश्चिमी मनसुनको शुरूआत केरलबाटै हुन्छ । अरब सागरबाट उठेको मनसुन केरलबाट प्रवेश गरी उपमहाद्वीपको अन्य भागतिर सर्छ र बङ्गालको खाडी हुँदै नेपाल आइपुग्छ । हिउँदमा उत्तर–पूर्वी मनसुनले केही वर्षा गराए पनि वार्षिक वर्षाको झ्ण्डै ८५ प्रतिशत जूनदेखि सेप्टेम्बरसम्म सक्रिय रहने दक्षिण–पश्चिमी मनसुनले गराउँछ ।

बर्खे पानीमा निर्भर केरलका धेरै नदी हिउँदमा साना हुन्छन्, केही त सुक्छन् नै । त्यसैले वर्षाको पानी सञ्चयका लागि १८ ठूला सहित ४३ वटा बाँध बनाइएका छन् । केरलको अर्थतन्त्रमा निकै महत्व राख्ने यी कृत्रिम जलाशयबाट बिजुली उत्पादनसँगै सिचाइ र खानेपानी आपूर्ति हुन्छ । पेरियार नदीमा निर्मित ६१ वर्ग किमी क्षेत्रमा फैलिएको इडुक्की सरोवर यहाँको सबैभन्दा ठूलो जलाशय हो । यसपालि इडुक्कीकै जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएको थियो ।

९४ वर्षपछिको ठूलो बाढी

सन् १९०१ देखि २०१६ बीच समग्र भारतमा पानी पर्न कम हुँदै गए पनि पश्चिमी तटीय क्षेत्रमा वर्षा हुने क्रम बढेको छ । केरलमा सन् २०१३ मा सबैभन्दा बढी २ हजार ५६१ मिलिमिटर पानी परेको थियो । तर लगत्तै सन् २०१५ मा खडेरीको लक्षण देखियो भने यस वर्ष भारतको झ्ण्डै ४५ प्रतिशत भू–भागमा कम वर्षा भइरहँदा केरलमा १ जूनदेखि १५ अगष्टसम्मको अवधिमा मात्रै २ हजार ८७ मिलिमिटर वर्षा भयो । यो अन्य वर्षका सोही अवधिमा हुने भन्दा ३० प्रतिशत बढी हो । केरलमा ८ अगष्टमा मात्रै ३१० मिलिमिटर पानी पर्‍यो । भीषण वर्षाका कारण जलाशय भरिन थालेपछि बाँधका ढोकाहरू खोलिए । ४३ मध्ये ३५ वटा बाँधका ढोका एकैपटक खोलिएको केरलको इतिहासमै पहिलो घटना थियोे । अचानकै बाँधबाट हुत्तिएको पानी र निरन्तरको वर्षाले गर्दा बाढीले उग्र रूप लियो ।

बाढीपीडितलाई उद्दार गरी शिविरतर्फ लगिंदै र जलमग्न सडक ।
झ्ण्डै ९४ वर्ष पहिले सन् १९२४ मा पनि केरलमा ठूलो बाढी आएको थियो । मलयालम वर्ष १०९९ मा पेरियार नदीमा आएको उक्त बाढीलाई ‘९९ को भीषण बाढी’ (ग्रेट फ्लड अफ नाइन्टीनाइन) समेत भनिन्छ । वायुमण्डलमा भएको चापीय स्खलन वा समुद्रमा उत्पन्न कुनै असामान्य भुमरीका कारण भीषण वर्षा भएको अनुमान गरिएको थियो । त्यसबेला भएको ३ हजार ३६८ मिलिमिटर वर्षा औसत वार्षिक वर्षा भन्दा ६४ प्रतिशत बढी थियो । वर्षाले भरिएको मुल्लापेरियार बाँधको ढोका खोलेपछि पहिलेदेखि उर्लिराखेको खोलाको बाढी झ्न् उग्र बनेको थियो । यसपटक भने ठूलो वर्षा र बाँधका ढोका खोलिनु बाहेक मानव सिर्जित अन्य कारण पनि बाढी र क्षतिका लागि जिम्मेवार भइदिए ।

पर्यटन र रेमिटेन्सले केरलको अर्थतन्त्र निकै उकासेको छ । पछिल्ला दशकहरूमा घर, होटल, सडक जस्ता भौतिक संरचनाहरूको व्यापक विस्तार भएको छ । त्योसँगै विगत ५० वर्षमा भएका अवैज्ञानिक भू–उपयोग र नदी किनार अतिक्रमणका कारण यस पटकको बाढीले क्षति ठूलो हुनगयो । निर्माण सामग्रीको आवश्यकता पूरा गर्न केरलका पहाडी क्षेत्रमा भइरहेको उत्खनन् र वन विनाशले पहिरोको जोखिम बढाएको छ भने, नदी क्षेत्रको अत्यधिक दोहन, गिट्टी–बालुवा उत्खनन् र ठूला संरचनाको अतिक्रमणले बाढीबाट हुने क्षति पनि बढेको छ । यसअघि नै विशेषज्ञहरूले केरलमा ठूलो वर्षा भएमा सन् १९२४ को बाढी दोहोरिन सक्ने अनुमान गरिरहेका थिए । तर, त्योभन्दा कम वर्षामै यसपटक निकै ठूलो क्षति हुनपुग्यो । प्राकृतिक स्रोतको अन्धाधुन्द दोहन, अवैज्ञानिक भू–उपयोग र अतिक्रमण नै यसका प्रमुख कारण हुन् ।

उदाहरणीय उद्धारकार्य

बाढी आउनुपूर्वको सूचना तथा बाँध व्यवस्थापनमा कमी कमजोरी देखिए पनि केरलले बाढी पश्चात युद्धस्तरमा गरेकोे उद्धारकार्य भने प्रशंसित मात्र भएन धेरैका लागि उदाहरणीय समेत बन्यो । तीन करोड ५० लाख जनसंख्या र प्रति वर्ग किमी ८६० जनघनत्व भएको राज्यमा त्यत्रो बाढी आउँदा पनि ज्यान गुमाउनेको संख्या न्यून राख्न उद्धारकर्मीहरू सफल रहे, जबकि सन् १९२४ मा एक हजार भन्दा बढीको मृत्यु भएको थियो । करीब पाँच हजार उद्धार शिविरहरूमा दश लाखभन्दा बढी व्यक्तिलाई राखियो । उद्धारकार्यमा सुरक्षा निकायका सबै अंग परिचालित भए । प्रदेश सरकार, विपक्षी दल, राजनीतिक संगठन, धार्मिक संस्थाले स्वयम्सेवा गरे भने सूचनाप्रविधिमा पहुँच हुने युवाहरूले वरपरको स्थितिबारे सूचना पुर्‍याएर सहयोग गरे । तर सबैभन्दा बढी प्रशंसित चाहिं आ–आफ्ना डुंगा लिएर उद्धारमा खटिएका सयौं माझीहरू भए । सुरक्षा निकायका जवानहरू पुग्न नसकेका निकै अप्ठ्यारा र दुर्गम स्थानमा फँसेका व्यक्तिहरूको उद्धार माझ्ीहरूले गरेका थिए ।

केरल; बिहार वा उत्तरप्रदेश जस्तो हरेक वर्र्ष बाढीले प्रभावित हुने राज्य होइन । तैपनि उद्धार सकिंदा नसकिंदै राज्य सरकार तत्कालको सरसफाइ, सम्भावित रोगको रोकथाम, पुनस्र्थापना र पुनर्निर्माणमा कार्ययोजना सहित जुटिसकेको छ ।

नेपाललाई पाठ

हामीकहाँ पनि हरेक वर्ष बाढी पहिरोले क्षति पुर्‍याइरहेको छ । पुरानामध्ये २०११ सालको बाढी अहिलेसम्मको ठूलो मानिन्छ भने क्षतिको हिसाबले १ हजार ३३६ जनाको ज्यान लिएको २०५० सालको बाढी चर्चित छ । तर २०७४ सालको बाढी इतिहासमै सम्भवतः पहिलो हो, जसमा करीब रु.६० अर्ब बराबरको क्षति भयो । हल विश्वविद्यालय, बेलायतका एक प्राध्यापकको भनाइ यहाँनिर सान्दर्भिक छ– जलवायु परिवर्तनका कारण बढ्दो बाढीको सामना गर्न हाम्रा शहर र समुदायहरूको तयारी न्यूनस्तरको छ । प्राध्यापकको भनाइ र २०७४ सालको बाढीको परिप्रेक्ष्यमा हामीले केरलबाट केही पाठ सिक्नै पर्छ ।

बाढीको बदलिंदो चरित्र र हाम्रो क्षमताः विगतका भन्दा २०७४ सालको बाढी दुई कारणले फरक थियो । एक, पूर्वको बिरिङ्ग खोला (झपा) देखि पश्चिमको बबईसम्म एकै पटक बाढी आयो । पहिले यस्तो भएको थिएन । दोस्रो, २०७४ सालको वर्षा तराईमा बढी केन्द्रित रह्यो । यतिसम्म कि चुरेक्षेत्रमा त्यत्रो पानी पर्दा समेत थोरै उत्तरमा रहेको कुलेखानीको इन्द्रसरोवर पूरा भरिएन ।

वर्षाको समयमा सामान्यतया बादल यौटा निश्चित मार्गमा निरन्तर अघि बढ्छ, तर २०७४ सालमा बादल केही दिन तराई माथि रोकिएको देखियो । त्यसै वर्ष अमेरिकाको टेक्ससमा आएको ‘हार्भि’ नामक आँधीका बेला पनि बादल एकै स्थानमा रोकिएको पाइएको थियो । पूर्व र पश्चिमतर्फको क्षेत्रमा विकसित उच्च चापका कारण हार्भि टेक्सस राज्यमा आइपुगेपछि अघि बढ्न सकेन । फलतः एकै क्षेत्रमा तीन दिनसम्म पानी पर्‍यो । यो वर्ष केरलमा पनि मौसमको चरित्र उस्तै देखियो । बङ्गालको खाडीमा हुनुपर्ने न्यून चाप केही दक्षिण सरेकोले मनसुनी हावा उत्तर मोडिन सकेन, बादल केरल भन्दा अघि बढेन । फलस्वरुप, मनसुनकै मार्गमा रहेको सँगैको कर्नाटक राज्यमा सामान्य भन्दा कम वर्षा हुँदा केरलमा ९ दिनसम्म भारी वर्षा भइरह्यो ।

बिक्रम राई
अविरल वर्षाका कारण २८ असारमा भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले जलमग्न सडक र बस्ती ।
एकै क्षेत्रमा वर्षा केन्द्रित रहेका पछिल्ला यी तीन उदाहरणले वर्षाको चरित्रमा फेरबदलको संकेत गरेको छ । यो परिवर्तन ग्लोबल वार्मिङका कारण भएको अनुमान गरिएको छ । यदि यसै गरी नेपालको पहाडी क्षेत्रमा बादल स्थिर भएर निरन्तर वर्षा भइरह्यो भने यहाँको अवस्था कति भयावह होला ? अनुमान पनि गर्न सकिन्न । सामान्य वर्षामा समेत पहिरो जाने हाम्रा पहाडमा ठूलो वर्षालाई कसरी व्यवस्थापन गर्ने ? यसै पनि २०७२ सालको ठूलो भूकम्पले थर्किएर कमजोर बनेका छन् पहाडहरू, धेरै भागमा चिरा परेका छन् ।

नेपालका पहाडहरू झ्ण्डै आधा जनसंख्या बसोबास गर्ने क्षेत्र मात्र नभई महत्वपूर्ण पर्यटकीय स्थल र जैविक विविधताको भण्डार क्षेत्र पनि हुन् । जलविद्युत् परियोजनाहरू यहीं छन् र संभावना पनि यहीं छ । यदि केरल वा टेक्सस जस्तै भीषण वर्षा यही क्षेत्रमा केन्द्रित हुन पुग्यो भने त्यसबाट हुने क्षतिले हाम्रो आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्र नराम्ररी प्रभावित हुनेछ । ६० अर्बको नोक्सान गराएको २०७४ सालको बाढी र अहिले केरलमा आएको बाढीले सिकाएको पाठ भनेकै विपत् व्यवस्थापनको हाम्रो तयारी अहिलेको भन्दा धेरै गुणा चुस्त हुनु नितान्त जरूरी भइसकेको छ भन्ने हो ।

सूचना व्यवस्थापन र प्रयोगः केरलको मुल्लापेरियार बाँध निर्माणबारे पहिलो पटक छलफल भएको झ्ण्डै १०५ वर्षपछि मात्र निर्माण सम्पन्न भएको थियो । हामीकहाँ पनि छलफलमा रहेका कोशी उच्च बाँध जस्ता भविष्यमा थुप्रै संरचना नबन्लान् भन्न सकिन्न । सन् १९२४ मा मुल्लापेरियार बाँधको ढोका खोलिएकोले बाढी ठूलो भएको थियो । ९४ वर्र्षपछि पनि बाँध सञ्चालन क्षमता उस्तै कमजोर देखियो । ठूलो वर्षा हुँदा बाँधको ढोका कुन बेला खोल्ने भन्ने महत्वपूर्ण हुन्छ । वर्र्षा शुरू भइसकेपछि बाँध खोल्दा जोखिम झ्नै बढ्छ, मौसमको पूर्वानुमान गरेर पहिल्यै यो काम गरिनुपथ्र्यो ।

भारतीय मौसम विभागले १४–१५ अगष्टमा केरलमा ‘भारी’ देखि ‘अत्यन्त भारी’ वर्र्षाको चेतावनी दिएको दाबी गरे पनि राज्य सरकार भने बेलैमा मौसम भविष्यवाणी नभएकोले बाँध व्यवस्थापन गर्न नसकिएको भनिरहेको छ । मौसम भविष्यवाणीको आधारमा पहिले नै बाँधको ढोका खोलेर पानी घटाउन सकेको भए भीषण वर्र्षाको धेरै पानी बाँधमै जम्मा गर्न सकिन्थ्यो र बाढीले त्यति विघ्न नोक्सान गर्ने थिएन ।

हाम्रो जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान क्षमतामा हाल निकै सुधार गरिएको छ र भविष्यमा अझै सुदृढ बनाउने कार्यक्रम सञ्चालनमा छन् । तर त्यस्ता सूचनालाई प्रयोग गर्ने संस्थाहरूकोे क्षमतामा पनि त्यतिकै सुधार हुनु जरूरी हुन्छ, चाहे त्यो विपत्को लागि होस् वा कृषि र पर्यटनका लागि । सूचनाको माग र आपूर्तिमा सन्तुलन भएन भने जतिसुकै चुस्त र वैज्ञानिक सूचना उपलब्ध भए पनि उपयोगविहीन हुन्छ ।

भू–उपयोगको नियमनः हाम्रो भू–उपयोग नीति; भू–स्वरुप र स्थानीय जलविज्ञानका आधारमा भन्दा पनि राजनीतिक निर्णयका आधारमा निर्धारण हुँदै आएको छ । नदी किनारमा बसोबास, वन क्षेत्र वा सार्वजनिक स्थल मासेर उद्योग, सडक जस्ता संरचना निर्माण, जलाधार क्षेत्रभित्र ढुङ्गाखानी सञ्चालन जस्ता स्थानीय जलचक्रलाई अवरोध गर्ने कार्य निर्वाध भइरहेका छन् । बालुवा खानी अर्काे उदाहरण हो जसले जलचक्रको कुरै छाडौं, भू–स्वरुप नै परिवर्तन गरेको छ । बालुवाका ढिस्का जथाभावी खोस्रिएका छन् । हामीले अहिले गरिरहेका कामले भोलि कस्तो समस्या ल्याउला भन्ने आकलन गर्न नसक्दा भविष्यको तयारी गर्ने हाम्रो क्षमता बढ्न सकेको छैन । यसै वर्र्ष भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी ताजै छ ।

तसर्थ उपलब्ध सूचनाको प्रयोग गर्ने क्षमतामा ठूलो वृद्धिका साथै त्यसका आधारमा भू–उपयोग नियमन हुनु जरूरी छ । भर्खर स्थापित हाम्रा प्रदेशका सीमा निर्धारण नदी बेसिनको आधारमा नभई राजनीतिक आधारमा भएकोले एकभन्दा बढी प्रदेश ओगट्ने जलाधार क्षेत्रभित्र वर्र्षाको पानी र बाढी व्यवस्थापन गर्ने विषय झ्नै चुनौतीपूर्ण बनेको छ । टिष्टुङ्ग क्षेत्र (प्रदेश ३) मा ठूलो वर्र्षा हुँदा वागमती र लालबकैया नदीले रौतहट र सर्लाही (प्रदेश २) मा क्षति पुर्‍याउँछन् । प्रदेश ३ ले गर्नुपर्ने भू–उपयोग नियमनमा प्रदेश २ ले कसरी निर्णायक भूमिका खेल्न सक्छ ?

झूटो सुरक्षा अनुभूतिः जापानीहरू सुनामीले क्षति पुर्‍याएको स्थानमा सीमाङ्कन गरी भावी पुस्तालाई क्षतिबारे सतर्क गराउँछन् । तर हाम्रोमा ‘बूढापाकाले भनेको’ भन्ने बाहेक पहिले कहाँसम्म बाढी आएको थियो भन्ने जानकारी न कुनै नक्शामा उपलब्ध हुने व्यवस्था छ, न जमीनमा नै । यस्तो जानकारी सुरक्षित राख्ने हो भने त्यस्ता ठाउँमा महत्वपूर्ण संरचना निर्माणलाई निरुत्साहित गर्न सहयोग पुग्छ । तर, हामीकहाँ बाँध र तटबन्धले दिने अस्थायी सुरक्षा अनुभूतिलाई स्थायी समाधान मान्ने गरिएको छ । तटबन्ध बाढी समस्याको दीर्घकालीन समाधान होइन भन्ने त प्रमाणित नै भइसकेको छ ।

केरलका प्रायः सबै ठूला नदीमा बाँध बनेपछि बढेको सुरक्षा अनुभूतिले गर्दा गत ५० वर्षमा नदी किनारमा बस्ती विकासदेखि उद्योग आदि स्थापना हुँदै गए जुन अहिले गलत सावित भएको छ । केही वर्र्षको अन्तरालमा आउने बाढी झ्नै खतरनाक हुन्छ, जसबाट बाँध र तटबन्धले पूर्ण सुरक्षा दिन सक्दैन भन्ने स्पष्ट देखियो । अर्थात्, धेरै वर्र्षदेखि बाढी आएको छैन भनी ढुक्क हुने हैन बरु अझै ठूलो नोक्सानी हुन सक्छ भन्ने ठानेर चनाखो भएर तयारी अवस्थामा रहनु केरलले दिएको महत्वपूर्ण शिक्षा हो ।

ग्लोबल वार्मिङका कारण वर्र्षाको बदलिंदो चरित्र र त्यसअनुसार बाढी–पहिरोको व्यवस्थापनमा बढ्न नसकेको हाम्रो क्षमताले गर्दा आगामी दशकहरूमा हामीले अझै ठूला चुनौती व्यहोर्नुपर्नेछ । त्यसमा पनि ‘निश्चित अनिश्चितता’ ले घेरिएका जलवायु परिवर्तन निर्देशित बाढी पहिरोका घटना कहिले कहाँ हुन्छ भन्न नसकिने हुँदा हाम्रो समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षामा बाढी–पहिरो ठूलो तगारोको रूपमा अगाडि आउन सक्छ । हाम्रो नीति, रणनीति र विकास अब त्यतैतिर सोझ्निु जरूरी छ । मौसमको पूर्वानुमान, सूचनाको प्रयोग गर्ने क्षमतामा सुधार, विपत्ति आइसकेपछि जोगिने तयारीले क्षति कम गर्न सकिन्छ भन्ने केरलले देखाएको छ । त्यसबाहेक राहत, पुनर्निर्माणमा पनि केरलले देखाएको तदारुकता हाम्रो लागि सिकाइको विषय बन्नुपर्छ ।

(उपाध्या जलाधारविद् हुन् ।)

comments powered by Disqus

रमझम