२४-३० भदौ २०७५ | 9-15 September 2018

शहरी क्षेत्रमै सम्भव

Share:
  
- डा. वेदमणि दाहाल
फोहोरको प्रकार अनुसार बेग्लाबेग्लै संकलन गरेर प्रशोधन गर्न मिल्नेलाई बेच्ने तथा कुहिने फोहोरबाट कम्पोष्ट मल वा बायोग्यास निकाल्ने गरेमा वैज्ञानिक र दिगो व्यवस्थापन हुन सक्छ।

तस्वीरः हिमाल आर्काइभ
मानिसले प्रयोग गरिसकेपछि बचेका वस्तुलाई फोहोरमैला भनी परिभाषित गरे पनि केही फोहोर प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिन्छ । प्रशोधन गर्न नसकिने र स्वास्थ्यलाई हानिकारक मानिने वस्तु मात्र व्यवस्थापन गर्नुपर्ने हुन्छ । विगतमा जनसंख्या थोरै भएकाले फोहोरको उत्पादन पनि कम थियो । समय अनुसार मानिसले अत्यधिक स्रोत–साधनको प्रयोग गर्न थालेसँगै फोहोरको परिमाण पनि बढेर व्यवस्थापन गर्नुपर्ने चुनौती थपियो ।

विभिन्न देशले फोहोर व्यवस्थापनका लागि बेग्लै इकाइहरूको स्थापना गर्ने गरेका छन् । नेपालको इतिहासमा शहरी फोहोर व्यवस्थापनको शुरूआत सन् १९७९ मा फोहोरमैला व्यवस्था बोर्डको स्थापना र जर्मन सरकारको सहयोगमा काठमाडौंको टेकुमा फोहोर थुपार्ने कामबाट भएको मानिन्छ । फलस्वरूप टेकुमा फोहोरबाट कम्पोष्ट मल बनाउने कारखानाको स्थापना र सन् १९८६ मा मूलपानीमा गोकर्ण ल्याण्डफिल साइटको शुरूआत भयो ।

नेपालका शहरी भेगमा जसै जनसंख्या बढ्न थाल्यो, फोहोरको मात्रा र प्रकार पनि बढ्न थाल्यो । महानगरमा एक व्यक्तिले दैनिक करीब ४६५ ग्राम फोहोर उत्पादन गर्ने काठमाडौं महानगरपालिकाको तथ्यांकमा उल्लेख छ । २०१६ को तथ्यांक अनुसार महानगरमा दैनिक साढे ४०० देखि ५०० टन फोहोर निस्किन्छ ।

संकलित फोहोरमा रहेका वस्तुको अध्ययन गर्दा तिनमा करीब ६३ प्रतिशत कुहिने फोहोर, ११ प्रतिशत प्लास्टिक, ९ प्रतिशत कागज, ५ प्रतिशत सिसा, ०.५ प्रतिशत धातु र बाँकी अन्य फोहोर रहेको पाइएको छ । प्रायः प्लास्टिक, कागज, सिसा र धातुहरू प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिने वस्तु हुन् । यस्ता वस्तु घरघरबाट संकलन र किनबेचमा केही व्यक्ति तथा संस्था सक्रिय पनि छन् । काठमाडौंको फोहोरमा रहेका नकुहिने विभिन्न वस्तु र कुहिने फोहोरबाट कम्पोस्ट मल बनाई बेच्न सक्ने हो भने प्रतिकिलो तीन रुपैया“ १५ पैसा आम्दानी गर्न सकिन्छ भनेर दशौं वर्ष अघि हाम्रो अनुसन्धानले देखाएको थियो । अहिले यी वस्तुको मात्रा अझ् बढेकोले आम्दानी पनि पक्कै बढ्छ । तर, यसका लागि सबैखाले फोहोर एकै ठाउँमा मिसाएर फाल्ने बानी बदल्नुपर्छ । सके फोहोरलाई बेग्लाबेग्लै वर्गमा छुट्याउने र नसके कम्तीमा कुहिने र नकुहिने फोहोर छुट्याउने व्यवस्था गर्नुपर्छ ।

कुहिने वस्तुबाट बायोग्यास निकाल्ने प्रविधि सन् १८५९ तिरबाटै प्रयोगमा आए पनि शहरको फोहोरबाट ग्यास निकाल्ने काम सन् १९७० तिर मात्र शुरू भएको पाइन्छ । जर्मनीको ह्याम्बर्गमा सन् १८९६ मा फोहोरबाट बिजुली निकाल्ने प्रविधि सञ्चालनमा आएको थियो । काठमाडौं महानगरपालिकाले शहरी फोहोरबाट १४ किलोवाट विद्युत् निकाल्ने प्रविधिको शुरूआत टेकुमा गत वर्ष मात्र गरेको हो ।

नेपालमा मुख्यतः गाईबस्तुको गोबर, पातपतिङ्गर, बालीनालीका अंश र भान्साबाट निस्किने कुहिने वस्तुबाट बायोग्यास निकाल्ने प्रविधि सन् १९५५ मा भित्र्याइए पनि सन् १९७७ मा गोबरग्यास कम्पनीको स्थापनापछि मात्र सो प्रविधिले गति लिएको हो । गोबरबाट बायोग्यास निकाल्ने प्रविधि नेपालमा धेरै पुरानो भए पनि शहरको कुहिने फोहोरबाट बायोग्यास निकाल्ने प्रक्रिया विस्तारै अघि बढ्दैछ । विस्तारित बायोग्यास कार्यक्रम अन्तर्गत सरकारले ५० घनमिटरसम्मका ठूला बायोग्यास प्लान्ट मार्फत शहरको फोहोर उपयोग गर्ने कार्यक्रम ल्याएको छ । नगर क्षेत्रको फोहोरबाट बायोग्यास निकालेर समुदायमा ऊर्जाको रूपमा प्रयोग गर्ने उद्देश्य राखी विराटनगर, पोखरा र तनहुँमा प्लान्ट बन्न थालेका हुन् ।

गोबरग्यास प्लान्टमा गोबरको साथै मानव मलमूत्रबाट पनि ग्यास निकाल्न सकिन्छ । नेपालमा निर्माण भएका प्लान्टहरूमध्ये आधामा चर्पीको फोहोर पनि मिसाएर ग्यास बनाइन्छ भन्ने रिपोर्ट पढ्न पाइन्छ । तर, मानिसको मलमूत्रलाई मात्र प्रयोग गरेर बायोग्यास निकाल्ने प्लान्ट कम छन् । किनकि बायोग्यासका लागि कार्बन र नाइट्रोजनको अनुपात ३० भएमा राम्रो मानिन्छ र गोबरमा यो मात्रा २० देखि २५ सम्म हुन्छ भने मानव मलमा १० सम्म मात्र हुन्छ ।

नेपालका हिमाल आरोहण र पदयात्रामा जाने पर्यटक तथा सहयोगीहरूको मलमूत्र जथाभावी विसर्जन नगरी फेदीमा ल्याएर व्यवस्थापन गर्नुपर्ने नियम छ । यसै क्रममा चिसो ठाउँमा त्यस्तो फोहोरलाई बायोग्यासमा परिवर्तन गर्न सकिन्छ कि भनेर काठमाडौं विश्वविद्यालय र अमेरिकाको सियाटल विश्वविद्यालयका प्राध्यापकहरूले अनुसन्धान गरेका थिए । उक्त अनुसन्धानले सम्भावनाको बाटो खोलेको छ, अझ् विस्तारमा अनुसन्धान भइरहेको पनि छ ।

कुहिने फोहोर अस्तव्यस्त रहँदा निस्किने बायो वा मिथेन ग्यासले वातावरणका साथै मानव स्वास्थ्यमा असर गर्ने भएकाले त्यसबाट बायोग्यास निकाली इन्धनको रूपमा प्रयोग गर्न सके धेरै लाभदायी हुन्छ । वायुमण्डलको तापक्रम बढाउन कार्बनडाइअक्साइड भन्दा मिथेनको भूमिका २१ गुणा बढी हुन्छ । यसैले हरितगृह ग्यास उत्सर्जन घटाई विश्वव्यापी उष्णता रोक्न पनि फोहोरको वैज्ञानिक व्यवस्थापन जरूरी छ ।

डा. दाहाल काठमाडौं विश्वविद्यालयको वातावरण विज्ञान तथा इञ्जिनियरिङ विभागका एसोसिएट प्रोफेसर हुन् ।

comments powered by Disqus

रमझम