२३ भदौ २०७० | 8 September 2013

एक प्रतिबद्ध पञ्चको अडान

Share:
  
- कृष्णप्रसाद सिग्द्याल

इतिहासको एक कालखण्ड

लेखकः नवराज सुवेदी

प्रकाशकः जगदम्बा प्रकाशन

पृष्ठः १३८+१६ मूल्यः रु.२५०

प्रथमतः बधाई नवराज सुवेदीलाई ! पदमा रहंदा थुप्रै चुरीफुरी देखाई अन्त्यमा त्यसै हराउने पञ्च परम्परा तोड्दै आफ्नो सक्रिय जीवनका अनुभूतिलाई विस्तारपूर्वक सार्वजनिक गरिदिएकोमा र नेपालको आधुनिक (?) इतिहासको महत्वपूर्ण कालखण्डलाई आफूले जाने, भोगेर आत्मसात गरे अनुसार लिपिबद्ध गरिदिएकोमा । त्यस काललाई अरुले कसरी व्यहोरे भन्ने अर्को पाटो छँदैछ ।

सरल र स्पष्ट पुस्तकको अर्को सकारात्मक पक्ष हो । सुवेदीले पञ्चायतलाई जसरी बुझे, यसमा पौडिन सफल भए (उनी निरन्तर ३० वर्ष राष्ट्रिय पञ्चायत सदस्य रहे, प्रधानमन्त्री बाहेक सबैजसो महत्वपूर्ण कार्यकारी र व्यवस्थापिकाका पदमा आसीन भए) त्यो कुरालाई स्पष्टसँग प्रस्तुत गरेका छन् । पञ्चायत जस्तो प्रजातन्त्र नाम दिएर राजाले चलाएको अधिनायकवादी शासन व्यवस्थामा छिमेकीको आदेश उपदेश सुन्नैपर्ने, नत्र शिर माथि झुण्डिएको तरबार खस्ने धम्की निरन्तर खप्दै जनतामा राष्ट्रवादको सन्देश पनि दिइरहनुपर्थ्यो ।

सुवेदीको स्पष्ट र सरलपनले उनको पूरै राजनीतिक जीवनकाललाई राजसंस्था (महेन्द्र र वीरेन्द्रको शासन) निकट बनाएको पुस्तकले बताउँछ । त्यही ‘अराजनीतिक’ व्यक्तित्वका कारण उनी जहिल्यै दरबारको प्रिय पात्र रहे; उनका प्रथम गुरु र प्रवद्र्धक डा. तुलसी गिरीले जति नै हण्डर–अपमान खपे पनि । तर, नवराज सुवेदी भाग्यमानी हुन्, महेन्द्र र वीरेन्द्रले उनलाई सधैं काखी च्यापे ।

सुवेदीले त्यस कालका धेरै घटना नचपाइकन पाठकसामु राखिदिएका छन् । एउटा उद्धरण, जसको वरपर सत्यता छ– ‘रानीको बढी सक्रियता र सचिवहरूको बढी दबदबा यी दुई कारणले गर्दा राजा वीरेन्द्रको समयबाट नै राजसंस्थाको अधोगति शुरु भयो (सचिव र एडीसीहरू) नै राजाका रूपमा देखिन थाले । मन्त्रिपरिषद् स्थापना मात्र हुन गयो । असली मन्त्रिपरिषद् दरबारमै शुरु भयो ।’

किताबमा यस्ता धेरै घटना उल्लेख छन्, तर पूर्ण सत्यको एक पक्षको रुपमा मात्र । समय, परिस्थिति र ‘हावा’ ले पनि राजनीतिमा ठूलो महत्व राख्दछ । महेन्द्रले शायद यो कुरा बुझेर पञ्चायतलाई आधुनिकीकरण गर्न चाहेका थिए । वीरेन्द्रका गुरु नारायणप्रसाद श्रेष्ठ र चिरनशमशेर थापा मात्र ‘राजनीतिक’ भइदिएका भए यो मुलुकको इतिहास अर्कै रूपले लेखिने थियो । हिन्दू राजनीतिक संस्कारमा राजाका सहयोगी (सरकार चलाउने मान्छे­) राजनीति बुझ्ने मान्छे हुनुपर्छ त्यसै भनिएको हैन ।

लामो क्षेत्रीय घटनाक्रम र आफ्नै भू–राजनीतिक अवस्थाका कारण नेपालमा २०३६ साल आयो । तर, सुवेदीको २०३६ सालको वर्णन अलि हल्का कथानक जस्तो छ । वीरेन्द्रले जनमत संग्रहको घोषणा– किताबमा उल्लेख भए जसरी राति ११÷१२ बजे होइन, बिहान साढे ६ या पौने सात बजे गरेका हुन्, रेडियो नेपालको सात बजेको समाचार अगाडि नै भ्याउनुपर्छ भनेर । पञ्चबारे सुवेदीको मूल्यांकन भने राम्रै छ । उनले लेखेका छन्– ‘...तर हामी कसैमा पनि त्यो वेला यस्ता कुराको विरोध गर्ने हिम्मत भएन ।’ अर्काे ठाउँमा भनेका छन्– ‘त्यसवेला मलाई एक नम्बरी, दुई नम्बरी केही मतलब थिएन । खाली पञ्चायत जिताउन पैसा चाहिएको थियो ।’

२०३६ को जनमत संग्रहमा धाँधली नभएको सुवेदीको दाबी छ । उनले चोथमल जाटियाबाट पैसा लिएको पनि ढाँटेका छैनन् । साथै, जनमत संग्रहको ‘मतपत्र’ छापिएको जनक शिक्षा सामग्री केन्द्रमा जनमत संग्रह लगत्तै ५÷६ लाख मतपत्र पुनः छपाई गरिएको चर्चा पनि त्यतिवेला थियो । त्यसैले, नेपालमा २०४६ आइहाल्यो । पुस्तकमा माओवादी आन्दोलन दरबार (खासगरी ज्ञानेन्द्र) ले रोपेको बीउ झाङ्गिएर आफैंलाई खान समर्थ भयो भन्ने छिद्रान्वेषण पनि छ, तर यसको निक्र्योलमा वर्तमान नेपाली राजनीतिको विश्लेषण आवश्यक हुन जान्छ ।

२०४६ मा भारतले पठाएको प्रस्तावबारे सुवेदी लेख्छन्– ‘यो प्रस्ताव मानेको भए पञ्चायत त रहन्थ्यो नै, शायद राजा वीरेन्द्र पनि जीवित रहन्थे कि ?’ नेपालप्रति भारतको नीति, खुला सिमाना, दीपेन्द्रको बिहेको मामिला, दरबार हत्याकाण्ड, कम्युनिष्टहरुप्रति दरबारको उदार दृष्टिकोण सबै खुलस्त छ, पुस्तकमा । झट्ट हेर्दा राम्रो देखिने किताबको पाना पल्टाउँदै जाँदा यसका कमी–कमजोरी छरपस्ट हुँदै जान्छन् । साह्रै पठनीय विषयवस्तु भइकन पनि किताब सामान्य स्तरमा प्रस्तुत भएको छ ।

सम्पादकले भिन्न मत राख्नेहरूलाई समेत गम्भीर बनाउने गरी विषय, घटना र ‘कन्टेक्स्ट’हरु परिष्कृत गरेका छैनन् । नेपालको इतिहासको एक खण्डलाई स्पष्ट पार्ने यो पुस्तकको अर्को संस्करणमा यस्ता त्रुटिहरु हट्नेछन् भन्ने आशा गर्न सकिन्छ ।

comments powered by Disqus

रमझम