योगमायाको इतिहास

Share:
  

महिलाका विषयमा थुप्रै साहित्य लेखिएका छन् । तर, प्रायः पूर्वीय साहित्यमा महिलाका रूप, रंग, जवानी र कमजोरीकै वर्णन गरिएको पाइन्छ । महिला पात्रको बुद्धि, विवेक, बहादुरीको वर्णन गरेका साहित्य कमै पाइन्छ । पौराणिक साहित्यदेखि पछिल्लो समय लेखिएका गीत, कविता, गजल, खण्डकाव्य, महाकाव्य, कथा, उपन्यास र गैरआख्यानसम्ममा नारी पात्रलाई त्यति स्थान दिइँदैन, जति पुरुषलाई दिइएको हुन्छ ।

इतिहास वा आख्यान उसैको बारेमा लेखिन्छ, जो शक्तिशाली छ । पुरुषवादी समाजमा महिलाको स्थान पुरुष समान हुने कुरै भएन, त्यसैले आजसम्म बढीजसो शक्तिशाली पुरुषपात्रकै गाथा गाइयो ।

यसपालि भने सामाजिक न्यायका लागि सशक्त आवाज उठाउने ऐतिहासिक अभियन्ता योगमाया न्यौपानेबारे खोज, अनुसन्धान गरी नीलम कार्की निहारिकाले योगमाया उपन्यास लेखिन् । यस उपन्यासले मदन पुरस्कार–२०७४ प्राप्त गरेसँगै नेपाली महिला र समग्र सामाजिक आन्दोलनका अभियन्ताले गर्व गर्ने ठाउँ रहेको छ ।

पुस्तक योगमाया

लेखक नीलम कार्की निहारिका

प्रकाशक साङ्ग्रिला

पुस्तक प्रा.लि. काठमाडौं

पृष्ठ ५५२

मूल्य रु.५७५

इतिहासकारहरूले भनेका छन्, हिजो मातृसत्तात्मक समाजमा महिलाको स्थान बेग्लै थियो । पौराणिक कालमा पनि गार्गी, अहिल्या र मैत्रेयी जस्ता विदुषीहरू नभएका होइनन् । हाम्रा इतिहास र शास्त्रमा ती महिलाका विद्वत्ता र बहादुरी त्यति समेटिएको पाइँदैन । बरु रामायण का रचयिता तुलसीदासले लेखे–

ढोल, गँवार, पशु, शूद्र, नारी ।

ये सब है ताडन के अधिकारी ।।

आदिकवि भानुभक्तले लेखे–

हाँस्नु छैन कदापि नारीहरुले वेश्या हुने हाँस्तछन् ।

वेश्या लौ नहोऊन् तथापि घरको काम नास्तछन् ।

मनुस्मृति र कतिपय पुराण, नीतिकथाहरूमा महिलालाई मानिस नै नमानेको पाउन सकिन्छ । इतिहास र गाथाहरू समाजमा वर्चस्व हुनेले लेख्छन् वा बनाउँछन् । समाजका वर्चस्वशाली पुरुषहरूबाट लेखिंदै आएका साहित्यले महिलालाई दोस्रो दर्जाकै रूपमा राख्यो । पछिल्लो समय महिलाका गाथा पनि लेखिन थाले, यसकै परिणाम हो– योगमाया उपन्यास ।

१९२५ सालमा भोजपुरमा जन्मिएकी योगमायाले परिवार र समाजबाट तिरस्कृत भई मातृभूमि त्यागेर भारतको आसाममा नैराश्यपूर्ण जीवन व्यतीत गरिरहँदा विभिन्न तपस्वी नारी र पुरुषको संगत पाइन् । सार्थक र न्यायपूर्ण जीवनबारे बोध भएपछि सामाजिक न्यायका लागि आवाज उठाउने अठोट बोकेर स्वदेश फर्किइन् ।

तत्कालीन समाजमा विद्यमान सतीप्रथा, बालविवाह, अनमेल विवाह, जातीय विभेद जस्ता अन्याय र असमानताको विरोध गरी सामाजिक न्यायबारे मानिसलाई बुझाउन थालिन् ।

महीनौं निराहार बसेर ध्यान गर्ने योगमायाको कठोर साधनाबाट उनका अनुयायी र वरपरका देख्ने–सुन्नेहरू पनि आश्चर्यमा परेका थिए । त्यही साधनाको ऊर्जाले उनीमा न्याय प्राप्तिका लागि लड्ने साहस र चिन्तन विकसित भयो । एक्लो आवाज अर्थहीन हुन्छ भन्ने महसूस गरी उनले ध्यान, योग, सत्कर्म र धार्मिक प्रवचनका माध्यमले अनुयायी बढाउँदै सामाजिक आन्दोलन आरम्भ गरिन् ।

निरंकुश राणाशासनमा सामाजिक रूपान्तरणका पक्षमा गोलबन्द हुनु कम चुनौतीपूर्ण थिएन । एकातर्फ पितृसत्ता र ब्राह्मणवादको थिचोमिचो, अर्कातर्फ शोषक, सामन्त र जाली फटाहाको अत्याचार, यस्तोमा निमुखा नागरिकको आवाज बनेकी थिइन्, योगमाया । निमुखा महिला मात्र होइन, पण्डित, सम्पन्न र गन्यमान्य भनिएका पुरुषहरू पनि योगमायाको विचारलाई स्वीकारेर अभियानमा समाहित भएका थिए ।

तत्कालीन समाज र सत्तासँग योगमायाको माग थियो– पत्नीको देहान्त हुनासाथै पतिले दोस्रो विवाह गर्न पाए जस्तै पतिको देहान्त हुँदा उमेर छँदैकी पत्नीले पनि स्वेच्छाले दोस्रो विवाह गर्न पाउनुपर्छ । त्यस्तै, योगमायामा जातीय विभेद र छुवाछूतप्रति तीव्र आक्रोश थियो । “मेरो त जात छैन । तिमीहरू के रोज्छौ तिम्रो मर्जी । मेरो कौडिन्य गोत्रमा जन्म भाको थ्यो, तर अब मेरा जात, गोत्र सबै भगवान्मा मिल्न गो” । (योगमाया, पृष्ठ १९४)

धर्म र पुराणका माध्यमले मानिसलाई भ्रमित पारेर शोषण गर्ने ब्राह्मणहरूको गलत क्रियाकलापको विरोधमा पनि उनले चर्को आवाज उठाइन् । ब्राह्मणलाई दान दिएर होइन, व्यक्तिलाई चेतना दिएर उसले अन्जानमा गरेको पापबाट मुक्ति दिलाउन सकिने उनको बुझाइ थियो । योगमायाकै नेतृत्वमा १९९३ सालमा विभिन्न सुधारका विषय राखेर श्री ३ जुद्धशमशेरलाई मागपत्र बुझाइएको थियो । जुद्धशमशेरले आश्वासन दिए पनि ठोस कदम नचालेपछि योगमायाले तत्कालीन सत्तालाई हल्लाउने घोषणा गरिन्– माग पूरा नभए २७ कात्तिक १९९५ शुक्ल पूर्णिमाका दिन अग्निदाह गर्ने । तर, सरकारले उनको सामूहिक अग्निदाहमा बाधा पुर्‍यायो । दोस्रोपटक गोप्य तयारी साथ २२ असार १९९८ हरिशयनी एकादशीका दिन योगमायाले आफ्ना ६६ अनुयायीसहित अरुण नदीमा जल समाधि लिइन् । योगमायाले थालनी गरेको सामाजिक न्यायको आन्दोलन आज पनि जारी छ । आज पनि धर्म र संस्कृतिका नाममा विभेद र अन्याय हट्न सकेको छैन । योगमाया जस्ती ऐतिहासिक पात्रमा आधारित उपन्यास योगमाया ले सम्मानित पुरस्कार पाउनु समग्र सामाजिक न्यायको आन्दोलनकै लागि गौरवको कुरा हो ।

कमला पराजुली

comments powered by Disqus

रमझम