२३ भदौ २०७० | 8 September 2013

निर्वाचकको स्वीकारोक्ति

Share:
  

संविधानसभा निर्वाचन हुँदाका निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले लेखेको ‘नेपालः भोट्स फर पीस’ भदौ महीनाभित्र बजारमा आउँदैछ । संविधानसभा निर्वाचनलाई केन्द्रमा राखेर त्यसको पृष्ठभूमि पनि केलाइएको यो पुस्तकमा नेपालको राजनीतिक इतिहास, माओवादी द्वन्द्व, राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा सत्ता लिएको घटना, माओवादी विवाद, १२ बुँदे समझदारी र जनआन्दोलनको नालीबेली दिइएको छ । जनआन्दोलनको सफलतापछि अमेरिकी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा नेपालको निर्देशक भएर काम गरेकै वेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रमुख निर्वाचन आयुक्तमा आफूलाई प्रस्ताव राखेको विवरणदेखि अन्तरिम संसद् र संविधानको निर्माण, शान्ति सम्झौता, संविधानसभाको पहिलो पटक तोकिएको निर्वाचन सर्नु जस्ता घटनाहरु रहेको यो पुस्तकमा संयुक्त राष्ट्रसंघ लगायत छिमेकी भारत र चीन अनि अरु राष्ट्र र संस्थाले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा देखाएको चासो खुलाइएको छ ।

सहलेखिका सृष्टि राणासँग मिलेर लेखिएको २९ खण्ड र २६६ पृष्ठ लामो यो पुस्तक संविधानसभा निर्वाचन वरिपरिको आफ्नो टिपोट र थुप्रै व्यक्तिसँगको अन्तर्वार्ताको आधारमा तयार भएको लेखकले पुस्तकमै खुलाएका छन् । क्याम्ब्रिज युनिभर्सिटी प्रेस इन्डियाले छापेको यो पुस्तकमा संविधानसभा निर्वाचन वरिपरिका घटनाका निर्णायक व्यक्तिहरु तत्कालीन राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई जस्ता व्यक्तिको इतिहास, व्यक्तित्व र स्वभावको विस्तृत विवरण छ । जसले, त्यतिवेलाको घटना बुझ्न र विश्लेषण गर्न सजिलो पारेको छ ।

नेपालको राजनीतिक इतिहासमा पहिलो पटक हुन लागेको संविधानसभाको निर्वाचन उदाहरणीय हुनुपर्ने अपेक्षाको भारी थियो, तत्कालीन प्रमुख निर्वाचन आयुक्त पोखरेलमाथि । कतिपयले उनलाई भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त टीएन सेसनसँग तुलना गरेका थिए । तर, पोखरेलले पुस्तकमा स्वीकारेका छन्, ‘प्रमुख आयुक्त भएपछि मलाई पनि त्यसैगरी नमूना चुनाव गरेर देखाउनेछु भन्ने लागे पनि निर्वाचनको प्रक्रिया शुरु गर्नासाथ मैले महसूस गरें, मलाई चुनाव गराउन मात्र नभएर शान्ति प्रक्रियाको एउटा पाटोको व्यवस्थापन गर्न यो ठाउँमा ल्याइएको रहेछ ।’ उनी थप लेख्छन्, ‘दुई वेग्लै विषयका वेग्लै प्रक्रिया र अन्तर्वस्तुको समायोजन गर्दै अघि बढ्नुपर्ने बाध्यता आइलाग्दा चुनावका कतिपय पाटो र प्रक्रियाहरु शान्ति प्रक्रियाका लागि सम्झौता गर्नुपर्ने अवस्था आयो । जसका कारण चुनावमा भएका कतिपय हिंसाका घटना विरुद्ध गर्नुपर्ने कारबाही शान्ति प्रक्रिया नबिथोलियोस् भनेर गर्न सकिएन ।’

नेपालः भोट्स फर पीस

लेखकहरुः भोजराज पोखरेल, सृष्टि राणा

प्रकाशकः क्याम्ब्रिज युनिभर्सिटी प्रेस इन्डिया

पृष्ठः २६६+१८

तत्कालीन विद्रोही माओवादी र सात संसदीय दलबीचको १२ बुँदे समझदारीबाट शुरु भएको यो पुस्तक स्रोतहरु पर्याप्त उल्लेख गरिएको र स्रोत सामग्री तथा व्यक्तिको विवरण पनि राखिएकाले आधिकारिक बनेको छ । तत्कालीन राजा ज्ञानेन्द्रसँग समेत अन्तर्वार्ता लिएर तयार पारिएकाले यो पुस्तकमा उतारिएको त्यो वेलाको विवरणलाई थप आधिकारिक बनाएको छ । त्यसमाथि, त्यो वेलाका निर्णायक व्यक्तित्वमध्ये एक प्रमुख निर्वाचन आयुक्तले नै लेखेको हुनाले यसका विवरण र विश्लेषण आधिकारिक र विश्वसनीय नहुने कुरै भएन ।

४ मंसीरमा तय भएको संविधानसभाको दोस्रो निर्वाचनको सँघारमा नेपाली बजारमा आउन लागेको यो पुस्तकले संविधानसभाको आउँदो निर्वाचन कस्तो र कसरी हुनुपर्छ भन्नेबारे काठमाडौंको ‘पोलिटी’मा राम्रै बहस र विवाद निम्त्याउने निश्चित छ । जसले, आउँदो निर्वाचनलाई निष्पक्ष र परिणाममुखी बनाउन केही मात्रामा भए पनि सहयोग नै गर्नेछ ।

comments powered by Disqus

रमझम