२४-३० भदौ २०७५ | 9-15 September 2018

औषधिमा उपयोगी ‘उभारिया ह्यामिल्टोनी’

Share:
  
- कमल मादेन
हाम्रो वन क्षेत्रमा पाइने कतिपय वनस्पति औषधीय महत्वका भए पनि तिनको पहिचान र संरक्षणमा ध्यान पुग्न सकेको छैन।

कुलप्रसाद लिम्बू
एरिस्टोलोकिया ।
सरिफा स्वादिष्ट फल हो । सरिफा जस्तै मीठो तर जंगलमा पाइने केही वनस्पति छन् । ती कुनै रूख वर्गका छन्, कुनै लहरा त कुनै बुट्यान छन् । लाखौं, करोडौं वर्ष अघि तिनीहरू एकै पूर्वजबाट छुट्टिएका होलान् ! तीमध्ये एक वनस्पति ‘उभारिया ह्यामिल्टोनी’ हो । यसको सुन्दर फूलको तस्वीर वनस्पति सम्बन्धी पुस्तक ‘अ ह्याण्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ को आवरणमा छापिएको छ । ३५÷४० वर्ष अघि पूर्वी नेपालको तराईका जंगलमा प्रशस्त पाइने त्यो वनस्पति हिजोआज भने विरलै भेटिन्छन् ।

सुनसरीका थारू समुदायले त्यो वनस्पतिलाई ‘बाँदरझिल्ला’ भन्छन् । अन्यत्र यसलाई ‘कालीलहरा’ वा ‘रबुलहरा’ भनिन्छ भन्ने लेखिएको पाइन्छ । त्यो वनस्पतिको फल साउन–भदौतिर पाक्छ । असाध्यै मीठो फलभित्र मसिनो बीउ हुन्छ । झुप्पामा फल्ने यो फल लिच्ची भन्दा केही ठूलो र पाकेपछि गाढा रातो हुन्छ । फल पाक्दा मस्त जवान भाले बाँदरको पिठ्यूँ मुन्तिरको भाग जस्तो देखिने भएकाले यसलाई बाँदरझिल्ला भनिएको होला ।

‘फ्लोरा अफ नेपाल’ भोलम ३ (सन् २०१३ नेपाल संस्करण) मा ‘उभारिया ह्यामिल्टोनी’ नेपालमा समुद्री सतहबाट ३०० देखि ६०० मिटर उँचाइसम्म पाइन्छ भन्ने उल्लेख छ । तर, यो वनस्पति सुनसरी जिल्लाको जंगलमा १२५÷१३० मिटरमा एकाध ठाउँमा भेटिन्छ ।

माथिपट्टि झाङ्गिएको बोट हुने यो वनस्पतिको काण्ड २०–२५ इञ्चसम्म मोटो र कालो हुन्छ । काण्ड दाउरा र पात घाँसको रूपमा प्रयोग हुन्छ । यसको पात १५ देखि २५ सेन्टिमिटर र चौडाइ ७ देखि ११ सेन्टिमिटर हुन्छ । यसको बोट दाउराका निम्ति अत्यधिक कटान गरिएकाले अस्तित्व संकटमा परेको हो ।

औषधिजन्य जैविक रसायन

नेपालमा ‘उभारिया ह्यामिल्टोनी’ एक औषधिजन्य वनस्पति हो भन्ने कतै उल्लेख भएको छैन । तर, यसको बोक्रामा अचूक औषधिजन्य रसायन पाइन्छ । यसबारे १७ वर्षअघि नै ‘बायोकेमिकल सिस्टेम्याटिक्स एण्ड इकोलोजी’ जर्नलको अंक २९ (सन् २००१) मा ‘एरिस्टोलाक्टम्स् फ्रम द स्टेम बार्क अफ उभारिया ह्यामिल्टोनी’ शीर्षकको लेखमा लेखिएको छ । उक्त लेखमा यो वनस्पतिको बोक्रामा ‘एरिस्टोलाक्टम्स्’ नामक रसायन हुन्छ, जुन औषधि विज्ञानका लागि महत्वपूर्ण हुन्छ भन्ने बुझिन्छ । अहिलेसम्म उक्त वनस्पतिको बोक्रामा विविध नाम जोडिएका पाँच भन्दा बढी ‘एरिस्टोलाक्टम्स्’ पत्ता लागेको छ । उल्लिखित रसायनबाट बनेका औषधिहरू मुख्य गरी कलेजो, मिर्गौला, मूत्रथैलीको क्यान्सरमा प्रयोग हुने बताइन्छ ।

सञ्जीवकुमार राई
उभारिया ह्यामिल्टोनी ।
‘एरिस्टोलाक्टम्स्’ नाम दिइएको जैविक रसायन शुरूमा ‘एरिस्टोलोकेसी’ परिवार अन्तर्गत ‘एरिस्टोलोकस’ जाति÷समूहमा पाइएको थियो । यसैले उक्त रसायनले ‘एरिस्टोलाक्टम्स्’ नाम पायो । नेपालमा ‘एरिस्टोलोकेसी’ वनस्पति परिवार अन्तर्गत सात प्रजाति छन् । तीमध्ये ‘एरिस्टोलोकिया ब्राक्टियोलाटा’, ‘एरिस्टोलोकिया इन्डिका’ र ‘एरिस्टोलोकिया टेगाला’ औषधिजन्य वनस्पति हुन् भन्ने जानकारी सुशिमरञ्जन बराल र पुरणप्रसाद कुर्मी लिखित ‘अ कम्पेन्डियम अफ मेडिसिनल प्लान्ट्स इन नेपाल’ पुस्तकमा छ ।

‘एरिस्टोलोकिया’ को लहरा हुन्छ र उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । फूल फुलेका बेला यसलाई प्रष्ट चिन्न सकिन्छ । यसको फूल फेदतिर ट्यूबजस्तो र बीचबाट बाङ्गिएर अर्कोतिरको टुप्पो छेपाराले फुलाएको गर्दन जस्तो देखिन्छ । अत्यन्तै तीतो हुने यो वनस्पतिको जरा कुटेर निस्केको रस पानीमा घोलेर जुका मार्न खुवाइने गरेको जानकारी पुस्तकमा उल्लेख छ । यी वनस्पति ज्वरो कम गर्न, पिसाब खुलाउन तथा कुष्ठरोग आदिमा प्रयोग हुने लेखिएको पाइन्छ ।

‘एरिस्टोलोकेसी’ परिवारका वनस्पतिमाथि औषधि विज्ञानका विज्ञहरूले सूक्ष्म अनुसन्धान गरेका छन् । उनीहरूका अनुसन्धानले ‘एरिस्टोलाक्टम्स्’ नामक जैविक रसायन माथि उल्लिखित समस्या÷रोगका साथै अन्य धेरै रोगमा उपयोगी छ भन्ने सिद्ध गरिसकेको छ । हिजोआज ‘एरिस्टोलोकेसी’ सहित अन्य चार–पाँच वनस्पतीय परिवारका थुप्रै वनस्पतिमा ‘एरिस्टोलाक्टम्स्’ पाइने जानकारी छ ।

सरकारी पहलको खाँचो

‘एरिस्टोलाक्टम्स्’ औषधि निर्माणका निम्ति महत्वपूर्ण जैविक रसायन हो भनेर प्रमाणित भइसकेको कुरा हो । यस्तो रसायन पाइने वनस्पति हाम्रा जंगलमा प्रशस्त छन् । तिनको पहिचान गरी उपयोग गर्न सक्नुपर्छ । वन र वनस्पतिलाई के–कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे वन मन्त्रालयले बनाएको वन नीति, २०७१ ले प्रष्ट पारेको छ । नेपाल सरकारले ‘फरेष्ट्री सेक्टर स्ट्राटेजीः २०१६–२०२५’ ल्याउनु अघि वन नीति, २०७१ ल्याएको हो । उक्त नीतिमा भनिएको छ ‘संरक्षणको चुनौती हँुदाहुँदै पनि नेपालको वन क्षेत्र अथाह सम्भावनाको क्षेत्र हो ।’ नीतिमा भनिए जस्तै वन क्षेत्रका विविध सम्भावनालाई जगाउँदै राष्ट्रिय समृद्धिको आधार बनाउनु आजको आवश्यकता हो ।

हाम्रा वनस्पतिको पहिचान गरी व्यवस्थापन गर्न सक्ने हो भने नेपालले प्रशस्त औषधिजन्य रसायन उत्पादन गर्न सक्छ । तर, यस क्षेत्रमा कमै अनुसन्धान भएको छ । नेपालीले अनुसन्धान गर्न नसक्ने भन्ने होइन । रसायन शास्त्र सम्बन्धी विज्ञहरूले हाम्रा वनस्पतिमा के–कस्ता उपयोगी रसायन छन् भन्ने पत्ता लगाउन सक्छन् । हालैका दशकमा दक्षिण कोरिया, जापान लगायत मुलुकबाट जैविक रसायन सम्बन्धी अध्ययन गरी फर्केका नेपालीहरू धेरै छन् । उनीहरू धेरैजसो विश्वविद्यालयमा अध्यापन गर्छन् र केही भने गैरसरकारी तथा अस्पतालमा कार्यरत छन् । यस्तै, औषधिजन्य वनस्पति पहिचान गर्ने विज्ञहरू पनि प्रशस्तै छन् । जैविक रसायन तथा वनस्पति विज्ञबाट नेपालमा भएका बहुमूल्य वनस्पति उपयोग गरी औषधि बनाउन सकिन्छ । यसका निम्ति सरकारले वातावरण बनाउनुपर्छ ।

औषधि विज्ञानमा अघि बढ्दा अनुसन्धान केन्द्र स्थापना गर्नु आवश्यक हुन्छ । उक्त अनुसन्धान केन्द्र अहिलेका अन्य संस्था जस्तो संरचनामा चल्दैन । अहिले भएका सबैजसो अनुसन्धान सम्बन्धी ठूला संस्था सरकारी छायाँमा छन् । ती संस्था पार्टीगत भागबण्डामा पदाधिकारी नियुक्ति गर्ने अखडा बनेका छन् । पार्टीप्रति वफादार व्यक्तिले विज्ञान–प्रविधि क्षेत्रको अनुसन्धान अगाडि बढाउने भन्दा पनि पार्टीका कार्यकर्तालाई कसरी रोजगारी दिने भन्ने कुरा मात्रै हेर्छ । यसर्थ त्यस्ता अनुसन्धान केन्द्र खोलिनुको औचित्य नहुने भएकाले पृथक् संरचनामा खोल्नुपर्छ । तब मात्र देशको सम्पदा सदुपयोग हुन सक्छ । अर्बौं रकम आवश्यक नपर्ने त्यस्तो काम प्रदेश र स्थानीय सरकारले पनि गर्न सक्छन् ।

नेपालमा औषधिजन्य वनस्पतिका प्रजाति १५/१६ भन्दा बढी छन् । माल पाएर पनि चाल नपाउँदा ‘उभारिया ह्यामिल्टोनी’ जस्ता वनस्पति दाउराका रूपमा प्रयोग भइरहेका छन् । नेपालको कुन–कुन वनस्पतिमा के–कस्ता महत्वपूर्ण रसायन छन् भन्ने खोजी गरिएको छैन । उसो त हाम्रो वन नीति, २०७१ को पृष्ठ १७ मा लेखिएको पनि छ, ‘जैविक सुरक्षा र व्यापारिक महत्वका जडीबुटीजन्य वनस्पतिको गुणस्तर विश्लेषण, वनस्पतिको स्वास्थ्य प्रमाणीकरण लगायत व्यापार प्रवद्र्धनका लागि आवश्यक प्रयोगशालाको स्थापना र स्तरोन्नति गरिनेछ ।’

नेपाल सरकारका धेरैजसो नीति कागजमै सीमित छन् । वन नीतिलाई कार्यान्वयनमा ल्याउने हो भने प्राकृतिक सम्पदाको महत्व बढ्नुका साथै सदुपयोग पनि हुनेथियो ।

comments powered by Disqus

रमझम