२४-३० भदौ २०७५ | 9-15 September 2018

फेरिंदो गौरा र तीज

Share:
  
- सेवा भट्टराई
एकातिर भूमि, कृषि, प्रेम सम्बन्ध र माइतीभाव बोक्ने गौरा पर्वमा रमाउने सुदूरपश्चिमका महिलाहरू आधुनिकताले संस्कृति संकटमा परेको चिन्तामा छन्। अर्कोतिर, पितृसत्तात्मक समाजमा आफ्नो आवाज बोल्ने तीजलाई भने समग्र महिलाले आधुनिक तवरले मनाउन थालेका छन्।

तस्वीरहरुः बिक्रम राई
गएको हप्ता गौरा पर्व मनाउन घर फर्किनेको लर्कोले सुदूरपश्चिमका पहाडी जिल्ला जाने सबै बसहरू भरिभराउ थिए । गौरा पर्वकै लागि केही बस थपिएका पनि थिए । गौरा अवधिभर सुदूरपश्चिमका शहर–बजार सुनसान जस्तै थिए भने गाउँगाउँमा रौनक थियो । मुलुककै सातौं धामका रूपमा प्रख्यात दार्चुलाको मालिकार्जुन मन्दिरमा टाढाटाढाका दर्शनार्थी भेला भएका थिए । हरिया पहाडको बीचमा रहेको मन्दिरमा वरिपरिका गाउँबाट दर्शनार्थी समूह दमाहाको घन्काइसँगै आउँथे । केही महिला सारी र कुर्तामा देखिन्थे भने केही परम्परागत आङ्डो र घाँघरमाथि कम्पनीमाला र चाँदीको झुमझुमीमा सजिएका थिए । महिला र पुरुषहरूले आपसमा हात समाएर देउडा, चैत, धमारी जस्ता गीत गाएको दृश्य आकर्षक थियो ।

नेपालमा हिन्दू महिलाले मनाउने थुप्रै चाडमध्ये गौरा र तीज यही भदौ महीना परेका छन् । शिव–पार्वतीमा समर्पित यी दुवै चाडमा केही समानता पनि छन् । पहिले महिलाहरूले यी पर्वलाई पितृसत्तात्मक संरचनाभित्र बसेर त्यसै सत्ताको विरोध गर्ने मञ्च बनाएका थिए, आजकाल नयाँ व्याख्या हुँदा र परम्परागत पक्ष पछि पर्दै जाँदा यी पर्व जमघट र भोजभतेरका रुपमा मनाइन थालेका छन् ।

‘माइती आएकी छोरी’

गौरा पर्व मनाउँदा थुप्रै रीतिरिवाज पूरा गरिन्छ । महिलाले गहुँ, केराउ, गहत लगायत पाँच प्रकारका अन्न मिसाएर तामाका भाँडामा भिजाएपछि यो पाँचदिने पर्व शुरु हुन्छ । यसरी भिजाइएको अन्नलाई बिरुडा भनिन्छ । हरेक दिन महिलाहरूले व्रत बसेर राति एक छाक मात्रै खाने गर्छन् । तेस्रो दिन बोटबिरुवाबाट गौरा देवीको प्रतिमा बनाएर त्यसलाई दुलही जस्तै सिंगार्छन् ।

गंगा धामी (७५) परम्परागत पहिरनमा ।

बैतडीको रिजपाला गाउँमा सरस्वती भट्ट लगायतका महिलाले गौरा देवीको प्रतिमालाई पहिले रातो पहिरन र रातो घुम्टी लगाइदिए । त्यसपछि गहनाहरू थपिदिए । योबीचमा उनीहरू गौरा गीत पनि गाउँदै थिए । गौरा देवीलाई माइत आएकी छोरी मानिंदै छोरीप्रति बाबुआमाको मायाभाव गीतका शब्द मार्फत प्रकट भए । गीतकी गौरा दुर्गम क्षेत्रकी प्रतिनिधि पात्र जस्तै छन्, जसको कथाले त्यो क्षेत्रको सम्पूर्ण जनजीवन झल्काउँछ । गौरा र महेश्वरको प्रेम सम्बन्धदेखि सन्तान जन्माउँदासम्मको विस्तृत विवरण, छोरी माइत आउँदाको खुशी, बाबुआमाको स्नेह र बिदा हुँदाको पीडा यी गीतमा भेटिन्छन् । त्यस्तै, कुन ऋतुमा के कुरा खाने, पानी कस्तो ठाउँमा पाइन्छ र कुन बालीको महत्व के हो भन्ने जस्ता जानकारी पनि गीतले दिन्छन् ।

गौरा गीतमा देवीदेवता र स्थानीय इतिहासका प्रसंग पाइने रिजपाला गाउँकी सरस्वती बताउँछिन् । उनी भन्छिन्, “गौरा चाड निकै धुमधामका साथ आज पनि मनाइन्छ, तर यी गीत सिक्न भने युवा पुस्ताले ध्यान दिएको छैन । पहिले गौरा पर्वले हप्तौंसम्म मानिसको ध्यान तान्थ्यो । अहिले यो रमाइलो र भेटघाट गर्ने उत्सव बनेको छ ।”

पतिको दीर्घायुका लागि महिलाले पाँच दिनसम्म व्रत बस्ने यो चाडका कतिपय गीतले पितृसत्ता झल्काउँछन् । महिला र पुरुषको व्यवहार कस्तो हुनुपर्छ, समाजको शक्ति संरचना कस्तो हुन्छ र समाजका मूल्य–मान्यताहरू के हुन् भन्ने यी गीतमा आउँछन् । गीत अनुसार, गौरा देवीलाई सुनको सिंहासनमा बसाउन लाग्दा गौराले नै त्यहाँ महेश्वरलाई बसाउँछिन् । सँगसँगै महिलाको भिन्न दृष्टिकोण र छवि सुधार्ने प्रयास पनि यिनै गीतमा पाइन्छन् । जमीन र बालीहरूसँग महिलाको गहिरो सम्बन्ध रहेको गीतले प्रष्ट्याउँछन् ।

मनोरञ्जनका आधुनिक प्रविधि आउनुअघि यी गीत र नाच नै मानिसलाई मनोरञ्जन, सन्देश दिने, समाजलाई एकसूत्रमा बाँध्ने माध्यम थिए । आधुनिकतासँगै लामो इतिहास बोकेका हाम्रा संस्कृति संकटमा परेका छन् ।

पहिचानको तीज

गौरा गीतको जस्तै महत्व विगतमा तीजका गीतले पनि बोकेका थिए, आफूमाथि भएका अन्याय र अत्याचारका वेदना तीज गीतमा पोखिन्थे । अचेल गाइने तीजका गीत परिवर्तन भए पनि उद्देश्य भने त्यही रहेको विद्वत् महिलाको बुझाइ छ । तीज गीतबारे अनुसन्धान गरेकी डा. इन्दिरा आचार्य मिश्र भन्छिन्, “पुराना गीतमा करुण रस बढी पाइन्थ्यो भने नयाँ गीतहरूमा हास्यरस बढी पाइन्छ । आशय भने त्यही हो, महिलाहरूले पितृसत्ताको प्यारोडी गर्ने मौका पाएका छन् ।”

पतिको दीर्घायुका लागि र शिव जस्तो पति पाउन महिलाले भोकै बस्नुपर्ने रीतिरिवाजका कारण तीजले पितृसत्तालाई प्रोत्साहन दिएको आलोचना पनि हुने गरेको छ । सबै लोकसंस्कृतिलाई जस्तै तीजलाई पनि फरक–फरक व्याख्या गरिन्छ । तीजको मूल महिला सशक्तिकरणसँगै सम्बन्धित थियो भन्ने व्याख्या पनि केहीले गर्छन् । “पार्वतीको व्रत पति पाउन भन्दा पनि समाजले थोपरिदिएको तर आफूलाई चित्त नबुझेको विवाहको विरोध थियो । आजका महिलाको व्रतले पनि महिलाको त्यो स्वतन्त्रतालाई सम्मान गर्छ” साहित्यकी विद्यार्थी नित्या पाण्डे भन्छिन्, “शिवलाई व्यक्ति होइन, गुणका रुपमा लिन सकिन्छ । सत्यम् शिवम् सुन्दरम् मानिसमा हुनुपर्ने गुण हुन् र यसमा शिवको अर्थ राम्रो, असल र शुभ हो । शिवको प्राप्ति भनेकै राम्रा गुणको प्राप्ति भन्ने हो ।”

पितृसत्तामा आधारित भए पनि तीजले महिलालाई स्वतन्त्र अभिव्यक्तिका लागि स्थान दिएको देखिन्छ । तर, यिनमा पितृसत्तात्मक पक्षको व्याख्या आज बढी प्रचलित छ । त्यसैले आजकाल महिलाहरू परम्परागत रुपमा आमाबुवाको घरमा गएर दर खाएर, व्रत बसेर भन्दा बढी जमघट, नाचगान र भोजभतेर गरी तीज मनाउन थालेका छन् । स्कूलहरूले बालबालिकाका आमाहरूसँग, कार्यालय र संघसंस्थाले महिला सदस्यसँग तीज कार्यक्रम बढी गरिरहेका छन् । एक महीना अघिदेखि नै तीज लाग्न थालेपछि यसको ‘व्यापारीकरण’ भएको आलोचना पनि गरिन्छ । यद्यपि धार्मिक पक्षलाई छाडेर नेपाली महिलाले तीज अझ बढी मनाएको देखिन्छ । तीजमा यस्तो परिवर्तन आउनुमा ‘पहिचान’ मुख्य कारण रहेको डा. इन्दिरा आचार्य मिश्रको बुझाइ छ । भन्छिन्, “तीज ब्राह्मण–क्षेत्री महिलाको परम्परा हो, त्यसैले उनीहरू यसलाई पहिचानका रुपमा मनाउन चाहन्छन् । तर, पतिका लागि व्रत बस्ने जस्ता कतिपय महिला सशक्तिकरणका अवधारणासँग मेल नखाने पक्ष हटाउँदै लगेपछि तीज धर्मनिरपेक्ष बन्दै गएको छ ।”

जतिसुकै आलोचना भए पनि महिलाहरूले पछिल्लो समय यी चाडपर्वलाई भेटघाट, भावना साटासाट र एकताको भावना बढाउनका लागि मनाइरहेका छन् ।

comments powered by Disqus

रमझम