तमिलनाडुका नायक

Share:
  
- कनकमणि दीक्षित
विरोधाभासलाई छिचोल्दै करुणानिधिले दक्षिण भारत मात्र होइन दक्षिणएशियामै आफ्नो छाप छोडेर गए ।

भारतको राष्ट्रिय राजनीतिलाई उत्तरी भेक र विशेषगरी उत्तरप्रदेशले तान्ने गरेकोले नेपाली बौद्धिक वृत्तको चासो पनि त्यतै केन्द्रित हुने गर्छ । त्यसैले दक्षिण भारतका राजनीतिक ‘कोलसस्’ मुथुवेल कलाईनार करुणानिधिको निधनले यहाँ सानो छाल पनि उछालेन ।

करुणानिधिको ९४ वर्षको उमेरमा २२ साउनमा निधन भयो । उनको राजनीतिक जीवन दक्षिणएशियाकै राजनेतामध्येको लामो र उत्कृष्ट थियो । धेरै नेताले देख्न र गर्न नपाएका कुरा उनले देखे र गरे । नेपालको नयाँ संविधानले कोरेको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक यात्राको लागि करुणानिधिको परिश्रम र अनुभव उपयोगी हुन सक्छ । मैले उनको जीवनी बारेमा ‘ब्रश अप’ गर्न चेन्नईबाट प्रकाशित ‘फ्रन्टलाइन’ पत्रिकाको ३१ अगस्टको विशेषांकको सहयोग लिएको छु (तस्वीर) ।

करुणानिधिको राजनीतिक यात्रा आठ दशक लामो थियो । उनी पाँच चोटि तमिलनाडुका मुख्यमन्त्री भए, ५० वर्ष पार्टी अध्यक्ष रहेर विधानसभामा निरन्तर ६० वर्ष निर्वाचित सांसद रहे । आधुनिक भारतका प्रायः सबै प्रधानमन्त्रीसँग उनले काम गरे । नयाँदिल्लीको राष्ट्रिय सरकारको उथलपुथल तथा आधुनिक भारतको राजनीतिक स्थायित्वको सवालमा करुणानिधि सधैं उल्लेख्य पात्र रहे । तर, प्रान्तको राजनीति त्यागेर नयाँदिल्लीको राष्ट्रिय खेलमैदानमा पात्र बन्न उनले कहिल्यै चासो देखाएनन् ।

करुणानिधिको चेतना जगाउने काम द्रविड आन्दोलनका शीर्षस्थ नेता इ. भि. रामस्वामी पेरियारले गरेका थिए । मुख्यतः उत्तर भारतीय सांस्कृतिक तथा आर्थिक पञ्जाबाट तमिलनाडु सहित पूरै दक्षिण भारत मुक्त हुनुपर्छ भन्ने राजनीतिक सोच राख्थे पेरियार । उनको सामाजिक सोच भने तमिल समाजलाई उच्च जात र विशेषगरी ब्राह्मणको पञ्जाबाट मुक्त गरेर राज्यद्वारा न्यायको अनुभूति दिलाउनु थियो । यसरी भारतको राष्ट्रिय सन्दर्भमा तमिल स्वाभिमान र तमिलनाडुभित्रको सन्दर्भमा अपहेलित समुदाय (दलित, ओबीसी, मुस्लिम इत्यादि) को आत्मसम्मान जोगाउनु नै पेरियारका शिष्य करुणानिधिको एजेण्डा बन्न पुग्यो ।

महात्मा गान्धी जस्तै पेरियारले पार्टीगत राजनीति गरेनन् । तर, करुणानिधि र उनका अग्रज नेता अन्नादुराई भने द्रविड मुन्नेत्र कडगम् (डीएमके) पार्टी स्थापना गरेर राजनीतिमा लागे । पहिलो मुख्यमन्त्री बनेको केही वर्षमै अन्नादुराईको सन् १९६९ मा निधन भयो र डीएमके पार्टीको नेतृत्व करुणानिधिको काँधमा आयो । उनी आफ्नो क्षमताले भ्याएसम्म सामाजिक न्याय र आत्मसम्मानमा आधारित ‘द्रविड आइडियोलोजी’ कार्यान्वयनमा जुटे ।

करुणानिधिको शुरुको पृष्ठभूमि पत्रकारिता, तत्पश्चात् रंगमञ्च र सिनेमा थियो । यी सब विधालाई उनले आफ्नो राजनीतिक सफलताका लागि प्रयोग गरे । एक त सफल पटकथा लेखक भएको कारण उनी आफैं कमाउने भए, त्यही कारण राजनीतिमा निर्धक्क लाग्न सके । उनको बोलाउने नाम नै ‘कलाईनार’ अर्थात् ‘कलाकार’ हुनपुग्यो । अर्कातिर, भाषणकलामा पनि निपुण उनले पार्टीको लागि वक्ता हुँदै जनमानसमा राम्रो पकड जमाए । एकपटक उनलाई कसैले ‘तेस्रो दर्जा’ भनी आरोप लगाउँदा उनले फ्याट्टै जवाफ दिए, “तेस्रो होइन महाशय, म त चौथो दर्जाको शूद्र पो परें, र यसैमा मलाई गर्व छ !”

पार्टीको ‘मुरासोली’ मुखपत्रमा करुणानिधि नियमित स्तम्भ लेख्थे, जसबाट आम कार्यकर्तासँग उनको संचार निरन्तर हुन्थ्यो । फिल्मको स्क्रिप्ट लेख्दा उनी दक्षिण भारतका मिथकलाई राजनीतिक रङ दिएर पेश गर्थे, यसरी डीएमके पार्टीको सन्देश सिनेमा हल मार्फत सर्वत्र पुग्थ्यो । फिल्म जगतलाई प्रयोग गर्ने क्रममा करुणानिधिले शिवाजी गणेशन् र एम.जी. रामचन्द्रन् दुवैलाई ‘स्टार’ र राजनीतिज्ञ बनाइदिए, आफ्नै खिलाफमा किन नहोस् ।

फिल्म, रंगमञ्च र पत्रकारिता त करुणानिधिका साधन थिए, उनको राजनीतिको सहयोगी यन्त्र । दशकौंसम्म तमिलनाडुको राजनीतिक नेतृत्वमा रहँदा उनले राज्यको ब्राह्मणप्रधान समाजमाझ बहिष्कृत समुदायलाई ठाउँ दिन प्रयास गरे । त्यस क्रममा खासगरी शिक्षा र सरकारी जागिरमा आरक्षणको व्यवस्था मिलाए, र बहिष्कृतभित्रका पनि बहिष्कृतलाई विशेष सहुलियत दिलाए ।

मुख्यमन्त्री छँदा करुणानिधिले सम्पत्तिमा छोरीको अधिकार सुनिश्चित गरे, कडाइका साथ भूमिसुधार लागू गरे, दलितलाई स्कूल र कलेज शिक्षामा सहुलियत दिलाए । राजनीतिक अधिकारतर्फ उनले विधानसभामा साधारण नागरिकले पनि जित्न सक्ने अवस्था निर्माण गरे, जसले गर्दा चियापसले, साइकल मेकानिक, हजाम र अन्य पेशाकर्मीहरू ‘एमएलए’ बने । आम जनतालाई पहुँच हुने गरी स्वास्थ्य बीमा उपलब्ध गराए, हातले तान्ने रिक्सालाई निषेध गरे, आदि ।

विश्लेषकहरूका अनुसार राजनीति गर्ने क्रममा करुणानिधिले धेरै गल्ती गरे पनि, तर उनमा आफूलाई तुरुन्तै सच्याउन सक्ने क्षमता थियो । उनको लोकरिझ्याइँप्रेरित राजनीति त्यतिबेला चुलियो, जब नवआगन्तुक नेता फिल्म नायिका जयललितासँग राजनीतिक संघर्ष गर्नुपर्‍यो । दुईबीचको वैमनस्यले सीमा नाघेपछि तमिल राजनीतिमा सौहार्दताको खडेरी देखियो । नयाँदिल्लीसँगको टकराव र प्रान्तभित्रको ‘मिस्क्याल्कूलेशन्’ का कारण करुणानिधि धेरै वर्ष राजनीतिक वनवासमा पनि बस्नुपर्‍यो, तर आफ्नो जनसम्पर्कका कारण दलभित्र उनी कहिल्यै कमजोर भएनन् ।

राष्ट्रिय राजनीतिक मैदानमा करुणानिधिले नैतिकता कम देखाए, आफ्नो प्रान्त तमिलनाडुको हित गर्ने नाममा । नयाँदिल्लीमा अग्रस्थानमा रहेका दक्षिणपन्थी होस् वा वामपन्थी, हिन्दूवादी होस् वा ‘सेक्यूलर’ जुनसुकै राजनीतिक शक्तिसँग पनि गठबन्धन सरकारमा बसेर केन्द्रीय मन्त्रिमण्डलमा आफ्ना मान्छे खटाउन तत्पर रहे । यसरी डीएमके दल इन्दिरा गान्धी, अटलविहारी वाजपेयी, राजीव गान्धी, वीपी सिंह र मनमोहन सिंह एक–एकको सरकारमा सामेल भयो ।

comments powered by Disqus

रमझम