३१ भदौ - ६ असोज २०७५ | 16-22 September 2018

‘सेवा प्रवेश बन्द गर्नु अतिवादी सोच हो’

Share:
  
निजामती सेवामा उपसचिव र सहसचिवको खुला प्रवेश रोक्ने सरकारको तयारीप्रति पूर्व मुख्य सचिव डा. विमल कोइराला भन्छन्, “खेलाँचीमा निर्णय गर्न लागेको देखियो।”

उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धाबाट हुने प्रवेश रोक्न सरकारले गरेको तयारीप्रति के भन्नुहुन्छ ?

सरकारी सेवामा रहेका भन्दा बाहिरका क्षमतावान् व्यक्ति पनि निजामती सेवामा आऊन् भनेर उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाको व्यवस्था गरिएको हो । तर, अपेक्षा गरिए अनुसार यसप्रति आकर्षण देखिएन । यसमा पुनर्विचार गर्ने विषयमा छलफल गरेर विकल्प सोच्न सकिन्थ्यो । तर, त्यतातिर नसोची बन्द नै गर्न लाग्नु अतिवादी सोच हो ।

निजामती सेवामा बाहिरी मानिसहरूको आकर्षण हुन नसक्नुको कारण के होला ?

उपसचिवले पाउने तलब सुविधा अत्यन्तै कम भयो । आकर्षण नहुनुको मुख्य कारण यही नै हो । यसबारे पनि पुनर्विचार गर्न सकिन्थ्यो ।

खुला प्रवेश रोक्दा कस्तो असर पर्छ ?

निजामती क्षेत्रमा प्रवेश गर्न उत्साहितहरूका लागि ढोका बन्द हुने भयो । निजामती क्षेत्रमा राम्रो विचार, ज्ञान र अध्ययनशीलताको खडेरी पर्छ । किनकि अध्ययनशील र ज्ञान भएका मानिस निजामती क्षेत्र भन्दा बाहिर धेरै छन् ।

प्रशासन सेवामा अन्य सेवाका व्यक्तिलाई पनि खुला गर्न लागिएको विषयलाई कसरी हेर्नुभएको छ ?

कुनै पनि पद्धतिप्रति पुनरावलोकन गर्नुपर्छ । अकाट्य भन्ने केही पनि हुँदैन । तर, अहिले निजामती क्षेत्रमा बहकावमा लागेर निर्णय गर्ने परिपाटी देखियो । विचार गरेर निर्णय गर्नुपथ्र्यो, खेलाँचीको भरमा निर्णय गर्न थालिएको छ ।

खेलाँची भन्नाले ?

सरकारले खुला रूपमा समूहमा छलफल गर्न रुचाएको देखिएन । आफैं सर्वज्ञानी हुँ भन्ने घमण्ड देखियो । यसरी चल्दैन । सबैको विचार लिनुपर्छ ।

comments powered by Disqus

रमझम