३१ भदौ - ६ असोज २०७५ | 16-22 September 2018

धुलिखेल नगरपालिका विकासमा जनअपनत्व

Share:
  
- मुकेश पोखरेल
चर्को कर असुली लगायतका कुराले स्थानीय सरकारहरू बदनाम बनिरहँदा काभ्रेको धुलिखेल नगरपालिकाले उपभोत्ता समिति मार्फत विकासमा जनउत्साह बढाइरहेको छ।

सौजन्यः लक्ष्मी खत्री
भट्टेडाँडा मानेभञ्याङ सडक खण्डमा गरिएको पीचमा सघाउँदै स्थानीय।
काभ्रेको धुलिखेल नगरपालिका–८ मानेडाँडाकी देवकी खत्रीले भट्टेडाँडादेखि लामीडाँडाको सडक पिच गर्न एक ट्याक्टर दाउरा निःशुल्क उपलब्ध गराइन् । त्यसैगरी धुलिखेल नगरपालिका–१० शारदा बतासेका लेकबहादुर राउतले बीपी राजमार्गस्थित माझ्पीपलबोटस्थित सडक ढलान भएपछि दैनिक पानी हालेर सघाए । सोही ठाउँका ट्याक्टर धनी कृष्णमुरारि पराजुलीले पनि निःशुल्क रूपमा सामान ढुवानी गरेर बाटो निर्माणमा सहयोग गरे ।

धुलिखेल नगरपालिकाभित्र भएका विकास–निर्माणमा सहयोग गर्ने खत्री, राउत र पराजुली त उदाहरण मात्र हुन् । उनीहरू जस्तै थुप्रैले सडक, पार्क र खानेपानी आयोजनामा स्वस्फूर्त रूपमा सहयोग गर्दै आएका छन् ।

धुलिखेल–७ को सरस्वती बजारमा पार्क निर्माणका लागि पनि स्थानीयले हात बढाए । मोहन श्रेष्ठले माटो सम्याउन ३५ घण्टाको लागि रोलर मेशीन दिए भने ईश्वरलाल मानन्धरले एक टिप्पर ढुंगा र स्वस्तिक व्याञ्जुले एक टिप्पर बालुवा सहयोग गरे ।

आफ्नो ठाउँको विकास आफैं गर्नुपर्छ भनेर आफूहरूले सहयोग गरेको मानेडाँडाकी खत्री बताउँछिन् । “नगरपालिकाले पनि जनताको सहभागिता विनाको विकास राम्रो हुन्न भन्यो, आफ्नो ठाउँको विकासमा योगदान गर्नुपर्छ भनेर सहयोग गर्यौं”, उनी भन्छिन् ।

बढ्यो अपनत्व

धुलिखेल नगरपालिकाले उपभोक्ता मार्फत सम्भव हुने कामको जिम्मा स्थानीय समूहलाई दिएपछि विकास–निर्माणप्रति स्थानीयको अपनत्व बढेको छ । त्यही भएर उपभोक्ता समिति मार्फत भएका काममा स्थानीयको स्वस्फूर्त हातेमालो देखिएको हो । “ठेकेदारलाई काम दिएको भए नाफा खाने काममा हामी किन लाग्ने भनेर चासो नै हुँदैनथ्यो”, धुलिखेल–१० का लेकबहादुर राउत भन्छन्, “उपभोक्ता समितिले गर्ने भनेपछि आफ्नै जिम्माको काम ठान्यौं र हातेमालो गरेर जुट्यौं ।”

धुलिखेल नगरपालिकाका अनुसार, आर्थिक वर्ष २०७४/७५ मा रु.१ लाखदेखि रु.१ करोडसम्मका २४७ योजनाका काम उपभोक्ता समिति मार्फत गरिए । बीपी राजमार्ग शारदा–बतासे उपभोक्ता सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्रुव थापा सडक नजिकका स्थानीयहरूले आफ्नो घरको जस्तै काम ठानेर सहयोग गरेको बताउँछन् । उनी भन्छन्, “स्थानीयले सहयोग नगरेको भए त काम गर्न गाह्रो हुन्थ्यो, सबैको साथ र सहयोगले सफल भयौं ।”

अध्यक्ष थापाका अनुसार, बीपी राजमार्गबाट शारदा बतासे हुँदै इँटे नमोबुद्ध सडकका चार ठाउँमा उपभोक्ता समितिबाट काम गरिएको हो । बीपी राजमार्गसँग जोडिएका ठाउँमा १२० मिटर, माथिल्लो र माझ् पीपलबोटमा ७५/७५ मिटर, सुडीखोलामा १२० र ८० मिटर गरी २०० मिटर तथा वडा नम्बर १२ मा १०० मिटर सडक ढलानका लागि रु.१ करोडको योजना थियो । नगरपालिकाले उपभोक्ता समिति मार्फत काम गर्ने भनेपछि वडाभित्रका स्थानीयहरूको भेला बोलाई उपभोक्ता समिति बनाएर काम थालेको उनी बताउँछन् । “आवश्यक पर्ने सबै सामान हामीले आफैं किनेर ल्यायौं र दैनिक ज्यालादारीमा काम लगायौं” थापा भन्छन्, “किन्न लागेको सामानको बारेमा पनि भेला बोलाएर जानकारी गरायौं र हामीलाई प्राप्त कोटेशनमा भन्दा सस्तोमा सामान ल्याउने कोही छ कि भनेर सार्वजनिक आह्वान पनि गर्यौं । कसैले पनि प्रश्न गर्ने ठाउँ राखेनौं ।” खर्चको हिसाब वडा भेलामा सार्वजनिक गरेको थापा बताउँछन् ।

उपभोक्ता समिति मार्फत काम गर्दा सबै स्थानीयले सहयोग गरेको अनुभव छ, भट्टेडाँडा–काभ्रेभञ्ज्याङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राम लामाको । “आर्थिक पारदर्शिता अपनाएपछि विकास–निर्माणमा स्वस्फूर्त रूपमा सहयोग पाइँदोरहेछ”, लामा भन्छन् । उनका अनुसार भट्टेडाँडादेखि काभ्रेभञ्ज्याङतर्फ ४ मिटर चौडाइ र २५ एमएम मोटाइको साढे ३०० मिटर सडक पिच गर्न धुलिखेल नगरपालिकाले रु.८१ लाख छुट्याएको थियो । तर, उक्त रकमले साढे ९०० मिटर सडक पिच गरिनुका साथै थप तीन किलोमिटर खण्ड चौडा पनि भएको छ ।

नगरपालिकाले काम जिम्मा दिएपछि कुताल–रविओपी–देवीटार मोटरबाटो निर्माणमा पनि स्थानीयको अपनत्व देखियो । नगरपालिकाले रु.५२ लाख छुट्याएको उक्त योजनामा सडक किनारमा नालीको ‘इस्टिमेट’ गरिएको थिएन । दुई किलोमिटर सडक विस्तारका लागि प्राप्त रकमबाट उपभोक्ता समितिले तीन किलोमिटर सडक विस्तार गर्दै नाली समेत निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष बद्रीप्रसाद बडाल बताउँछन् । “स्थानीयले स्वस्फूर्त रूपमा जुटेर जालीमा ढुंगा भर्ने र नाली निर्माणमा सहयोग गरे, जसबाट योजना भन्दा पनि बढी काम गर्न हामी सफल भयौं”, बडाल भन्छन् ।

नगरपालिकाले इस्टिमेट गरेभन्दा धेरै काम गरेपछि ठेकेदारबाट धम्की आएको उपभोक्ता समितिका पदाधिकारीहरू बताउँछन् । भट्टेडाँडा–काभ्रेभञ्ज्याङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राम लामा, नगरपालिकाको इस्टिमेट भन्दा धेरै काम गरे आफूहरूलाई गाह्रो हुने भन्दै केही निर्माण व्यवसायीले चेतावनी दिएको बताउँछन् । यस्तै अनुभव छ, बद्रीप्रसाद बडाल र ध्रुव थापाको पनि । “तोकिए भन्दा धेरै काम नगर्नुस् भनेर निर्माण व्यवसायीले औंला उठाए, तर हामीले सुनेनौं”, बडाल भन्छन् ।

काठमाडौं सहितका ठूला महानगरमा जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको आलोचना भइरहँदा धुलिखेलका गाउँबस्तीमा सानो अंशको बजेट पुगे पनि त्यसबाट भएका कामले स्थानीय सरकारप्रति जनविश्वास बढेको छ । धुलिखेल–८ की लक्ष्मी खत्री भन्छिन्, “केही समस्या परे भने अहिले भन्ने ठाउँ पाएका छौं ।”

‘बदनाम गराइयो’

विकास–निर्माणमा स्थानीयलाई सहभागी गराउँदा जनताले अपनत्व लिने र ठोस प्रतिफल मिल्ने भएकाले जनसहभागिताको अवधारणा ल्याइएको हो । सरकारका पूर्व मुख्यसचिव डा. विमल कोइराला विकासमा हुने जनसहभागिताले त्यसको संरक्षण र स्वामित्व ग्रहण पनि उनीहरूले नै गर्ने भएकाले त्यो विकास दिगो हुने बताउँछन् ।

“सामुदायिक वन र सामुदायिक खानेपानी जनसहभागितामा भएका सफल उदाहरण हुन्”, कोइराला भन्छन् । तर, राजनीतिक नेतृत्वले उपभोक्ता समितिलाई मनोमानी गर्ने मौका दिएर जनसहभागिताको अवधारणालाई बदनाम गराइएको उनको धारणा छ । हुन पनि पछिल्लो डेढ दशकको राजनीतिक अस्थिरताको आडमा उपभोक्ता समिति भ्रष्टाचारको अखडा बने । जसका कारण उपभोक्ता समितिका पदाधिकारीलाई फरक ढंगले हेरिन्छ । उपभोक्ता समितिले काम लिएर ठेक्का दिने गर्दा विकृति निम्तिएको हो । अहिले पनि धेरै ठाउँमा उपभोक्ता समिति मार्फत गर्ने साना काम पनि ठेकेदारकै हातमा पुग्छन् ।

पूर्व मुख्यसचिव कोइराला उपभोक्ता समिति ठेकेदारका रूपमा विकास भएकाले राम्रो उद्देश्यले अघि सारिएका अवधारणामा पनि औंला उठेको बताउँछन् । उनी भन्छन्, “एउटै गल्तीका कारण विकासको कामलाई जनताबाट छुटाउन हुँदैन, कमजोरी भएका ठाउँमा सुधार गर्दै जानुपर्छ ।”

सन् १९६० पछि विकासमा फड्को मारेका दक्षिण कोरिया तथा चीनले पनि स्थानीय तहको विकासमा जनसहभागितालाई प्राथमिकता दिएका थिए ।

दक्षिण कोरियाको विश्वविद्यालयमा प्राध्यापन गरेका नवराज पन्तका अनुसार, सन् १९७० को दशकमा कोरियाले स्थानीय समूहलाई सिमेन्ट र फलामे डण्डी निःशुल्क दिएर श्रममा स्थानीयलाई सहभागी गराएको थियो । “स्थानीयलाई सहभागी गराउँदा स्वामित्व ग्रहण गर्ने र विकास दिगो हुने सोच राखेर कोरियाले त्यो मोडेलमा जोड दिएको थियो”, पन्त भन्छन् । पछि चीनले पनि कोरियाको मोडेल पछ्यायो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु उपभोक्ता मार्फत गर्न सकिने काम पनि ठेक्कामा लगाउँदा समयमा पूरा नहुने र झरा टार्ने काम मात्र हुने भएकाले दिगो विकासका लागि जनसहभागिता गराइएको बताउँछन् । “उपभोक्ता समितिबाट गरेका कामको नतिजा राम्रो आएको छ” उनी भन्छन्, “कमी–कमजोरी देखिएका ठाउँमा सुधार गर्दै जान्छौं ।”

comments powered by Disqus

रमझम