२३ भदौ २०७० | 8 September 2013

छाप्रोको प्रतिभा

Share:
  
- गोपाल गड्तौला, झापा

सन् १९९२ मा आठ वर्षको हुँदा बाबुलाई समाउँदै आँगनबाट बाहिरिंदाको आफ्नो अवस्थालाई प्रह्लाद गुरुङ ठेगाना नलेखी हुलाकमा हालिएको चिट्ठीसँग तुलना गर्छन् । दक्षिण भूटानमा पर्ने चिराङ जिल्लाको गोपिनी ब्लकको किसान परिवारमा जन्मिएका प्रह्लादले साउँ अक्षर के छिचोलेका थिए, एकाएक धूले स्कूल बन्द भयो, गाउँमा सरकारी सेनाको बिगबिगी चल्यो । लोग्नेमान्छे जति देशद्रोहको आरोपमा धमाधम जेल पर्न थाले, महिलाहरूलाई सतीत्व जोगाउन धौ–धौ पर्न थाल्यो ।

यो हालतमा गाउँ छाड्दा आफूले अक्षर सिकेको खरीपाटी टिप्न भ्याएका प्रह्लादले त्यसपछिका १७ वर्ष पूर्वी झापाको गोलधापस्थित भूटानी शरणार्थी शिविरको छाप्रोमा विताए । अहिलेको चाहिं उनको ठेगाना अमेरिकाको क्यालिफोर्निया राज्यको १५१४ युनिट, अपार्टमेन्ट नम्बर ९ हो । स्नातक तहको अपुरो पढाइ र कला साधना छोडेर पुनर्वासमा तीन वर्षअघि क्यालिफोर्निया पुगेका उनीसँग अहिले अमेरिकाको ‘पर्मनेन्ट रेसिडेन्ट कार्ड’ छ । शिविरमा छँदा प्रह्लादले पढाइसँगै मन मिल्ने साथीहरू भेला पारेर इन्ष्टिच्यूट अफ फाइन एण्ड कमर्सियल आर्टस् (इफका–भूटान) स्थापना गरेका थिए ।

नयाँ संसार, नयाँ ढोका

आङ ढाक्ने कपडाको अभाव, आधापेट खाएर बस्नुपर्ने अवस्था र झुप्रोकै बासमा पनि प्रह्लाद इफका मार्फत शिविरहरूमा चित्रकला प्रतियोगिता, नाटक, कवि गोष्ठी आदि आयोजना गर्थे । त्यही आधारमा अहिले फाइन आर्टस्, डिजाइन र फिल्म मेकिङमा स्नातकोत्तर गरिरहेका प्रह्लाद सियाटलस्थित क्रनिस विश्वविद्यालयका १८ हजार विद्यार्थीमध्ये नेपाली मूलका एक्लो विद्यार्थी हुन् । “तीनवर्षे कोर्षका लागि वार्षिक ९५ हजार डलरको छात्रवृत्तिले भविष्यप्रति पूर्ण आशावादी बनाएको छ”, दुई साताको विदामा हालै दमक आएका प्रह्लाद भन्छन् ।

प्रह्लाद नेपालमा बनिरहेको चलचित्र देश खोज्दै जाँदा को कला निर्देशक पनि हुन् । उनी भूटानी शरणार्थीहरूको यथार्थ कथा भन्ने यो फिल्मलाई सन्फ्रान्सिस्कोमा हुन लागेको एशियन–अमेरिकन फिल्म फेस्टिबलमा समावेश गराउने सुरमा छन् ।

comments powered by Disqus

रमझम