३१ भदौ - ६ असोज २०७५ | 16-22 September 2018

सामसङ को ‘ग्यालेक्सी नोट–९’

Share:
  

सामसङले ग्यालेक्सी नोट–९ र ग्यालेक्सी स्मार्ट वाच हालै सार्वजनिक गरेको छ ।

सामसङ का ग्लोबल अध्यक्ष एवम् सीईओ डीजे कोहले नयाँदिल्लीमा आयोजित एक समारोहमा दक्षिणपूर्वी एशियाका लागि नोट–९ सार्वजनिक गरेका हुन् । ग्यालेक्सी नोट सिरिजको सातौं पुस्ताको वार्षिकोत्सव मनाउनु एक महीनाअघि सामसङ ले बहुप्रतीक्षित ग्यालेक्सी नोट–९ र स्मार्ट वाच सार्वजनिक गरेको हो ।

मोबाइल फोनको फ्याब्लेट कन्सेप्टको आविष्कारका लागि परिचित दक्षिण कोरियाली स्मार्टफोन ब्रान्ड सामसङ ले विशेष गरी व्यावसायिक र कर्पोरेट प्रयोगकर्तालाई लक्षित गर्दै परिष्कृत संस्करणको आठौं मोडेल ग्यालेक्सी नोट–९ सार्वजनिक गरेको हो ।

प्रिमियम स्मार्टफोन ग्यालेक्सी नोट–९ ले प्रयोगकर्ताको व्यस्त जीवनशैलीमा काम र मनोरञ्जनबीच तालमेल मिलाउने कम्पनीको दाबी छ ।

१२८ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको यो फोन ६ जीबी र ८ जीबी र्‍याममा उपलब्ध छ । यसमा एक टेराबाइटसम्मको माइक्रो एसडी कार्ड राख्न मिल्छ । १० एनएम प्रोसेसर, वाटर कार्बन कुलिङ सिस्टम जडित यो फोन पानीमा डुब्दा समेत सुरक्षित रहन्छ । यसमा रहेको अन–डिभाइस एआईमा आधारित अल्गोरिदमले गर्दा डाउनलोडिङ र स्ट्रिमिङ छिटो छ । फोनको लम्बाइ ६.४ इन्च छ ।

यसमा ग्यालेक्सी फोन फ्ल्यागसिपमा अहिलेसम्मको सबैभन्दा शक्तिशाली एमएएच ४,००० ब्याट्री जडित छ । यसअघि सामसङ नोट–७ का ब्याट्रीमा समस्या रहेको गुनासो आएकोले यसपटक लामो अनुसन्धान र परीक्षणपछि सुरक्षित र टिकाउ ब्याट्री राखिएको छ ।

ब्याट्रीको आयुको विषयमा केही प्रयोगकर्ताका लागि नोट–९ नयाँ नलाग्न सक्छ, किनभने चीनको हुआवे र शाओमी कम्पनीले एक वर्षअघि नै यसमा अग्रता हासिल गरिसकेका छन् । यद्यपि ग्यालेक्सी नोट शृङ्खलाका प्रशंसकहरू अरुभन्दा फरक यो फोनको स्टाइलस पेनका कारण उत्साहित नै हुनेछन् ।

त्यसो त, एस–पेन सिग्नेचर फिचर विगतका नोट शृङ्खलामा पनि थियो । तर, लेखन र ड्रइङका लागि शुरु गरिएको यो उपकरण अहिले शक्तिशाली डिभाइसमा रुपान्तरित भइसकेको छ, जसले स्मार्टफोनको क्षमता ह्वात्तै बढाएको छ । पहिलो पटक ब्लूटूथ एलई वायरलेस टेक्नोलोजीमा आधारित यो स्मार्टफोनमा एप्स र अन्य फिचर सञ्चालन गर्न पेनलाई रिमोट कन्ट्रोल जस्तै प्रयोग गर्न सकिन्छ ।

४० सेकेन्ड चार्ज गर्दा २०० क्लिक फोटो खिच्ने वा ३० मिनटसम्म चल्ने यो फोनबाट प्रयोगकर्ताले तस्वीर खिच्न, स्लाइड प्रेजेन्टेसन, गेम खेल्न र अडियो–भिडियो रेकर्डिङ गर्ने सुविधा छ । एप डेभलपरका लागि पनि यो फोन उपयुक्त छ ।

यसमा सामसङ डेक्स फिचर छ, जसले डेस्कटपको जस्तो सहज अनुभूति गराउँछ । ठूलो स्क्रिनले फोटो/भिडियो एडिट गर्न, प्रेजेन्टेसनको काम गर्न, भिडियो हेर्न निकै सहज छ भने टेलिभिजन वा मोनिटरमा जोडेर डुअल स्क्रिनको मजा लिन पनि सकिन्छ । यसको अत्याधुनिक साउण्ड सिस्टमले चारैतिरबाट आवाज आइरहे जस्तो अनुभूति दिन्छ ।

यो फोनमा जडित क्यामरामा सिन अप्टिमाइजरको विशेषता छ, जसले फोटो खिच्दा फूल, सूर्यास्त, खाना, चराचुरुङ्गी, जनावर जस्ता वस्तुको पहिचान सहजै गर्छ । यसमा रहेको फ्लअ डिटेक्टरले तस्वीरमा सम्भावित कुनै त्रुटिको पहिचान र विश्लेषण गर्ने क्षमता राख्छ । झिम्केको आँखा, ब्लर इमेजलाई समेत यसले पहिचान गर्छ भने कम प्रकाशमा पनि स्पष्ट तस्वीर खिच्न सक्छ ।

ग्यालेक्सी नोट– ९ को सामसङ फ्ल्यागसिपकै महँगो मूल्य रु.१ लाख ९ हजार ९०० तोकिएको छ । तर, यसको खरीदमा कम्पनीले दिने विभिन्न अफर र यसको विशेषताका कारण ग्राहकहरुले राहत महसूस गर्नेछन् ।

सुरेन्द्र शर्मा, नयाँदिल्लीमा

comments powered by Disqus

रमझम