२३ भदौ २०७० | 8 September 2013

तीजकी गायिका

Share:
  
- ऋषिराम कट्टेल

हिन्दू नारीको चाड हरितालिका तीजको रौनक पछिल्ला केही वर्षदेखि तीज आउनुभन्दा महीना दिनअघि नै शुरु हुन थालेको छ । फेशन, खानपानसँगै तीज छिटो शुरु हुने कारण हो, गीत–संगीत । महिलाहरूले तीजका गीत पर्खिरहेका हुन्छन् भने गायिकाहरू पनि आफ्नो सिर्जना प्रस्तुत गर्न तीज कुरिरहेका हुन्छन् । तीजमा विशेष सिर्जना प्रस्तुत गर्ने गायिकामा पर्छिन्, सुनिता दुलाल पनि । अरु गायिकाभन्दा फरक पहिचान बनाएकी सुनिता भन्छिन्, “तीजकै गीतबाट गायिकाको रुपमा चिनिएकाले मेरो पहिचानसँग तीज जोडिएको छ ।”

चेलीको माइतीघर नामक तीजको अल्बम लिएर सात वर्षअघि नेपाली सांगीतिक क्षेत्रमा आएकी जलवीरे सिन्धुपाल्चोककी उनले हरेक वर्ष तीजका अल्बम निकालेकी छिन् । फेरि आयो माइत जाने दिन, अब त मैले नि झुम्का लगाउँछु, उनको लागि व्रत बसेको, तीजको दर, मेरो हजुर जस्ता अल्बम निकालेकी उनले २८ साउनमा यो वर्षको तीजका लागि आयो हरितालिका नामक अल्बम ल्याएकी छिन् । “अरु वेला अल्बम ननिकाले पनि तीजका अल्बम हरेक वर्ष निकाल्ने विचार गरेकी छु ।’

सुनिता लोकदोहोरीकी पनि चल्तीकी गायिका हुन् । मेरै दिलमा फुल्यौ निरमाया, हो कि हैन सानु जस्ता लोकप्रिय गीतकी यी गायिकाले अमेरिका, बेलायत, जापान, हङकङ लगायतका दुई दर्जन मुलुकमा सांगीतिक प्रस्तुति पस्किसकेकी छन् । आउँदो तीजको सांगीतिक कार्यक्रममा जापान र बेलायत जाने तयारीमा रहेकी उनी भन्छिन्, “तीज मेरो लागि ठूलो पर्व किन हो भने अरु वेलाभन्दा मेरो लागि यो वेला कार्यक्रम बढी पर्छ ।”

comments powered by Disqus

रमझम