भनिन्छ, चिउरी पाक्ने याममा चेपाङका अनुहारमा खुशी छाउँछ । चेपाङले छोरीलाई दाइजोमा चिउरीको बिरुवा दिन्छन् भन्ने त सामान्यज्ञानको प्रश्नोत्तरमै समेटिएको विषय हो । उनीहरू चिउरीको पातबाट बनेको टपरीमा भोजभतेर गर्छन् । चिउरीकै फलबाट रक्सी बनाउँछन् । चिउरीको बीउबाट घ्यू बनाएर त्यसैको भुटुनमा तरकारी पकाउँछन् । टुकी बाल्नुपर्ने कतिपय ठाउँमा यसकै घ्यूबाट बत्ती बालिन्छ ।
चेपाङ भन्दा पनि वन क्षेत्रमा फिरन्ते भएर हिंड्ने राउटेहरूको जीवनचर्या चिउरीसँग अझ गजबले गाँसिएको हुनुपर्छ । चिउरीको फल बर्खामा पाक्छ । यसलाई असारे, साउने र भदौरे चिउरी भन्ने गरेको पाइन्छ । पूर्वी तथा मध्य नेपालको तुलनामा पश्चिम नेपालमा चिउरी बढी मात्रामा पाइन्छ ।
चिउरी २०–२५ मिटरसम्म अग्लो हुने रुख वर्गको वनस्पति हो । समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा पाइने यो वनस्पतिको वैज्ञानिक नाम ‘डिप्लोकनेमा ब्युटीरेसी’ हो । गाउँघरमा चिउरीको बीउबाट घ्यू बनाइन्छ । यसैले एशिया आएका अंग्रेजहरूले यसलाई ‘इन्डियन बटर ट्री’ भन्ने नाम दिए । वनस्पतिबाट बन्ने घ्यू भएकाले पूजाआजामा बढी प्रयोग गरिन्छ । हिजोआज काठमाडौं उपत्यकाका गुम्बाहरूमा गाईभैंसीको दूधबाट बनाइएको घ्यू भन्दा चिउरीको घ्यू बढी बाल्ने गरिन्छ ।
चिउरी मानिसका लागि मात्र उपयोगी वनस्पति होइन । यसको फूलमा मौरी असाध्यै झुम्मिन्छ । तथ्यांक अनुसार चिउरीको फूलको रसमा चिनीको मात्रा ४२ प्रतिशत हुन्छ । यसैले चिउरीलाई मह उत्पादनको महत्वपूर्ण स्रोत मानिन्छ । मौरी पालकहरू मौरीका घार चिउरी पाइने जंगलमा सार्ने गर्छन् । चुरे क्षेत्रमा पाइने स–साना चराका लागि पनि चिउरीको फूल आकर्षणको केन्द्र हुन्छ । यसको फल पाक्दा चमेराहरू झुण्डमै आउँछन् ।
सडक क्षेत्रमा चिउरी रोपौं
सडक विस्तारका कारण पहाडी क्षेत्रमा भू–क्षय भएर पहिरोको समस्या बढ्दो छ । पहिरो नियन्त्रण गर्न विशेषतः चुरे क्षेत्रमा चिउरी रोप्नु उपयुक्त हुन्छ । किनभने चिउरीलाई मलिलो माटो र हेरचाह चाहिन्न । ढुंगा भएको रुखो तथा भिरालो जमीनमा यो बढी सप्रन्छ । यसको अर्को विशेषता, चैत–वैशाखमा अन्य बोटबिरुवाको पात झर्ने मौसममा यसको बोट हरियो हुन्छ । यसको पात ३५ सेन्टिमिटर लामो र १७ सेन्टिमिटरसम्म चौडा हुन्छ । यसको पात गाईबस्तुले मीठो मानेर खान्छन् । हिजोआज खासगरी बाख्रा पालनका लागि चिउरी उपयोगी मानिएको छ ।
हाम्रा शहरी क्षेत्रका सडकहरूमा प्रायः मसला, धुपी, कपुर आदि विदेशी रुख रोपिन्छ । काठमाडौं उपत्यकामा भने प्रशस्त मात्रामा ज्याकराण्डा लगाइएको छ । यी रुख राम्रा देखिए पनि हाम्रा वनस्पति नभई विदेशी मूलका हुन् । सडक खण्डमा विदेशी मूलका रुख रोप्ने प्रचलन घटाई आफ्नै ठाउँका चिउरी जस्ता वनस्पति रोप्नु राम्रो हो ।
विकास–निर्माणका काम थाल्नुअघि वातावरणीय प्रभाव न्यूनीकरण गर्न अध्ययन प्रतिवेदन बुझाउने प्रचलन छ । विकास आयोजनाहरूले रुख काटिएबापत नयाँ बिरुवा रोप्नुपर्ने हुन्छ । हिजोआज विकास–निर्माणमा एउटा रुख वा मुठीभर काण्ड भएको बिरुवा विनाश भए यसको साटो २५ वटा बिरुवा रोप्नुपर्ने र तिनलाई हुर्काउन पहल गर्नुपर्ने प्रावधान छ ।
वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनमा यति संख्यामा रुख काटिन्छन् र यति संख्यामा रुख रोप्नुपर्छ भन्ने लेखिएको हुनुपर्छ । तर, उल्लिखित प्रावधान विकास–निर्माण गर्ने प्रायः कम्पनी वा निकायले कार्यान्वयन गर्दैनन् । अनुगमन गर्ने व्यक्तिहरूलाई खुशी बनाएर प्रतिवेदन अनुरुप बिरुवा रोपिएको र हुर्काइएको भनी कागजी प्रगति विवरण पेश गर्ने चलन छ । यसबारे स्थानीय क्षेत्रका जनता सचेत हुनुपर्ने हो । तर, उनीहरूलाई यो प्रावधानबारे कमै जानकारी भएकोले विकासे कम्पनीहरूले उन्मुक्ति पाएका छन् ।
अब खासगरी चुरे तथा मध्य पहाडी क्षेत्रमा बनिरहेका सडक खण्डहरूमा केही वर्ष चिउरी रोप्नुपर्ने प्रावधान बनाउँदा फलदायी हुन्छ । सरकारले चुरे क्षेत्रका सडक र खोला छेउछाउ, भिराला ढुंगे जमीनमा चिउरी रोप्ने दीर्घकालीन कार्यक्रम ल्याउनु उपयुक्त हुन्छ ।
बहुउपयोगी घ्यू
चिउरीको बोटको औसत आयु ५० वर्ष मानिन्छ । ‘फरेस्ट रिसर्च इन्ष्टिच्यूट युनिभर्सिटी अफ इन्डिया’ का अजय ठाकुर र आरती कुँवरको सन् २०१५ मा प्रकाशित एक लेख अनुसार करीब १५ वर्ष उमेरको चिउरीको बोटमा अत्यधिक फल लाग्छ । चिउरीको बीउबाट घ्यू उत्पादन हुन्छ । बीउ १.८ देखि २.० सेन्टिमिटरसम्म लामो बदाम आकारका हुन्छन् । वनस्पतिविद् डा. भक्तबहादुर रस्कोटीका अनुसार, एक पाथी अर्थात् चार किलो बीउबाट झण्डै दुई किलो घ्यू उत्पादन हुन्छ । एउटा बोटबाट औसत ५० किलो बीउ उत्पादन हुन्छ ।
घ्यू उत्पादनका लागि बीउ सफा गरेर करीब एक सातासम्म सुकाइन्छ र ढिकीमा टुक्र्याइन्छ । त्यसपछि टुक्रा–टुक्रा बीउलाई ढकियामा राखिन्छ र ढकियालाई छोपेर ठूलो खड्कुलो वा फोसीमाथि राखेर बाफमा पकाइन्छ । बीउ पाकेको र तातै अवस्थामा काठको कोलमा पेलिन्छ । कोलबाट तेल निस्कन्छ र त्यो तेल करीब एक घण्टापछि घ्यूमा परिणत हुन्छ । घ्यू सेतो, सुगन्धित र स्वादिलो हुन्छ । यो घ्यूको सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने अनुसन्धानात्मक लेखहरूमा लेखिएका छन् ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा प्रायः घरैपिच्छे चिउरीको घ्यूबाट तरकारी पकाउने प्रचलन रहेको डा. रस्कोटी बताउँछन् । त्यहाँको जंगलमा एक घण्टाको पैदल दूरीको वृत्तमा चिउरीका करीब एक हजार रुख भेटिन्छन् । अर्घाखाँचीदेखि पश्चिम चुरे रहेका जिल्लाहरूमा चिउरी अझ बढी मात्रामा पाइन्छ । डडेलधुरा, बैतडी, डोटी र अछाममा चिउरीको रुख प्रशस्त पाइने जानकारी सामुदायिक वन उपभोक्ता महासंघ–अछामले सन् २०१७ मा तयार पारेको एक अभिलेखमा उल्लेख छ ।
चिउरीको घ्यू अर्घाखाँचीमा प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्ममा बिक्री हुन्छ । भारतको सिक्किममा चिउरीको घ्यू गाईको घ्यूको मूल्य भन्दा करीब ३० प्रतिशत कम छ । साबुन, शरीरमा लगाइने लोसन, कपाल मुलायम बनाउने वस्तु आदि उत्पादनमा चिउरीको घ्यू प्रयोग हुन्छ । चकलेट, बिस्कुट आदि उत्पादनमा पनि यो घ्यू प्रयोग हुन्छ ।
चिउरीको बीउ पेलेर निस्कने पिना महत्वपूर्ण कम्पोष्ट मल मानिन्छ । यसको प्रयोगबाट विशेषतः जमीनभित्रका कमिला मर्छन् । यसको पिना आलु रोप्दा प्रयोग गरे आलुका दाना कमिलाबाट बचेर सग्ला उत्पादन हुन्छन् । यसैगरी पिनाको पीठोलाई तरकारी बालीमा विषादीको रुपमा पनि प्रयोग गरिन्छ । गाउँघरतिर यसको पिनालाई धूलो बनाएर खोलामा माछा मार्न प्रयोग गरिन्छ । स–साना खोलामा यसको पीठो छर्दा माछाहरू लट्ठिन्छन् ।
लघु उद्यमको सम्भावना
पश्चिम नेपालका विभिन्न संघसंस्थाले बहु सरोकारवाला वन परियोजना (एम.एस.एफ.पी.)बाट सल्यान, डोटी लगायतका जिल्लाहरूमा चिउरीबाट विभिन्न उत्पादनको कार्यक्रम सन् २०१४/१५ ताका शुरु गरेका थिए । सो परियोजनाले मानव संसाधन तयार गर्नेदेखि आवश्यक पर्ने सबै मिसिनरी औजार उपलब्ध गराएपछि घ्यू, साबुन, मैनबत्ती आदि उत्पादन शुरु भएका थिए । तर, दातृ निकाय र नेपाल सरकारका प्रतिनिधिबीच समन्वय हुन नसक्दा परियोजनाको पहिलो चरणको कार्यक्रम बीचैमा बन्द भयो ।
सरकारले चिउरीलाई लघु उद्यमको रुपमा विकास गर्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । लघु उद्यम सञ्चालन भएमा खेर गइरहेको स्रोत–साधनबाट मनग्य आयआर्जन हुनेछ ।