२३ भदौ २०७० | 8 September 2013

नयाँ अवतारमा हरिवंश

Share:
  
- अनुशील

टेलिभिजन, फिल्म र रंगमञ्चमा दर्शकलाई हँसाउने हरिवंश आचार्य अरुका कथा–व्यथा सुनेर धेरै पटक रोए, जुन २२ भदौदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मैले जे भोगें’ कार्यक्रममा देखिनेछ । यो कार्यक्रमका लागि उनी देशका दुर्गम गाउँहरूमा पुगेर आम नेपालीका कथा सुने । सेभ द चिल्ड्रेनको सहयोगमा एन्टेना फाउन्डेसनले तयार पारेको यो कार्यक्रम ८ श्रृंखलाको छ ।

कार्यक्रमले छाउपडी प्रथा, बाल यौन दुव्र्यवहार, कुपोषण, बालविवाह, बाल हिंसा, अभिभावकविहीन बालबालिका, अपाङ्गता, शिक्षा आदि विषय समेटेको छ । कार्यक्रममा हरिवंश अन्तर्वार्ताकारको रुपमा देखिंदैछन् । अहिलेसम्म हजारौं अन्तर्वार्ता दिएका उनले पहिलोपल्ट अरुको अन्तर्वार्ता लिएर, उनीहरुको कुरा सुनेर रोएको बताए । बलात्कारमा परेकी उदयपुरकी एक बालिकाले आफूले जन्माएको बच्चाको बाबु र आफ्नो बाबु एउटै भएको अकल्पनीय पीडा सुनाउँदा हरिवंश भक्कानिएका छन् । “पहिले मलाई आफ्नै दुःखहरू ठूलो लाग्थ्यो”, हरिवंश भन्छन्, “आम नेपालीको पीडा सुनेपछि मेरा दुःख त केही पनि हैन रहेछ भन्ने लाग्यो ।”

हरिवंशले अब कहिल्यै दुःखी नहुने प्रण गरेका छन् । कार्यक्रमले संक्रमणको साङ्लोमा जकडिएको नेपाली समाजमा आशा र साहस बढाउने अपेक्षा उनको छ ।

comments powered by Disqus

रमझम