भारतकै जस्तै भव्य स्वागतको अपेक्षा गर्दै पुष्पकमल दाहालले ३० भदौमा चीनको भ्रमण गरे । चीन भ्रमणमा उनको अपेक्षा थियो, राष्ट्रपति सी जिनफिङसँग भेटेर आफ्नो भावी योजना र भारतसँगको आफ्नो सम्बन्धबारे धारणा राख्ने । त्यसका लागि चीन निकट मानिएका सभामुख कृष्णबहादुर महरा, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र चीन निकट पत्रकारलाई परिचालन गरे । यही कारण भ्रमणमा निस्कने क्रममा त्रिभुवन विमानस्थलमा उनले चिनियाँ उच्चस्तरीय नेताहरूसँग भेट हुने ढुक्कसाथ बताएका थिए ।
तर, राष्ट्रपति सीको समय दाहालको लागि जुरेन । दाहाल भ्रमणमा हुँदा राष्ट्रपति सी डाभोस फोरमको सम्मेलनमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगको भेटमा व्यस्त थिए । त्यही क्रममा राष्ट्रपति सीले बेइजिङमा पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवालाई भेट दिए । बेइजिङस्थित नेपाली मिसनको निरन्तरको आग्रहपछि ३ असोजमा मात्र उपराष्ट्रपति वाङ छिसान र दाहालबीच भेटवार्ता भयो । राष्ट्रपति सी भने कम्बोडियाको भ्रमणमा गए । तथापि, चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले दाहाललाई महत्वकै साथ भेटी उनको यो भ्रमण सरकारस्तरीय नभई पार्टीगत मात्र भएको संकेत दिए ।
दाहाल दिल्लीमा रहँदा साउथ ब्लकले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रचार गर्यो । दाहालले मोदीसँग भेटवार्ता गर्नुअघि २२ भदौमा उनको भेट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग मिलाइयो । त्यसपछि मात्र २३ भदौमा मोदीसँग भेट भयो । भेटपछि मोदी र दाहालको छलफल भावी रणनीतिक विषयमा भयो भनी प्रचार गरियो । मोदीले डेढ घण्टा समय दिनासाथ दाहालले हौसिएर विदेशी भूमिमा पृथ्वीनारायण शाहको आलोचना गरे । दाहाल फर्केपछि २७–२८ भदौमा बसेको नेकपाको सचिवालय बैठकमा विदेशी भूमिमा उनको अभिव्यक्ति र एक भारतीय अखबारलाई दिएको विवादास्पद अन्तर्वार्ताको आलोचना भयो ।
चीनको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा जाँदा दाहालको पहिलो ट्रान्जिट ग्वान्झउ थियो । ग्वान्झउ शहरमा दाहाललाई स्वागत भेट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री को यचौ टी–सर्टमा आए, जुन प्रचलित चिनियाँ कूटनीति विपरीत हो । चिनियाँहरू कूटनीतिक आचरणमा साह्रै संवेदनशील र गम्भीर मानिन्छन् । सम्भवतः दाहाललाई असन्तुष्टिको सन्देश दिन विदेश विभागका उपप्रमुखलाई टी–सर्टमा भेट्न पठाइयो । यसबाट भारतले दाहाललाई ‘प्राइम मिनिष्टर इन वेटिङ’ को रूपमा प्रस्तुत गरेको चीनलाई चित्त नबुझ्ेको संकेत मिल्छ ।
दाहालको भारत र चीन भ्रमणपछि उनीबारे दुवै देशको पछिल्लो कित्तागत धारणा प्रचारमा आएको छ । भारत भ्रमणमा रहँदा दाहाललाई त्यहाँका कार्यकारी प्रमुखले महत्वका साथ भेटेकोले उनी साउथ ब्लकको ‘गुडबुक’ मा भएको एक समूहको बुझइ छ । त्यस विपरीत चीनमा कार्यकारी प्रमुखले भेट्न समय नदिनु र उनलाई कूटनीतिक सम्मान पनि नदेखाइनुले दाहाल चीनको ‘गुडबुक’ मा नभएको दृष्टिकोण प्रचारमा आएको छ । यी दुई बुझइ यथार्थको कति नजिक छन्, समयले निर्धारण गर्ला ।
दाहालको चीन भ्रमण प्रभावकारी नहुँदा उनलाई चीनले उपेक्षा गरेको बुझन भने गाह्रो छैन । राष्ट्रपति सीसँग भेट हुने निश्चित नभए विकल्पमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट्ने कार्यक्रम मिलाउन सक्नुपथ्र्यो । यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ प्रभावशाली नेताहरूसँग दाहालको भेट हुन्थ्यो । तर, यसपल्ट स्वदेश फर्किने बेलामा मात्र चिनियाँ उपराष्ट्रपतिसँग उनको भेट भयो ।
दाहालको पछिल्लो भारत र चीन भ्रमण नेपाली नेताहरूका लागि शिक्षाप्रद छ । ठाउँमा नबस्दा एउटा छिमेकीले उचाल्ने र अर्को छिमेकीले थेचार्छन् भन्ने यो अनुभवबाट सिक्न सकिन्छ ।