उनीहरूमध्ये धरान–८ का विशाल तामाङ (३६) विराटनगर–१५ स्थित भन्सार कार्यालय अगाडिबाट २९ भदौमा र दोलखाको गौरीशंकर–३ का दावा तामाङ (२१) पनि भन्सार अगाडिबाटै २६ भदौमा डाईजेल्याब, लुपिजेसिक, फेनारगन लगायतका नेपालमा प्रतिबन्धित लागूऔषध भारतबाट ल्याउँदै गर्दा पक्राउ परेका थिए । केही समयअघि धरानमा लागूऔषध सहित पक्राउ परेका सोनु शर्मालाई यसअघि तीन पटक पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय, रानीको अभिलेखले देखाउँछ ।
सीमापारिबाट भित्रिने लागूऔषधको समस्या विराटनगरमा मात्र सीमित छैन, पूर्वका सबैजसो सीमा नाका यसबाट प्रभावित छन् । २४ भदौमा झपाको दमक–३ का बिर्खबहादुर राई, पुकबहादुर कटवाल र सिमन कटवाल मेचीनगर–५, नकलबन्दाबाट लुपिजेसिक, फेनारगन, डाईजेपाम लगायतका लागूऔषध सहित पक्राउ परे । नकलबन्दाबाटै ३० भदौमा दमक–३ का सुमित न्यौपाने (२२) र मोती दर्जी (१९) लुपिजेसिक, फेनारगन र डाईजेपाम सहित पक्राउ परेका थिए । २१ भदौमा मोरङको सुनवर्षी–८ बाट प्रहरीले मोहम्मद खानलाई नाइट्रोभेट र कोरेक्स सहित पक्राउ गर्यो ।
प्रदेश–१ का झपाको काँकडभिट्टा, मोरङको विराटनगर रानी र सुनसरीको भण्टाबारी भारतबाट लागूऔषध भित्रिने प्रमुख नाका हुन् । गएको भदौ महीनामा झपा, मोरङ, सुनसरी र उदयपुरबाट प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार साउन महीनामा पनि ९० जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
लागूऔषधको ‘हब’
प्रदेश प्रहरी कार्यालयका अनुसार गएको साउन र भदौमा झपा, मोरङ र सुनसरीबाट लागूऔषध ओसारपसारको अभियोगमा सात जना महिला पक्राउ परेका छन् । यस्तै गएको आर्थिक वर्षमा प्रदेश–१ मा कुल ३७ जना महिला लागूऔषध कारोबार/ओसारपसारमा पक्राउ परेको प्रहरीको आँकडाले देखाउँछ । लागूऔषध सेवनकर्ताका लागि पुनस्र्थापना केन्द्र चलाइरहेको रिचमण्ड फेलोशिप विराटनगरका कार्यक्रम संयोजक संजीव चापागाइँ भन्छन्, “प्रहरीले शंका कम गर्ने हुँदा पुरुष कारोबारीले नै महिलालाई भरियाका रूपमा प्रयोग गर्छन् ।”
प्रदेश–१ मा खुला सीमाको लाभ उठाएर भारतबाट भित्रिने लागूऔषधको समस्या कति विकराल बन्दैछ भन्ने प्रहरी आँकडाबाटै छर्लङ्ग हुन्छ । गएको आर्थिक वर्ष (२०७४/७५) मा प्रहरीले लागूऔषध कारोबार/ओसारपसारको अभियोगमा एकहजार ७३ जनालाई पक्राउ गरी मुद्दा चलायो । जबकि, यो संख्या २०७३/७४ मा ८३९ र २०७२/७३ मा ६३० थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाका अनुसार गएको वर्ष प्रदेशभरमा पक्राउ परेकामध्ये मोरङ र सुनसरीमा मात्र क्रमशः ३५६ र ३३७ जना थिए ।
चिकित्सकको प्रेस्क्रिप्सन बेगर बिक्री गर्न नपाइने कोडिनयुक्त विभिन्न औषधि सीमावर्ती भारतीय बजारमा नेपाली ग्राहकका लागि घरघरमै उपलब्ध हुन्छन् । नियन्त्रित रूपमा बिक्री गरिने नशायुक्त त्यही औषधि अहिले प्रदेश–१ का जिल्लाहरूमा लागूऔषध कारोबारीहरूको कमाउने स्रोत बनेको छ । भारतको जोगवनीस्थित औषधि व्यवसायी संघका अध्यक्ष सुदीप भारती भन्छन्, “लागूऔषध बिक्री गर्नेहरूले घरमा रेस्टुरेन्ट जस्तै खाने, पिउने र प्याक गरेर लैजाने व्यवस्था समेत मिलाएका हुन्छन् ।” लागूऔषध कारोबारीले घरघरबाटै बेच्न थालेपछि जोगवनीस्थित लाइसेन्सप्राप्त औषधि पसलले कोडिनयुक्त औषधि बिक्री गर्न छाडेको उनले बताए । उत्तरप्रदेश, झरखण्ड र पश्चिम बंगालबाट कालोबजारीले तस्करी गरेर बिहारमा ल्याउने यस्ता औषधिको खुलेआम बिक्री वितरण नियन्त्रण गर्न प्रहरीले बेलाबेला ती घरमा छापा मारे पनि नियन्त्रणको प्रभावकारी प्रयास नभएको भारती बताउँछन् ।
भारतीय सुरक्षा संयन्त्रले आँखा चिम्लिंदा त्यही औषधि प्रदेश–१ मा भने नेपाली सुरक्षा संयन्त्रको ठूलो टाउको दुखाइ बनेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध नियन्त्रणका लागि विराटनगर भन्सार क्षेत्रमा २५ भदौदेखि तीन महीने अभियान नै शुरू गरेको छ । अभियान अन्तर्गत भारतीय बजार जोगवनीबाट लागूऔषध सेवन गरेर आएका युवालाई नियन्त्रणमा लिई परामर्श दिएर आफन्तको जिम्मामा छाडिन्छ । “दिनमा २०–२५ जनालाई काउन्सिलिङ गरिरहेका छौं” मोरङ प्रहरीका प्रमुख, एसपी मनोज केसी भन्छन्, “तीन महीनामा राम्रो नतिजा आउने आशा छ ।”
लागूऔषध नै अपराधको जड बन्न थालेकाले अभियान चलाउनुपरेको प्रहरीको भनाइ छ । हुन पनि, एक महीनाअघि विराटनगरमा भएको टंकप्रसाद भट्टराईको हत्यामा संलग्न संजय सहनी लागूऔषध प्रयोगकर्ता थिए । पक्राउ परेका सहनीले लागूऔषध खान पैसा नदिएपछि भट्टराईको हत्या गरेको बयान दिएको बताउँदै मोरङ प्रहरीका डीएसपी निशान थापा भन्छन्, “लागूऔषधका लागि हत्या, लुटपाट र चोरीका घटना पनि बढेका छन् ।” ओसारपसारको समस्या तराईका जिल्लामा मात्र देखिए पनि लागूऔषधको प्रयोग भने पहाडसम्म विस्तार भएको छ ।