७-१३ असोज २०७५ | 23-29 September 2018

आर्थिक विकासको ढोका

Share:
  
- विज्ञानबाबु रेग्मी
सूचना–प्रविधिको व्यापकताको फाइदा उठाउँदै नेपालले आउटसोर्सिङमा रोजगारी सिर्जना गरेर अर्थतन्त्र उकास्नेतिर लाग्न ढिला भइसकेको छ।

गोपेन राई
हजार जनाभन्दा बढीलाई रोजगारी दिइरहेको भैंसेपाटी, ललितपुरस्थित आईटी कम्पनी क्लाउड फ्याक्ट्रीको कार्यालय ।
प्रविधिको विकाससँगै पछिल्लो समय विश्व बजारमा प्रतिस्पर्धा बढेको छ । विकसित देशहरूमा उत्पादन सहज हुँदै गएको छ भने अल्पविकसित देशहरूलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनु चुनौती बन्दै गएको छ । यी मुलुकलाई एकातिर रोजगारी कसरी सिर्जना गर्ने भन्ने चिन्ता छ भने अर्कोतिर प्रतिकूल अवस्थामा पनि कसरी आर्थिक स्रोतहरू उजागर गर्ने भन्ने पिरलो छ । प्रविधि र सञ्चारको विकास र उपभोक्ताको बढ्दो चापका कारण यस दशकमा ‘आउटसोर्सिङ’ बारे धेरै बहस हुने गरेको छ ।

आउटसोर्सिङ भन्नाले वस्तु उत्पादन वा सेवा प्रवाहको एक वा एकभन्दा बढी भाग अन्य कुनै देश वा क्षेत्रमा तयार पार्नु हो । उपभोक्ता सेवाका लागि कल सेन्टर, सामाजिक सञ्जालमा मार्केटिङका लागि डिजाइनिङ, वित्तीय व्यवसायका लागि एकाउन्टिङ, क्लाउड सेवाहरू, अन्य व्यावसायिक परामर्श सबै आउटसोर्सिङका उदाहरण हुन् । बिजनेस आउटसोर्सिङ र आइटी आउटसोर्सिङ (संयुक्त रूपमा भन्दा बिजनेश प्रोसेस आउटसोर्सिङ–बीपीओ) ले एशियामा पर्याप्त रोजगारी सिर्जना गर्नुका साथै आम्दानी दिने सम्भावना देखिन्छ । नेपालमा पनि बढ्दो दक्ष जनशक्ति र प्रविधिमा युवाको आकर्षण हेर्दा बीपीओको सम्भावनातिर नियाल्नु आवश्यक छ ।

फिलिपिन्सको छलाङ

पूर्वी एशियाली मुलुक फिलिपिन्सले गएको दुई दशकमा बीपीओ क्षेत्रमा लोभलाग्दो उन्नति गरेको छ । सन् १९९२ मा पहिलो पटक एक्सचेञ्ज र ग्लोबल रिसोर्स सेन्टर नामक अन्तर्राष्ट्रिय कम्पनीको प्रवेशले विश्व बजारसँग फिलिपिनी जनशक्तिको प्राविधिक–व्यावसायिक सम्बन्धको शुरूआत गरेको थियो । सन् १९९५ मा फिलिपिनी सरकार ‘स्पेशल इकोनोमिक जोन’ को अवधारणा लिएर आन्तरिक उत्पादन वृद्धि एवं रोजगारी सिर्जनामा अग्रसर भयो । यस सम्बन्धी विभिन्न ऐन–कानून निर्माण भए । विशेषतः कर प्रणालीमा उदारवादी नीति अपनाएर निजी क्षेत्रको लगानी विस्तारका कार्यक्रम आए । वैदेशिक कम्पनीहरूलाई देशभित्र कार्यालय राखेर उत्पादनका केही हिस्सा सञ्चालन गर्न सक्ने वातावरण बन्न थाल्यो ।

फलस्वरूप सन् २००१ मा फिलिपिन्समै कार्यालय स्थापना गरेको पिपुल सपोर्ट नामक आउटसोर्सिङ कम्पनीले मात्रै ८ हजार ४०० रोजगारी सिर्जना गर्न सफल भयो । त्यस्तै, सन् २००३ मा कोन्भर्जिज कर्पोरेशनले दुई वटा कल सेन्टर खोलेर उपभोक्ता सेवा सम्बन्धी आउटसोर्सिङको काम थाल्यो । २००१ देखि २००५ का बीचमा थुप्रै नयाँ कम्पनी भित्रिए । सन् २००५ सम्ममा फिलिपिन्सको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बीपीओ क्षेत्रको योगदान २.४ प्रतिशत पुग्यो भने विश्व बीपीओ बजारको ३ प्रतिशत हिस्सा फिलिपिन्सले ओगट्न सफल भयो । २००६ मा इपि लिमिटेडले ११ हजार कर्मचारीलाई रोजगारी दिंदै आउटसोर्सिङको आन्तरिक बजारको नेतृत्व लियो । तत्कालीन सरकारले उत्साहित हुँदै सन् २००४–२०१० लाई लक्षित गरी सार्वजनिक गरेको मध्यकालीन विकास योजनाले एक करोड नयाँ रोजगारी सिर्जनाको लक्ष्य राखेको थियो । यो सरकारी योजना पूर्णरूपमा सफल नभए पनि बीपीओ क्षेत्रले मात्र १० लाख रोजगारी सिर्जना गर्न सक्यो । यस सफलताले फिलिपिन्सलाई विश्व बजारमा बीपीओ राजधानीको रूपमा परिचित गरायो ।

फिलिपिन्समा आउटसोर्सिङको दायरा र यसको आर्थिक योगदान बिस्तार हुँदै गएको छ । सन् २०१७ मा आउटसोर्सिङमा कार्यरत जनसंख्या १३ लाख पुग्यो भने करीब रु.२३ खर्ब बराबरको आम्दानी भित्रियो । फिलिपिन्सको सरदर कमाइ भन्दा यस क्षेत्रमा पारिश्रमिक झ्ण्डै दोब्बर छ । सन् २०१८ को पहिलो त्रैमासिकमा हरेक साता तीन नयाँ आउटसोर्सिङ कम्पनी खुलेको तथ्य सरकारको प्रारम्भिक आँकडाले देखाएको छ । यही गति कायम गर्दै ‘भिजन २०२२’ अन्तर्गत आउटसोर्सिङ क्षेत्रको आम्दानी रु.४० खर्ब पुर्‍याउने लक्ष्य राखिएको छ । छोटो समयमा मारिएको छलाङ र बीपीओ क्षेत्रको स्थिर वृद्धिले फिलिपिन्सलाई बृहत् आत्मविश्वास दिएको प्रष्ट देखिन्छ ।

बीपीओमा भारतको जोड

पछिल्लो समय भारत पनि आइटी आउटसोर्सिङको आकर्षक गन्तव्य बन्दै गएको छ । स्थिर राज्य व्यवस्था, प्राविधिक जनशक्ति र अंग्रेजी भाषामा नयाँ पुस्ताको बलियो पकडका कारण भारत विश्व उपभोक्ता बजारमा सेवा प्रवाह गर्न समर्थ देशका रूपमा चिनिएको छ ।

सन् १९८० को दशकको अन्त्यतिर वित्तीय सेवा प्रदायक अमेरिकी कम्पनी अमेरिकन एक्सप्रेसले जापान एन्ड एशिया प्यासिफिक नामक कम्पनीसँग मिलेर गुडगांवमा कार्यालय खोलेपछि भारतमा आउटसोर्सिङको कारोबार शुरू भएको थियो । प्रारम्भमा यस्ता व्यवसाय छिटफुट देखिए पनि सन् १९९० को आरम्भतिरै अघि बढेको बृहत् आर्थिक सुधारका कार्यक्रमले भारत पनि विश्व बजारको प्राविधिक सेवा उत्पादनसँग जोडिन पुग्यो । सन् १९९१ मा पीभी नरसिंह राव प्रधानमन्त्री र मनमोहन सिंह अर्थमन्त्री भएपछि उदारवादी आर्थिक नीति लागू भयो । सन् ९० को दशकमा लगानीमैत्री वातावरण निर्माण गरी आन्तरिक उत्पादन बढाउने काम अगाडि बढे ।

सन् २००० को आसपासमा भारतमा शहरी जनसंख्या बढेसँगै अमेरिकामा काम गर्न जाने भारतीय इञ्जिनियर विद्यार्थीको संख्या पनि ह्वात्तै बढ्यो । यसबाट सिलिकन भ्याली र पश्चिमा प्राविधिक केन्द्रहरूमा भारतमा ठूलो संख्यामा दक्ष जनशक्ति छ भन्ने सन्देश पुग्यो ।

सन् २००२ पछि हैदरावादमा आउटसोर्सिङ कम्पनीहरू तीव्र रूपमा खुल्न थाले । २००९ सम्म आइपुग्दा देशभरिका बीपीओ कम्पनीहरूबाट मात्र रु.११ खर्बभन्दा बढी आम्दानी भयो भने त्यस वर्ष मात्रै आउटसोर्सिङको क्षेत्रमा एक लाखभन्दा बढी रोजगारी सिर्जना भयो । सन् २०१२ मा रु.१५ खर्ब रहेको अर्थतन्त्रमा बीपीओको योगदान सन् २०१७ मा रु.२५ खर्ब पुगेको छ ।

पछिल्लो समय भारत वैदेशिक लगानीका लागि आवश्यक नीतिगत सुधार एवं भौतिक संरचनाको विकासमा झ्नै आक्रामक तरिकाले लागेको छ ।

सरकारले आर्थिक विकासको लागि पुणे, बेङ्लुरु, नोयडा, चेन्नई, दिल्ली, कोलकाता लगायतका १० स्थानमा आइटी पार्क निर्माण गरी बृहत् प्राविधिक विकासलाई प्राथमिकता दिएको छ । बीपीओ क्षेत्रको प्रवद्र्धन र थप औद्योगिक पूर्वाधार निर्माण गर्दै भारत प्राविधिक सेवा उत्पादनको गन्तव्य बन्न आतुर देखिन्छ । खासगरी विकासको तीव्र फड्को मारिरहेका चीन एवं पूर्वी एशियाका ‘टाइगर्स’ को हाराहारीमा आफूलाई पुर्‍याउन भारत क्षमता विकासमा अग्रसर छ ।

नेपालको सम्भावना !

बिजनेस आउटसोर्सिङ गर्नुको पछाडि ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूको अवश्य नै केही स्वार्थ हुन्छ । उनीहरू विना कुनै अवरोध व्यवस्थित ढंगले कम लागतमा गुणस्तरीय उत्पादन एवं सेवा दिन चाहन्छन् । नेपालमा बिजनेस स्थापनाको लागत पश्चिमा तथा अन्य धेरै एशियाली मुलुकमा भन्दा कम छ । कामदारको पारिश्रमिक पनि तुलनात्मक रूपमा कम छ । सरकारले चासो नदिंदा नदिंदै पनि आजसम्म ३०० भन्दा बढी आउटसोर्सिङ कम्पनी सञ्चालनमा छन् । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) का अनुसार यस क्षेत्रमा हाल करीब १० हजार जनाले रोजगारी पाएका छन् । यसलाई अझ्ै विकास गर्न सरकारले नीतिगत सुधार एवं पूर्वाधार निर्माण गरी लगानीमैत्री वातावरण बनाउनुपर्छ ।

बाङ्लादेशका प्रधानमन्त्रीका सल्लाहकार सजीव वाजेद जोयले केही साताअघि एक कार्यक्रममा बोल्दै बीपीओलाई सन् २०२१ सम्म वर्षेनि दुई लाख रोजगारी सिर्जना गर्ने क्षेत्र बनाउने लक्ष्य सहित सरकारले काम गरिरहेको बताएका थिए । भारतमा त झ्न् ‘बीपीओ प्रोमोसन स्किम’ भनेर सूचना तथा सञ्चार मन्त्रालयले विज्ञहरूको छुट्टै टोली बनाएको छ । यस्तै, श्रीलंका बीपीओ सेवा प्रदान गर्ने देशमध्ये विश्वमै १२औं स्थानमा आउँछ ।

छिमेकी देशहरू नयाँ आर्थिक स्रोतको खोजीमा प्रतिस्पर्धा गरिरहँदा हाम्रा सूचना, सञ्चार एवं प्रविधिलाई आर्थिक विकाससँग जोड्ने सवालमा हामी कहाँ छौं ? प्रविधिले देखाएको सम्भावित आर्थिक स्रोतका ढोकाहरू समयमै नखोल्दा हामी कतै अन्य देशको प्रगतिलाई पछ्याउनै नसक्ने गरी पछि पर्ने हौं कि ? वैदेशिक रोजगारी र जनशक्ति पलायनलाई रोक्ने भनिरहँदा रोजगारी सिर्जनाका लागि हामी नयाँ विकल्प सोचिरहेका छौं त ?

विश्वव्यापीकरणको वेगमा हामी अन्य क्षेत्रको उत्पादन र सेवा प्रवाहको प्रक्रियामा जोडिन कत्तिको तयार छौं ? हाम्रो राजनीतिक र प्रशासनिक नेतृत्वले तयार छौं भन्छ, तर हाम्रा पूर्वाधार, योजना र कार्यक्रमका प्राथमिकताले अझै गृहकार्य बाँकी छ भन्छ । समय नछिप्पिंदै गृहकार्य पूरा गरेर अघि बढेमा मात्र देश समृद्धिको भर्‍याङ उक्लिन सक्छ ।

comments powered by Disqus

रमझम