हिमाल (६–१३ असोज) आवरण बहसले प्रतिबन्धित गाँजामाथि साँच्चैको बहस छेडिदिएको छ । उपयोगको कानून बनाएर गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्छ । बेफाइदाको मात्र चर्चा गरेर फाइदालाई ढाकछोप गर्नु राम्रो होइन । बरु गाँजाको औषधीय गुणलाई सदुपयोग गर्दै आर्थिक लाभ लिनबाट नचुकौं । गाँजालाई खुला गर्नु भनेको अनियन्त्रित सेवन हो भन्ने बुझ्नु हुँदैन ।
अमेरिका, क्यानडा लगायतका मुलुक गाँजामाथिको प्रतिबन्ध हटाएर औषधीय उपयोगमा गाँजा खेतीलाई उपयोग गर्नुपर्छ भनेर लागिसकेको अवस्थामा नेपाल जस्तो विकासोन्मुख देशले प्रतिबन्धको डण्डा बर्साइरहनुको कुनै तुक छैन । खुला गर्दा नै सबैको भलाइ हुन्छ ।
खड्गबहादुर बुढाथोकी, अनलाइनबाट
स्वाभिमानका कुरा नगरौं
हिमाल (६–१३ असोज) रिपोर्ट बेथिति ‘दाताको प्रभावमा नीति र कानून’ ले स्वाभिमानका कुरा जति गरे पनि हामी आफ्नै नीति र कानून बनाउन विदेशीमाथि निर्भर रहेछौं भन्ने प्रस्ट पारिदिएको छ । कानून र नीति बनाउनमै दाताको सहायता लिने हो भने विदेशी हस्तक्षेप र आत्मनिर्भरताका कुरा गर्दै नगरे हुन्छ ।
शर्मिला आचार्य, अनलाइनबाट
सिकौं पाठ
हिमाल (६–१३ असोज) रिपोर्ट वायुसेवा ‘इथियोपियाबाट के सिक्ने ?’ ले धेरै पाठ सिकाएको छ । इथियोपियाको वायुसेवाबाट जस्तै अन्य थुप्रै देशबाट हामीले सिक्ने पाठ धेरै छन् । बरु हामी सिक्न तयार छौं कि छैनौं, त्यो महत्वपूर्ण कुरा हो । इथियोपियाको उदाहरणले साँच्चिकै सोचनीय बनायो । हामी सिंगापुर र स्विट्जरल्याण्डको उदाहरण दिन्छौं तर, इथियोपियाकै उदाहरण काफी हुने रहेछ । हाम्रा नीति–निर्माताको घैंटामा घाम कहिले लाग्ने होला ! उदाहरण सहित पस्किएको सकारात्मक रिपोर्टका लागि धन्यवाद ।
अनुशरण राणा, अनलाइनबाट
खाँचो संरक्षणको
हिमाल (६–१३ असोज) रिपोर्ट संस्कृति ‘पञ्चैबाजाको लय’ ले हाम्रो पहिचानलाई उजागर गरिदिएको छ । संस्कृति नै हाम्रो पहिचान हो भन्नेमा दुईमत छैन । विश्वमा विभिन्न बाजा भए जस्तै पञ्चैबाजा नेपालीको आफ्नो बाजा हो भन्ने अनुभूति हुन्छ । यसैमा हामीलाई गर्व पनि छ । चौघेरो नाघेर जसरी महिला दिदीबहिनी यस बाजाको संरक्षणमा लागेका छन्, त्यो सराहनीय छ । राष्ट्रकै सम्पत्ति बन्न पुगेको पञ्चैबाजा यो जाति र ऊ जातिको नभनी आजैबाट संवद्र्धनमा लागौं । पञ्चैबाजा संरक्षणमा लागिपर्ने सबैलाई साधुवाद ।
सरला धमला, अनलाइनबाट
आवश्यक छ यौन शिक्षा
हिमाल (६–१३ असोज) रिपोर्ट यौन शिक्षा ‘अंकुशले जोखिम’ले अभिभावक एवं शिक्षक÷शिक्षिकाले आफ्ना नानीबाबुलाई कसरी शिक्षा दिने र व्यवहार गर्ने भन्ने खुलस्त पारिदिएको छ । यौन शिक्षा दिन संकोच मान्नाले जोखिम निम्तिन्छ भन्ने बुझेर अभिभावकले नै आफ्ना नानीबाबुहरूलाई उचित यौन शिक्षा दिएर उनीहरूका जिज्ञासाको सम्वोधन गर्दै जानु जरुरी छ ।
सब्बु तिवारी, अनलाइनबाट
प्रतिबन्ध समाधान होइन
हिमाल (६–१३ असोज) आवरण रिपोर्ट ‘गाँजामाथिको प्रतिबन्धः खुला गरे के होला !’ ले लागू औषध भनेर गाँजामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा बहस शुरु गरेको छ ।
हामीकहाँ रक्सी र चुरोटमा ‘नियमन’को नीति लागू गरिएको छ । लागू औषध प्रतिबन्धित छ, ओसार–पसार र सेवन पनि भइरहेको छ । यौन व्यवसायमा पनि प्रतिबन्ध छ, तर चलिरहेकै छ । प्रहरीले होटलका कोठाबाट विभिन्न जोडीलाई पक्राउ गरेर छाती फुलाए पनि त्यस्तो काम रोकिएको छैन । होलीका बेला लोलामा प्रतिबन्ध लाग्छ, तिहार आयो भने पटाकामा प्रतिबन्ध लाग्छ । प्रतिबन्ध लगाउन सजिलो भए पनि हामी कति सफल भएका छौं र प्रतिबन्ध आवश्यक छ÷छैन लेखाजोखा गरिनुपर्छ । यसर्थ आवश्यकता, आधुनिकता, नागरिकका आकांक्षा, वैश्विक परिस्थिति, प्रतिबन्धित गरिंदाको अवस्था आदि विश्लेषण गरेर मात्रै प्रतिबन्ध लगाउने, नियमन गर्ने वा खुला गर्ने निर्णय गरिनुपर्छ । ५० वर्षअघि सम्म गाँजाबाट हाम्रै मुलुकमा विभिन्न औषधिहरू बन्थे, प्रतिबन्ध लगाइएपछि ती औषधि बनाउने कतिपय सूत्रहरू समेत हराए होलान् । हाम्रो पुख्र्यौली ज्ञान र सीप दरबार स्क्वायर वरपरको कलामा सीमित राख्नुपर्ने त होइन होला !
५० वर्षअघि गाँजामा प्रतिबन्ध लगाउन नेपाललाई दबाब दिने विकसित मुुलुकहरूले अहिले यसलाई क्रमशः खुला गर्दैछन् । पछिल्लो उदाहरण क्यानडा नै हो । त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रूडोले गाँजालाई खुला गरिएपछि त्यसबाट किशोरकिशोरीलाई कसरी जोगाउने भन्ने चिन्ता लिएका अभिभावकहरूलाई भनेका छन्, “तोकिएका विक्रेताले परिचयपत्र हेरेर मात्र बिक्री गर्दा गाँजामाथि किशोरकिशोरीको सहज पहुँच हुनेछैन । बरु पहिलेजस्तो लुकेर जो पायो उसैलाई लागू पदार्थ बिक्री गर्ने सडकका विक्रेताहरूबाट पनि बालबालिका जोगिनेछन् ।”
अबको हाम्रो बहस गाँजाका बहुपयोगी गुण, यसको शास्त्रीय र सांस्कृतिक सम्बन्ध साथै गाँजाबाट लिन सकिने आर्थिक लाभबारे केन्द्रित हुनुपर्छ । मिडियामा दिनहुँजसो आइरहने ‘गाँजा बरामद’ शीर्षकका समाचारले पनि यसको कारोबार अहिले फुक्काफाल भइरहेको भन्न सकिन्छ । बरु कारोबार खुला गरिएपछि तस्करीको समस्या रहनेछैन ।
राजीव काफ्ले, इमेलबाट