१४-२० असोज २०७५ | 30 Sep - 6 Oct 2018

डाक्टरकै बदनियत !

Share:
  
जनकपुर अञ्चल अस्पतालका चिकित्सकले गलत प्रतिवेदन बनाएको प्रकरणले बलात्कारका अभियुत्तलाई उन्मुत्ति दिन गरिने चलखेल उदांगो पारेको छ ।

डा. रम्भा गोइत र डा. विजयकुमार सिंह ।
गएको ८ भदौमा धनुषाको जनकनन्दनी गाउँपालिका–२ बल्हागोठमा १२ वर्षीया बालिका बलात्कृत भइन् । भोलिपल्ट बिहानै जनकपुर अञ्चल अस्पताल पुर्‍याइएकी बालिकाको चिकित्सकद्वय विजयकुमार सिंह र रम्भा गोइतले स्वास्थ्य परीक्षण गरे । शारीरिक परीक्षण प्रतिवेदनमा पीडित बालिकाको यौनाङ्ग ‘नर्मल’ रहेको अर्थात् बलात्कार नभएको उल्लेख गरियो ।

अञ्चल अस्पतालको प्रतिवेदनमाथि विश्वास नलागेर घटना भएको १६ दिनपछि बालिकालाई २४ भदौमा जिल्ला अस्पताल सिरहा लगियो । त्यहाँका चिकित्सक राकेशकुमार सिंहको परीक्षण प्रतिवेदनमा ‘हाइमन रप्चर’ (योनिच्छेद च्यातिएको) भएको, गाला र ओठमा घाउ देखिएको तथा वीर्य कोष फेला परेको उल्लेख छ ।

यसरी जनकपुर अञ्चल अस्पतालको प्रतिवेदन उल्टाउने गरी सिरहा अस्पतालबाट फरक परीक्षण प्रतिवेदन आएपछि अञ्चल अस्पतालका डा. सिंह र डा. गोइतको लापरवाही उदांगिएको छ । (हे. दुवै प्रतिवेदन) । कतिसम्म भने, ९ भदौमा गरिएको स्वास्थ्य परीक्षणको प्रतिवेदन अञ्चल अस्पतालले ११ दिनपछि २० भदौमा मात्र जिल्ला प्रहरी कार्यालय, धनुषालाई बुझाएको थियो ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलिया भन्छन्, “घटनास्थलको मुचुल्का, तत्कालीन शारीरिक र चोटपटकको अवस्था, पीडित बालिका एवं स्थानीयको साक्षी बकपत्र र पीडक स्वयंले कबुल गरेको घटनाबारे अञ्चल अस्पतालको यस प्रकारको प्रतिवेदन आएपछि हामी झस्कियौं ।”

पीडित पक्षले दिएको जाहेरीमा ८ भदौ राति पौने ११ बजे बालिकालाई २३ वर्षीय स्थानीय रामकरण खत्वेले जबर्जस्ती करणी गरेको उल्लेख थियो । जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरे पनि जिल्ला सरकारी वकिल कार्यालय, धनुषाले प्रमाण बाझिंदा दोषी उम्किन सक्नेतर्फ सजग गराएको छ । जिल्ला न्यायाधिवक्ता टेकबहादुर कार्की भन्छन्, “पर्याप्त प्रमाण हुँदाहुँदै शारीरिक परीक्षण प्रतिवेदनकै कारण दोषी उम्किने अवस्था आएको छ ।”

जनकपुर अञ्चल अस्पतालले बुझाएको परीक्षण रिपोर्ट (माथि पहिलो) र सिरहा जिल्ला अस्पतालको रिपोर्ट ।

न्यायाधिवक्ता कार्कीले दुवै स्वास्थ्य परीक्षण रिपोर्टसँगै घटनाको विवरण र अन्य कागजात स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पठाएर लापरवाही गर्ने चिकित्सकमाथि कारबाही गर्न पत्र लेखेको बताए । स्वास्थ्य परीक्षण गर्ने मध्येका डा. सिंह भने आफूले चोटपटक लागे/नलागेको मात्र हेर्ने भन्दै प्रमाण दिने काम आफ्नो नभएको बताउँछन् । “घटना भएको भोलिपल्टै अञ्चल अस्पतालले गरेको स्वास्थ्य परीक्षणमा विश्वास नगर्ने, १६ दिनपछि सिरहा अस्पतालले दिएको प्रतिवेदनमाथि विश्वास गर्ने ?” सिंह प्रश्न गर्छन् ।

जनकपुर अञ्चल अस्पतालमा भएको लापरवाहीको यो पहिलो घटना भने होइन । यसअघि बलात्कारकै मुद्दामा शारीरिक परीक्षण प्रतिवेदनमा चिकित्सकको लापरवाही देखिएको थियो ।

जनकपुरको आदर्श होटल एण्ड लजमा सरसफाइमा कार्यरत जनकपुर उपमहानगरपालिका, ११ की ३५ वर्षीया महिला १६ मंसीर २०७३ मा बलात्कृत भइन् । भारतको हरियाणा फरिदाबादका सबिर खानले बलात्कार गरेको भन्दै पीडित महिलाले सोही दिन प्रहरीमा जाहेरी दर्ता गराइन् । प्रहरीले तत्कालै शारीरिक परीक्षण गर्न लगाउँदा अञ्चल अस्पतालले बलात्कारको कुनै ‘संकेत’ नभएको व्यहोराको प्रतिवेदन दियो । तर, १६ चैतमा नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले पीडितले लगाएको कपडामा ‘वीर्य कोष’ फेला परेको र ए–पी टेष्ट पोजेटिभ देखिएको परीक्षण प्रतिवेदन दियो ।

जनकपुरका युवा अभियन्ता सरोज मिश्र अञ्चल अस्पतालका चिकित्सकले शारीरिक परीक्षण प्रतिवेदन बनाउँदा लापरवाही गर्नु नौलो नभएको बताउँछन् । परीक्षण रिपोर्ट पहिलो पटक जुधेकोले मात्रै बाहिर चर्चा भएको उनको भनाइ छ ।

ईश्वरचन्द्र झा, जनकपुर

comments powered by Disqus

रमझम