१४-२० असोज २०७५ | 30 Sep - 6 Oct 2018

मिस नेपालको मिसन

Share:
  
सन् २०१८ की मिस नेपाल शृंखला खतिवडा मकवानपुरको विकट गाउँ भार्तामा स्वास्थ्य चौकी भवन बनाउन जुटिरहेकी छन् ।

तस्वीरः हिडनट्रजर
गएको वैशाखमा मिस नेपाल छनोट भएयता शृंखला खतिवडा निकै व्यस्त छिन् । उनी मकवानपुरको दुर्गम गाउँ भार्ताको चेपाङ बस्तीमा स्वास्थ्य चौकीको भवन बनाउन दौडधुप गरिरहेकी छन् । भार्ता पुगेर आएपछि उनी रकम जुटाउन लण्डन गइन् । ८ डिसेम्बरमा हुने मिस वल्र्ड प्रतियोगितामा भाग लिन चीन जानुअघि उनलाई भवन निर्माण सक्ने चटारो छ ।

मिस वल्र्डको ‘ब्यूटी विथ अ पर्पस’ भन्ने उपाधिका लागि उनले स्वास्थ्य चौकी रोजेकी हुन् । आफू आर्किटेक्चरको विद्यार्थी भएकाले भवन निर्माण छानेको उनको भनाइ छ । “म आर्किटेक्चरकी विद्यार्थी हुँदा थुप्रै पुरस्कार जितेकी थिएँ” भूकम्पपछि आर्किटेक्टहरूको माग निकै बढेको भन्दै उनी जोड दिन्छिन्, “हामीले पुनर्निर्माण गर्दा हाम्रो परम्परागत शैलीलाई बिर्सिन हुँदैन ।”

भवन कस्तो हुनुपर्छ भन्नेबारे शृंखलाका धेरै विचार छन् । अहिले मकवानपुरमा आफ्ना विचारलाई यथार्थमा बदल्न सिक्दैछिन् । उनी भन्छिन्, “राम्रोसँग डिजाइन गरिएको अस्पतालले नै उपचारमा सहयोग पु¥याउन सक्छ ।” दशैं अगाडि नै बनाइसक्ने भनिएको स्वास्थ्य चौकीको लागत बढिरहँदा उनी थप लगानी जुटाउन कर्पोरेट भेटघाट र फण्ड रेजिङ इभेण्टमा व्यस्त छिन् ।

गाउँमा गाडी नजाने भएकाले सामान ढुवानी गर्न धेरै महँगो परेको उनको भनाइ छ । उनी भन्छिन् “हामीले बाटो खनेर गाडी पुग्ने बनायौं । तर, नसोचेका खर्चहरूले हाम्रो लागत बढ्यो ।” मनसुनका कारण निर्माण अझै पछि धकेलिए पनि भवनको जग हाल्ने काम भइसकेको छ । दशैं–तिहारको बीचमा निर्माण सकेर त्यहाँ स्वास्थ्य शिविर पनि आयोजना गर्ने उनको योजना छ ।

पछिल्लो पटक भार्ता जाँदा उनले सरसफाइदेखि कुपोषण, बालविवाह, प्रसूति समस्या, धामीझाँक्रीमाथि अन्धविश्वास लगायत थुप्रै समस्या देखेकी थिइन् । उनले आफैं पनि हात धुने, दाँत माझ्ने, शौचालय प्रयोग गर्ने जस्ता विषयमा छोटो शिविर गरेकी थिइन् । (हे. तस्वीर)

भार्ताबाट नजिकैको स्वास्थ्य चौकी पुग्न दुई घण्टा हिंड्नुपर्छ । नेपालमा त्यस्तै समस्या भएका दुर्गम गाउँ अरु पनि छन् । शृंखला भविष्यमा त्यस्तै क्षेत्रमा काम गर्न चाहन्छिन् । “आर्किटेक्चर र परोपकारमा मेरो कामको यो शुरुवात मात्रै हो” उनी भन्छिन्, “म नेपाललाई आवश्यक परेको पूर्वाधार निर्माण गर्न चाहन्छु । त्यो स्वास्थ्य चौकी पनि हुन सक्छ, अथवा भूकम्प प्रभावित क्षेत्रमा घर र विद्यालय पनि हुन सक्छ ।”

हुन त मिस नेपाल जस्ता सौन्दर्य प्रतियोगिताले महिलाको सुन्दरताको नापजोख र व्यावसायीकरण गरेकोमा आलोचना पनि भइरहन्छ, खतिवडा ती सबैसँग बेखबर छैनन् । आफू मिस नेपालको ग्ल्यामरतर्फ नभएर लोकप्रियताको उपयोग गर्न केन्द्रित रहेको उनी बताउँछिन् । “मिस नेपाल भएपछि धेरैले चिन्छन्, म आफ्नो लोकप्रियताको प्रयोग गरेर राम्रो काम गर्न चाहन्छु” उनी भन्छिन् । मिस नेपालका रूपमा एक वर्ष पूरा भएपछि शृंखला आफ्नो वान होम फाउण्डेशनबाट आर्किटेक्चरको काम गर्न चाहन्छिन् ।

उनी मिस वल्र्डका लागि उत्साहित छिन् । त्यहाँ पुगेर विश्वभरका मानिससँग चिनजान बढाउन सक्ने उनले देखेकी छिन् । भन्छिन्, “आफ्नो कामलाई कसरी विश्वव्यापी बनाउने भनेर मिस वल्र्डको मञ्चबाट खोजी गर्न सक्छु ।”

मिस वल्र्डमा यसअघि सन् २०१३ की मिस नेपाल इशानी श्रेष्ठले ब्युटी विथ अ पर्पजको उपाधि जितेकी थिइन् । तर, नेपालले आजसम्म मिस वल्र्डको उपाधि जितेको छैन । यो वर्ष शृंखला खतिवडाको मिस वल्र्ड यात्रालाई आशा र उत्सुकताका साथ हेरिएको छ ।

सेवा भट्टराई

comments powered by Disqus

रमझम